श्रृंखला १ पत्रिका कि प्रतिशोधको हतियार? पत्रकारिताले धर्म छाडेपछि...
यो ब्लगमा एनसेलसम्बन्धी आलेखको पाठक संख्या ७००० पुग्न थालेको छ । तर छिट्टै धर्मछाडा पत्रकारिताबारे लेखिएको टिप्पणीले त्यसलाई उछिन्लाजस्तो छ । भन्नुको अर्थः मूलधारका मिडियाका बारेमा मूलधार बाहिर लेखिए पनि त्यसलाई खोजेर पढ्ने पाठकहरुको संख्या राम्रै छ ।
नेपालको मूलधारका प्रमुख पत्रपत्रिकामामा विभिन्न समयमा फाटफुट स्तम्भ लेखेर मात्र भए पनि संलग्न भएकाले तिनप्रति मेरो ‘सफ्ट स्पट’ छ । त्यसमाथि हामी आम सरोकारका विषयमा बोलिराख्नु र लेखिराख्नु पर्ने मानिसहरुलाई आज जुन मिडियासित पारो चढ्छ, भोलि उसैको सहयोग लिन वा उसैसित काम गर्नुपर्छ । कुनै मिडियासित चित्त बुझेन भने पनि त्यसलाई निषेध गर्नेभन्दा पनि बरु एंगेज्मेन्टको माध्यमबाट आफ्ना कुरा राख्ने रणनीति धेरै प्रभावकारी हुने मेरो अनुभव छ ।
त्यसैले सकभर मिडियालाई नचलाउने र बरु तथ्यगत त्रुटि भएजस्तो लाग्यो भने सम्पादकलाई मेल लेख्ने काम आजसम्म गर्दै आएको हो र सामान्यतः अब गर्ने पनि त्यही हो ।
अर्कोतिर खास मिडियाले आम सरोकारको विषय विशेषलाई प्राथमिकतामा पारेनन् भनेर धेरै साथीहरुले आलोचना गरिरहँदा तिनको आलोचना पनि मैले गरेको छैन । उनीहरुका पनि आफ्नै सीमा हुन्छन् र तीमध्ये कति आम पाठकले बुझेका हुँदैनन् । संसारभर परम्परागत पत्रकारिताको जग नै हल्लिने गरी भइरहेको परिवर्तन, विकेन्द्रित, सामाजिक सञ्जाल केन्द्रित पत्रकारिताका कारण मिडिया धान्ने पुराना मोडलहरु काम नलाग्ने भएका छन् भने नयाँले आकार लिइसकेका छैनन् । बेलायतको दी गार्जियन र अमेरिकाको न्यू योर्क टाइम्सजस्ता पत्रिकाहरुले भविष्यतिर अनिश्चयपूर्वक हेरिरहेको बेला हाम्रा मिडियामा त्यस्तो अन्योल हुनु अनौठो हैन ।
तर एकतिर असावधानीवश हुन जाने गल्ती र आर्थिक दिगोपनबारेको चिन्ताका कारण कभरेजमा गर्नूपर्ने सम्झौता र अर्कोतिर सुनियोजित चरित्र हत्या वा मिलेमतो र प्रतिशोध सर्वथा फरक कुरा हुन् र तीबीच कुनै तुलना हुनै सक्दैन । जुन मिडियालाई अस्तित्व जोगाउनकै लागि कसैसित मिलेर कसैको चरित्रहत्या नगरी हुँदैन, त्यस्तो पत्रकारिताको कुनै पनि हिसाबले बचाउ गर्न सकिंदैन ।
अघिल्लो टिप्पणीमा उल्लिखित प्रायोजित पत्रकारिताले नेपालको चिकित्सक समुदायलाई कति बिच्काएको छ भन्ने एउटा उदाहरण हेरौं । ११,५०० डाक्टर सदस्य रहेको एउटा फेसबुक पेजमा अहिले ‘ट्रेन्डिङ’ पोस्ट यस्तो छः
एकजना नाम चलेका टिभी का पत्रकार महोदय आउनु भयो!! एउटा अन्तर्वार्ता दिनु परो रे!!
मैले भने पैले पत्रकारिता मा इथिक्स विकास गर्नुस, दुई चार जना पत्रकारलाइ जे पायो त्यही लेखेकोमा कार्वाही गर्नुस, अनि म आउला अन्तर्वार्ता दिन!!
यसरी कुनै मिडियाको सामाग्री विशेषले सिंगो नेपाली पत्रकारितामाथि वितृष्णा जगाउनु एकदमै दुखद कुरा हो ।
पहिले नै भनिए झैं यो मामलामा मान हानिको मुद्दा र गाली बेइज्जतीको मुद्दा लगाउने दुई सम्भावना जीवितै छन् । त्यसबाहेक अरु दुई रणनीतिहरु पाइपलाइनमा छन् । तर सम्बन्धित पत्रिकाप्रति सद्भाववश त्यसो गर्नुअघि उसलाई प्रायश्चितको एउटा मौका दिनु उचित होला भन्ने मलाई लाग्छ ।
पत्रिकाले मुख पृष्ठको अस्ति जहाँ उक्त सामाग्री छापेको हो त्यहीं एउटा माफी समाचार लेख्न सक्छ । त्यसको भाषामा ‘फलानो मितिमा फलानो पत्रकारको नाममा यो ठाउँमा छापिएको सामाग्री समाचार नभएर प्रायोजित सामाग्री थियो’ भन्ने व्यहोरा पार्दै त्यसका लागि पत्रिकाले सार्वजनिक रुपमा लाञ्छना लगाइएकाहरुसित क्षमा याचना गर्न सक्छ ।
त्यति गरे पनि लाञ्छितहरुको माइती, मावली र ससुरालीसम्म गुमेको प्रतिष्ठा समूल फकिंदैन र त्यसका कारण उत्पन्न मानसिक तनाव र यातना साम्य हुँदैन । तर पनि पत्रिकाले भूल स्वीकारेको खण्डमा उनीहरुले फेरि बदमासी नगर्ने शर्तमा पत्रिकालाई क्षमा दिने सम्भावना रहन्छ ।
अर्कोतिर, भोलिसम्म त्यसो गरिएन भने पाइपलाइनबाट तेस्रो र चौथो रणनीति व्यवहारमा उतार्नुपर्ने हुन सक्छ ।
हालसालै एउटा ब्राण्ड बहिस्कारको श्रृंखला चलिरहँदा चानचुन १० हजार जति सक्रिय डाक्टरहरुले एकैपल्ट पत्रिकामाथि आक्रोश पोखे भने के हुन्छ, त्यसको अन्दाज मलाई पनि छैन किनकि अहिलेसम्म त्यस्तो भएकै छैन । सामाजिक सञ्जालमा अरु लाखौं मानिससित जोडिएका उनीहरुले पत्रिकाको नाममाथि रातो क्रसचिन्ह राखेर शेयर गर्न थाले भने पत्रिकाको ब्राण्ड भ्यालु के हुन्छ, बेलैमा सचेत भएको राम्रो । साथै, कम्तीमा भोलिसम्म त्यस्तो अभियान डाक्टरहरुको पेजभन्दा बाहिर नल्याउन म साथीहरुलाई आग्रह गर्छु ।
चौथो तथा अन्तिम रणनीतिः यो मामलामा अलि गहिरिएर यो श्रृंखलाको भाग ३ निकाल्ने । याद रहोस्, अब त्यस्तो गर्नुपर्यो भने हिजो झैं नाम नलिई नरम शब्दमा कुरा राख्न सम्भव हुनेछैन ।
बाँकी कुरा अब त्यही श्रृंखलामा । तर मलाई अझै आशा छ सम्बन्धित सञ्चार गृहले यो मामलालाई गम्भीरतासाथ लिनेछ र त्यस्तो श्रृंखलाको आवश्यकता पर्ने छैन । उसका कोही शुभचिन्तकहरुले यो पढ्नुभयो भने प्रकाशकसम्म यो सन्देश गए उत्तम हुन्थ्यो भन्ने मलाई लाग्छ ।
No comments:
Post a Comment