यो आज अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित सम्पादकीयको अंश हो । सो पत्रिकाले यस अघि यस्तै अर्थ लाग्ने समाचार सामाग्रीहरु पनि छापिसकेको छ ।
यो सम्पादकीयका दुइटा अर्थ हुन सक्छन् । एक, सम्पादक डा केसीको अनशनको शक्ति दुरुपयोग हुने र कसैले आफ्नो लाभका लागि यसलाई प्रयोग गर्न सक्ने सम्भावनाप्रति चिन्तित छन् र सद्भाववश डा केसीलाई होशियार रहन सुझाव दिंदै छन् ।
दुई, सम्पादकलाई यो अनशन सफल भएमा जसको स्वार्थमा आँच आउने हो, तिनको निकै चिन्ता छ र अनशन शुरु नहुँदै त्यसमा हिलो छ्यापेर त्यसलाई निष्प्रभावी बनाउने उनको एजेण्डा छ । अर्को शब्दमा, अहिले जो डा केसीको निशानामा छन्, तिनको कुरा उक्त सम्पादकमार्फत बाहिर ल्याउने काम हुँदैछ ।
यी दुईमध्ये कुनचाहिं साँचो हो, समयले बताइ नै हाल्ला तर अहिलेलाई केही कुरा प्रष्ट भएका छन् र सो सम्पादकीयले भ्रम सिर्जना गर्न खोजेका केही कुराबारे यहाँ प्रष्ट पारिनुपर्छ ।
डा केसी कसैको स्वार्थका लागि बसेको भन्ने आरोप नौलो हैन । बरु प्रत्येकपल्ट जसको स्वार्थमा आँच आउँछ, उसले यो आरोप लगाइ नै हाल्छ । शुरुका अनशनहरुमा नयाँ चिकित्सा शिक्षा नीति नबनाइ भद्रगोल पाराले नयाँ मेडिकल कलेज थप्न हुँदैन भन्दा पुराना मेडिकल कलेजको स्वार्थमा आन्दोलन गरेको भन्नेहरु बग्रेल्ती थिए ।
