अस्तिको हाइकिङबारे अर्को तहको विश्लेषण
(शुरुमा एउटा स्पष्टीकरणः मैले जति झुर लेखे पनि अहिलेसम्म तैंले वाहियात लेख्छस् भनेर साथीहरुले भनेका छैनन्, सम्पादकहरुले भन्नु अलग्गै कुरा हो । कति सम्म भने तैंले अनावष्यक लामो र पट्यारलाग्दो लेख्छस् भनेर भएकै कुरा पनि भनेका छैनन् साथीहरुले, यो उनीहरुको धैर्यता र महानताको कुरा हो । बाढी आउँदैछ भनेर हतार हतार खोलो तरेझैं हिजो दाइको जन्मदिनमा जाने हतारमा लेखेर पोस्ट गरिएको नगरकोट नियात्रामा केही कुरा छुटेकाले यो अर्को आलेख आएको हो । हिजोको आलेख द्रुत गतिमा पढिंदै गर्दा यात्रासित सम्बन्धित अरु केही रमाइला र केही गम्भीर पक्षहरु उजागर गर्नु यो आलेखको उद्देश्य हो । शब्दको झटारोले हिजै घाइते भएका साथीहरुले चाहिं यसलाई बेवास्ता गर्न सक्नुहुन्छ ।)
हिजोको लेखोटमा मैले हाइकिङका महिला साथीहरुको चर्चा नै नगर्नुको कारण छ । त्यो के भने पहिलो कुरा त उहाँहरुको संख्या सानो थियो । दोस्रो, व्यवस्थित पाराको वैवाहिक सम्बन्ध भएपछि विपरीत लिंगीहरुसितको सम्बन्ध वा अन्तक्रियालाई रोमान्टिसाइज गर्न अल्छी लाग्दै जाँदोरहेछ, विस्तारै र थाहै नपाइ (बिहेपूर्व त्यस्तो रोमान्टिसाइजेशनको कति महत्व हुन्छ भन्ने बाल विवाह नगरेका सबै महिला–पुरुषहरुलाई थाहा हुन्छ भन्ने मेरो मान्यता हो) । तेस्रो, पुरुष समाजमा महिलाहरुबारे हुने कुराहरुमा खासगरी पितृसत्ताको छापसँगै एक किसिमको पूर्वाग्रह र हैकमको भाव व्याप्त हुने गर्छ र महिला शरीरको कमोडिफिकेसनमार्फत् पुरुषहरुले आफ्नो स्वार्थ पूरा गर्न थालेको युग बितिसक्यो । एउटा उदात्त हाइकिङमा यिनै कारणले पुरुष र महिलाबारे बराबर कुरा गर्ने वा लेख्ने हो भने महिलाहरुलाई न्याय गर्न सकिंदैन ।
दोस्रो कुरा के भने, यात्रालगायतका मनोरञ्जनका माध्यमहरुमा बहिर्मुखी वा एक्स्ट्रोभर्ट साथीहरुको ठूलो भुमिका हुन्छ, त्यस्ता साथीहरुको बहुमत नै भयो भनेचाहिं फरक किसिमको बिजोग हुन सक्छ, त्यो अर्कै कुरा भयो । त्यो हिसाबले अस्तिको हाइकिङ अलि सन्तुलित नै देखियो । म अन्तमुर्खी त हैन, तर जब बोलौं बोलौं लाग्छ, म बोल्ने कर्म छाडेर यसलाई कसरी लेख्ने भनेर सोच्न थाल्छु र धेरैजसो मेरो बोली रोकिन्छ, खासगरी बहसको विषय गम्भीर र केही शब्दले न्याय गर्न नसकिने छ भने ।
यही प्रसंगमा मलाई उठाउन मन लागेको कुरा के भने, चिया पसलदेखि भट्टीसम्म र कार्यालयहरुदेखि हाइकिङ र ट्रेकिङ अनि विदेश भ्रमणसम्म, विभिन्न हिसाबले हामीहरुले आफू वरिपरिको वातावरणप्रति आफ्नो बेखुशी वा निराशा व्यक्त गरिरहेका हुन्छौं । देशलाई धिक्कार्ने र विदेश हानिने मौका कुरेर बस्ने युवाहरुको जमात त अझ बढ्ने क्रममा छँदैछ । त्यो हिसाबले यो देश र समाजमा सबैभन्दा रुष्ट र असन्तुष्ट मानिस मध्यम वर्गका शिक्षित मानिसहरु हुन् भन्यो भने धेरै अन्याय नहोला । त्यो किन पनि हो भने, हामलिाई हेर्न र बुझ्नलाई सारा संसार छ, लोभ गर्न संसार भरको समृद्धि र प्रगति छ तर हासिल गर्न र त्यसलाई अनुभव गर्न सत्ता र शक्ति हामीसँग छैन ।



