जब सुरेन्द्र चौधरीको एउटा भाषणले सडकबाटै लोकमानको बहिर्गमनको पूर्व–प्रक्रिया शुरु गर्यो
२ महिना अघिको कुरा । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध चुँ गर्ने मानिसहरुको संख्या सानो थियो । कारण प्रस्टै थियोः जसले त्यस्तो दुस्साहस गरेका थिए, तिनले असीम मानसिक वा मानसिक र भौतिक दुवै यातना खाएका थिए । राज्यका विभिन्न अंगहरुको कोपभाजनमा परेका तीमध्ये धेरैले न्यायालयबाट अन्ततः न्याय पाएका थिए र धेरै मुद्दाहरुमा एकनासले सर्वोच्च अदालतले कार्यक्षेत्र ननाघ्न अदुअआलाई आदेश दिएको थियो ।
तर मान्नेलाई न लाग्छ आदेश । सर्वोच्च न्यायालायको आदेश समेत नमानेपछि कसैको केही लाग्दोरहेनछ भन्ने पटक पटक देखियो । अदुअआको कोपभाजनमा पर्नेहरुमध्ये धेरैले अदालती आदेश आउनुअगावै चर्को मानसिक प्रताडना भोगिसकेका थिए । जसलाई अनुसन्धानका लागि भनेर ब्यारेकजस्तो अदुअआ परिसरभित्र थुनियो, तिनलाई मुबारकको इजिप्ट र किम जोङ उनको उत्तर कोरियाको समेत याद आयो ।
तीमध्ये सबै जसो अदालतबाट सफाइ पाएर मुक्त भइसकेपछि पनि उन्मुक्त भएनन् । त्यत्रो विधि अन्याय खपेर पनि त्यो अनुभव सार्वजनिक गरेनन् । अख्तियारले पक्रनुलाई अपराध पुष्टि हुनु झैं गरेर मुखपृष्ठमा कभरेज गर्ने मिडियाले उनीहरु निर्दोष सावित हुँदा किन भित्री पृस्ठमा १ कोलम र ५० शब्दको समाचार मात्र लेखे भनेर प्रश्न उठाएनन् ।
कारणः उनीहरुको भोगाइ र सिकाइ । आफैंलाई परेपछि उनीहरुले एउटा कुरा सकेः यो देशमा जो फस्यो, फस्यो । दोषी वा निर्दोष भन्ने तपशीलको कुरा । फेरि पनि परिआयो भने कोही लडिदिनेवाला छैन, त्यसैले चुप लाग्दा राम्रो भन्ने उनीहरुको निक्र्योल रह्यो । खास गरी विभिन्न विश्वविद्यालयका उच्च पदाधिकारीहरुको लाचारी र मौनता त यस्तो छ कि प्राज्ञिक तप्काको यस्तो बेहाल धेरै अधिनायकवादी देशहरुमा समेत हुँदैन ।
ती प्राध्यापकहरुको अवस्थाले मलाई संकटकालमा पक्रेर चर्को यातनापछि छाडिएका एक क्रान्तिकारी कविको याद आयो । महिनौंको नरकवासपछि उनी मुक्त गरिएका त थिए तर उनको बाँच्न पाउने अधिकार सम्झेर उनलाई मुक्त गरिएको थिएन । शासन व्यवस्थालाई चुनौती दिने हो भने कसैको हालत कृष्ण सेन इच्छुकको जस्तो बनाइन्छ भने कसैको यस्तो पनि गरिन्छ भनेर सबैलाई पाठ पढाउन उनलाई छाडिएको थियो । ती कविलाई भेट्नै मौका त मिलेन तर उनी निस्केलगत्तै एक सहकर्मी साहित्यकारले लेखेको उनीबारेको अत्यासलाग्दो बयान मैले पढ्न पाएको थिएँ । उनका शब्दमा कविलाई छाडिएको त थियो तर उनको थिल्थिलो शरीर र शुष्क मानसिकतासँगै उनका शब्द खोसिएको थियो ।
देश लोकतान्त्रिक गणतन्त्र बनेर नयाँ संविधान लागू भइसकेपछि, त्यो पनि एउटा संवैधानिक निकायको प्रमुखको व्यवहार र महत्वाकांक्षाका कारण भयानक सशस्त्र युद्धका बेला कायम संकटकालका अनुभवहरु सम्झन पर्नु एउटा ठूलो विडम्बना थियो ।
....
यो शनिवार बालुवाटारमा सोलिडारिटी फर डा केसी एलायन्सको तर्फबाट धर्ना र प्रदर्शन भयो । कार्यक्रमको नारा थियोः 'डा केसीसँगै उभिऔं' ।
कार्यक्रमको उपस्थिति सोचेभन्दा कम थियो तर त्यसको रौनक सोचेभन्दा निकै बढी । कार्यक्रम अगाडि नेपालका सबै सांसदहरुलाई हामीले एसएमएसमार्फत सडकको कार्यक्रममा बोलाएका थियौं । तीमध्ये एक सांसदले कलब्याक गरेर म आउँछु भने, र आए ।
ती सांसद थिए काँग्रेसका सुरेन्द्र चौधरी । एकै निर्वाचन क्षेत्रबाट ४ चोटि निर्वाचित, ३ पल्ट मन्त्री बनिसकेका तर अहिले पनि काठमाडौंमा डेरा गरेर बस्ने यी सांसद अंग्रजी साहित्य र अन्तर्राष्ट्रिय अर्थतन्त्र विषयमा स्नातकोत्तर रहेछन् ।
गजब त तब भयो जब सार्वजनिक कार्यक्रममा उनले अदुअआ प्रमुख लोकमान सिंह कार्कीलाई असनमा छाडिएको बौलाहा साँढेसित तुलना गरे । कार्कीलाई मनमनै त्यस्तो विशेषण दिनेहरु धेरै होलान् तर ससानो समुहको छलफलमा समेत अझै त्यस्तो विशेषण दिन मानिसहरु हच्किन्छन् । जब उनले यो अभिव्यक्ति निकाले, धेरैलाई महसुस भयोः कस्तो गजब तुलना, सबैको पेटमा आएको तर मुखमा नआइसकेको कुरा जस्तो ।
देशको संवैधानिक निकायको प्रमुखलाई सार्वजनिक रुपमा त्यसरी कसैले पनि लाञ्छित गर्नु शोभनीय हैन । अझ त्यसमाथि राज्यको एक प्रमुख अंग व्यवस्थापिकाको सदस्यले त्यसो गर्नु त झनै अशोभनीय हो ।
तर लोकमान आफ्नै व्यवहार कति शोभनीय छ त भनेर सोध्यो भने चौधरीको यस्तो लाञ्छना गौण प्रतित हुन्छ । छाडा साँढेको प्रतिक अहिलेको समयमा नेपालको अरु कुनै पनि जिम्मेवार मानिसका लागि प्रयोग गर्यो भने गलत हुन्छ किनकि सबैलाई कतै न कतैबाट अंकुश लागेको छ । जसलाई औपचारिक रुपमा अरुको अंकुश छैन, उनीहरु आफ्नै विवेकको अंकुश प्रयोग गरेर सन्तुलित व्यवहार देखाइरहेका छन् ।
तर लोकमान? वासस्थल र कार्यालयबाट तीन किलोमिटर जति टाढा रहेका सर्वोच्च अदालतले मान हानिको मुद्दामा बोलाएको अब डेढ महिना पुगिसक्यो तर उनले म्यादै बुझेका छैनन् । संसदको समितिले सोधपुछका लागि बोलायो तर उनी गएनन् । त्यति मात्र हैन, नजानुको यस्तो कारण दिए कि उनलाई बोलाउने संसदीय समिति आफैं हाँसोको विषय बन्न पुग्योः आफ्नो घाँटी दुखेको भनेर बोलाइएका बाँकी आयुक्तहरुलाई समेत पठाएनन् । सर्वोच्च अदालतलाई त उनले विभिन्न मुद्दामा लिखित रुपमा ढाँटेको प्रमाणित नै भइसकेको छ । अख्तियारभित्रै उनको हुकुमी शासन, राष्ट्रिय अनुसन्धान विभाग र राजस्व विभागजस्ता राज्यका असम्बन्धित अंगहरुमाथि उनको फलामे हातको नियन्त्रण हेर्दा उनले आफूलाई विना श्रीपेचको राजा सम्झेको प्रष्टै देखिन्छ ।
तर देशमा कायम संविधानमा यस खालको राजाको व्यवस्था छैन । उनको पदले उनलाई दिने कुल अधिकार भनेको सार्वजनिक पदमा बसेर भ्रष्टाचार गर्ने व्यक्तिहरुमाथि छानविन गरेर मुद्दा चलाउने । यसरी औंला निल्ने भुमिकामा भएर पाखुरा नै निल्नुलाई आफ्नो अधिकार सम्झँदै आएका लोकमानलाई असनमा छाडिएको बौलाहा साँढेसित तुलना गर्नु अप्राकृतिक चाहिं पटक्कै छैन ।
....
सुरेन्द्र चौधरीको यो निर्धक्क भनाइ २ कारणले महत्वपूर्ण छ । एक, डा गोविन्द केसीको सत्याग्रहको बलमा लोकमानको ज्यादतीबारे नागरिकहरुले जसरी पछिल्लो समयमा मुख खोलेका छन्, त्यसमा जनप्रतिनिधिहरु थपिंदै छन् । चौधरीकै जस्ता कडा शब्द प्रयोग नगरे पनि कम्तीमा २५ जना सांसदहरुले अहिलेसम्म हामीहरुसँगको अन्तक्र्रियामा खुलेर लोकमानका कामहरुप्रति आपत्ति जनाएका छन् । यो विषयमा दुई महिना अगाडिसम्म कायम मूर्दा शान्तिसित तुलना गरेर हेर्ने हो भने यो परिवर्तनलाई क्रान्तिकारी मान्नुपर्छ किनकि लोकमानले त्रासको भरमा चलाइरहेको समानान्तर सत्ता असफलताउन्मुख भएको बलियो लक्षण हो यो ।
दुई, यदि एक इमान्दार सांसद सडकमा आएर लोकमानविरुद्ध यस्तो खरो कुरा गर्न सक्छन् भने अरु सांसदहरु यो विषयमा किन अझै मौन छन् भन्ने जबर्जस्त प्रश्न यसले उठाइदिएको छ ।
इमान्दार छवि हुने र आफैंमा विश्वास हुनेहरु त जत्रो जोखिम मोलेर पनि व्यवस्थामा लागेको भ्रष्टाचारको जालोलाई चुनौती दिन निस्कँदा रहेछन्, पदीय हिसाबले अशोभनीय लागे पनि आफ्नो विवेकले देखेको कुरा बोल्दा रहेछन् भन्ने राम्रो उदाहरण बन्न पुगेको छ चौधरीको त्यो सम्बोधन । लोकमानले न्यायालय र संसदको धज्जी उडाएर ‘म तिमीहरुलाई टेर्दिन, के लछारपाटो लगाउँछौ लगाऊ’ भन्ने सन्देश दोहोर्याइ तेहेर्याइ दिंदा पनि सांसदहरुको निरन्तरको मौनता अब कहिलेसम्म भन्ने गम्भीर प्रश्न पनि अब उठेको छ ।
साथै लोकमानको विषयमा नबोल्ने वा उनको पक्ष लिएर बोल्नेहरुले बिस्तारै उनले चलाएको समानान्तर सत्ताको सर्वोच्चतालाई स्वीकारेको भन्ने सन्देश जाने अवस्था अब सिर्जना हुँदै आएको छ । त्यो किन पनि भने चौधरी बाहेक अरु करीब २ दर्जन सांसदहरुले विभिन्न फोरममा लोकमानको ज्यादतीलाई चुनौती दिइसकेका छन् ।
अहिलेसम्म नसुनेजस्तो गर्न सफल भए पनि अब यो विषयमा कुनै पनि सांसद र राजनीतिज्ञले पक्ष वा विपक्षमा उभिनुको विकल्प मेटिंदै गएको छ ।
र सबैलाई के थाहा छ भने, लोकमानको अहिलेसम्मको व्यवहार र रवैया हेरी उनको पक्षमा लाग्नु भनेको राजनीतिक भविष्यबाट झण्डै झण्डै हात धुनु हो । यही डरले हाम्रा अधिकांश सांसदहरुले लोकमानलाई रिझाउने मन हुँदाहुँदै पनि उनको पक्ष लिन नसकेका हुन् । घटनाक्रम हेर्दा अब चाहिं लोकमानको पक्ष लिनेहरु पहिलेभन्दा पनि बढी कलंकित हुन तयार हुनुपर्नेछ ।
सांसद सुरेन्द्र चौधरीको बालुवाटार संबोधनको सबैभन्दा ठूलो महत्वचाहिं यही होः उनले बाँकी सांसदहरुलाई अहिलेझैं अकर्मण्य, लाचार र शब्दविहीन भएर बस्ने सुविधाको अन्त गरिदिएका छन् । अब जुन प्रक्रिया अघि बढ्छ, त्यो लोकमानको अदुअआबाट बहिर्गमनमा गएर मात्र टुंगिनेछ । यसैले हो बालुवाटारको कार्यक्रमले टंगालको गद्दी हल्लेको ।
No comments:
Post a Comment