एमाले र एमालेकरण भनेका एउटै कुरा हैनन् । एमालेले नेतृत्व गरे पनि एमालेकरण एक हदसम्म हामी बाँचेको समयको प्रतिविम्ब हो । समाज र यसको राजनीतिक आयामका लागि एमालेकरण एक खालको विष हो र यसबाट बच्न सबैभन्दा गाह्रो एमालेलाई नै छ । त्यसको पीडा एमालेभित्र भएर पनि एमालेकृत नभइसकेका अनि नैतिकता र मानवीय संवेदना बचाइराखेका मानिसहरुका लागि सबैभन्दा बढी छ ।एमालेकरण शब्दको आविष्कार मैले गरेको हैन । तर प्रवृत्तिको रुपमा एमालेकरणबारे एउटा लेख लेखेपछि त्यसले जन्माएका प्रतिक्रिया पढ्दा यसबारे थप बहस र विमर्श हुनुपर्छ भन्नेचाहिं मलाई लागेको छ ।
महिनौंअघि यो प्रवृत्तिबारे नै लेख्न थालेको एउटा लेख अधुरो नै रहेपछि त्यो बिर्सिइसकेको थियो । तर घटनाक्रमले घुमाइफिराइ यसका हाँगाबिंगाबारे लेखिरहन बाध्य पारेको अवस्थामा जरालाई नै छिचोलेर किन नलेख्ने भन्ने प्रश्न उठेपछि मैले त्यो लेख लेखेको हुँ ।
लेख्दै जाँदा लेख अखबारी शब्द सीमाभन्दा बढी नै लामो हुन गयो, अहिले गन्दा करीब २७०० शब्दको रहेछ । यति लामो लेख लेख्ने मानिसको पहिलो चुनौती के हुन्छ भने पाठक पहिला केही अनुच्छेद पढ्नासाथ जाँगर मरेर अन्यत्र नलागोस्, र पढ्दापढ्दै ननिदाओस् पनि ।
फर्केर हेर्दा त्यो लेख मैले अपेक्षा गरेभन्दा बढी नै सार्थक भएछजस्तो लागेको छ । त्यसलाई सामाजिक सञ्जालमा वितरण गरिएको संख्या र त्यसका शाब्दिक प्रतिक्रिया हेर्दा त्यसो लागेको हो ।
जुन कुनै लेखकलाई र खास गरी आम सरोकारको विषयमा लेख्ने लेखकलाई दण्डित गर्ने सबैभन्दा सजिलो उपाय भनेको उसलाई नपढीदिएर त्यसै अन्धकारमा रहन दिनु हो । सामान्यतः हामीजस्ता अति सामान्य लेखकका लागि त त्योभन्दा ठूलो दण्ड केही हुन सक्दैन । लेख वा सामाग्री कुनै प्रकाशनमा आएर मात्र जीवन्त हुँदैनन्, तिनको पूर्ण अस्तित्वका लागि पाठकको पठन कार्य अपरिहार्य छ ।
त्यसै गरी लेखकलाई पुरस्कृत गर्ने पनि सकारात्मक वा नकरात्मक तर स्वस्थ र रचनात्मक प्रतिक्रियामार्फत् हो । हामीकहाँ सञ्चार माध्यमहरुमार्फत् दोहोरो सम्वादको थिति नबसीसके पनि अनलाइन मिडियासँगै आएको सञ्चार माध्यमको लोकतान्त्रिकरणले त्यस्तो सम्वाद धेरै हदसम्म सम्भव बनाएको छ ।
यो लेखका पाठकमध्ये केहीले मलाई पहिलोपल्ट पत्रकारको पहिचान दिलाएका छन् । पत्रकार बन्ने अभिलाषा भित्र कतै भए पनि हुन नसकेको मजस्तो मानिसलाई त्यसले ज्यादै नै हर्षित तुल्याउँछ । भ्रमहरुमध्ये प्रिय र प्रीतिकर भ्रमहरुलाई मात्र सत्यजस्तै मानेर चल्ने धेरै मानिसमध्ये म पनि पर्छु । त्यसैले मेरा लागि यो नयाँ भ्रम ज्यादै स्वीकारयोग्य छ ।
यस अघिको पनि यस्तै एउटा रोचक अनुभव छ मसित । बंगलादेशको पछिल्लो चुनावबारे स्पेनिश पत्रिका एल मुण्डोका लागि सामान्य प्रतिक्रिया दिएपछि त्यसका संवाददाता भिक्टरले रिपोर्टमा मेरो नामअगाडि अविश्वसनीय रुपमा लेखेछन्ः एस्टे डायरियो एल एनालिस्टा पोलिटिको अर्थात्, गुगल अनुवादनअनुसार, यस पत्रिकाका राजनैतिक विश्लेषक । त्यसपछि मात्र मलाई याद भएको थियो कि मैले जे प्रतिक्रिया दिएको थिएँ, त्यसलाई राजनीतिक विश्लेषण पनि भन्न सकिन्थ्यो ।
भन्नुको अर्थ, मैले मनमा लागेर लेखेको कुरालाई पत्रकारिताका रुपमा लिन सकिन्छ भने त्यसले मेरा लागि नयाँ सम्भावनाको एउटा बाटो खोल्छ ।
अब प्रवेश गरौं त्यसमा उठाइएका मुद्दा र तिनबारे आएका प्रतिक्रियाबारे । यस्तै बहस होउन् र ती सार्थक पनि होउन् भनेर भनेर मैले लेखमा घनश्याम भुसालको नाम तोकेरै लिएको हुँ । प्रबुद्ध विचारक भएर पनि कुनै बेला कुनै रुपमा उहाँले उक्त आलेखको प्रतिवाद गर्न जरुरी ठान्नुभयो भने त्यसले यो बहसको सार्थकता अझ बढाउने थियो ।
धेरैजनाको गुनासो के छ भने लेखमा सान्दर्भिक कुरा उठाउँदाउठाउँदै पनि लेखलाई एमालेमा केन्द्रित गर्नाले लेख पूर्वाग्रही र गालीपरक भयो । त्यति नै गाली खानुपर्ने काँग्रेस र माओवादीलाई गाली नगर्ने तर एमालेको मात्र खोइरो किन खन्ने भन्ने धेरैको प्रश्न छ । अर्को खरो प्रतिक्रिया के छ भने विगत दशकहरुमा काँग्रेसले गरेको भ्रष्टाचार र माओवादीले मच्चाएको हिंसाका लागि समेत एमालेलाई जिम्मेवार ठहर्याएर भविष्य एमालेले मात्र बर्बाद पार्यो भन्ने भान पार्नु गलत कुरा हो ।
यथार्थ के हो भने, यो एउटा लेख हो, इतिहास हैन । मेरो लेखनका कुरा गर्ने हो भने हिसिला मन्त्री हुँदा र प्रचण्डले लोकमानलाई अख्तियारमा उचाल्दा माओवादी नेतृत्वको नाम किटेर खोइरो खन्नेहरुको अग्रपंक्तिमा म थिएँ । नरहरि आचार्य र सुशील कोइरालाको प्रतापले सर्वोच्चमा कलंकित न्यायधीशहरुको भीड थुपार्दा तिनलाई नाम तोकेरै भ्रष्ट भन्नेहरुमध्ये पनि म थिएँ । लोकतन्त्रमा नागरिकको बोलीको पनि अर्थ हुन्छ भन्ने भ्रम पालेर दबाबकै लागि फरक फरक शैलीमा उनीहरुलाई पटकपटक धारेहात लगाउने काम गरिरहँदा देख्नेले भनेकै हुन्ः अहो, यो त कस्तो माओवादीविरोधी वा काँग्रेसविरोधी ।
अहिले देशमा जुन ब्रम्हलुट छ, त्यसलाई काँग्रेसीकरण वा माओवादीकरण भन्नुभन्दा एमालेकरण भन्नु कैयौं गुना उपयुक्त हुन्छ भन्ने मेरो विश्लेषणचाहिं अवष्य हो । त्यसको अर्थ देशमा एमालेचाहिं भ्रष्ट अरु सबै चोखा भन्ने किमार्थ हैन तर एमालेकरण भनेर त्यो प्रवृत्तिको नामाकरण गर्दा एमालेलाई किन मुछ्ने भन्ने प्रश्नको जवाफचाहिं मसँग छ ।
जुन पुरुषार्थसहित एमालेले देशको औपचारिक अर्थतन्त्रलाई सुकाएर कालो अर्थतन्त्रको साम्राज्यको निर्माण गरिरहेको छ, चाहेर पनि त्यसलाई उसका प्रतिस्पर्धीहरुले भेट्याउन सकेका छैनन् र भेट्न सक्ने लक्षण पनि देखिंदैन । वर्चस्व र नेतृत्वका कारण फूटेको काँग्रेसको नाम तत्काललाई काँग्रेस (देउवा) र फूटेको राप्रपाको नाम राप्रपा (थापा) भएजस्तै प्रवृत्तिको नामाकरणमा एमालेको घुसेको हो । कालान्तरमा जसरी काँग्रेस (देउवा) काँग्रेस (प्रजातान्त्रिक)मा परिणत भयो, त्यसरी यो प्रवृत्ति पनि भविष्यमा अर्को नामले पुकारिने सम्भावना जहिले पनि जीवितै रहन्छ ।
त्यसबाहेक अर्को महत्वपूर्ण कुरा के भने, कुन मुद्दा वा प्रवृत्ति कुन समय क्रमका लागि उठाइएको हो, त्यो नबुझ्दा समस्या परेको देखिन्छ । माओवादी हत्या हिंसा अब विगतको कुरा भइसकेको छ र त्यो विधिवत् अन्त भएको समेत अब एक दशक बितिसकेको छ । पछि फर्केर मूल्यांकन वा ऐतिहासिक लेखाजोखा गर्ने कुरा बेग्लै हो, तर भोलिको नेपालका लागि माओवादीको हिंस्रक विगत जति महत्वपूर्ण छ, त्योभन्दा महत्वपूर्ण अब उनीहरुको भ्रष्ट निकट विगत र वर्तमान् भइसकेको छ । त्यसै गरी काँग्रेसको पञ्चायतकालीन हिंस्रक विगत अब सम्झनामा मात्र सीमित छ र भविष्यका लागि त उसको भ्रष्ट र अकर्मण्य वर्तमान् कैयौं गुना बढी महत्वपूर्ण छ ।
त्यसैले माओवादीले हिजो मानिस मार्यो, हिजोदेखि भ्रष्टाचार गर्दै आएको छ, काँग्रेस आजीवन भ्रष्ट पार्टीका रुपमा अस्तित्वमा छ, त्यसैले एमाले जेजस्तो छ, त्यसलाई नबोलेर स्वीकार गरौं भन्ने आग्रहमा कुनै तुक छैन ।
मेरो निचोड के भने, आजका दिनमा, २०७१ सालमा उभिएर हेर्दा भविष्यका लागि सबैभन्दा चिन्ताजनक प्रवृत्ति केही छ भने त्यो एमालेकरण छ । २०४१ मा त्यो ठाउँमा वैधता खुस्किंदै गए पनि बलपूर्वक शासन गरेको राजतन्त्रको दम्भ थियो होला, २०५१ मा काँग्रेस नेतृत्वमा लोकतन्त्रले भोगेको निराशाजनक अनुभवबाट निःश्रृत आम वितृष्णा थियो होला, २०५८ मा राजाको बढ्दो महत्वाकांक्षा थियो होला, २०६८ मा त्यो माओवादीको स्खलन र असफलताबाट सिर्जित क्षोभ थियो होला । तर हाम्रो लगाव तीमध्ये कुनै समय वा प्रवृत्तिमा छ भन्दैमा २०७१ मा ल्याएर तिनलाई पुनसर््थापित गर्न त मिल्दैन ।
एमालेकरणबारेको उक्त आलेख नेपालको भविष्यलाई आँकलन गरेर २०७१ सालमा लेखिएकैले त्यसमा माओवादी जनयुद्धको हिंसा वा काँग्रेसको भ्रष्ट प्रवृत्ति आए पनि प्रधान भएर नआएका हुन् ।
त्यसबाहेक, यो लेखपछि बहसमा उत्रिने अवस्था आउँछ भनेरै मैले केही कुराहरुमा विशेष ध्यान दिएको थिएँ । जस्तो कि एमाले र एमालेकरण कसैले माया गर भनेर माया लाग्ने र घृणा गर भनेर घृणा हुने समूह र प्रवृत्ति नै हैनन् । मैले तिनलाई असल कि खराब भनेर छुट्याउनुभन्दा पनि ती व्यवहारिक रुपमा कसरी प्रकट हुन्छन् भनेर यथार्थ तेस्र्याइदिएको मात्र हुँ । छनोटको अधिकार जहिले पनि आम मानिस र पाठकहरुसँग रहन्छ, लेखकको काम नै खाली छोपिएको सत्यलाई उदांगो बनाइदिने हो ।
तथ्यको तहमा पुगेपछि उक्त आलेखको बचाउ गर्न यति सजिलो छ कि, एक पृष्ठभन्दा लामा प्रतिक्रियामा समेत त्यसमा प्रस्तुत तथ्यमा प्रवेश गरेर तिनमा प्रश्न उठाउने बौद्धिक साहस देखाइएको छैन । प्रतिष्ठित विश्वविद्यालयबाट विनिर्माण र ध्वंश गरेर एमालेको स्वार्थ पुर्ति केन्द्र बनाइएको त्रि वि मा त्यसका उपकुलपतिले प्राज्ञिक वेश्यावृत्ति गरेका भनेर मैले किटान गरेर भनेको छु र भौतिकशास्त्र र चिकित्सा शास्त्रका ठोस उदाहरण दिएर कसरी आउँदो पाँच पुस्ताको भविष्य बर्बाद पारिएको छ त्यो खुलाएको छु । तर आएका टिप्पणीमध्ये अस्सी प्रतिशत आलोचनात्मक हुँदा कसैले त्रि विको वा उपकुलपतिको वा उनलाई नियुक्त गरेका झलनाथको बचाउ गर्ने प्रयास गरेका छैनन् । हुन त गर्न नसकिने कुरा गर्न नखोज्नु एक स्तरको बौद्धिक इमान्दारी हो, तर हिजो माओवादीले मान्छे मारे वा काँग्रेसले भ्रष्टाचार गर्यो भन्दैमा आज एमालेले अरु पाँच पुस्ताको भविष्य बर्बाद पाउनुपर्छ भन्न मिल्छ? त्यस्ता उदाहरण धेरै छन् ।
मैले भोलि इतिहासको रुपमा कुनै दस्तावेज लेखें भने त्यो सन्तुलित र सबै पक्षलाई न्याय गर्ने खालको हुुनुपर्छ भन्नेमा विश्वस्त छु । तर वर्तमानको खास पाटोमा प्रकाश पार्न लेखिएको यो वा त्यो आलेखमध्ये हरेकमा सबैलाई न्याय गर्ने नाममा मिसमास पार्न थालियो भने त्यस्तो लेखन आफैं विलखबन्दमा टुंगिन्छ ।
अन्तमा एउटा स्पष्टीकरणः एमाले र एमालेकरण भनेका एउटै कुरा हैनन् । एमालेले नेतृत्व गरे पनि एमालेकरण एक हदसम्म हामी बाँचेको समयको प्रतिविम्ब हो । समाज र यसको राजनीतिक आयामका लागि एमालेकरण एक खालको विष हो र यसबाट बच्न सबैभन्दा गाह्रो एमालेलाई नै छ । त्यसको पीडा एमालेभित्र भएर पनि एमालेकृत नभइसकेका अनि नैतिकता र मानवीय संवेदना बचाइराखेका मानिसहरुका लागि सबैभन्दा बढी छ ।
उत्तिकै गाह्रो नभए पनि काँग्रेस–माओवादी आफैं एमालेकरणको प्रकियाबाट अलग्गिन सकेका छैनन्, त्यो बेग्लै कुरा हो । समाज र राज्यका रुपमा नेपालका लागि त्यो एउटा ठूलो दुर्भाग्य हो । भोलिका दिनमा आज एमालेकरण भनिएको प्रवृत्तिबाट राजनीतिक दलका रुपमा एमाले (एमाले राजनीतिक दलभन्दा पनि इन्ट्रेस्ट ग्रुप वा स्वार्थ समूहमा स्खलित हुँदै गइरहेको छ भन्ने मेरो धेरै पहिलेदेखिको निक्र्योल हो) एमालेकरणको गोलचक्करबाट बाहिरिएर कानुनी राज्य र जवाफदेहीताको पक्षधर भयो भने सबैभन्दा खुशी हुनेमा म पनि पर्नेछु । त्यसो नहुँदासम्मका लागि भोलि एमालेकरणबारे गहिरो शोध गर्नुपर्यो वा त्यो प्रवृत्तिको वाहकका रुपमा एमालेको आलोचना गरेर लेखिरहनुपर्यो भने पनि म तयार छु । खुल्दुली यत्ति हो, मलाई आजै पत्रकार भनिसकेका साथीहरुले भोलि त्यो अवस्थामा अरु के के भन्लान्?
No comments:
Post a Comment