देश र समाजका शत्रुहरुको सुचीमा एक, दुई र तीन स्थानमा आफैं पर्ने नैतिकता टाट पल्टिसकेका मन्दबुद्धिहरुले समाजको ध्यान अन्यत्र मोडेर आफ्नो अकर्मण्यता लुकाउन सिके राउतलाई एउटा वहाना बनाएको मेरो ठम्याइ छ । यति सरल सत्य नबुझेर युवाहरुको एउटा जमात यस्तो कुरा गदैछ मानौं नेपालका तमाम समस्याको जड खाली सिके राउत नामको एउटा व्यक्ति हो जसको बलि चढाउने हो भने चमत्कारपूर्ण नेपाल एउटा स्वतन्त्र, सार्वभौम र समृद्ध देश बन्छ । योभन्दा भ्रामक कुरा केही हुन सक्दैन ।
सीके राउतका बारेमा केही नबोल्ने निश्चय गरेको थिएँ । आलोचनाका डरले हैन ब्लगको दशैं विशेष अंकको व्यस्तताले गर्दा । तर उनी अनशनमा बसेर नाजुक हालतमा रहेको समाचार आएसँगै चुप रहन सकिएन ।
शुरुमा लागेको थियो, सरकारले नगर्नुपर्ने पक्राउ गरिहाल्यो, गल्ती महसुस गरेर केही दिनमा छाडिदिइहाल्नेछ । यसबीच जो जति बोले बोले, यसको दीर्घकालीन प्रभाव केही हुने छैन ।
तर मामला बिस्तारै गम्भीर भएर जाँदैछ ।
यो सीके राउतको बचाउ हैन, न त उनका अभिव्यक्ति र कथित गतिविधिको पनि । जसलाई जे लाग्छ, त्यो भन्ने हो । लोकतान्त्रिक व्यवस्थामा समाजलाई त्यो पाच्य भएन भने त्यसको आलोचना वा खण्डन गर्ने हो । राउतका अराजक र क्रुद्ध शब्दहरु नेपाली समाजका लागि अपाच्य होलान्, मानिसहरुका भावनामा चोट पुगेको पनि होला । इमान्दार भएर भन्नुपर्दा उनका अभिव्यक्ति सुनेर म कत्ति पनि क्रुद्ध भइनँ अरु धेरै मध्यम वर्गीय मित्रहरु झैं । ती अभिव्यक्ति आपत्तिजनक पक्कै थिए तर क्रुद्ध भएर उनको फाँसी माग्न लायक हैन ।
सबैले बिर्सेको कुरा के भने, अन्तहीन संक्रमणमा फसेको एउटा समाजले यस्ता अतिवादी सोचका रुपमा आउने ध्वंशकारी प्रवाहहरुलाई पार गरेर अघि बढ्ने साहस गर्नैपर्छ । देशको राजनीतिक नेतृत्व आफ्नो कर्तव्यबाट जति चुक्दै जान्छ, देश र समाजले त्यति नै मूल्य चुकाउनुपर्छ ।
सही अर्थमा मूल्य चुकाउनु भनेको सावधानी र बुद्धिमत्तापूर्वक त्यस्ता उग्र र अतिवादी विचार र व्यक्तिहरुको व्यवस्थापन गर्नु हो ।
राउतको सन्दर्भमा गर्न मिल्ने सबैभन्दा उत्तम कदम भनेको उनलाई नचलाएर त्यत्तिकै छाडिदिनु थियो । त्यो अवस्थामा एकाध मानिसले सुनेका उनका अभिव्यक्ति त्यसै सेलाएर जान्थे र उनी यसअघि जुन अवस्थामा थिए, त्यसैमा रहन्थे ।
