गोरखापत्र आएसंगै घरबाट बुवाले बोलाउँदा म बारीमा थिएँ, घाँस काट्दै हो या मकैका पात लुछ्दै, अहिले याद छैन । दौडँदै आएर हेर्दा हजारौं सिम्बोल नम्बरले भरिएको गोरखापत्र पिंढीमा थियो । कथं कदाचित् आफ्नो सिम्बोल नं भएन भने? वा पहिलो डिभिजनमा भएन भने?
भाग्यवश पहिलो डिभिजनकै सुचीमा कक्षा प्रथम म र दोस्रो साथी इन्द्र ढुंगानाको सिम्बोल नंबर थियो । कक्षाका २६ मध्ये १३ वा १४ जना पास भएका थियौं । हामीले कथित फलामे ढोका पार गरेका थियौं । अब जित्नका लागि हाम्रा अगाडि सिंगो संसार थियोः शहर जाऊ, क्याम्पस पढ, जागिर खाऊ, पैसा कमाऊ, बाआमालाई सुख देऊ, हाम्रो असीमित कार्यसुचीका प्रारम्भिक चरण तिनै थिए ।
...........................
![]() |
| Rangkhani Ma. Vi. Rangkhani, from where I passed my SLC |
स्कुल पुग्नासाथ फेरि कसैले खाना टक्र्याइदियो भने हामीले सजिलै अर्को एक भाग खान सक्थ्यौं तर दिनभरको पढाइपछि चार बजेसमेत नियमित खाजा खाने पैसा हुँदैनथ्यो । आँट भएका साथीहरुले वर्षौं बाँकी रहने गरी उधारोमा बिस्कुट, चिउरा र चाउचाउ खाइदिन्थे तर आफू त परियो पूरा मितव्ययिताको प्रतिमुर्ति । अरुले खाएको मंग बसाउने चनाको तरकारीको वास्ना सुँघेर घुटुक्क थुक त कति निलियो कति । साथीहरुले दिएका केही पापा बिस्कुट र एक फाँक चिउराले पेटलाई जिस्काइयो पनि कतिचोटि हो कतिचोटि ।
अनि त्यही भोको पेटमा जमेर भलिबल पनि कति खेलियो कति । फर्कंदा भोक र धपडीले खुट्टा लगलग काँप्थे तर खेल्न छोडिएन ।
![]() |
| Posing with 'Tikhe', our buffalo which fed us for 15 years |
बिहान उठेर भकारा सोहोर्नु, गाइभैंसीलाई घाँस र कुँडो ख्वाउनु, साँझ–बिहान दुध दुहुनु अनि केही दिन बिराएर मोही पार्नु, यी काम त काममै गनिंदैनथे जसरी बिहानको नित्य कर्मलाई काम गनिंदैन । वास्तवमा ती सबै काम हाम्रा नित्यकर्म नै बनिसकेका थिए ।
![]() |
| The house where we were born and raised |
गाउँको जीवन र गाउँको पढाइबारे धेरै जानकारी नराख्नेहरुका लागि यो पृष्ठभुमि दिनुपरेको हो एसएलसीको याद गर्दा ।
एसएलसीलाई फलामे गेट भनिए पनि हामीलाई त्यो सुनको गेटजस्तो थियोः दैनिक पन्ध्र घण्टा श्रम गर्नुपर्ने गाउँको जीवनबाट सदाका लागि बिदा दिने सुनको गेट । गेटको यतापट्टि विरक्त लाग्दो दुखी जिन्दगी थियो जहाँ कुर्कुच्चा पट्पटी फाटेका हुन्थे भने औंलाका काप हिलोले खाएर रक्ताम्य हुन्थे, उतापट्टि शहरको हेर्दै लोभ लाग्दो जिन्दगी हुन्थ्यो जसमा हिलो र झरीबाट टाढै रहन सकिन्थ्यो, तिघ्रा बाउँडिने गरी उकालोमा हिंड्नुको सट्टा बसमा सरर हावा खाँदै यात्रा गर्न सकिन्थ्यो । त्यसबाहेक कहिलेकाहीं घर टप्किने सुनको गेट कटेर गइसकेका दाइदिदीहरुको भावभंगिमा, लवाइखवाइ, बोलीको लवज र तिनले घरमा पाउने पाहुनाको मनितो देख्दा अनि तिनले हेरेका फिल्मको नाम सुन्दा त......... । इष्र्याले जलेर अधीरतापूर्वक सुनको गेट पार गर्ने मुहुर्त पर्खनुको कुनै विकल्प थिएन ।




