प्रचण्डजी,
भूराजनीतिको बाघबाट कहिले ओर्लने?
बाघमाथि सवार प्रचण्ड र आत्मदाह-उन्मुख राजनीति
भूराजनीतिको चक्करः १) चीन
एउटा नाटकमा ओस्कार वाइल्डले दुई कुटनीतिज्ञ पात्रहरुलाई यस्तो संवाद
बोलाउँछन्ः वन ह्याज टू अल्वेज प्ले फेयर्ली व्हेन वन ह्याज विनिंग कार्डस ।
अर्थात्, जबसम्म जित निश्चित गर्ने तासहरु साथमा छन्, तबसम्म नियमपूर्वक खेल । जब
आफ्नो हात माथि छ, इमान्दारी देखाऊ । कूटनीतिक जगतमा यो भनाइ निरन्तर चरितार्थ
भइराखेको हुन्छ ।
केही दिन अगाडि चीनियाँ कम्युनिष्ट पार्टीको ट्याब्लोइड भनिने ग्लोबल
टाइम्सको एउटा लेखमा नेपाललाई उपदेश र धम्कीमिश्रित
भाषामा भनियोः कुनै पनि देशको
कुटनीति राष्ट्रिय स्वार्थका आधारमा मात्र सञ्चालन गर्यो भने त्यो लामो समय
टिक्दैन किनकि नैतिकता, न्याय र इमान्दारी पनि परिपक्व विदेश नीतिका लागि आवश्यक
हुन्छन् ।
एक जना प्रभावशाली चिनियाँ विश्लेषक सु लियांगको यो वाक्य पढेपछि
मलाई माथि उल्ल्खित संवाद रहेको वाइल्डको नाटक 'अन आइडियल हस्बेन्ड' याद आयो ।
चीनले नेपालमा कहिल्यै हारेको छैन । त्यसैले नेपालमा ऊ नैतिकता,
न्याय र इमान्दारीको कुटनीति गर्न सक्छ । फलस्वरुप त्यस्तो लेक्चर दिने अधिकार
उसलाई छ ।
तर उसको स्वार्थमा आँच आउने हो भने स्थिति निमेषभरमा बदलिन्छ । चीनको
अचाक्ली र अमानवीय प्रताडना खप्न नसकेर कुनै तिब्बती नागरिक नेपालको सीमाभित्र आएर
आत्मदाह गरोस्, चीनको भद्रताको खोल उत्रिन्छ र टोले दादाको शैलीमा ठाडै उसले
नेपालका सुरक्षा फौजलाई चीनियाँ शैलीको दमनमा उत्रिन बाध्य पार्छ ।
कारणः जब हात तल पर्छ, कुटनीतिमा कसैले पनि नियम पालना गर्दैन,
नैतिकता हेर्दैन । यो चीनको कुरा मात्र हैन ।
२) भारत
सेप्टेम्बर १६, २०१६ को साँझ । नेपालका प्रधानमन्त्री प्रचण्डको चार
दिने भारत भ्रमणको दोस्रो दिन । अप्राकृतिक रुपमा भ्रमणको बीचमै नेपाल-भारत
संयुक्त वक्तव्य आयो । त्यसलाई जारी गर्न अरु बेला झैं भ्रमणको अन्तिम दिन कुरिएन
। किन?
चित्तबुझ्दो जवाफ छैन ।
गजब त के भने, त्यो वक्तव्य आउनु केही घण्टा अगाडि प्रहसनको शैलीमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ घण्टाको सुचनामा पत्रकार सम्मेलन गरेर
माओवादी शिविरको घोटाला छानविन गर्ने घोषणा गरेको थियो ।
यो त्यस दिनको पहिलो अप्राकृतिक घटनाक्रम थियो । एकपछि अर्को गरी
भएका यी घटनाक्रमबीच कतै सम्बन्ध त थिएन?
३) अमेरिका
नेपालमा भारतीय नाकाबन्दीका कारण चरम संकट थियो । भूकम्पका कारण
घरविहीन भएका धेरै नेपाली भोक र चिसोले मर्ने अवस्था थियो ।
सारा संसारले यो थाहा पायो तर बोल्ने कोही भएन । विश्वको महाशक्ति
अमेरिका पनि मौन रह्यो । बेलायतले त नरेन्द्र मोदीको भ्रमणका बेला उनीसितको
संयुक्त विज्ञप्तिमा नेपालप्रति भारतको रवैया सदर गर्यो ।
अहिले लोकमान सिंह कार्कीको नेतृत्वमा नेपालमा लुटराज्य वा
'क्लेप्टोक्रेसी' चलिरहेको कुरा अमेरिकालाई थाहा छ । कुटनीतिज्ञहरुसितको अनौपचारिक
कुरामा थाहा हुन्छ, उनीहरुसँग यो विषयको जानकारी मात्र छैन, ताजा अपडेटहरुसमेत छन्
। यो विषयमा उनीहरु चनाखो पनि छन् ।
तर सुशासन र जवाफदेही व्यवस्थाका सदाकालीन पक्षपाती भएको दाबी गर्ने
अमेरिकीहरु यो विषयमा बोली फुटाउँदैनन् । न्यू योर्क टाइम्सले नेपालमा संकुचित
हुँदो अभिव्यक्ति स्वतन्त्रताबारे सम्पादकीय लेखिसक्यो तर यसका नागरिकहरुलाई चौपट
पार्ने गरी चलेको भ्रष्टहरुको सिन्डिकेटबारे केही बोलेको छैन ।