यो प्रश्नको उत्तर खोज्नु यो टिप्पणीको आशय हैन। तर खास गरी उनीबारे सेतोपाटीमा तीन भागको श्रृंखला पढेपछि के लाग्यो भने विश्वमा हाल कायम धर्महरुमध्ये केही प्रमुख धर्म कसरी आए भनेर फर्केर हेर्ने यो राम्रो अवसर हो । त्यसले सिंगो बम्जनको कहानीलाई एउटा सही पृष्ठभुमिमा राखेर हेर्न तथा किन उल्लेख्य संख्यामा मानिसहरु उनको पछाडि लागे भन्ने कुरा बुझ्न हामीलाई सघाउँछ । मानव समाजमा धर्म र सभ्यताहरुको विकास कसरी भयो भन्ने इतिहास छिटपुट रुपमा स्कुल र कलेजहरुको पाठ्यक्रममा राखेर पढाउने गरिए पनि नेपालमा त्यस खालको पढाइ–सिकाइ सन्तोषजनक छैन । खास गरी आधुनिक इतिहासकार र पुरातत्वविद्हरुले पुष्टि गर्न सकिने तथ्यहरुलाई आधार मानेर त्यस खालको विकासलाई कसरी खुट्याएका छन्, त्यसबारे त हामी बेखबर नै छौं ।
त्यसैले इतिहासमा सापेक्षतः ढिलो गरी आएको इस्लाम, इसाइ र बौद्ध धर्महरुबारे विद्वान् इतिहासकारहरुले खोतलेका तथ्यहरु हेर्ने हो भने हामीलाई बम्जनबारे मात्र हैन, धर्म गुरु वा भगवान् भएको दाबी गर्ने अरु धेरै मानिसका अभियान, तिनले पाउने साथ र समाजमा छाड्ने प्रभावहरुबारे बुझ्न धेरै सजिलो हुन्छ । यस टिप्पणीमा ख़ास गरी बुद्ध धर्म र सभ्यताको विकास प्रक्रियालाई केन्द्रमा राखिनेछ।
