एमाओवादीको खाओवादतिरको यात्रा र ड्यास माओवादीको हिजोको बन्द र दैलेख घटनाबारेको प्रतिक्रियालाई फराकिलो नजरबाट हेर्न पदम कुँवरलगायत जनयुद्धको बाली हुर्काइसकेर फलचाहिं प्रचण्डका आसेपासे र दलालहरुलाई सुम्पेका मानिसहरुको जीवनले ऐनाको काम गर्छ । केही अनुभुतिहरुः
जनयुद्धको गौरवशाली इतिहासको विरासत थाम्न हिजोको बन्दको आयोजक दलले ऐतिहासिक निर्णय गरेर फेरि एकचोटि जनहितका लागि हतियारै उठाउन परे पनि पछि नहट्ने भन्ने नेताहरुको भाषणबाट बुझिन्छ । उनीहको स्थानबाट हेर्दा त्यस्तो विश्लेषण कति यथार्थपरक छ मलाई थाहा छैन । तर आम मानिसको स्थानबाट हेर्दा त्यो के हो भन्ने कुराचाहिं म छोटकरीमा राख्न चाहन्छु ।
हिजो जनयुद्ध भनिएको सशस्त्र संघर्षका लागि हतियार लिएर आफ्नो ज्यान होमेका मानिसहरुका लागि उनीहरुले गरेको इतिहासको विश्लेषण र लिएको निर्णय कति सत्य र कति मिथ्या थियो भन्ने आँकलन गर्न पदम कुँवर र उनीजस्तै उपेक्षित, परित्यक्त र दिग्भ्रमित पूर्व माओवादी कार्यकर्ताहरुको अवस्था हेर्न सकिन्छ । आम राजनीतिक विश्लेषकहरुका लागि मात्र नभई ऐतिहासिक धरातलमा रहेर दीर्घकालसम्मका लागि नेपालको माओवादी विद्रोह र त्यसको अवतरणसम्बन्धी शोध गर्नका लागि पनि ती युवाहरुको अवस्था उचित हुन्छ ।
त्यसो त अहिले अस्तित्वमा रहेका र नाममा माओवादी जोड्ने कुनै पनि शक्तिको दम्भ, अहंकार, संकीर्णता र ढोंगले यथार्थलाई सही रुपमा बुझ्नबाट उनीहरुलाई रोक्छ, त्यो अर्कै कुरा हो । प्रचण्डलाई झापड हानेकै कारणले हैन कि विगतमा उनीहरुले देखाएका झूटा सपना र इतिहासको आत्मकेन्द्रित विश्लेषणबाट निश्रित अवस्थालाई पृष्ठभुमिबाट सतहमा ल्याएकाले एउटा प्रतिनिधिका रुपमा पदम कुँवरलाई यहाँ चर्चामा ल्याइएको हो ।
उसो त वैद्य नेतृत्वको माओवादीले भन्लाः कुँवरको झापड त एमाओवादीले गरेको गद्दारीका फल हो जसको ड्यास माओवादीले विरोध गर्छ । तर त्यसो भए आज किन हजारौं पदम कुँवरहरु दिग्भ्रमित भएर अरबको मरुभुमिमा जाँदैछन्, उनीहरुको गौरवशाली पार्टीमा आवद्ध हुन छाडेर? फेरि उनीहरुले भन्लान्ः हामीसँग जति पनि नेपाल बन्द गर्न पुग्ने गरी कार्यकर्ताहरु छँदैछन् । तर संक्रमणकालीन भद्रगोल र अराजकता भएको यो देशमा अहिले बन्द गर्न कुनै पनि क्षुद्र स्वार्थ समूहले पालेका दुई दर्जन लठैतहरु नै काफी छन्, कमरेड वैद्यको गौरवशाली पार्टीका त के कुरा ।
थप्पडकाण्ड पछिको सांघातिक हमलामा झण्डै ज्यान गुमाएका कुँवरले एउटा अन्तर्वातामा भनेका रहेछन्ः यति त भइ नै सक्यो ,अब गुमाउन जीवनमा के नै रह्यो र? जसरी पदम कुँवरहरुको जीवनमा गुमाउन केही रहेन, खाओवादीमा परिणत हुँदै गइरहेको एमाओवादीका लागिचाहिं कमाउन बाँकी केही नरहलाजस्तो छ भने हिजोको सशस्त्र युद्धको पीडा बिर्सिनसकेका मानिसहरुलाई अर्को सशस्त्र विद्रोहको अगुल्टोले डाम्दै जाने हो भने वैद्यहरुका लागि पनि छिट्टै गुमाउनका लागि कुनै जनाधार रहने छैन । त्यसो त माक्र्सवादका पोथाहरु यान्त्रिक रुपमा रटान गर्नु र आधा वा एक शताब्दीअगाडिको रुस वा चीनको यथार्थमा घोत्लिनुबाहेक अहिलेको नेपाल र यहाँका नेपालीहरु गुज्रिरहेको अवस्थाबारे कहिल्यै वस्तुगत रुपमा बुझ्ने कोशिस गरेजस्तो लाग्दैन नेपालको कुनै पनि कथित माओवादी पार्टील, कम्तीमा पनि उनीहरुको व्यवहारले त्यो देखाउँछ । हिजो ज्यानै गुमाएका हजारौं नेपालीहरुमात्र हैन, आफन्त गुमाएका लाखौं मानिस र त्यो युद्धका लागि जीवनको उर्वर हिस्सा खर्च गरेका तथा युद्धकै कारण अकल्पनीय कष्ट खपेका मानिसहरुलाई देखाउन अहिले उनीहरुसँग के छ, जसले विश्वास दिलाओस् कि उनीहरुका शब्दहरुको कुनै अर्थ पनि हुन सक्छ?
