Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Showing posts with label Maoists. Show all posts
Showing posts with label Maoists. Show all posts

Wednesday, February 20, 2013

पदम कुँवरको ऐनामा माओवादी दलहरु



एमाओवादीको खाओवादतिरको यात्रा र ड्यास माओवादीको हिजोको बन्द र दैलेख घटनाबारेको प्रतिक्रियालाई फराकिलो नजरबाट हेर्न पदम कुँवरलगायत जनयुद्धको बाली हुर्काइसकेर फलचाहिं प्रचण्डका आसेपासे र दलालहरुलाई सुम्पेका मानिसहरुको जीवनले ऐनाको काम गर्छ । केही अनुभुतिहरुः

जनयुद्धको गौरवशाली इतिहासको विरासत थाम्न हिजोको बन्दको आयोजक दलले ऐतिहासिक निर्णय गरेर फेरि एकचोटि जनहितका लागि हतियारै उठाउन परे पनि पछि नहट्ने भन्ने नेताहरुको भाषणबाट बुझिन्छ । उनीहको स्थानबाट हेर्दा त्यस्तो विश्लेषण कति यथार्थपरक छ मलाई थाहा छैन । तर आम मानिसको स्थानबाट हेर्दा त्यो के हो भन्ने कुराचाहिं म छोटकरीमा राख्न चाहन्छु ।

 हिजो जनयुद्ध भनिएको सशस्त्र संघर्षका लागि हतियार लिएर आफ्नो ज्यान होमेका मानिसहरुका लागि उनीहरुले गरेको इतिहासको विश्लेषण र लिएको निर्णय कति सत्य र कति मिथ्या थियो भन्ने आँकलन गर्न पदम कुँवर र उनीजस्तै उपेक्षित, परित्यक्त र दिग्भ्रमित पूर्व माओवादी कार्यकर्ताहरुको अवस्था हेर्न सकिन्छ । आम राजनीतिक विश्लेषकहरुका लागि मात्र नभई ऐतिहासिक धरातलमा रहेर दीर्घकालसम्मका लागि नेपालको माओवादी विद्रोह र त्यसको अवतरणसम्बन्धी शोध गर्नका लागि पनि ती युवाहरुको अवस्था उचित हुन्छ ।

त्यसो त अहिले अस्तित्वमा रहेका र नाममा माओवादी जोड्ने कुनै पनि शक्तिको दम्भ, अहंकार, संकीर्णता र ढोंगले यथार्थलाई सही रुपमा बुझ्नबाट उनीहरुलाई रोक्छ, त्यो अर्कै कुरा हो । प्रचण्डलाई झापड हानेकै कारणले हैन कि विगतमा उनीहरुले देखाएका झूटा सपना र इतिहासको आत्मकेन्द्रित विश्लेषणबाट निश्रित अवस्थालाई पृष्ठभुमिबाट सतहमा ल्याएकाले एउटा प्रतिनिधिका रुपमा पदम कुँवरलाई यहाँ चर्चामा ल्याइएको हो ।

उसो त वैद्य नेतृत्वको माओवादीले भन्लाः कुँवरको झापड त एमाओवादीले गरेको गद्दारीका फल हो जसको ड्यास माओवादीले विरोध गर्छ । तर त्यसो भए आज किन हजारौं पदम कुँवरहरु दिग्भ्रमित भएर अरबको मरुभुमिमा जाँदैछन्, उनीहरुको गौरवशाली पार्टीमा आवद्ध हुन छाडेर? फेरि उनीहरुले भन्लान्ः हामीसँग जति पनि नेपाल बन्द गर्न पुग्ने गरी कार्यकर्ताहरु छँदैछन् । तर संक्रमणकालीन भद्रगोल र अराजकता भएको यो देशमा अहिले बन्द गर्न कुनै पनि क्षुद्र स्वार्थ समूहले पालेका दुई दर्जन लठैतहरु नै काफी छन्, कमरेड वैद्यको गौरवशाली पार्टीका त के कुरा ।

थप्पडकाण्ड पछिको सांघातिक हमलामा झण्डै ज्यान गुमाएका कुँवरले एउटा अन्तर्वातामा भनेका रहेछन्ः यति त भइ नै सक्यो ,अब गुमाउन जीवनमा के नै रह्यो र? जसरी पदम कुँवरहरुको जीवनमा गुमाउन केही रहेन, खाओवादीमा परिणत हुँदै गइरहेको एमाओवादीका लागिचाहिं कमाउन बाँकी केही नरहलाजस्तो छ भने हिजोको सशस्त्र युद्धको पीडा बिर्सिनसकेका मानिसहरुलाई अर्को सशस्त्र विद्रोहको अगुल्टोले डाम्दै जाने हो भने वैद्यहरुका लागि पनि छिट्टै गुमाउनका लागि कुनै जनाधार रहने छैन । त्यसो त माक्र्सवादका पोथाहरु यान्त्रिक रुपमा रटान गर्नु र आधा वा एक शताब्दीअगाडिको रुस वा चीनको यथार्थमा घोत्लिनुबाहेक अहिलेको नेपाल र यहाँका नेपालीहरु गुज्रिरहेको अवस्थाबारे कहिल्यै वस्तुगत रुपमा बुझ्ने कोशिस गरेजस्तो लाग्दैन नेपालको कुनै पनि कथित माओवादी पार्टील, कम्तीमा पनि उनीहरुको व्यवहारले त्यो देखाउँछ । हिजो ज्यानै गुमाएका हजारौं नेपालीहरुमात्र हैन, आफन्त गुमाएका लाखौं मानिस र त्यो युद्धका लागि जीवनको उर्वर हिस्सा खर्च गरेका तथा युद्धकै कारण अकल्पनीय कष्ट खपेका मानिसहरुलाई देखाउन अहिले उनीहरुसँग के छ, जसले विश्वास दिलाओस् कि उनीहरुका शब्दहरुको कुनै अर्थ पनि हुन सक्छ?

Saturday, January 5, 2013

गाउँका भट्टी र हिसिलापथको माओवादी




माओवाददेखि खाओवादसम्मको यात्रामा एकीकृत माओवादी

१५ वर्ष अघिः
झुप्रोमा बस्ने एउटा गरीबको छोरोले संसार बदल्ने सपना देख्छ । समाजमा व्याप्त ठालुहरुको बिगबिगीबाट वाक्क भएर तिनको संसार उल्ट्याउने र गरीबहरुको भलो गर्ने कसम पनि खान्छ । अनि त्यो महान सपना साकार पार्न कम्युनिष्ट पार्टीको छहारीमा पुग्छ । त्यहाँ समाजमा व्याप्त वर्गीय, लैंगिक, जातीय, क्षेत्रीय, आदि विभेदलाई निमिट्यान्न पार्ने अभियानमा ऊ पनि सरिक हुन्छ । खाली निजी सम्पत्ति जोड्ने र सुखसयल मात्र गर्ने आम प्रवृत्तिलाई चुनौती दिंदै उनीहरुले चर्चा गर्छन् कसरी सोभियत संघ र चीनका कम्युनहरुमा मानिसहरुले आदर्श किसिमको जीवन यापन गर्छन् । कसरी त्यहाँका सर्वहाराहरुले राज्य चलाउँछन् र पहिलेका ठालु र सामन्तहरुचाहिं पसिना चुहाउँदै काम गर्न बाध्य हुन्छन् । अनि कसरी त्यहाँको राज्यले मानिसका सबै आवस्यकता पुर्ति गर्छ र यहाँ झैं एक गास भात र एक सरो लुगाका लागि मानिस रुनुपर्दैन । के त्यस्तो राज्य नेपालमा नआउला? यस्ता प्रश्नका उत्तर दिंदै नेताहरु भन्छन्ः सर्वहाराका लागि गुमाउन नेल र जञ्जिरबाहेक केही छैन तर जित्न सारा संसार छ । आज वा भोलि, हाम्रो विजय निश्चित छ ।

हालः
पहिलेको गरीबको छोरो अब गरीब रहेन । ऊ अब घरको मालिक भैसकेको छ र गाउँको पनि नामी मानिस बन्ने क्रममा छ । गाउँमा गरिबी छ तर ऊ अब धनी भैसकेको छ । उसको ढुंगाले छाएको पक्की घर भैसकेको छ र त्यहाँ एउटा ठुलो पसल छ । त्यहाँ के पाइन्छ भन्दा पनि के पाइंदैन भनेर सोध्नुपर्छ । तर त्यहाँको सबैभन्दा प्रख्यात र धेरै व्यापार हुने वस्तुचाहिं रक्सी हो । एउटा ठुलो कोठामा ओछ्याइएका गुन्द्रीहरुमा मानिसहरु लस्करै बसेर मासु र रक्सी खाँदै गरेका भेटिन्छन् । तास खेल्नेहरुका लागि अलग्गै कोठा छ । शहरका अमीरहरु त यहाँ रक्सी खान कसरी आउँथे र, खाडीमा काम गरेर फर्केका र गाउँमै ज्यालादारी काम गर्नेहरु यहाँका ग्राहकहरु हुन् । भुतपुर्व गरीबले व्यावसाय बढाउने नयाँ तरिका निकालेको छ । घरगोठ वा स्कुल बनाउने कामदारहरुलाई महिनाभर बोलाई बोलाई उधारो रक्सी पिलाउँछ अनि ठेकेदारलाई चाहिं सित्तैमा । महिना मर्दासाथ ठेकेदारले उसको बिल कटाएर मात्र कामदारलाई बचेको पैसा दिन्छ र अर्कोदिन कामदारका श्रीमतीहरु आफ्ना श्रीमान्, ठेकेदार र पसले तीनैजनालाई धारे हात लगाउँदै सराप्छन् अनि दिनभर बाझेर फर्कन्छन् । अर्को दिनदेखि फेरि त्यही क्रम शुरु हुन्छ ।

यो कथा एक व्यक्तिको हो तर माओवादबाट प्रचण्डपथ हुँदै हिसिलापथमा स्खलित भएको एकीकृत भनिने नेकपा माओवादीको कथासँग यसले हुबहु मेल खान्छ । गरीबीबाट माओवादीमा प्रवेश गरेर त्यो पार्टीलाई नेपालमा राजनीतिको केन्द्रमा पुर्याउने मानिसहरुमध्ये सबैजसो गरीबीमै फर्केर अब त्यसबाट पार पाउन धेरै जना खाडीको मरुभुमितिर हानिंदैछन् भनिन्छ । गरीबको राज्य ल्याउने अनि त्यसलाई बिस्तार गरेर विश्वव्यापी बनाएपछि मानव मात्रलाई आदर्श किसिमको जीवन ज्यूने वातावरण मिलाउने विशाल सपना देखेर बन्दुक बोकेकाहरुको मनमा अहिले के गुज्रिरहेको छ, मलाई थाहा छैन । तर त्यो पार्टीको नेतृत्व तहमा रहेर गरीबी मेट्ने सपनासँग रक्सीको व्यावसाय साटेर आफैंलाई धनी बनाउनेहरुको मनोस्थितिचाहिं कस्तो होला भनेर चाहिं लख काट्न सकिन्छ ।

गाउँमा सबै किसिमको व्यावसायलाई राम्रो मानिन्छ जबसम्म त्यसले राम्रै कमाइ दिन्छ । तर एउटा अपवादको रुपमा रहेको हुन्छः भट्टीव्यवसाय र जुवाको खाल । त्यो व्यवसाय गर्नेले त छिटो र ठूलो कमाइ गर्छ तर त्यो एकजनाको प्रगतिका लागि समाजले धेरैजनाको दुर्गति देख्नुपर्छ । त्यसले मानिसलाई निचोर्नुसम्म निचोर्छ, जँड्याहा र जुवाडेका परिवार सबैभन्दा पीडित हुन्छन् । ती न समयमा खान पाउँछन् न त तिनका बच्चा पढ्न स्कुल जान पाउँछन् । समाजमा अरु मानिस ममृद्धिको भर्याङ चढ्दै गर्दा ती परिवारहरुचाहिं उल्टो यात्रा गरिरहेका हुन्छन् ।

Thursday, September 27, 2012

ड्यास माओवादीको निषेध श्रृंखलाः सञ्जीवनी कि खुट्टामा बञ्चरो ?

इतिहास र भुगोलको सापेक्षमा हिन्दी गीत र चलचित्र तथा भारतीय सामानमा एउटा दलले लगाएको भनिएको निषेध खासमा के हो त?


कुनै बेला थियो, राजा ज्ञानेन्द्रले हार्दै गरेको युद्ध जित्नका लागि भनेर अन्तिम अस्त्र प्रयोग गरेका थिए, सेन्सरशीपबाट मानिसलाई यो गर र त्यो नगर भनेर । नतिजा उल्टो भयो, उनको शासन नै छिटटै ढल्यो र मानिसुहरुले उनको अदुरदर्शीतालाई कुरी कुरी गरे ।

नव गठित माओवादीको पछिल्लो स्टन्टको समाचार सुनेपछि ज्ञानेन्द्रका ती कदमहरुको याद आयो । त्यो दलका विद्यार्थीले स्कुलका बस फोड्दा मैले मनमनै टिप्पणी गरेको थिएँ: निर्धाको हात छिटो चल्छ भन्थे...... । अहिलेको नयाँ छलाङपछि तिनीहरुलाई के भन्नुपर्ने हो, मलाई थाहा छैन ।

नेपाल–भारत सम्बन्धको प्रकृतिप्रति चित्त नबुझाउने मानिसको नेपालमा कमी छैन । त्यसरी नै बलिउड सँस्कृतिले नेपालमा पारेको प्रभावबाट बेखुश मानिसहरुको पनि अभाव छैन । तर चित्त नबुझ्नु एउटा कुरा हो र त्यो अवस्थालाई परिवर्तन गर्न लाग्नु अर्कै कुरा हो । आफुलाई चित्त नबुझेको कुरालाई निषेध गर्नुचाहिं कुनै कुरै हैन, अति राम्रो भएमा मुर्खता हो र नराम्रो भएमा आफ्नो खुट्टामा बञ्चरो हान्ने काम हो ।

त्यो कसरी भने अहिलेको युगमा मानिसलाई तँ यसो गर् र यसो नगर् भन्ने कुनै निकाय नै छैन । दंगा र हिंसा फैलाउने गतिविधिविरुद्ध राज्यले लगाउने रोकबाहेक अरु कुनै पनि किसिमको प्रतिबन्धले त्यसको लक्ष्यभन्दा ठिक उल्टो नतिजा व्यहोर्नुपर्ने अवस्था छ, खासगरी पुस्तक र चलचित्र वा वृत्तचित्रजस्ता सामाग्रीको प्रसंगमा ।

हिजो पुँजीवादी विश्वलाई कडा टकराव दिएको साम्यवादी विश्वको कटु पराजयको एउटा कारण नै त्यहाँका शासकहरुको प्रतिबन्धको सँस्कृति थियो जसमा फरक मत राख्नु नै अपराध बन्न पुग्थ्यो । हुन त जब मानिसहरु स्टालिन र माओले यति लाख मानिस मारे भनेर उद्धृत गर्छन्, कर्मकाण्डीय साम्यवादीहरु त्यस्ता मानिसको मानसिक अवस्थामा शंका गर्न पुग्छन् किनकि तिनलाई विश्वासै हुँदैन कि देवतुल्य बनाएर पुजेका तिनका आस्थाका केन्द्रले कहिल्यै त्यस्तो गरेका हुन सक्छन् । जति स्वीकार्छन्, त्यतिलाई क्रान्तिविरोधी र जनविरोधी मानिसहरुका उचित सफायाको रुपमा पुष्टि गर्न खोज्छन् । त्यसको प्रमुख कारण के भने आजका धेरै कर्मकाण्डीय साम्यवादीहरुले हिजोको साम्यवादी व्यवस्थाको गुण र दोषसहितको सार भन्दा पनि त्यसको यान्त्रिक रुपमा धेरै ध्यान दिएको पाइन्छ । जसले गर्दा त्यो व्यवस्थामा विद्यमान् फरक मतको निषेधजस्ता आत्मघाती प्रवृत्तिहरुबारे त्यस्ता दलका बुद्धिजीवीहरुमा समेत छर्लंग धारण भएको पाइँदैन । हिजोको साम्यवाद कस्ता गल्तीका कारण किन ढल्यो भन्नेसम्म वस्तुगत विष्लेषण नगरी आज क्रान्ति सम्पन्न गर्न हिंडेपछि हिजोका सबै गलत कुराहरु पनि सही लाग्ने अवस्था त आउने नै भयो ।

Saturday, July 21, 2012

माओवादीका विकल्पः ध्वंश कि रुपान्तरण?


विगतमा साम्यवादका ती रुपलाई जीवन्त राख्ने क्रममा विभिन्न विम्ब र यान्त्रिकताहरु सिर्जना भए र सार खस्कँदै गएपछि कालान्तरमा तिनै विम्ब र यान्त्रिकता ती व्यवस्थाका परिचय बने । ‘चेयरम्यान माओ’ एउटा विम्ब थियो, जसका पछाडि नेपाल लगायत विश्वभरका माओवादी आन्दोलनहरुमा अकाट्य क्षमताका ‘चेयरम्यान’हरु स्थापित भए । चीनको सांस्कृतिक क्रान्ति त्यस्तै बलियो विम्ब थियो जसको पुजा गर्दै विश्वभर फरक विचारलाई निषेध गर्ने प्रवृत्ति विकास भयो –हेर्नोस् कसरी मुक्तिनाथ अधिकारीको बध गरिएको थियो ।

गदीश घिमिरेको ‘अन्तरमनको यात्रा’ पढ्दा पाठक कुनै बेला निश्चित हुन्छः अब मृत्यु आउँछ । रोग र पीडाको वर्णन पढ्दा त्यसको अन्त मृत्यु नै हुने कुरा सबैलाई थाहा हुन्छ । तर चामत्कारिक रुपमा क्यान्सरग्रस्त कोषिकाहरुलाई मारिसकेपछि सद्दे कोषिकाको प्रत्यारोपणबाट ज्यान बचाउने प्रविधिका कारण घिमिरेको ज्यान बौरिन्छ र पाठकले पुरा रुपमा त्यो पुस्तक पढ्न पाउँछ । 

एकताकाको माओवादी र अहिलेको एमाओवादीलाई बचाउन पनि त्यस्तै चामत्कारिक कदमको आवश्यकता भएको आभास मलाई भइरहेको छ । घिमिरेको क्यान्सर एकदिन अचानक प्रकट भएको थियो तर माओवादीको क्यान्सरबारे मानिसले कुरा काटेको धेरै भइसक्यो र अब त त्यो दिनको घामजस्तै छर्लंग भइसकेको छ । एकताका एमाले भन्ने दलको बारेमा पनि त्यस्तै चर्चा हुन्थ्यो, उसलाई गहन उपचारको आवश्यकता महसुसै भएन र अहिले पनि क्यान्सर पालेरै बसेको छ । माओवादीको प्रसंग भने अलि फरक छ । 

माओवादीमा क्यान्सरको कहानी बडो दुखलाग्दो छ । माओवादी आन्दोलनको उठान देशमा फैलिएको असमानता, अन्याय र गरिबीबाट सिर्जित क्यान्सरलाई निको पार्न भनेर भएको थियो । ऊबेलाको क्यान्सर ठिक पार्ने हतियारका रुपमा उनीहरुले चीनमा माओले लिएको ऐतिहासिक हतियार सापट लिए र आफुलाई माओवादी भने । क्यान्सरको उपचार कस्तो हुन्छ भने त्यसले क्यान्सरग्रस्त कोषिकालाई मार्ने क्रममा अरु सामान्य कोषिकाहरुलाई पनि सखाप पार्छ । भयो त्यस्तैः १३,००० मध्ये धेरै गरीब र निर्दोष मानिस मरे, झण्डै ५०,००० मानिसले आफ्ना नातेदार गुमाए, हजारौं मानिस विस्थापित भए । 

जब माओवादी विद्रोह सकियो, पीडा र क्षतिको बीचबाटै पनि मानिसहरुले माओवादीलाई भोट दिएः क्षति र ध्वंश त भइ नै सक्यो अब निर्माण पनि गर्लान् कि भनेर । त्यो किन पनि थियो भने एमाले र काँग्रेसले हिजो बहुदलकालको आफ्नो क्यान्सर निको भएको कुनै प्रमाण दिन सकेका थिएनन् । तर आज वास्तविक जीवनको दुर्दान्त नाटकको एउटा भाग वियोगान्तमा गएर टुंगिएको छः माओवादीले प्रणालीको क्यान्सर ठिक पार्न त परै जाओस्, उनीहरु आफैं क्यान्सरग्रस्त हुन पुगेका छन् । 

Wednesday, July 18, 2012

स्खलित बाबुराम र पतनोन्मुख माओवादीको समानान्तर यात्रा



पेन्शनपन्थी एमाले जीर्ण र शुष्क भएको छ भने अर्को पुरानो दल काँग्रेस दलदलबाट निस्कने प्रयासमा छ । तर हिजोसम्मकको सबैभन्दा ठुलो दल एमाओवादीचाहिं जीर्णपन, शुष्कता र दलदलको यात्रा भर्खर मात्र शुरु गरेजस्तो लाग्छ । मुस्ताङ चढेका बाबुरामले माओवादीको त्यो अधोगतिको यात्रालाई तेज बनाउन लागेका छन् ।

हिले म खगेन्द्र संग्रौलालाई झलझली सम्झिरहेछु । माओवादीको एमालेकरण नहोस् भनेर उहिले देखि सचेत गराउँदै आएका संग्रौलाको अहिले बाबुराम सरकारको पछिल्लो करतुतबारे कस्तो प्रतिक्रिया आउला त्यो हेर्न बाँकी नै छ ।

तर मलाई भने अहिले संग्रौलाका सदावहार शिकार एमालेका एक नेताले बहुदलकालको उत्कर्षमा दिएको एउटा वाणी याद आउँदैछ । सर्वोच्च अदालतले साँसदलाई पेन्शनको व्यवस्था रोक्नुअघि उक्त प्रबन्धको समर्थनमा जीर्ण नभइसकेका प्रदीप नेपालले भनेका थिएः पियनले पेन्शन पाउँछ, पुलिसले पेन्शन पाउँछ, अनि के पुर्व सांसदले चाहिं गिट्टि कुट्ने?

त्यो तर्क सुनेर त्यतिबेला दुनियाँ हाँसेको थियो । पेन्शनपन्थी एमाले जीर्ण र शुष्क भएको छ भने अर्को पुरानो दल काँग्रेस दलदलबाट निस्कने प्रयासमा छ । तर हिजोसम्मकको सबैभन्दा ठुलो दल एमाओवादीचाहिं जीर्णपन, शुष्कता र दलदलको यात्रा भर्खर मात्र शुरु गरेजस्तो लाग्छ । मुस्ताङ चढेका बाबुरामले माओवादीको त्यो अधोगतिको यात्रालाई तेज बनाउन लागेका छन् । रछ्यानयात्राको शुरुमै बाबुरामले हिजोका प्रदीप नेपाललाई उछिनेको आभास हुन्छ । 

कुरा केही अरब पैसा, केही गाडी र केही सरकारी बंगलाको मात्र हैन । कुरा त त्यो प्रवृत्तिको हो जसका कारण नेपालको समग्र प्रगति र उन्नतिको बाटो नै बन्द गरिएको छ । बाबुरामको तीव्र स्खलन र निर्लज्जताले एउटा नराम्रो पाठ के पढाएको छ भने समग्र प्रणाली खराब, अक्षम र भ्रष्ट हुँदाहुँदै पनि कोही राम्रो र योग्य मान्छे पदमा पुग्यो भनेचाहिं केही राम्रो हुन्छ भन्ने आँकलन आफैंमा गलत थियो । 

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more