सुन्दरताका नमुना मानिने तमाम भौतिक वस्तुहरुको एउटा कमजोरी छ । ती हुर्कन्छन्, फक्रिन्छन्, आफ्नो सुन्दरता र सुगन्ध फैलाउँछन् अनि अन्ततः वैलिएर झर्छन् । त्यसैले तिनको सुन्दरता क्षणभंगुर हुन्छ । फुलदेखि मानव शरीरसम्म वसन्तको हरियालीदेखि हिउँले सजिएका हिमालसम्म सबैले आफ्नो जीवनमा आरोह र अवरोहका अनेक चक्र बेहोर्छन् । जीवनको यो कुइनेटो न्यानो र घमाइलो हुन्छ भने अर्को कुइनेटो ओसिलो र अन्धकार हुन्छ । अर्को घुम्ती पुग्दा यो घुम्तीका साथीले विर्सिसक्छन् भने पुराना वैरीको ठाउँ पनि नयाँ वैरीले लिइसक्छन् ।
यो चक्रका बीचमै पनि समयसँग नखुइलिने केही वस्तुहरु छन् जसको सुन्दरता एकपछि अर्को पुस्ताले भोग्दै जान पाउँछ, तैपनि ती न खुइलिन्छन्, न त पातलिन्छन् नै । तिनको अर्को विशेषता के हो भने खास किसिमको त्यो सुन्दरताको अनुभुति जो कोहीले गर्न सक्दैन, जसले त्यो सुन्दरता चिन्छ, उसले मात्र त्यसको रसास्वादन गर्ने मौका पाउँछ ।
त्यस्ता विशेष सुन्दर वस्तुहरु हुन्ः कला र साहित्य । मानव जातिको उत्पत्ति यता इतिहासमा चिनिनका लागि एक किसिमका मानिसहरुले शक्तिका भरमा ठूला ठूला राज्यहरु खडा गरेर धेरै भन्दा धेरै मानिसमाथि शासन गरेका छन् भने अर्का थरी मानिसले आफ्नै बलबुताले, आफ्नै श्रम र पसिनाले केही सिर्जनाहरु गरेर गएका छन् जसले मानिसमा सत्ता र शक्तिले झैं त्रास र भयको सिर्जना नगरीकनै आफ्नो नाम र प्रभाव छाडेर जान सकेका छन् । ती सिर्जनाहरुले युगौंदेखि मानव जातिका लागि सौन्दर्यको एक अटुट श्रोतको काम गर्दै आएका छन् ।
हो ठिक त्यही सौन्दर्य खोजिरहेछु म यो काठमाडौंमा । साँगुरा गल्ली, थामिनसक्नु मानिसको चाप, धुवाँ र धुलोको कुहिरीमण्डल, सत्तादेखि सडकसम्म व्याप्त पाखण्ड र धोखाधडी, यस्तै यस्तै कुराले चिन्छन् काठमाडौंलाई मानिसहरु । यो खाल्टोले निर्ममतासाथ तिरस्कार गरेपछि गर्नु निन्दा गर्छन् मानिसहरुले यसको । त्यति हुँदा हुँदै पनि वर्षेनी लाखौं मानिसहरुलाई आफ्नो अँगालोमा आउन बाध्य पार्छ काठमाडौंले । यहाँ कति त सत्तामा व्याप्त केन्द्रीकरणका कारण घिसारिएर आउनेहरु छन् भने कति अरुचाहिं यसको सुन्दरताबाट लठ्ठिएर आउँछन् । तर दुर्भाग्य के छ भने चाहेर पनि यस खाल्टोको सुन्दरता पान गर्न पाउँदैनन् सबै मानिसहरु ।
हो म कुरा गर्दैछु सिर्जनाको एउटा केन्द्रका रुपमा काठमाडौं खाल्डोको । र सुन्दर कला वा साहित्यको सिर्जना गर्न नसके पनि तिनको सौन्दर्यको अनुभुति गर्ने दौडमा लागिरहेका छन् मजस्ता कैयौं मानिसहरु । नाटकघर देखि चलचित्र घरसम्म, आर्ट ग्यालरीदेखि पुस्तक प्रदर्शनीसम्म यो खाल्डोभित्र रहेर नेपालभित्र र बाहिरका सिर्जनाहरुको सौन्दर्य अनुभुत गर्न आतुर मानिसहरुको भीडै लागेको छ काठमाडौंमा । सुचना प्रविधिमा आएको चमत्कारका कारण सानो गाउँमा बदलिएको विश्वमा एक कुनाको सिर्जना सजिलै अर्को कुनामा पुग्ने गरेको छ । र मानिसले स्वादले कुरा गर्दे छन्ः कसको सिर्जनाको ओज कति? कलात्मकता र सुन्दरता कति र त्यसको प्रभाव कति? यो परिस्थितिमा पक्कै पनि हाम्रा सिर्जनाहरुले विश्वका सबै सिर्जनाहरुसँग प्रतिस्पर्धा गर्ने पर्ने स्थिति उत्पन्न भइसकेको छ ।
यही परिप्रेक्ष्यमा नेपाली नाटकको चर्चा गर्न मन लागेको हो मलाई । उहिले लयमा लेखिएका बालकृष्ण समका क्लिष्ट नाटकमा के बुझ्नुपर्ने हो भनेर कन्सिरी कन्याउँदै सोच्नुपरेको तथा विजय मल्लका सरल र बोधगम्य तथा मानवीय संवेदनाले भरिएका र धुरुक्क रुवाउनसम्म सक्ने नाटकहरु पढेपछि विधाका रुपमा नाटकको परिचय पाएको सम्झना आलै छ । तर यो खाल्टोमा प्रवेश पाउन संघर्षरत लाखौं मानिसहरुझैं मैले पनि यहाँ छिर्न झण्डै एक दशक संघर्ष गर्नुपर्यो । म यहाँ छिर्दा नेपालमा नाटकलाई आम रुपमा पढिने विधाबाट हेरिने विधामा पुर्याउने अभियानमा लागेका थुप्रै स्रष्टाहरुमध्ये गुरुकुल थिएटरको अभियान साँगुरो गोरेटोबाट सुरु भएर फराकिलो शहर बाटोसम्म पुगेको थियो र मानिसहरुको मुस्लो नाटक हेर्न जाने चलन बसिसकेको थियो । पहिलोपटक गुरुकुलमा सेतो कपाल हेरेदेखि नै नाटकले एउटा अलग्गै छाप छाडेको हो ममा ।

