फासीवादको जननी भनेर इटालीलाई चिनिन्छ। त्यहाँ बेनिटो मुसोलिनीले फासीवादको सुरुवात गरेका थिए। त्यसैलाई पछ्याउदै हिटलरले जर्मनीमा र जनरल फ्रान्कोले स्पेनमा फासीवादी शासन लादेका थिए। तर फासिवाद र अन्य तानाशाही व्यवस्थाहरुकोबीच केहि गहिरो भिन्नता भन्ने अवश्य नै छ। फासीवादको वर्गीय चरित्र के हो त? फासीवाद भनेको मुलत: एक निम्न-पुँजीपतिवर्गमा आधारित व्यवस्था हो। यस आन्दोलन ठूला पुँजीपतिद्वारा निर्देशित, संचालित र आर्थिक रूपमा सहयोग गरिएको हुन्छ। यस आन्दोलनका मुख्य वर्गहरु निम्न-पुँजीपति, आवारावर्ग तथा केहि हदसम्म सर्वहारावर्गका पनि केहि तप्का सामेल भएका हुन्छन। यस आन्दोलनले जरा गाड्ने समय भनेको त्यसबेला हो, जब पुँजीवाद गहिरो आर्थिक संकटबाट गुज्रिरहेको हुन्छ। यस्ता आर्थिक संकटहरुबाट सबैभन्दा बढी पिरोलिने भनेको सर्वहारावर्ग नै हुन्छन। त्यसकारण उनीहरुलाई आकर्षित गर्न फासीवादिहरुले समाजवादी शब्दावलीलाई पनि प्रयोग गरेका हुन्छन। इटालीका मुसोलिनी त पहिला समाजवादी नै थिए भने हिटलरले पनि आफ्नो पार्टीको नाममा 'समाजवाद' शब्द जोडेको थियो।
फासीवादको उदय कस्तो अवस्थामा हुन्छ त? र यसको वर्गीय स्वरूप कस्तो हुन्छ? मैले पहिले भने जस्तै फासीवादले खेल्न ठाउँ पाउने भनेको गहिरो आर्थिक मन्दी तथा आर्थिक संकटको बेला हो, जस्तै अहिलेको अवस्था छ। यस्ता आर्थिक संकटको बेला पुँजीवादको वास्तविक रुप सर्वहारावर्गले देख्न पाउछन। आर्थिक संकटले आफुसंगै बेरोजगारी, दरिद्रता, समस्याहरुमात्र लिएर आउँछ। फलस्वरूप सर्वहारावर्गले यसको विरुद्ध संघर्ष गर्न थाल्छन। सर्वहारावर्गको बढ्दो शक्ति देखेर बुर्जुवावर्ग तर्सिन थाल्छन र जसरि हुन्छ क्रान्तिकारी आन्दोलनलाई दबाउन तिर लाग्छन। तर जब उनीहरुको केहि लाग्दैन, त्यसबेला अन्तिम विकल्पस्वरूप उनीहरुले शासन-सत्ता निम्न-पुँजीपति वर्गको हातमा थमाइदिन्छन। र फलस्वरूप सर्वहारावर्गलाई ठेगान लगाउन एउटा तानाशाह आइपुग्छ। जस्तै, हिटलर, मुसोलिनी आदि।
