बिभिन्न घोटाला र विवादहरुको पृष्ठभुमिमा
टेलियासोनेराका तत्कालीन प्रमुख कार्यकारी अधिकृत लार्स निबर्गले २०१३ मा पद छाडेपछि
आएको नयाँ व्यवस्थापनले अन्तर्राष्ट्रिय कानुनी फर्म नर्टन रोज फुल्ब्राइटलाई
युरेशिया क्षेत्रका टेलियासोनेरा अन्तर्गतका कम्पनीका गतिविधिहरुको छानविनका लागि
खटाएको थियो ।फुल्ब्राइटको रिपोर्टले भनेको छ: उज्बेकिस्तान, काजाकस्तान, ताजिककिस्तान,
अजरबैजान, जर्जिया र नपाल गरी छ देशको सेवामा टेलियासोनेरा अनेथिकल इफ नट क्रिमिनल गतिविधिहरुमा संलग्न थियो । त्यसको अर्थ
कानुनी आधारमा दण्डनीय प्रमाणित नहुन पनि सक्ने तर सामान्य नैतिकताले गर्न नदिने कामहरु
भन्ने जनाउँछ । नेपालमा एनसेलका त्यस्ता गतिविधिहरु के थिए भन्ने कुरा उसका विज्ञापनमा
आउने कुरा कति सत्य थिए र उसले दिने गरेका सेवाहरु घोषित मूल्यमा उपलब्ध थिए वा घोषित
र लिइने मूल्यमा फरक थियो भन्ने कुरा अध्ययन गर्यो भने प्रष्ट हुन्छ । साथै सेवा बिस्तारका
क्रममा युसेलले उज्बेक राष्ट्रपतिकी पुत्रीलाई करोडौं डलर घुस ख्वाएजस्तो व्यवहार नेपालमा
भएको थियो कि थिएन भन्ने पनि फुल्ब्राइटको अध्ययनको विषय रहेको हुनुपर्छ ।
एनसेलः ब्राण्ड बिल्डिंगको नमुना
नेपालमा एनसेलको शुरुवाती संस्करण मेरो मोबाइल आउनुअगाडि टेलिकम
क्षेत्रको अवस्था कस्तो थियो भन्ने भोग्नेहरु सबैलाई थाहा छ । खूला हुँदै गरेको
समाजमा टेलिफोन सञ्जालले जोडिन चाहने मानिसको संख्या तीव्र गतिले बढिरहेको थियो तर
राज्य नियन्त्रणको दुरसञ्चार निगमले न त माग धान्न सकेको थियो न त सेवाको गुणस्तर
समयअनुकुल बढाउन नै सकिरहेको थियो । मोबाइल बोक्ने मानिसहरु त्यो बेला सम्भ्रान्त
सम्झिन्थे भने ल्याण्डलाइनको नम्बर पाउन वर्षौं पालो पर्खनुपथ्र्यो ।
यो पृष्ठभुमिमा २०६१ सालमा निगम सरकारको ८५ प्रतिशत शेयर रहेको नेपाल
दुरसञ्चार लिमिटेड कम्पनी वा नेपाल टेलिकममा परिणत भएपछि सेवाको मात्रा र स्तर
दुवै बढेका थिए । तैपनि त्यसले तीव्र गतिमा बढ्दै गइरहेको माग धान्न सकिरहेको थिएन
। पहिलेभन्दा चुस्त भए पनि पूरै सरकारी नियन्त्रणमा रहँदाको संस्थागत प्रवृत्ति
टेलिकमबाट हटिसकेको थिएन ।
यो पृष्ठभुमिमा निजी क्षेत्रको मेरो मोबाइलको प्रवेशले नेपालको
टेलिकम क्षेत्र तरंगित भयो । आक्रामक विज्ञापन शैली र मोबाइलको सिम कार्ड निकै
झण्झटपछि मात्र पाइने नेपालमा कन्सर्ट गरेर एउटै कार्यक्रममा दशौं हजार सिम कार्ड
बाँड्ने मेरो मोबाइलको शैली अनौठो थियो । हप्तैपिच्छे नयाँ अफर ल्याएजस्तो लाग्ने
यो कम्पनीलाई यो स्तम्भकारलगायत धेरै नेपालीहरुले गम्भीरतापूर्वक लिएनन् ।
सापेक्षतः झण्झटिलो भए पनि हामी नेपाल टेलिकमकै लोयल कस्टुमर भएर बसिरह्यौं ।
त्यसैको परिणाम हुनुपर्छ अहिले पनि मसँग नियमित सम्पर्क हुने र फोनमा नम्बर सुचीकृत
९५ प्रतिशत जति नम्बर नेपाल टेलिकमका छन् ।
ल्याण्डलाइन, सिडिएमए र जीएसएम गरी तीनै थरी सेवा भएको नेपाल
टेलिकमलाई कुनै बेला मेरो मोबाइलको रिब्रान्डेड संस्करण एनसेलले टक्कर देला भनेर
हामीले ऊबेला चिताएकै थिएनौं । दुवै नेटवर्कबीच मूल्य घटाउने प्रतिस्पर्धा भए पनि
आफ्नो कायम विशाल नेटवर्कभित्रको सेवा लिंदा ग्राहकलाई पर्न आउने कम मूल्यका कारण
नयाँ ग्राहक थपिने दर एनसेलमा भन्दा टेलिकममा बढी हुने र त्यो एउटै कारणले एनसेलले
टेलिकमलाई भेट्न नसक्ने हाम्रो आँकलन थियो ।
तर वर्ष बित्दै गएसँगै एनसेलले हामीलाई गलत सिद्ध गर्यो । खास गरी
निजी क्षेत्रलाई संशयका दृष्टिले हेर्ने हामीहरुले के बिस्र्यौं भने टेलिकमका
परम्परागत ग्राहकलाई प्रतिस्पर्धी सेवा दिएर तान्ने त एनसेलको नीति थियो नै,
त्योभन्दा निकै आक्रामक रुपमा ऊ विज्ञापन र अरु माध्यमहरुमार्फत आफ्नो सेवाका लागि
सञ्चार सञ्जालमा जोडिन बाँकी नेपालको जनसंख्यामा नयाँ मागको सिर्जना गरिरहेको थियो
। भौगोलिक फैलावटमा टेलिकमलाई उसले अझै भेट्टाउने अवस्था थिएन तर त्यो कमजोरी
पुर्ति गर्न उसले सुविधा पुगेकै क्षेत्रमा टेलिकमको सेवासित असन्तुष्ट वा उसले
दिनेभन्दा बढी सेवा अपेक्षा गर्ने ग्राहकहरुलाई लक्षित गरेर आफूलाई बिस्तार
गरिरहेको थियो ।
साथै एउटा सिम लिएपछि त्यसलाई आफ्नो पहिचान बनाएर वफादारीपूर्वक
चलाउने संस्कृति बिस्तारै हराएर अधिकतम सुविधाका लागि धेरै सिम राखेर चलाउने नयाँ
संस्कृतिलाई एनसेलले बढावा दिएको थियो ।
दुई वर्ष अघि जब एनसेलले १ करोड ग्राहक पुगेको भनेर विज्ञापन गर्यो,
हामी झसंग भयौं । वितरण भएका जीएसएम सिमको संख्याका हिसाबले उसले टेलिकमलाई
उछिनिसकेको थियो । उदार सिम वितरणका कारण एनसेलका धेरै सिम निस्क्रिय रहेका पक्कै
थिए, तर उसले गर्ने गरेको आम्दानी, वार्षिक तिर्ने कर र खास गरी द्रुत गतिले बजार
बिस्तार भइरहेको मोबाइल इन्टरनेटमा उसको हिस्सा बढेको हिसाब गर्दा दशकभित्रै उसले
गरेको तरक्की नेपालको निजी क्षेत्रको इतिहासमा अपूर्व थियो । चल्तीका अरु
ब्राण्डहरुका विज्ञापनभन्दा बढी नै अतिरञ्जित लाग्ने उसका विज्ञापनहरुले बजार बिस्तारमा
ठोस भुमिका खेलिरहेका थिए । एनसेल अब एउटा जबर्जस्त ब्राण्ड बनिसकेको थियो ।
एनसेल र करबाट उन्मुक्ति
हालै काठमाडौंको माइतीघरमा थापाथलीतर्फको प्रतिक्षालयको माथिपट्टि
एनसेलको एउटा विज्ञापन थियो, शायद अहिले पनि होला । विज्ञापनमा ठूला अक्षरमा
लेखिएको छः 'Explore धेरै, Faster'; त्यसमुनि साना अक्षरमा
लेखिएको छः 'एनसेलको साथ फास्ट इन्टरनेट स्पीडको अनुभव गर्नुहोस् ।' त्यो
विज्ञापनको डिजिटल बोर्ड राखिएको काठको फ्रेममा एक हरफमा कामपाको हस्तलिखित सुचना
छः 'कर तिरौं, सम्मानित बनौं, सेवा प्राप्त गर्ने हक सिर्जना गरौं ।'
विज्ञापन माथिपट्टि, ठूलो र चम्किलो छ, कामपाको सुचना तल, त्यसको
तुलनामा सानो र फिक्का छ । झट्ट हेर्दा मान्छेको नजर विज्ञापनमा पुग्छ तर सुचना
कमैले पढ्छन् । पढेका कमैले मनन गर्छन् र मनन गर्ने कसैले त्यो पढेकै आधारमा
नतिर्ने निश्चय गरेको कर तिर्छन् भन्ने छैन । अर्कोतिर खास ठाउँ र खास समयको एउटा
विज्ञापनको एनसेल ब्राण्ड बनाउनमा कति भुमिका छ भनेर हिसाब गर्न नसकिएला तर त्यो
ब्राण्डको मुख्य आधार भनेकै त्यस्ता विज्ञापनहरु रहेका छन् ।
अझ चोटिलो कुरा त के थियो भने अघिल्लो महिना मैले चाखपूर्वक त्यो बोर्ड
हेरेर त्यसको विरोधाभास मनन गर्दा एनसेलको पछिल्लो खरीदबिक्रीका क्रममा उठेको कर
विवाद भर्खर शुरु भएको थियो । त्यो अझै टुंगिइसकेको छैन ।
माइतीघरको त्यो बोर्ड एक हिसाबले नेपालको मात्र नभएर अहिलेको विश्वकै
अर्थ राजनीतिक व्यवस्थामा कायम विरोधाभासको नमुना होः महंगा र भड्किला विज्ञापन
गर्न सक्ने अचाक्ली ठूला र धनी निजी कम्पनी र कर्पोरेशनहरुको चमकधमक एकतिर अनि
तिनलाई नियमन गर्नुपर्ने, तिनी लगायतबाट कर उठाएर आम नागरिकलाई न्युनतम सेवा
दिनुपर्ने तर कर उठाउने र सेवा दिने दुवै क्षमता खिइँदै गएका राज्यहरु ।
एनसेल र करबाट उन्मुक्तिको बहसमा एकतिर टेलियासोनेराले मलेसियाली
कम्पनी एक्जिएटालाई बेच्दा नेपालको कानुन बमोजिम पुँजीगत लाभ कर तिराउनुपर्छ भन्ने
आवाज उठिरहेको छ भने अर्कोतिर त्यसो गर्दा विदेशी लगानी निरुत्साहित हुने हुँदा कर
लिनु हुँदैन वा पर्दैन भन्ने आवाजहरु पनि केही जिम्मेवार मानिसहरुबाट आइरहेका छन्
। सरकारको प्रधानमन्त्री तहसम्म कुरा पुगेर लामो समय बहस चलेको यो विषयमा धेरै
कोणबाट चर्चा परिचर्चा भइसकेकाले तिनलाई यहाँ दोहोर्याउनु आवश्यक छैन । तर बहसमा
खुलेर आउन नसकेको तर नआइ नहुने एउटा पक्षबारे यो टिप्पणीमा प्रकाश पारिनेछ ।