सम्प्रदायगत पाखण्ड र आडम्बर तिनै मानिसहरुलाई आवश्यक हुन्छ, जो १) आफ्नो
जीवनमा असन्तुष्टि र असफलताका लागि वहाना खोज्दा तिनलाई फेला पार्छन् २)
जसलाई सत्ता र शक्ति प्राप्त गर्नुछ तर तीबाहेक त्यस्तो प्राप्तिको अर्को
माध्यम आफूसँग छैन ३) जसलाई दैनिक जीवनमा पाप र अपराधबोध यति हुन्छ कि
तिनलाई पखाल्ने व्यग्रतामा र छोप्ने चेष्टामा उनीहरु जस्तोसुकै माध्यम
अपनाउन तयार हुन्छन् ।
एउटी गायिकाले खास शब्द भएको एउटा गीत गाउन अस्वीकार गरेको समाचार बाहिर आएपछि धर्म, धार्मिकता र धर्म परिवर्तनबारे नेपालमा चलेको तातो बहस अब बिस्तारै सेलाउने क्रममा छ । यही मौका छोपेर यी विषयसित सम्बन्धित तर चर्चामा कम आएका वा आउँदै नआएका पाटाहरुबारे प्रकाश पार्न जरुरी हुन आएको छ ।
त्यो किन पनि भने समाज र देशमा धर्म र साम्प्रदायिकताबारे यथोचित स्वस्थ बहस नहुँदा जब जब तीसम्बन्धी विवाद छेडिन्छन्, तिनको पक्ष र विपक्ष दुवैतिर अतिवादी विचारका मानिसहरु हावी हुने गर्छन् ।
त्यसैले निकट विगतको यो प्रकरणले जन्माएको तिक्तता र आक्रोशलाई थाँती राख्दै यो विषयमा खुलेर स्वस्थ बहस गर्नैपर्ने भएको छ । त्यस्तो बहसले भविष्यमा यस्तो विवाद उठ्दा दुवै पक्षतिर तार्किक र गैर—अतिवादी तर्क र दाबीलाई बल पुर्याउने मेरो अपेक्षा छ ।
धर्म कि साम्प्रदायिकता?अंग्रेजीमा जेलाई रिलिजन भनिन्छ, त्यसले संस्कृतबाट आएको धर्म शब्दलाई भन्दा बिल्कुल फरक अर्थ बोक्ने साम्प्रदायिकता शब्दलाई प्रतिनिधित्व गर्छ भन्ने कतिपय विद्वान्हरुको भनाइसित म सहमत छु ।
त्यो किन भने, अमेरिकामा कुरान जलाउने अभियानलाई नेतृत्व गर्ने क्रिश्चियन पादरी देखि आफ्नै धर्मको फरक सम्प्रदायलाई समेत मार्ने स्पष्ट एजेण्डा बोकेका सशस्त्र समुहलाई अरबौंको सहयोग गर्ने मुसलमान साउदी राजतन्त्रसम्म, राज्य आतंकको पर्याय बनेको इजरायलको ‘यहुदीवादी’ राज्य देखि भारतका अतिवादी हिन्दु समूहसम्म सबैले धर्म वा आस्थालाई खाली हतियारको रुपमा प्रयोग गरेर तथा आफ्नो सम्प्रदायको नाम भजाएर शक्ति, सत्ता र वैधता हत्याउने गर्छन् ।
त्योभन्दा पर धार्मिक ग्रन्थमा लेखिएझैं मानव कल्याण गर्ने वा सधर्मीहरुको कल्याण गर्नेसमेत उनीहरुको ध्येय हुँदैन ।
त्यसैले हामीले जेलाई धार्मिक अतिवादी भन्छौं, ती यथार्थमा साम्प्रदायिक अतिवादी हुन् किनकि सच्चा धार्मिक मानिसले कुनै धर्मको भए पनि हत्या, हिंसा, चोरी र लुटपाटजस्ता गतिविधि गर्छ भनेर कल्पना गर्न पनि सकिंदैन ।
त्यसरी नै जेलाई हामीले धर्म परिवर्तन भन्छौं, त्यो पनि विशुद्ध सम्प्रदाय परिवर्तन हो किनकि सच्चा धार्मिक वा अध्यात्मिक मानिसलाई उसको ‘धर्म’को नाम के हो, त्यसले केही फरक पर्दैन । मानव सेवा र परोपकार गर्ने हो भने त्यसलाई संसारको कुनै पनि धर्मले छेक्दैन ।