Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Thursday, June 2, 2016

अन्नपूर्ण पोस्टको 'कालो पत्रकारिता'

अन्नपूर्ण पोस्टको 'कालो पत्रकारिता'
चैतन्य मिश्र, केदारभक्त माथेमा, लीलामणि पौड्याल, प्रत्युष वन्त र सुरेश ढकालको संक्षिप्त प्रतिक्रियासहित


अदालतमा अहिले चलिरहेको फलानो मुद्दामा स्रोतका अनुसार फलानो दोषी हो । उसले फलानोसँग केही करोड असुलेका पनि स्रोतले बतायो । फलानो एक्लै दोषी छैन, उसकी श्रीमतीको चरित्र पनि खराब भएको स्रोतले बतायो । स्रोतका अनुसार उसको छोरा पनि लागू औषध दुव्र्यसनमा फसेको छ ।


 यही जेठ ९ गते अन्नपूर्ण पोस्ट नामक काठमाडौंबाट प्रकाशित हुने एउटा दैनिकको मुखपृष्ठमा ‘एमबीबीएसमा सीट थप्न चलखेल’ शीर्षकमा यस्तै समाचार छापियो । सो समाचारबारे मैले यस अघि नै दुई टिप्पणी लेखिसकेको छु । (पत्रिका कि प्रतिशोधको हतियार? धर्मछाडा पत्रकारिताविरुद्ध ४ रणनीति)


यो पीत पत्रकारिता किन हैन? 
१५ फेब्रुअरी १८९८ को साँझ । क्युबामा चलिरहेको स्पेनविरोधी विद्रोहमा अमेरिकी स्वार्थको रक्षा गर्न भनेर परिचालित युएसएस मेइन (एसीआर वन) नामक युद्धपोत हवाना हार्वरमा डुब्यो । भोलिपल्ट न्यू योर्क जर्नल पत्रिकाको हेडलाइन समाचार यस्तो थियोः डिस्ट्रक्सन अफ द वार शिप मेइन वज त वर्क अफ अन एनेमी । अर्को प्रतिस्पर्धी दी न्यू योर्क वल्र्डको हेडलाइन थियोः मेइन एक्सप्लोजन कज्ड बाइ बम अर टोर्पेडो? उपशीर्षकमा भनिएको थियोः क्याप्टेनका अनुसार दुश्मनहरुका कारण दुर्घटना सम्भव भएको थियो ।

न्यू योर्क जर्नल त्यतिमा रोकिएन । उसको मुखपृष्ठ पूरै जसो ढाक्ने गरी तीन ठाउँमा दोहोर्यार लेखियोः मेइन युद्धपोत काण्डको दोषी पत्ता लगाउनेलाई जर्नलका तर्फबाट ५० हजार डलर पुरस्कार । 

जबकि सो घटनाबारे छानविन गर्न पछि बनाइएका समितिहरुले त्यसको यकिन कारण पत्ता लगाउन सकेनन् र अहिलेसम्म त्यसको वास्तविक कारण अज्ञात छ । धेरैले अहिले विश्वास गर्छन् कि युद्धपोतले बोकेको बिटुमिनस कोल नामक एक प्रकारको कोइलाबाट उत्सर्जन हुने प्रज्वलनशील ग्याँसबाट आगलागी शुरु भएर दुर्घटना भएको हुनुपर्छ ।


उसो भए घटना भएको भोलिपल्टै दुई अमेरिकी पत्रिकाहरुले किन दुर्घटनाको कारण किटान गरेर समाचार लेखे? कारण सामान्य थियोः जोसेफ पुलिट्जरको न्यू योर्क वल्र्ड र डब्लु एच हस्र्टको न्यू योर्क जर्नल उति बेलै येल्लो जर्नालिजम वा पीत पत्रकारिता भनिने पत्रकारिताको खास किसिमको भँगालोमा कडा प्रतिस्पर्धी थिए । भएका समाचारलाई सनसनीपूर्ण बनाउनु वा हुँदै नभएका समाचार उत्पादन गरेर सनसनी बनाउने प्रतिस्पर्धामा त्यस खालको दुर्घटना त दुहुनो गाइ नै सावित हुने भयो । लगत्तै स्पेन र अमेरिकाबीच यूद्ध नै भयो । त्यसको कारण ती दुई पत्रिकाको पत्रकारिता मात्र त थिएन तर अमेरिकीहरुलाई युद्धको विकल्प छैन भनेर ‘ब्रेनवाश’ गर्नुमा तिनको केन्द्रीय भुमिका थियो । त्यसको एउटा उदाहरण हस्र्टको जर्नलमा त्यही समय छापिएको एउटा स्केच थियो, जसमा एउटी सर्वांग नांगै रहेकी महिलालाई पुरुष सिपाहीहरुले घेरेर खोजतलास गरेको देखाइएको थियो र शीर्षक राखिएको थियोः स्पानियार्डस सर्च वुमन अन अमेरिकन स्टीमर्स ।

कालो पत्रकारिता?

नेपालमा पत्रकारितासित चित्त बुझेन भने पीत पत्रकारिताको आरोप लगाउने चलन छ । सम्भवतः हाम्रो पत्रकारिताले अहिलेसम्म खेप्ने गरेको सबैभन्दा ठूलो औपचारिक आरोप त्यही नै हो । तर पछिल्लो समय एउटा पत्रिकाले गरिरहेको पत्रकारिता त्यसको सीमामा अट्न सक्दैन । अमेरिकी इतिहासकार एवं पत्रकार फ्रयांक लुथर मोटका अनुसार पीत पत्रकारिताले १) ससानो समाचारका लागि पनि मानिसलाई त्रस्त पार्ने खालका ठूलो प्रिन्टका शीर्षक राख्छ  २) चित्र वा काल्पनिक स्केचको अत्यधिक प्रयोग गर्छ  ३) झूट्टा अन्तर्वार्ता, झुक्याउने शीर्षकहरु, नक्कली विज्ञान र तथा कथित विज्ञहरुको झुट्टा जानकारी प्रयोग गर्छ  ४) सप्ताहान्तमा पूर्ण रंगीन सप्लिमेन्ट छाप्छ र ५) प्रणालीमा पिछडिएकाहरुप्रति नाटकीय सहानुभुति राख्छ ।

याद रहोस्, निश्चित एजेण्डाका लागि पत्रकारिता दुरुपयोग गर्ने, निश्पक्षता बिर्सेर प्रष्ट रुपमा कसैको हतियार बनेर कसैमाथि जाइलाग्ने, साम्प्रदायिक वा अन्य वैरभाव सिर्जना वा प्रोत्साहन गरेर हिंसाको पक्षपोषण गर्नेजस्ता कामहरु पीत पत्रकारिताको दायरामा समेत पर्दैनन् ।

त्यस्तो पत्रकारितालाई के भन्न सकिएला? कम्तीमा यो आलेखको प्रयोजनका लागि मैले त्यसलाई कालो पत्रकारिता भन्नेछु ।


खोल पत्रकारिताको, एजेण्डा अर्कै

थप बिस्तारमा जानु अघि एउटा अनुभव राख्न चाहन्छु । तिनताका म स्नातकोत्तर तहको विद्यार्थी थिएँ । कहिलेकाहीं लेखहरु लेखेर अन्तर्राष्ट्रिय पोर्टलहरुमा पठाउँथें र तीमध्ये केही छापिन्थे पनि । तीमध्ये एउटा छापिएको प्रसंग स्मरणीय छ । अमेरिकाको न्यूयोर्कर म्यागेजिनले केन औलेट्टाको ‘सिटिजन्स जैन’ शीर्षक लामो रिपोर्टमार्फत भारतको मिडियाबारे रोचक र चिन्ताजनक कुराहरु बाहिर ल्यायो । न्यू योर्कर पैसा तिरेर मात्र पढ्न पाइने भएकाले एउटा चोरीशिकारी वेबसाइटमा गएर सोही लेखको पूर्ण पाठ पढें । पढेर यति उद्वेलित भएँ कि मैले पनि भारतको मिडियाबारे औलेट्टाको लेखसमेत उद्धृत गर्दै एउटा टिप्पणी लेखें । त्यो जम्मा ११०० शब्दको थियो र जम्मा ३ एम्बेडेड लिंक त्यसमा राखेको थिएँ ।

मैले २०१३ मार्च २ मा पठाएको त्यो सामाग्री फरेन पोलिसी जर्नल नामक अनलाइन पत्रिकामा मार्च १७ मा छापियो (The Rot Behind the Façade of Free Media in India, सोही  लेखकों लामो संस्करण मेरो ब्लगमा: Indian Media: Who will guard the guards? )। अहिले हेर्दा भेटें, त्यसबीच पत्रिकाका सम्पादक र मबीच १० पल्ट इमेल आदानप्रदान भएको रहेछ । हरेक पल्ट केही न केही नमिलेको भनेर उनी फिर्ता पठाउँथे र मैले सच्याएर पठाउँथें ।

सो पत्रिका फरेन पोलिसी म्यागेजिन वा फरेन अफेयर्स जस्तो दशौं लाख पाठक हुने वा थिंकट्यांक भनिने मान्यताप्राप्त पत्रिका हैन, जेरेमी आर ह्यामोन्ड नामक व्यक्तिले चलाएको वैकल्पिक धारका धेरै पोर्टलमध्ये एक हो । उनी अमेरिकाका नागरिकले भारतको पत्रकारिताबारे म नेपालीले लेखेको लेखमा क्लिष्ट र गलत कुरा नरहोस् भनेर देखाएको सावधानी अहिले मलाई अति सराहनीय लाग्छ, भलै ऊबेला उनको पछि लागेर त्यति मेहनत गर्नुभन्दा आफ्नो ब्लगमा हाले काम तमाम भनेजस्तो लागेको थियो । हुन पनि मलाई शुरुमा लेख्नभन्दा पछि मिलाउन र पुनर्लेखन गर्न धेरै समय लागेको थियो । सम्भवतः त्यो क्रममा सम्पादकको पनि उति नै समय खर्च भयो ।

नेपालको पत्रकारितासँग, यहाँका सम्पादकहरुसँग त्यति धेरै अपेक्षा मेरो छैन । तर माथि भनेझैं कुनै स्रोत विशेषले भनेको भनेर कुनै बर्बराहट छापियो भने त्यसले पत्रकारिताको हुर्मत लिन्छ ।

तर यो आलेख त्यो समाचारका कारण मात्र लेखिएको हैन । नेपाली पत्रकारितालाई खास कुरुप आकार दिन अन्नपूर्ण पोस्टले पुर्याएको योगदानका कारण यो लेख्नै पर्ने भएको हो ।

२०७२ साउन ५ गते अन्नपुर्ण पोस्टको मुखपृष्ठमा एउटा विज्ञापन छापियो । रंगीन फ्रेमको माथि लेखिएको थियोः जय हिन्दु राष्ट्र नेपाल, समस्त ओम्कार परिवारमा सादर अपिल । अनि भित्र 'सम्पूर्ण हिन्दु धर्मावलम्बी नेपालीहरु एकजुट भई निर्णायक धर्मयुद्ध गर्न आवश्यक भएको' उद्घोष गरिएको थियो । उद्घोषकर्ता कमलनयनाचार्य नामक व्यक्तिले तलपट्टि हस्ताक्षर समेत गरेका थिए । सम्भवतः नेपाली पत्रकारिताको इतिहासमा धर्म युद्धको उद्घोष पत्रिकाको मुखपृष्ठमा छापिएको पहिलोपल्ट हो र आशा गरौं अन्तिमपल्ट पनि हुनेछ ।

त्यो कति संवेदनशील समय थियो भने, राज्य धर्म निरपेक्ष भयो भने हिन्दु धर्म मान्ने अधिकार खोसिन्छ भन्ने प्रचार गर्नेहरुले देशभर ठूल्ठूला भीड जम्मा गरेर कार्यक्रमहरु गरिरहेका थिए । समाजलाई दिशानिर्देश गर्नुपर्ने राजनीतिक नेतृत्व स्वयं भीडबाट निर्देशित भएजस्तो देखिन्थ्यो र कतै अलि ठूलो अराजकता उत्पन्न भयो भने त्यो नियन्त्रणबाहिर जाने र राज्यलाई नै अस्तव्यस्त बनाउने सम्भावना टड्कारो थियो । बीबीसी नेपालीले समेत त्यो समयमा कमलनयनाचार्यलाई अन्तर्वार्तायोग्य  ठानेको थियो ।

कतैबाट धार्मिक विग्रहको सानो झिल्को निस्क्यो भने त्यसबाट डढेलो लाग्ला कि भनेर सचेत नागरिकहरु त्राहीमाम थिए । विज्ञापन निस्केको केही दिनपछि तिनै अतिवादीले एउटा सभामा धर्म नमान्नेहरुलाई तरबार लिएर लखेट्नुपर्ने अभिव्यक्ति दिएका थिए, साथै काठमाडौंमा ५ लाख मानिस जम्मा पारेर उपत्यका ठप्प पार्ने अनि त्यसैको बलमा हिन्दुराज्य स्थापना गर्ने अभिव्यक्ति दिएका थिए ।

अन्नपूर्ण पोस्टमा निस्केको सो विज्ञापन त्यही अभियानको हिस्सा थियो । केही चाटुकारहरुको पुल्क्याइबाट कमलनयनाचार्य भनिने अतिवादी यति हौसिएका थिए कि सारा नेपाली उनको पछि भएको भ्रम उनलाई थियो ।

तर गजब के भयो भने, पत्रिकाको विज्ञापन र उनको सार्वजनिक हुँकार डढेलोका लागि चाहिने झिल्को बन्न सकेन । मानिसले न पत्रिकाको आह्वानलाई गम्भीरतापूर्वक लिए, न ती अतिवादीलाई नै । लाख उतार्ने  भनेको ठाउँमा सय  उतार्न  पनि तिनलाई हम्मे परेपछि एउटा संकट टर्यो । लगत्तै ती वनमारा अतिवादी चर्चाबाट विलुप्त भए ।

तर सो पत्रिकाले देशको राजनीतिलाई आफ्नो साँघुरो र संकीर्ण विश्वदृष्टि अनुरुप धकेल्ने प्रयास छाडेन । देशमा जबसम्म आन्दोलन र नाकाबन्दीबाट सिर्जित अन्योल कायम रह्यो, पहिले ज्यान फालेर पानी धमिल्याउने र त्यसैमा माछा मार्ने काममा सो पत्रिका संलग्न भयो ।

अन्नपूर्ण पोस्टको नाकाबन्दीका बेला उत्कर्षमा पुगेर अहिलेसम्म पनि जारी रहेको त्यस्तो लाजमर्दो पत्रकारिताका धेरै उदाहरणहरु यहाँ समाविष्ट गर्न सम्भव छैन, आवश्यक परेमा म अर्को श्रृंखला तैयार  गर्नेछु । तर एउटा उदाहरण चाहिं उल्लेख नगरी हुँदैन भन्ने मलाई लाग्छ ।

नाकाबन्दीको शुरुवाततिरको कुरा हो । नेपाल भारत सीमामा चरम तनाव थियो । तैपनि मिडिया कभरेज हेर्दा लाग्थ्यो, विग्रहले साम्प्रदायिकभन्दा पनि मधेशीविरुद्ध राज्य वा भारतविरुद्ध नेपालको रुप लिंदैछ । चौतर्फी तनाव र निराशाबीच त्यही पनि एउटा सुखद कुरा थियोः जबसम्म लडाइँ कुनै समुदाय भर्सेस राज्य हुन्छ, त्यसको राजनीतिक निकासको सम्भावना हुन्छ । नश्ल, जात, क्षेत्र वा धर्मको आधारमा मारकाट शुरु भयो भने त्यसको राजनीतिक निकासको सम्भावना अति न्यून हुन्छ र त्यस्तो विग्रह दशकौं लम्बिने सम्भावना धेरै हुन्छ । हाम्रै छिमेकी भारत त्यसको उदाहरण छ । नेपालमै पनि पहिलो र दोस्रो मधेश आन्दोलनका बेला पैदा भएको साम्प्रदायिक विग्रहको भावनाको परिणाम हामीले अहिलेसम्म भोगिरहेका छौं ।

यसपल्टको आन्दोलन र नाकाबन्दीका बेला चाहिं देशका प्रमुख सञ्चार माध्यमहरु यो विषयमा एकदमै संवेदनशील थिए । वीरगञ्जलगायतका ठाउँमा पहाडी मुलका मानिसहरुले आन्दोलनमा देखाएको ऐक्यबद्धता, पहाडी समुदायका लेखक र विश्लेषकहरुले आन्दोलनप्रति सहानुभुति राख्दै राज्यलाई दबाब दिइरहेको तथा मधेशी मूलका लेखक–विश्लेषकहरुले भारतीय मिडियामा आएका अतिवादी र ज्यादतीपूर्ण भ्रमहरु चिरेको अवस्थाले त्यो समयमा साम्प्रदायिक विग्रहको ढिकमा पुगिसकेको नेपाल राज्यलाई त्यहाँबाट तल झर्नबाट रोकेको मेरो विश्लेषण छ ।

स्वभावतः त्यो समयमा सनसनीपूर्ण सामाग्री राखेर साम्प्रदायिक भावना उराल्दै यसै पनि उत्तेजित र उद्वेलित पाठकहरुलाई तान्ने होडमा केही अनलाइन मिडियाहरु थिए ।

कतिसम्म भने, टीकापुर घटनालगत्तै केही मानिसले इन्टरनेटमा भेटिएको एक जना आगोको ज्वालामा ह्वार्ह्वार जलिरहेको मानिसको फोटो राखेर नेपालमा आन्दोलनकारीले प्रहरीलाई जलाएको भनेर सामाजिक सञ्जालमा राखेका थिए । पोखराको एउटा स्थानीय दैनिकले त्यही फोटो मुखपृष्ठमा राखेर त्यही व्यवहोराको हेडलाइन समाचार नै बनाएको थियो ।

जति उग्र सामाग्री, सामाजिक सञ्जालमा उति बढी शेयर संख्या । यही रणनीतिका आडमा अस्तित्वमा रहने धेरै त्यस्ता मिडियाले पेज काउन्टमा निर्भर हुने विज्ञापनहरुबाट ठूलो रकमसमेत कमाए ।

त्यही माहोलमा एक सनसनीप्रेमी मित्रको फोन आयो । भनेः देश अब रहने भएन, आन्दोलनले अर्कै रुप लिइसक्यो । कति नेपाली काटिइसके तपाइँलाई अझै थाहा छैन?

निधारमा चिटचिट पसिना आयो । जे नहोस्  भनेर कामना गरिएको थियो, त्यसैको समाचार सुन्नुपर्दा छाँगाबाट खसेजस्तै भएँ। कुनै प्रलयको समाचारभन्दा यो कम  थिएन। आवाराहरुको बदमासीबाट शुरू भएका ऋतिक रोशन काण्ड र इराकमा नेपाली मारिएपछि भएका दंगामा त राज्य पंगु र अकर्मण्य भएर स्थितिलाई नियन्त्रण बाहिर जान दिएको थियो भने अहिल  त स्थिति यति संवेदनशील थियो कि विगतसँग कुनैै तुुलनैै हुन सक्दैनथ्यो ।

तर अर्को मन भन्थ्योः केही समयअगाडि त मिडियामा त्यस्तो खराब समाचार केही थिएन, एकाएक त्यस्तो के भएर डढेलो लाग्यो होला र? फोन राखेर धमाधम समाचार साइटहरु खोलें । एउटामा, अर्कोमा, अझ अर्कोमा, कुनैमा पनि त्यस्तो समाचार छैन । राहत महसुस भयो । फेरि फोन गरेर मित्रलाई सोधेंः खै त कतै केही छैन त । उनले भनेः किन नहुनु, अन्नपूर्ण पोस्टको साइट हेर्नुस् त ।

कमलनयनाचार्यको विज्ञापनपछि अन्नपुर्ण पोस्टलाई मिडियामा गन्ने र पढ्ने काम गर्न बन्द गरेको थिएँ । बाध्यताले हेर्नुपर्यो । हेर्दा समाचारको पेज हिट लाख पुग्न लागेको थियो । शीर्षक थियोः भारत गएका युवालाई मोर्चाका कार्यकर्ताले हात काटेर फालिदिए । समाचारको पहिलो लाइनः ...भारत गएका एक युवालाई मधेशी मोर्चाका कार्यकर्ताले काटेर फालिदिएका छन् ।

त्यसको अर्थ काटेर मारेर फालिदिएको भन्ने लाग्थ्यो । तर तेस्रो अनुच्छेदमा लेखिएको थियोः ...दाहिने हातका चारवटा औंला काटिदिएका छन् ।

शीर्षक, अनुच्छेद १ र अनुच्छेद ३ बीच तालमेलको अभाव देखाउँदै पत्रिकाको ट्वीटर ह्याण्डल मेन्सन गरेर ट्वीट गरें, कुनै जवाफ आएन ।

What is this??— Jiwan Kshetry (@jkshetry) https://twitter.com/jkshetry/status/651774928270680065">October 7, 2015


 बरु अलि बेरमा फोटोसहित अपडेट भएको अर्को समाचार शेयर भयोः नेपाली युवामाथि मोर्चाका कार्यकर्ताको बर्बरता (फोटो) । यसमा चार औंला काटेको भनिएको थियो र अघिल्लो समाचारमा काटेर फालिएका भनिएका युवाको उभिएर हिंडिरहेको फोटो राखिएको थियो ।

लाग्योः मेरो ट्वीटको प्रभाव परेछ क्यारे, धेरै उत्तेजक भयो भनेर अघिल्लो समाचारलाई यसले विस्थापित गरेछ । तर के हुन्थ्यो, अहिलेसम्म ती दुवै समाचार अन्नपूर्ण पोस्टको वेबसाइटमा उपलब्ध छन्, यी पंक्ति लेखिंदासम्म पहिलो समाचार १ लाख १५ हजारपल्ट हेरिएको छ भने  दोस्रो झण्डै ३८ हजार पल्ट ।

ज्यानै मारेको नभइ चार औंला काटेका कारण त्यो समाचार छाप्न योग्य थिएन वा औंला काट्नु अमानवीय ज्यादती थिएन भन्ने कुरा हैन । ज्यादती गर्ने मोर्चाका कार्यकर्ताको काम कुनै वहानामा क्ष्यम्य थियो भन्न खोजेको पनि हैन । तर मलाई फोन गरेर प्रलय शुरु भइसकेको जानकारी दिने साथी झैं अरु ठूलो संख्यामा मानिसहरु मान्छे काटिएको भनेर लेखेका त्यो समाचारका कारण उत्तेजित भएर आफू वरपरका अर्को समुदायका मानिसलाई निशाना साँध्न शुरु भएको भए के हुन्थ्यो? शायद सोही पत्रिकाले फेरि बढाइँचढाइँ गरेर दंगाबारे समाचार लेख्ने होडमा सबैलाई जितेर अझ धेरै पाठक कमाउँथ्यो होला, प्रतिस्पर्धीहरुलाई उछिन्थ्यो होला, धेरै विज्ञापनमार्फत आफ्नो व्यापारिक स्वार्थ मजबूत पार्थ्यो होला  । तर त्यसका लागि समाज र सिंगो देशले कुन मूल्य तिर्नुपथ्र्यो?

त्यो कति प्राथमिकताको समाचार थियो भन्ने त्यही दिन प्रस्ट भइसकेको थियो । अरु सबै जिम्मेवार मिडियामा त्यही समाचार थियो तर सबैले जे भएको हो, त्यही लेखेका थिए र कसैले पनि त्यसलाई अतिरञ्जना गरेर उत्तेजना फैलाउने काम गरेका थिएनन् । भोलिपल्ट अन्नपूर्ण पोस्टकै प्रिन्टमा पनि एक कोलम, तीन अनुच्छेद र ७३ शब्दमा त्यही समाचार समेटिएको थियो ।

५ लाखदेखि १० लाखसम्म मानिस मारिएको अनुमान गरिने रुवाण्डाको कुख्यात नरसंहारका बेला कम्तीमा १० प्रतिसत वा ५१,०००  मानिसहरुको हत्याको कारण एउटा आरटीएलएमसी नामक रेडियोको उग्र नश्लवादी प्रसारण रहेको भनेर एउटा अध्ययनले देखाएको थियो । नेपालमा संकटको बेला अन्नपूर्ण पोस्टलाई त्यो रेडियोसित तुलना गरिहाल्न मिल्छ  कि  मिल्दैन मलाई थाहा छैन किनकि उसको पुरै  कभरेज मैले अध्ययन गरेको छैन तर यताको कभरेजले उताको प्रसारणलाई याद मात्र गराउनु पनि एकदमै चिन्ताजनक कुरा हो ।

लाखभन्दा बढी मानिसले हेरे पनि पत्रिकाले पहिल्यै विश्वसनीयता गुमाइसकेका कारण कसैले यसलाई गम्भीरतापूर्वक नलिएका कारण र आम रुपमा नेपालीहरु संयमित भएका कारण त्यो संकट त टर्यो तर पत्रिका सोही  पथमा डटेर लागिरह्यो । शीर्षक एउटा अर्थ लाग्ने, समाचारको सार अर्कै हुने, समाचारकै एउटा अनुच्छेदमा एउटा तथ्य लेखेर अर्को अनुच्छेदमा त्यसलाई काटिनु, अनि यो जानकारी सम्पादकहरुलाई गराइँदा तिनलाई जस्ताको तस्तै छाडिनुले यहाँको सञ्चार माध्यममा कति दण्डहीनता छ भन्ने देखाउँछ ।

अझ चिन्ताजनक कुराचाहिंः त्यसरी साम्प्रदायिता भड्काउन खोजेको प्रस्ट देखिने सामाग्री त्यति प्राथमिकतासाथ प्रकाशित हुनुको कारण के थियो? असावधानीवश भएको भए त त्यस्तो विकलांग पत्रकारिताबारे हामीले गुनासो नै राखेपछि त्यसलाई हटाएर हटाइएको भन्ने सुचना राखिदिएको भए त्यसले एक स्तरको इमान्दारी देखाउँथ्यो । त्यही समाचारलाई प्रिन्टका लागि छाँटेर ७३ शब्दमा झार्ने बेला के सम्पादकको ध्यान अनलाइनको विसंगत समाचारप्रति गएन होला?


पत्रकारिताका क्ष्यम्य गल्ती र अस्वीकार्य अभ्यासहरु

गल्ती नहुने हैन । समाजमा अरु सबै मानिसबाट गल्ती  हुने, खाली पत्रकारबाट  नहुने भन्ने कुरा सम्भव  छैन।  इराक युद्धको कभरेजमा विश्वकै सबैभन्दा प्रभावशाली भनिने न्यू योर्क टाइम्स पत्रिकासमेत चिप्लिएको थियो । सद्दाम ढलेपछि पहिले दाबी गरिएझैं (र पत्रिकाले कभरेज गरेझैं) आम संहारका हतियार फेला नपरेपछि सो पत्रिकाले ठूलै संकट व्यहोर्नु परेको थियो । त्यो श्रृंखलामा धेरै समाचार छपाउने सम्वाददाता जुडिथ मिलरले त्यही माहोलमा जागिरबाट हात धुनुपर्यो (सो समयका सम्पादक हवेल राइन्स त्यस अघि नै अर्को काण्डका कारण पदमुक्त नभएका भए सम्भवतः यही कारण निकालिन्थे) भने मे २६, २००४ मा दि टाइम्स एण्ड इराक शीर्षकमा विशेष सम्पादकीय छाप्न पत्रिका बाध्य भयो । त्यसलाई पनि ‘टू लिटिल, टू लेट’ भनेर चर्को आलोचना गरियो ।

नेपालमा जुन रुप र आकारको पत्रकारिता छ, त्यो हिसाबले अमेरिकामा जस्तो जवाफदेहिताको आशा गर्न नसकिएला । तर त्यसको अर्थ अन्यत्र जर्नलिस्टिक मर्डर भनिने कुरा हामीकाँ संस्थागत होस् भन्ने पनि कदापि हैन । अहिलेसम्म त्यो मामलामा हामी पछाडि छौं भन्नुको मतलब अब यथास्थिति कायम राख्नु वा विवेक र नैतिकताको सबै सीमा नाघ्दै पत्रकारितालाई अझ कुरुप र समाजको बेथितिको हिस्सेदार बनाउनुपर्छ भन्ने पनि छैन ।

शुरुमा मैले उल्लेख गरेको भारतीय मिडियासम्बन्धी लेखका लागि शोध गर्दा भारतको पत्रकारिताबारे केही निकै अँध्यारा र चिन्ताजनक कुराहरु फेला परेका थिए । कति ठूला पत्रिकामा ‘पेड न्यूज’का लागि समाचारको स्पेश नै ठूलो मूल्यमा बेचेर कसैको भनाइ वा प्रवद्र्धनात्मक सामाग्री, जुन विज्ञापन बन्न लायक हुन्थ्यो, त्यसलाई समाचारै बनाएर छाप्नु सामान्य भइसकेको थियो । कति राजनीतिमा लागेर वैध–अवैध माध्यमबाट अकुत धन कमाउनेहरुले आफ्नै टीभी च्यानल खोलेर मिडियालाई राजनीतिको एउटा हतियार बनाएका थिए । अरु कतिले विज्ञापनबापत ठूल्ठूला कर्पोरेशनहरुमा शेयर लिएर तिनका करतुतहरुबारे चुप बस्ने नीति लिएका थिए । पहिल्यै लोकप्रिय भइसकेका मिडिया गृहहरुलाई धनाढ्यहरुले किनेर आफ्नो स्वार्थ पुर्तिको माध्यम बनाउनु सामान्य भइसकेको थियो ।

र झनै दुखलाग्दो कुरा के थियो भने बजारको होडमा जसले त्यस्ता तिकडम छिटो र निर्लज्जतापूर्वक प्रयोग गरे, उनीहरु निकै अघि आइसकेका थिए र निष्पक्षता र वस्तुगततालाई मन्त्र मान्ने मिडियासमेत या आफू पनि त्यही दिशामा बदलिन वा अस्तित्व नै संकटमा पार्न बाध्य थिए । समग्रमा पत्रकारिता समाजका आवाजविहीनहरुको आवाज नभएर पहिल्यै चर्को आवाज र प्रभाव हुनेहरुको अझ धनी र प्रसिद्ध हुने होडमा प्रयोग हुने हतियार बन्दै गइरहेको थियो ।

पछिल्लो समयमा भारतीय मिडियाको ट्रेन्ड के छ, मैले हेर्न भ्याएको छैन तर सम्भवतः ठूला मिडिया गृहहरुमा स्थिति थप बिग्रिसकेको छ ।

भारतका पत्रिकामा आउने पेड न्यूजसित मिल्दाजुल्दा सामाग्री नेपाली मिडियामा देखिनु धेरै चिन्ताजनक कुरा हो । त्यस्ता समाचारमा लेनदेन प्रत्यक्ष आर्थिक हुनुपर्छ भन्ने पनि छैन, सम्वाददाता वा सम्पादकले अरु कुनै प्रलोभन, मिलेमतो वा प्रतिशोधवश समाचार हुनै नसक्ने कुरालाई समाचार बनाएर छाप्यो भने त्यो आफैंमा पैसाले किनेर छापिएको समाचार जत्तिकै खराब हुन्छ ।

त्यस्तै एउटा सामाग्री त्यही जेठ ९ को अन्नपूर्ण पोस्टको समाचार हो । सो समाचारका कारण यति हल्लीखल्ली भएर नेपालको चिकित्सक समुदायले पत्रिका नै बहिस्कार गर्ने स्थिति पुगिसक्दासमेत त्यसमाथि पत्रिकाको तर्फबाट कुनै प्रतिक्रिया वा भुल सुधारको सुचना नआउनु, जसको नाममा समाचार प्रकाशित भएको हो, उसलाई ससम्मान काममा राखिरहनु, यो अवस्थाले त्यो समाचार असावधानीपूर्वक सफा नियतले नछापिएको कुरा प्रस्ट देखाउँछ ।

अझ चिन्ताजनक कुराचाहिं, जस्तो पत्रकारिता सो पत्रिकाले गर्दैछ, के सम्पादकको तहबाट मात्र त्यो सम्भव छ? प्रकाशक पक्ष सम्पादकमाथि हावी भएर त्यसखालको पत्रकारिताको जन्म भएको हो कि प्रकाशकलाई गुमराहमा पारेर सम्पादकको तहबाट त्यस्तो पत्रकारिता भएको हो? यदि सम्पादकमाथि प्रकाशकको स्वार्थ हावी भएर व्यापारिक वा व्यवसायिक प्रयोजनका लागि जसरी सर्कुलेशन वा पेजहिटको संख्या बढ्छ, उसरी बढाउन हिंसाको कारण समेत बन्न सक्ने सामाग्री छापिएको हो भने हाम्रो पत्रकारिता तल गिर्ने सीमा वा फ्लोर के हो? विगतमा एकनासले त्यस्तो पत्रकारिता भयो र त्यसले वैधानिकता पाइरह्यो भने अब भोलि त्यो अझ सघन रुपमा हुँदैन भन्ने आधार के, खास गरी देशको अस्थिरता ज्यूँका त्यूँ रहेको अवस्थामा? त्यस खालको पत्रकारिता निरुत्साहित गर्ने वैध माध्यमहरु के हुन सक्छन् र ती अहिलेसम्म किन प्रयोग भएनन्? के अरुबाट पारदर्शिता र जवाफदेहिताको माग गर्ने पत्रकारिता आफैं चरम अपारदर्शी र जवाफदेहिताविहीन हुने अवस्था स्वीकार्य हो? 

यो अवस्थाले नेपालमा मिडियाको समग्र अवस्थाबारे के बोल्छ?

मेरो व्यक्तिगत कुरा गर्दा, यो समस्या गोरु मर्यो भन्दा पनि काल पल्क्यो भन्ने डर भनेझैं होजस्तो लाग्छ । नेपाल ऐतिहासिक संकटबाट गुज्रिरहेको बेला एउटा पत्रिकाले धर्मयुद्धको भजन गाएर र साम्प्रदायिकता भड्काएर भए पनि पहुँच र व्यवसाय बढायो अनि त्यसका लागि उसले दण्डित हुनु परेन भने भोलि त्यस्तै संकटको समयका लागि हामीले कस्तो नजिर बसाल्दैछौं? कसैले प्रतिशोधवश अरुतिर ताकेर पड्काउन लागेको बन्दुक आफ्नो काँधमा राखेर पड्काउन दिएर अहिले पनि सो पत्रिकाले नेपाली पत्रकारिताको हुर्मत लिइरहेको छ र सर्सर्ती हेर्दा त्यसका लागि पुरस्कृत पनि भइरहेको छ । 

मेरो विचारमा नेपालको पत्रकारिताको स्वस्थ विकास र बिस्तारको सबैभन्दा ठूलो चुनौती यही हो जसलाई कालो पत्रकारिता भन्न सकिएला किनकि आम रुपमा पत्रकारिताको उल्टो यसले समाजमा अपारदर्शिता र दण्डहीनतालाई बढावा दिन्छ । यस्तो कालो पत्रकारितालाई थप संस्थागत र बिस्तारित हुन नदिने जिम्मेवारी अब नागरिकका रुपमा हाम्रो काँधमा छ । त्यसो गर्न सकिएन भने भविष्यमा पश्चात्ताप गर्नेबाहेक अर्को विकल्प बाँकी रहनेछैन ।

यो लेखको ड्राफ्ट तयार भएपछि मैले ५ जना प्रबुद्ध नागरिकहरुलाई यसमाथि प्रतिक्रिया मागेको थिएँ । उहाँहरुको प्रतिक्रिया यस्तो छः


चैतन्य मिश्रः
म डा जीवन क्षेत्रीसँग पूरै सहमत छु । कम से कम, एउटा पत्रिकाले समाचार, विचार र प्रोपागाण्डाबीच फरक छुट्याउन सक्नुपर्छ । यो निष्पक्ष हुनुपर्छ । र यसले सधैं शक्तिशाली र तिनका लठैतहरुसामू सत्य बोल्ने प्रयास गर्नुपर्छ। थाहा भएकै कुरा हो, शक्तिले व्यक्तिलाई भ्रष्टीकरण गर्छ र शक्तिशालीहरुले नागरिक, उपभोक्ता, व्यवसायी, आदिको शिकार गर्ने गर्छन् । शक्तिशाली र तिनका लठैतहरु सधैंजसो लोकतन्त्रको धज्जी उडाउने ध्याउन्नमा हुन्छन् । मलाई लाग्छ, पछिल्लो समय अन्नपूर्ण पोस्ट यी सबै जिम्मेवारी पूरा गर्न असफल भएको छ । 

अर्कोतिर, मलाई लाग्छ कि यति हुँदा प्रकाशक जानकार नहुने भन्ने हुँदैन बरु प्रकाशककै जानकारी र भरथेगमा पत्रिकाले त्यो दिशा लिएको हुनुपर्छ । त्यसैले यो कुरा प्रकाशकलाई बोध गराएर पत्रिकाले लिएको दिशामा सुधार हुनु दुःसाध्य देखिन्छ । त् 

सम्भवतः पत्रिकाका विरुद्ध अरु माध्यमबाट कुरा उठाउन सकिन्छ होलाः पत्रकार संघ, प्रेस काउन्सिल र न्यायालय । मलाई लाग्छ, एउटा साझा प्रयास वा अभियान बढी उपलब्धिमूलक हुन सक्छ । तर मलाई थाहा छ, त्यो भन्नुभन्दा गर्नु निकै कठिन छ । 

केदारभक्त माथेमा
यो आलेख पढेर म स्तब्ध भएँ । यस्तो पत्रकारिता नागरिकका रुपमा हामीलाई सह्य हुँदैन । यस्तो अभ्यास रोक्न हामीले जे सक्छौं, त्यो गर्नुपर्छ । 

लीलामणि पौड्याल
मलाई यो समस्या अन्नपूर्ण पोस्टमा मात्र सीमित छ जस्तो लाग्दैन । तराइ आन्दोलनका बेला विभिन्न एफएम रेडियोको भुमिकालाई पनि हेर्न सकिन्छ । कुनै पनि सभ्य समाजमा मिडियाले द्वेष र घृणाको प्रवाह गरेर समुदायहरुबीच विग्रह फैलाउने काम गर्न पाउँदैनन् । हामीले इमान्दार र संगठित प्रयास गर्यो भने त्यस्तो अभ्यास उल्टाउन सकिन्छ । खास मूल्य मान्यतामा आधारित कुनै अनलाइन मिडिया नै किन नखोल्ने भनेर अब सोच्ने बेला आइसकेको छ, आखिर फलाम काट्न फलाम नै चाहिन्छ । यदि मिडियाले समाजमा सद्भाव, मेलमिलाप र स्थिरताका लागि काम गर्दैनन् भने तिनलाई आलोचना गरेर ठाउँमा ल्याउने जिम्मा पनि हाम्रै हो । 

प्रत्युष वन्त
जीवन क्षेत्रीको यो ब्लगले अन्नपूर्ण पोस्टले अभ्यास गरिरहेको पत्रकारिताबारे गम्भीर प्रश्नहरु उठाएको छ । पत्रिकाको सम्पादकीय टीम नेपालभित्र र बाहिर उल्लेख्य अनुभव भएका वरिष्ठ पत्रकारको नेतृत्वमा हुँदा हुँदै कसरी पत्रिकामा यस ब्लगमा उल्लेख गरिएजस्ता सामाग्री परे भनेर बुझ्न गाह्रो छ । ब्लगमा उल्लिखित उदाहरणहरुलाई राम्रो व्यवसायिक पत्रकारिता मान्नै सकिंदैन, र यो कुराले नेपालमा लोकतान्त्रिक जनहितमा समर्पित पत्रकारिता चाहने जो कसैलाई पनि चिन्तित तुल्याउनुपर्छ ।

सुरेश ढकाल
पारदर्शिता र जवाफदेहिताका लागि यो ब्लगले शुरु गरेको अभियानमा मेरो पूरै नैतिक समर्थन छ । ब्लग पढिसकेपछि त्यसमा असहमत हुनुपर्ने ठाउँ नै भेटिएन । न्याय र सुशासनविरुद्ध भइरहेका षड्यन्त्रहरु वास्तवमै खतरनाक र त्रासद छन् । 

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more