Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Friday, September 16, 2016

लोकमान सिंह कार्की अख्तियारका वैध प्रमुख आयुक्त हुन् की हैनन्?



फाइल हराएको नियुक्तिपत्र छापिनुअघि उच्चस्तरीय राजनीतिक समितिले लोकमानसित गरेको गोप्य सौदावाजी यस्तै त थिएन?

मानिसको पदीय अवस्था वैध वा अवैध दुवै हुन सक्छ । संसारका धेरै देशमा कु गरेर जबर्जस्ती शासनमा बस्ने धेरै शासकहरु हुन्छन् जो देशमा कायम संविधान अनुसार अवैध भएर पनि शासन चलाउँछन् ।

प्राविधिक रुपमा वैध मानिएको अवस्था समेत आम नागरिकको नजरमा जायज वा नाजायज वैध हुन सक्छ । कु गरेर शासन हत्याउने धेरै सैन्य शासकहरुले त्यसपछि संविधान संशोधन वा परिवर्तन गरेर आफ्नो शासनलाई वैधता दिन्छन् । त्यस्तो वैधतालाई नाजायज भन्न सकिन्छ किनकि शासित नागरिकहरुको सहमति र स्वामित्व विना नै जबर्जस्ती त्यस्तो वैधता स्थापित गरिएको हुन्छ ।

त्यतिले नपुगेर सामाजिक र साँस्कृतिक रुपमा वैधता पाउन धार्मिक अतिवादलाई संस्थागत गर्ने र अनन्तकालीन अस्थिरता र द्वन्द्वको बीउ रोप्ने पाकिस्तानका जिया उल हकजस्ता शासकहरु पनि संसारमा आएका छन् ।


प्राविधिक रुपमा र सम्भवतः ‘वैध’ रुपमा पनि नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की हुन् । उनी अदुअआ कार्यालय आउने जाने गर्छन्, त्यहाँ प्रमुखको कुर्सीमा बस्छन्, सोही अनुसारको भुमिका खेल्छन् र परिसरकै क्वाटरमा बस्छन् । उनले विरोधी वा अन्य शिकार गरिएक नागरिकहरुलाई यातना दिने र मानव अधिकारको हनन गर्ने हिरासत पनि त्यहीं छ । अदालतले थमाउन खोजेको तर उनले बुझ्न नखोजेको म्याद थमाउन सर्वोच्च अदालतका कर्मचारी टंगालस्थित अदुअआ भवनमै पुगेका थिए ।



अवैध शेयरको कारोवार गर भनेर बिचौलियाका रुपमा लोकमान सिंह कार्कीले खेलेको भुमिकाबारे खुल्ने पत्र अख्तियारको लेटरप्याडमा लेखिएको छ । दलका नेता र कर्मचारीहरुमध्ये छानी छानी अवैध रुपमा जासुसी गरेर राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज शर्माले उनीहरुको ‘व्यक्तिगत तथा आर्थिक विवरण’ हातोहात पठाएको चिठीमा पनि लोकमान सिंह कार्कीलाई नै सम्बोधन गरिएको छ ।

अर्थात् नेपालको राजनीतिक नेतृत्वलाई पूर्ण रुपमा जकडिराखेको समानान्तर सरकारको हेडक्वार्टर टंगालस्थित एउटा भवनमा छ जहाँ लोकमान सिंह कार्की भौतिक रुपमा विराजमान छन् ।

त्यसैले नेपालको विसंगत राजनीतिक व्यवस्थामा उनको अस्तित्वबारे हामी सबैलाई बोध छ ।

तर लोकमानले आफ्नो कथित वैध पदीय हैसियतमा बसेर त्यो वैधतालाई जायज प्रमाणित गर्न असफल भएका छन् । हो, प्रयास उनले पक्कै गरेका छन्, दुई हजार घुस खाने पियनदेखि आफूले मिलाएको सेटिङमा चल्न अस्वीकार गर्ने र आफ्ना मानिसहरुको कमाउधन्दामा बाधा बन्नेहरुलाई उनले फर्जी प्रमाण देखाएर भए पनि मुद्दामामलामा फसाएका छन् (ती सबैजसो मुद्दा अख्तियारले हारेको छ, त्यो अर्कै कुरा हो) । तर दिनदहाडै अरबौंको रकम राज्यकोषबाट स्वाहा पार्नेहरुसँग उनले निरन्तर सौदाबाजी गरेर उनीहरुलाई नछुँदा आम मानिसको नजरमा उनको पदीय वैधता जायज ठहर्न सकेको छैन ।

पछिल्लो फाइल काण्डपछि चाहिं उनको नियुक्तिको वैधतामै प्रश्न उठेको छ ।

उनको नियुक्तिको सक्कली फाइल फेला पर्न सकेको छैन ।

उनको संसदीय सुनुवाइ भएको छैन ।

संसदीय सुनुवाइ नभए पनि प्रधान न्यायधीश सरकार प्रमुख समेत रहेको बेला नियुक्त भएका उनी राष्ट्रपतिले शपथ खुवाएपछि अख्तियारको प्रमुख आयुक्त भएका थिए ।

के आधारमा उनलाई शपथ ख्वाउन संसदीय सुनुवाइ कुरिएन? त्यतिबेला संसद थिएन । तर पछि गएर निर्वाचन आयोगमा अयोधी प्रसाद यादव प्रमुख नियुक्त हुँदा पनि संसदीय सुनुवाइ समिति थिएन जसले गर्दा उनलाई ८ महिना कुराएर मात्र निर्वाचन आयोग प्रमुखको शपथ ख्वाइयो । सुशीला कार्कीले सर्वोच्च अदालतको प्रधान न्यायधीशका रुपमा शपथ खान पनि महिनौं कुर्नुपर्यो । अख्तियारकै आयुक्त केशव बरालले संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपतिबाट नियुक्ति पाएपछि समेत प्रमुख आयुक्तको अभावमा शपथ लिन नपाएर ३ वर्ष ३ महिना काम नगरी बस्नुपर्यो ।

प्रस्टै छ, लोकमानको शपथग्रहण हतारोमा गराइएको अपवादमूलक काम थियो । हतार कसलाई र किन थियो? पूर्व राष्ट्रपति रामवरण यादवले मात्र यो कुरा यकिनसाथ भन्न सक्छन् । तर उनी मौन छन् । केही घण्टा अघिसम्म कुनै हालतमा नियुक्त गर्दिनँ भनेको व्यक्तिलाई तत्काल शपथ खुवाउन उनलाई के बाध्यता थियो? लोकमानका सिफारिसकर्ताको के स्वार्थ थियो र राष्ट्रपतिलाई विभिन्न शक्तिकेन्द्रहरुबाट आएका भनिएको फोनहरु वास्तविक थिए कि पछि हराउने फाइलजस्तै नक्कली?

लोकमानको नियुक्ति कुनै गोप्य प्रयोजनका लागि अरु कसैले राम वरण यादवमार्फत गराएको भन्ने प्रमाण हामीसँग छैन । तर उनले मुख नखोल्दासम्म यो नियुक्तिबारे उठेका सबै प्रश्नहरु सान्दर्भिक बनेका छन् ।

अब आएर अनायासै लोकमानको नियुक्तिको फाइल (पहिले उनलाई सरकारले सोधेको स्पष्टीकरणको फाइलसँगै) हराएपछि अर्को गम्भीर प्रश्न उठेको छः कतै उनको नाजायज वैधता भएको नियुक्ति प्राविधिक रुपमा समेत त्रुटिपूर्ण त थिएन?

कतै त्यसमा भुलचुक भएर उनलाई नियुक्त गर्ने अवैध शक्ति केन्द्रको लेटरप्याड त थिएन? कतै त्यसमा दलहरुका विभिन्न भ्रष्ट नेताहरुको नाम तोकेर ‘यी व्यक्तिले जति भ्रष्टाचार गरे पनि अदुअआले केही गर्ने छैन’ भनेर लेखिएको कागजात त झुक्किएर संलग्न भएको थिएन? सक्कली नियुक्तिपत्र सरकारले नभेटाउन्जेल र न्यायालयलाई लोकमानले आफूसित भएको सक्कली कपि नबुझाउन्जेल यस्ता प्रश्नहरु उठिरहनेछन् ।

उनलाई प्राविधिक रुपमा पदमुक्त गर्न या त न्यायालयले त्यस किसिमको फैसला गर्नुपर्नेछ, या त संसदले महाभियोग लगाउनुपर्नेछ । अथवा उनले राजीनामा गर्नुपर्नेछ ।

तर त्यसो हुनुअघिसम्म लोकमानसिंह कार्कीको अदुअआ कार्यालयमा उपस्थिति आम नागरिकको नजरमा नाजायज नै रहनेछ । तबसम्म नागरिकहरुले राजनीतिक नेतृत्वलाई सोधिरहनेछन्ः देशलाई एउटा नाजायज रुपमा नियुक्त भएको व्यक्तिले छ वर्षसम्म बन्धक बनाइरहने, उसको इशारामा तपाइँहरु नाचिरहने, उसले तर्साए तर्सने र उन्मुक्ति दिए त्यसलाई निर्वाण सम्झने हो भने राजनीतिज्ञका रुपमा तपाइँहरु किन अस्तित्वमा रहने? लोकमानबारे छलफलसम्म गरेर सांसदहरुलाई बोल्ने मौका दिन आँट नगर्ने जननिर्वाचित र कथित ‘सार्वभौम’ संसदको औचित्य के? एउटा संवैधानिक निकायले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गरी राज्यका तीनै अंगलाई बन्धक बनाइरहने यो कस्तो लोकतन्त्र हो?

अनि नागरिकहरुले यतिविधि कुरीकुरी गरिरहँदा पनि लाजले मुख छोप्ने, कान थुन्ने र आँखा बन्द गर्ने तर एक पाइला अघि सरेर गर्नुपर्ने काम नगर्ने लाछी बनेर कहिलेसम्म राजनीति गर्ने?























No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more