नयाँ वर्षलाई स्वागत गर्दै गर्दा पुरानो वर्षलाई बिर्सिहाल्नु हुँदैन किनकि त्यसले आउने वर्षका लागि थुप्रै सन्देशहरु दिइरहेको हुन्छ । यो छोटो आलेखमा २०६९ का केही महत्वपूर्ण घटना र विकास क्रमको चर्चा गरौं ।
दुखान्त १ः माओवादीको कायाकल्प
नेपालको राजनीतिक परिदृश्यको कुरा गर्दा २०६९ मा सबैभन्दा बढी गुमाउने दल एमाओवादी रह्यो । दश वर्षे सशस्त्र युद्धको औचित्य पुष्टि गर्नका लागि उसले २०६३ यताका वर्षमा उल्लेख्य राजनीतिक पुँजी जम्मा गरेर राखेको थियो । त्यो पुँजी के भने बहूदलीय प्रतिस्पर्धाकै राजनीतिमा भए पनि ऊ काँग्रेस र एमाले लगायतका पहिलेका संसदीय राजनीतिक दलभन्दा फरक देखिन्थ्यो । कतिसम्म भने राज्य पुनर्संरचना लगायतका विषयमा उसको धारणा र अरु स्थापित दलको धारणामा आकाश पातालको अन्तर भएकाले पनि देशमा हुने कुनै पनि ठूलो स्केलको परिवर्तन उसकै बलबुतामा मात्र हुन सम्भव भएको भन्ने धेरैलाई लागेको थियो ।
तर २०६९ सालभर जब संविधान सभाको अवसानपछि राजनीतिक मूद्दा ओझेलमा परेर मानिसले माओवादी नेतृत्वको सरकारको शासनसत्तामार्फत् उसका व्यवहारिक आर्थिक र अन्य पाटाहरुलाई मिहीन रुपले हेर्न थाले, पुरानो माओवादीको खोलमा एउटा नयाँ, कुरुप र भद्दा नयाँ एमाओवादीको रुप देखा पर्यो । मुस्ताङ चढेको बाबुरामको धमिलो छविलाई हिसिला यमीको डरलाग्दो र दुस्साहसी पाराको भ्रष्ट छविले पूरै ओझेल पार्यो । मान्छेले चोभारनेरको बाग्मतीको पानी र हिसिला कम्पनीको स्वचछतालाई उस्तै देख्ने अवस्था आयो र भ्रष्टाचारी भनेर चिनेका काँग्रेस र एमालेका हरेक नेतालाई साधूजस्तो देखायो यमी र गच्छेदारको गठबन्धनले ।






