(यही वर्ष झलक सुवेदीको ब्रिटिश साम्राज्यका नेपाली मोहराः गोर्खा भर्तीको नालीबेली भन्ने पुस्तक निस्क्यो । साथै यसै वर्षको चलचित्र महोत्सव किम्फमा केशाङ शेतेन निर्देशित हु विल बी अ गुर्खा नामक वृत्तचित्रले उत्कृष्ट वृत्तचित्रको रुपमा दोहोरो पुरस्कार जित्यो । संयोगबश यो शुक्रवारदेखि उल्लेखित वृत्तचित्र काठमाडौंका मल्टिप्लेक्स हलहरुमा आम रुपमा प्रदर्शनमा आउँदै रहेछ । पुस्तक, वृत्तचित्र र सम्बन्धित एउटा बहसमा उठेका कुरालाई समेटेर यस ब्लगमा द गुर्खा लिगेसीः नेपाल्स नेस्नल शेम शीर्षकको लेख प्रकाशित भयो । अंग्रेजीमा पढ्न असहज मान्ने पाठकहरुका लागि गोर्खा भर्तीसम्बन्धी उक्त लेखका मुख्य मुख्य दाबी, तर्कहरु र विश्लेषणलाई समेटेर यो छोटो लेखमा बुँदागत रुपमा प्रस्तुत गरिनेछ ।)
शुरुवातः
म आफ्नो राष्ट्रवादी छविमा सम्म गौरव गर्न रुचाउँदिन त्यसैले यहाँ अति वा अन्ध राष्ट्रवादको प्रश्न उठ्दैन । साथै कुनै बेला सर्वहारा अधिनायकवादको सपना देख्ने गरे पनि अब त्यो अवस्था नरहेकाले मैले गर्ने विश्लेषणमा अन्य आलोचकलाई गोर्खा भर्तीको विषयमा आरोप लगाउने गरिएझैं कर्मकाण्डीय साम्यवादको चस्मा लगाएर विश्लेषण गरेको भन्न पनि मिल्दैन । तेस्रो, गोर्खा भर्ती शुरु गर्ने र शताब्दीभर त्यसलाई निरन्तरता दिने क्रममा त्यो प्रक्रियाबाट अकूत फाइदा लिने पक्षहरुको कडा आलोचना गर्दै रहँदा बाध्यता, रहर र भ्रमको चक्रमा परेर त्यो प्रक्रियामा होमिन पुगेका नेपाली युवाहरुप्रति व्यक्तिगत रुपमा मेरो असीम सहानुभुति छ ।
वृत्तचित्रका कुराः
हु विल बी अ गुर्खा मा केशाङको उत्कृष्ट कलाचेतले काम गरेको छ र अझै पनि भर्ती भएर बेलायत जाने सपना देख्ने हजारौं युवाको मनस्थिति उतार्न वृत्तचित्र सफल छ । तर मेरो चिन्ता के हो भने रुख देखाएर झाडी बिर्साउने भनेझैं अहिले एक दिनको यथार्थ उतारेर कतै यो वृत्तचित्रले चाहेर वा नचाहेर गोर्खा भर्तीसँग जोडिएका सान्दर्भिक ऐतिहासिक प्रश्नहरुलाई थप पृष्ठभुमिमा धकेल्ने त हैन? वृत्तचित्रमा गोर्खा भर्तीका ऐतिहासिक पाटाहरु नअटाउनुको कारण निर्देशकको विधागत सीमा थियो वा पोखराको भर्ती डिपोभित्र निर्बाध खिच्न अनुमति पाएबापत ब्रिटिश पक्षप्रति जनाइएको कृतज्ञता? छोटै सही, वृत्तचित्रको शुरुका केही मिनेटमा गोर्खा भर्तीसम्बन्धी खासगरी विश्वयुद्धका लागि जर्बवस्ती लगिएका नेपाली युवाहरुको संख्या र मृत्यू, गम्भीर चोट र बेपत्ता गरी तिनका भोगाइलाई आँकडाबद्ध गरेर राखेको भए के त्यो वृत्तचित्रले अहिलेको जस्तो संदेश दिन्थ्यो?
पुस्तक र बहसः
अन्तर्निहित सन्देशका हिसाबले केशाङको वृत्तचित्र भन्दा ठीक विपरीत चरित्र बोकेको पुस्तक हो झलक सुवेदीको ब्रिटिश साम्रज्यका नेपाली मोहराः गोर्खा भर्तीको नालीबेली । किम्फकै दौरानमा भएको र सुवेदी पनि उपस्थित एउटा बहसमा दर्शक दीर्घाबाट एउटा लम्बेतान भाषण आएको थियो गोर्खा भर्तीको निरन्तरताको पक्षमाः युवाहरुलाई भोक मेट्न खाडीमा धकेल्नु (वा बेच्नु) पर्ने यो देशमा आम्दानीको राम्रो श्रोत गोर्खा भर्ती किन बन्द गर्ने?
द गुर्खा लिगेसीः नेपाल्स नेस्नल शेम लेखमा तर्कको उठानः
उसो त अस्थिरता र संकटले ग्रस्त नेपालमा मानिसलाई चिन्ता लिने विषयहरुको खाँचो छैन र गोर्खा भर्ती पनि सामान्यतः सीमित मानिसहरुको चासोको विषय रहँदै आएको छ । तर व्यक्तिगत भन्दा पनि समुदायको रुपमा नेपालीहरुको पहिचान, त्यसको ऐतिहासिक उठान र गोर्खा भर्तीजस्ता विषयले त्यसमा पारेको प्रभाव हाम्रो सामाजिक चेतनाका बिर्सन नहुने तत्वहरु हुन् । तिनमा बहस नहुनुको मतलब ती विषयमा बहसयोग्य तत्वहरु छैनन् भन्ने त छैन नै बहस नहुँदा ती विषयमा गलत धारणा वा बुझाइहरु कायम रहने अवस्था छ ।
बेलायतका लागि लड्ने नेपाली युवाहरुको हैसियत आम रुपमा अंग्रेजीमा मर्सिनरी भनेर चिनिने विशुद्ध पैसाका लागि काम गर्ने मानिसहरुभन्दा कति फरक छ भन्ने बहस चल्दै आए पनि हालैको एक घटनाले ती युवाहरुले बेलायतलाई प्रदान गर्ने सेवाको प्रकृतिबारे धेरै प्रश्नको जवाफ दिन्छ । अफगानिस्तानमा कम्व्याटका बेला तालिबान ठानिएको मानिसलाई मारेपछि त्यसको प्रमाणस्वरुप टाउको काटेर मालिकसामु ल्याएर आएको बर्बर घटनाले अपभ्रंश हुँदै गुर्खा भनिने गरिएका ती युवाहरुमा भर्तीपछाडि विकसित हुने मनस्थितिको आँकलन गर्न मदत पुर्याउँछ । सुबेदीको पुस्तकमा बिस्तार गरिएझैं ऐतिहासिक रुपमा बेलायतले नेपाली युवाहरुलाई भर्ती लिनुको कारण गत शताब्दीका ठूला युद्धहरुका लागि उसलाई अचानक ठूलो संख्यामा युवा सिपाहीहरुको आवश्यक पर्नु थियो । आधुनिक विश्वको सबैभन्दा पछिल्लो औपचारिक साम्राज्यका हिसाबले सामान्य मानवीय संवेदना भएका आम युवालाई लिएर संवेदनाविहीन लडाकु सिपाही बनाउने कलामा बेलायत विश्वका अरु धेरै शक्तिहरुभन्दा अगाडि भएको पनि उक्त घटनाले देखाउँछ ।

