पृष्ठभुमिः कम्युनिष्ट सिद्धान्त र व्यवहारको नमुना
अन्धकार रात । दलित बस्तीको एउटा झुप्रोमा ढोका ढक्ढक्याइयो । भित्रबाट ‘को हो?’ भनेर सोध्दा बाहिरबाट आवाज आयोः हामी हौं । हामी अर्थात् साथीहरु । कक्षामा सँगै पढ्ने साथीहरु हैन कि पार्टीको सांस्कृतिक कार्यक्रमलगायतमा सँगै सहभागी हुने गरेका बाहुन गाउँका साथीहरु ।
विना हिच्किचाहट ढोका खुल्यो, कुराकानी भयो । आगन्तुक साथीहरुले उठेर बाहिर आएकी युवतीलाई भनेः पार्टीले अचानक फलानो ठाउँमा सांस्कृतिक कार्यक्रम गर्ने भयो । केन्द्रीय स्तरका कलाकारहरु पनि आउँदै रहेछन् । तत्काल जानुपर्ने भयो । हामीले पनि अहिले मात्र थाहा पाएकोले यति ढिलो आएको ।
युवती दोधारमा परिन् । जाऔं त मध्यरात हुनै लाग्दा तीन जना केटाहरुसँग के हो कसो हो, नजाऔं भने पार्टीको कार्यक्रममा त्यसरी बोलाहट आएपछि कसरी नजानु । फेरि नजाँदा आफ्नै साथीहरुलाई अविश्वास गरेजस्तो पनि हुने हुँदा उनी अन्कनाउँदै जानलाई तयार भइन् । लुगा फेरेर एकसरो खास्टो ओढेपछि उनीहरु बाटो लागे ।
पाँच मिनेट जति उकालो लागेपछि अघि हिंड्ने युवक सिंढीले बनेको मूल बाटो छोडेर बारीको तेर्सो र सानो डोरेटो बाटो लाग्यो, स्वभावतः अरु सबैले उसलाई पछ्याए । एकै छिनमा वर्षौंदेखि छाडिएर भग्नावशेष बनेको एउटा खरले छाएको घर आयो । अचानक एउटा युवकले युवतीलाई जोडले पक्ड्यो र घरतिर घिसार्यो ।
आधा घण्टापछि संसार बदलिइसकेको थियो । युवती पीडा, क्षोभ र पश्चात्तापले जलिरहेकी थिइन् । युवकहरु अपराध सम्पन्न गरेपछि त्यसको प्रमाण लुकाउन उद्यत् थिए । एकैछिन अघिसम्म क्रान्तिकारी कमरेडका रुपमा त्यत्रो विश्वासपूर्वक साँस्कृतिक कार्यक्रमका लागि भनेर बोलाउने साथीहरु अब भन्दै थिएः कसैलाई भनिस् कि तँ मरिस् । हाम्रो त के छ, दुई चार महिना कतै गएर आउँला, मान्छेले यो थाहा पाएपछि तेरो त भविष्य बर्बादै हुन्छ ।
त्यस दिनको बाँकी रात युवतीले कसरी बिताइन् मलाई थाहा छैन किनकि मेरो सुचनाका स्रोतहरु अर्थात् बलात्कारीहरु त्यसपछि त्यहाँ उनलाई अन्धकारमा छाडेर टाप कसे, त्यसैले उनीहरुलाई पनि त्यो कुरा थाहा भएन । अर्कोदिन पुलिसलाई उजुरी गर्ने त सम्भावनै थिएन, गाउँको कसैलाई वा पार्टीलाई पनि उजुरी भएन । गाउँ जे जसरी चल्दै थियो, चल्दै रह्यो, साँस्कृतिक कार्यक्रमहरु भइरहे र मानिसले सर्वहारा क्रान्तिको सपना साटासाट गरिरहे । घटनाको केही वर्षपछि बलात्कारीहरुले नै गर्वपूर्वक आफ्ना साथीहरुलाई यति बेलिबिस्तार लगाएपछि यो कुरा मसम्म पुगेको थियो ।
कम्युनिष्ट शब्द र म
२०७२ साल, कार्तिक १९ गते । नेपालकै इतिहासमा प्रधानमन्त्री र छमध्ये ४ जना उपप्रधानमन्त्री कम्युनिष्ट नेताहरु बनेको दिन । त्यही दिन मैले सुजिव शाक्यको ‘अनलिशिङ नेपाल’ शीर्षक पुस्तक पनि पढिभ्याएँ । पुस्तक पढिसकेपछि मलाई लाग्यो, ‘कम्युनिष्ट’ शब्द र पार्टीसित मेरो सम्बन्ध के हो, त्यो मैले सार्वजनिक रुपमा बोल्नुपर्छ । यो आलेख त्यही निश्कर्षको उपज हो ।
नेपालको बाम राजनीतिको सांकेतिक प्रतिनिधित्व गर्ने घटना र प्रवृत्तिहरु सम्झँदै गर्दा मलाई माथिको बलात्कार प्रसंग आयो । झट्ट हेर्दा आपत्तिजनकजस्तो लाग्ने त्यस खालको तुलना किन सान्दर्भिक छ भन्ने कुराचाहिं यो आलेखको पछिल्लो भागमा खुल्नेछ ।
औपचारिकताका कुरा गर्दा म न उहिले कम्युनिष्ट पार्टीको सदस्य वा कार्यकर्ता थिएँ, न त्यसपछिको कुनै समयमा नै त्यस्तो संलग्नता जनाएँ । ऊबेला पनि म एक जना किनाराको साक्षी थिएँ र अहिले पनि मेरो हैसियत त्यही हो ।
तर मानिसहरुले हमेशा मलाई कुनै न कुनै पार्टीको बिल्ला भिराइदिइरहे । माओवादी जनयुद्धताका साथीहरुले मलाई माओवादी भन्थे । मैले उक्त पार्टीको समर्थन गरेर हैन कि उनीहरुलाई चित्त नबुझ्ने कुरा गरेर । माओवादी शब्द उनीहरुका लागि गालीको शब्द थियो र कसैलाई त्यो आरोप लगाएपछि आरोपीसँग तार्किक बहस गरिरहनुपर्दैनथ्यो ।
जस्तो कि, हिंसा हुनुहुँदैन र माओवादीले गरेको मानव अधिकारको हनन अक्ष्यम्य छ भन्नेमा सबैको मतैक्य भए पनि माओवादीलाई निस्तेज पार्ने प्रयासमा सुरक्षाकर्मीको शिकार हुने आम मानिसले न्याय पाउनुपर्छ र सशस्त्र युद्धकै बेलामा भए पनि सुरक्षा फौज उत्तरदायी हुनुपर्छ भन्ने मेरो मान्यता थियो । साथीहरुलाई लाग्थ्योः आतंककारीहरुलाई मार्ने क्रममा बीचमा आइलाग्ने एकाध गाउँलेहरुको अधिकारको कुरा गरेर सुरक्षाकर्मीको मनोबल गिराउने काम गर्नुहुँदैन । जोगीमाराका कामदारको सामुहिक हत्यादेखि दोरम्बा हत्याकाण्डसम्ममा मैले फरक मत राखेकैले साथीहरुले मलाई माओवादी भन्थे ।
त्यसयता कटवाल प्रकरण, अख्तियार प्रमुखको नियुक्ति, सर्वोच्चमा न्यायधीश नियुक्तिलगायतका विभिन्न प्रकरणहरुमा मेरो प्रतिक्रिया हेरेर कहिले माओवादी त कहिले काँग्रेस समर्थक भएको आरोपहरु लाग्ने गर्छन् । खै कुन काकताली परेर हो, एमाले भएको आरोप लागेकोचाहिं मलाई थाहा छैन ।
तर अरुले आफूबारे केही सोच्नुले आफूले प्रकट गरेका लिखित–अलिखित अभिव्यक्तिहरुलाई मानिसले कसरी लिन्छन् भन्ने कुरा मात्र झल्काउँछ । वास्तवमा आफू को हो भन्ने त व्यक्ति आफैंलाई मात्र थाहा हुन्छ । आफू को हुँ र खास समयका विवादास्पद मुद्दाहरुमा कहाँ उभिएको छु भनेर मानिसहरुलाई सधैं बताइरहनु जरुरी हुँदैन तर कहिलेकाहीं त्यस्तो समय पनि आउँछ जब त्यस्तो आवश्यकता हुन्छ ।
बाल्यकालको प्रभाव
यदि म कहिल्यै कम्युनिष्ट थिइनँ भने यो लेखको शीर्षकले इंगित गरे झैं म कसरी पूर्व–कम्युनिष्ट भएँ? अनि मैले आफ्नो विगत जीवनबारे बकपत्र लेख्नुपर्ने अवस्था कसरी सिर्जना भयो? यो आलेखको केन्द्रीय विषय यही रहनेछ ।
हामी हुर्केर स्कुल पढ्ने बेला हाम्रा वरिपरि चौतर्फी गरिबी थियो । दिनभर मेहनत गरेपछि मुस्किलले दुई छाक टर्ने परिवारहरुको बाहुल्य थियो । त्यसबाहेक अभाव र ऋण गाउँले जीवनको अभिन्न अंग थियो, ऋण नहुने मानिस विरलै हुन्थे । हुर्कंदै गरेका छोराछोरीलाई पढाउनु, तिनको बिहेवारी गरिदिनु, दुखबिमार हुँदा उपचार गराउनु आम रुपमा मानिसहरुका खर्चिला जिम्मेवारी हुने गर्थे । त्यसबाहेक छुवाछुतलगायतका जातीय भेदभाव, पुरुषले महिलामाथि गर्ने जोरजुलुम अनि धनीमानीहरुले गरिबमाथि गर्ने अन्याय पनि हामीले नजिकबाट नियाल्थ्यौं ।
अर्को शब्दमा, हाम्रो यथार्थलाई राजारानीको गुणगानमा केन्द्रित हाम्रा पाठ्यपुस्तकले भन्दा अग्रज वामपन्थीहरुले गर्ने व्याख्या र सुदुर भुमिका सोभियत संघ वा चीनबारे लेखिएका पुस्तकले खिचेको समाजको चित्रले नजिकबाट प्रतिनिधित्व गथ्र्यो । कम्तीमा हामीलाई त्यो बेला त्यस्तै लाग्थ्यो । हाम्रा पाठ्यपुस्तकमा समाजका समस्यासमेत इमान्दारितापूर्वक उतारिएको थिएन भने तिनको समाधानबारे कुनै जिकिर हुने त कुरै भएन ।
उता कम्युनिष्टहरुका बोलाइमा वा लिखित सामाग्रीमा चाहिं समस्याको सुची मात्र नभएर तिनको समाधानको फेहरिस्त पनि तयार थियोः सर्वहारालाई शोषण गरेर सामन्तहरु मोटाउने राज्यसत्तालाई पल्टाएर श्रमिकहरुको आदर्श राज्य खडा गर्ने, जहाँ लिंग, जात, धर्म, आदि केहीको आधारमा कुनै भेदभाव नहोस् । कसैले काम गरिरहने, कोही बसेर खाइरहने हैन कि सबैले काम गर्ने र कोही शोषित वा पीडित नहुने त्यो आदर्श व्यवस्थाले हामीलाई चुम्बकीय रुपमा तान्थ्यो ।
त्यसैले बाल्यकालमा अन्जानवश नै हामी बामपन्थी राजनीतितिर आकर्षित हुनु अनौठो थिएन । पार्टीमा सक्रिय बाआमा हुनेहरु पार्टीको औपचारिक सदस्यजस्तै राजनीतिमा लाग्थे भने होशियार बाबुआमा हुने हामीचाहिं त्यसखालको राजनीतिबाट प्रभावित मात्र हुन्थ्यौं । फर्केर हेर्दा त्यही प्रभाव मात्रले पनि किशोरकाल र वयष्क जीवनमा आफ्नो विश्वदृष्टिलाई ठूलो हदसम्म आकार दिएको म पाउँछु । अझ गजब त के छ भने, युवाकालको कठोर यथार्थसामू हाम्रा धेरै कम्युनिष्ट साथीहरुको पार्टीप्रति छिटो मोहभंग भयो तर हामी छेउमा बसेर प्रभावित हुनेहरुले त्यो प्रभावबाट बाहिर आउन लामो समय लगायौं ।
किशोरकाल र युवाकालमा लागेको ठक्कर
रगतमै साम्यवाद दौडने गरेको हाम्रो गाउँको बाल्यकालपछि शहर पुग्दा त्यहाँको पुँजीवादी परिवेशलाई मैले कसरी लिएँ? नेपाल पत्रिकाको दशैं अंकका लागि मैले लेखेको संस्मरण ‘स्कुलको हडताल अनि साँस्कृतिक क्रान्ति’का केही अनुच्छेदहरुले त्यसलाई छर्लंग पार्छन्ः
गाउँको स्कुल छाडेर पढ्नलाई शहर पुगेपछि भने ज्ञानको स्रोतका हिसाबले हामी अर्कै ग्रहमा पुगेसरह भएको थियो । सोभियत र चीनियाँ क्रान्तिबारेका पुस्तक अहिले पनि पसलमा पाइन्थे तर ढलिसकेको सोभियत संघ र ऊबेलाको चीनबारे पत्रपत्रिकालगायत समकालीन पठन सामाग्रीमा जे आउँथे ती त हामीले पचाउनै नसक्ने खालका थिए ।
मलाई अहिले पनि याद छ, दक्षिण भारतबाट निस्कने फ्रन्टलाइन पत्रिकामा हो वा केमा हो, चीनको माओ शासन खराब मात्र थिएन भन्ने सारको एउटा लेख थियो । कहाँ एक अरब चीनियाँ जनतालाई मुक्त गरेका मानव इतिहासकै महानतम् व्यक्ति माओ भन्ने आफ्नो बुझाइ अनि कहाँ ‘माओ खराब मात्र थिएनन्’ भन्ने निश्कर्ष निकालेको लेख, त्यो पनि बामपन्थी झुकाव भएको भनिएको पत्रिकामा प्रकाशित । त्यसो भन्नु भनेकै सारभुत रुपमा माओ गलत र खराब थिए भनेर स्वीकार्नु थियो । हाम्रा लागि त्यसो भन्नु भनेको कट्टर आस्तिकका अगाडि इश्वर–निन्दा गर्नुजस्तै थियो ।
शुरु शुरुमा त पुँजीवादीहरुको प्रोपागाण्डा भनेर धेरै कुरा पत्याइएन । तर किशोरकालको विद्रोहभाव पातलिंदै गएपछि बिस्तारै आफ्नो बुझाइमाथि प्रश्न गर्न थालियो । त्यसपछि सोभियत संघ र माओ शासित चीनबारे अनि दुवैको पतनबारे भेटिएजति सामाग्री पढ्ने अभियान नै चलाइयो । बिस्तारै शुरुमा आफूले पालेको पुर्वाग्रह पनि पातलिंदै गयो । अन्ततः खास गरी स्टालिन र माओबारे यस्तो धारणा बनाउन बाध्य भइयो जुन बाल्यकालदेखि आफूले पालेको धारणाभन्दा १८० डिग्रीले फरक थियो । स्टालिनकी आफ्नै छोरी स्भेत्लाना अलिलुएभाको मर्मस्पर्शी संस्मरणात्मक पुस्तकमार्फत् स्टालिनकालीन ज्यादतीको भित्री पाटोसमेत पढेपछि त सोभियत संघबारे बचेखुचेका भ्रमहरु सबै तोडिए ।
लेखेको कुरा पढ्दा यो कुरा सहज भएको भान हुन्छ तर वास्तविक जीवनमा त्यसरी परिवर्तन ल्याउनु निकै चुनौतीपूर्ण कुरा थियो । आफूले धर्मशास्त्र झैं विना संकोच मानिआएको विश्वदृष्टि गलत थियो भनेर स्वीकार्न सजिलो थिएन । आफूले स्वीकारेपछि त्यो दुनियाँलाई बताउँदा आफू आजका दिनसम्म गलत थिएँ भनेर स्वतः स्वीकारेको ठहरिन जान्छ । मेरो अनुभवमा धेरै मानिसले आफू हिंडेको बाटो गलत भएको महसूस गरिसकेपछि समेत मानिसले के भन्लान् भन्ने डरले पनि आफूभित्रको त्यस्तो परिवर्तनलाई स्वीकार्न सक्दैनन् अनि नचाहेरै पनि आफूले विगतमा राखेको विश्वासको खोल मात्र ओढेर लामो यात्रा गर्छन् ।
सेन्टर–लेफ्टको अभिनय
फर्केर हेर्दा अर्को कुरा म के देख्छु भने, स्टालिन र माओका शासनहरु मानिसलाई मुक्त गर्ने नभएर आम रुपमा चर्को गरिबी, ठूल्ठूला भोकमरी र नर संहारका समेत माध्यम थिए भन्ने छर्लंग भएपछि साम्यवादप्रति हाम्रो विश्वासरुपी घरको भग्नावशेषबाट केके बचाउन सकिएला भनेर हामीले अनायासै बुद्धि विलास गर्न थाल्यौं ।
भेनेजुएलामा चाभेजले ल्याएको समृद्धि र गरिबी विरुद्धको ‘सफल’ अभियान, क्युबाको विश्वस्तरको स्वास्थ्य सेवा, बोलिभिया, इक्वेडोर र निकारागुआजस्ता देशमा एकपछि अर्को चुनावमा बामपन्थीहरुको सफलता, ब्राजिल र अर्जेन्टिनामा देब्रे ढल्केका राजनीतिक शक्तिहरुको उदय––यी प्रक्रिया र घटनाक्रमको अध्ययनपछि हामी एउटा चलाख निश्कर्षमा पुग्यौंः हिजो सोभियत संघ र चीनमा कायम साम्यवादी व्यवस्था अधिनायकवादी थिए, त्यसैले गलत थिए । हुनुपर्ने चाहिं भारतको पश्चिम बंगाल राज्य र ल्याटिन अमेरिकी देशहरुमा झैं लोकतान्त्रिक समाजवादी वा समाजवादउन्मुख व्यवस्था हो ।
अर्थात् हामीलाई लाग्यो, हिजोका कम्युनिष्ट शासनहरुले बाटो बिराएका थिए तर कमरेड चाभेजले ल्याटिन अमेरिकामा जुन बामपन्थी उभार ल्याएका छन्, त्यसले नयाँ सम्भावनाहरुको बाटो खुलेको छ । अमेरिकाको सिआइएले सघाएका पिनोचेजस्ता तानाशाहहरुलाई विस्थापित गरेर ल्याटिन अमेरिकाभर प्रजातान्त्रिक प्रक्रियाबाट बामपन्थीहरु शक्तिमा आउनु भनेकै उदार पुँजीवादी लोकतान्त्रिक भर्सेज अधिनायकवादी साम्यवादी व्यवस्थाहरु भनेर गरिने शीतयुद्धकालीन विभाजन उल्टिएको प्रमाण थिएन र?
पिनोचे र सुहार्तोजस्ता तानाशाहहरुलाई सघाउनु, सद्दाम हुसेनजस्ता तानाशाहलाई पहिले इरानविरुद्धको दशक लामो युद्धमा सघाउनु, पछि उसैविरुद्ध खाडी युद्ध गर्नु, अनि उसको निहुँमा सिंगो इराकी जनसंख्यालाई दशक लामो नाकाबन्दीबाट आलसतालस पार्नु, सोभियत संघसित लड्ने बेला तालिवानजस्ता क्रुर शक्तिहरुलाई जन्माउनु अनि पछिल्लो दशकमा गएर तालिवान र सद्दामलाई पदच्युत गर्ने वहानामा लाखौं इराकी र अफगानीहरुलाई मार्नु, अमेरिकाका यस्ता गतिविधिले समग्रमा विश्व पूँजीवाद सबैको हितमा नभई नयाँ खालको साम्राज्यवादलाई भरथेग गर्नमा मात्र केन्द्रित छ भन्ने धारणाले हाम्रो मस्तिष्कमा बलियोसँग डेरा जमायो । फलस्वरुप फिडेल क्यास्त्रोदेखि भ्लादिमिर पुटिनसम्म, ह्युगो चाभेजदेखि महमुद अहमदिनेजादसम्म जसले अमेरिकी साम्राज्यवादको खुलेर विरोध गरे, ती हाम्रा लागि रोल मोडल बने ।
पछिल्ला आधा दशकमा सेन्टर–लेफ्ट भनिने यो अवस्थितिलाई कायम राख्न वैकल्पिक धारका भनिने धेरै मिडियाले सहयोग गरेः मन्थ्ली रिभ्यू, कमन् ड्रिम्स, टम डिस्प्याच, फरेन पोलिसी जर्नल (फरेन पोलिसी वा फरेन अफेयर्स पत्रिका हैन), काउन्टरपञ्च, ग्लोबल रिसर्च, अल्टरनेट, भाइन्यार्ड आफ द सेकर, आदि ।
बामपन्थसित मोहभंगको शुरुआत
बाल्यकालमा स्टालिन र माओको स्तुति गरेको तितो अनुभवले के सिकाएको थियो भने, विश्वास जेसुकैमा गर तर फरक वा विपरीत प्रकृतिका धारणाहरुलाई निषेध नगर । झट्ट देख्दा आपत्तिजनक लाग्ने कुराहरु पनि पढ्न र सुन्नका लागि ढोका खुलै राख । सक्छौ भने तिनले दिने तर्कलाई आफ्नो ज्ञानको बलले चुनौती देऊ । सक्दैनौ र यदि नयाँ कुराले तिमीमा भएको पुरानो ज्ञान वा धारणालाई चित्त बुझ्दो गरी गलत प्रमाणित गर्छ भने पुरानोलाई बिदा देऊ र नयाँलाई अँगाल । मेरा लागि खास गरी गैर–आख्यानका पुस्कतक पढ्नु भनेको ज्ञान बढाउने काम मात्र हैन, सिकेका नयाँ कुरा अनुसार आफैंलाई बदल्दै जानु पनि हो ।
१९७६ मा माओको मृत्यु भए यता चीनमा सुधारवादीहरुले शासन गरेका छन् भन्ने हामीलाई थाहा थियो (उहिले कम्युनिष्टकालमा सुधारवादी भन्ने शब्द गद्दार जस्तै नराम्रो मानिन्थ्यो, सोभियत संघको निकिता खुश्चेभ र चीनको देङ स्याओपिङ हाम्रा लागि उस्तै ‘गद्दार’ थिए, सोभियत संघको विखण्डनमा केन्द्रीय भुमिका खेलेका गोर्वाचोभबारेको जानकारीचाहिं हाम्रो स्कुलसम्म पुगेको थिएन) । भारतमा चाहिं स्वतन्त्रता यता नियमित चुनाव हुने गरेकाले त्यहाँ उहिल्यैदेखि पुँजीवादी प्रजातन्त्र छ भन्नेमा हामी विश्वस्त थियौं, लोकतान्त्रिक राजनैतिक व्यवस्था र समाजवादी अर्थव्यवस्था भएको नेहरु–प्रतिपादित ठिमाहा प्रणालीबारे हामीलाई जानकारी दिने कोही थिएन । शायद स्कुलमा हामीलाई प्रशिक्षित गर्न आउने माथिल्लो तहका विद्यार्थी नेताहरु आफैंलाई समेत त्यति सामान्य कुरा पनि थाहा थिएन ।
त्यसैले विद्यमान् विश्वप्रणालीबारे हाम्रो बुझाइको भुलभुलैयामा भ्रमको अर्को पाटो पनि थियोः चीनले पचासको दशकदेखि साम्यवाद अपनाएर आफूलाई बलियो बनाएको परिणामस्वरुप अहिले आर्थिक वृद्धिमार्फत् क्षेत्रीय हुँदै विश्वशक्ति बन्ने बाटो खुलेको हो । भारतले उहिलेदेखि पुँजीवाद अपनाएकाले पिछडिएको पिछडियै भयो, आखिर सुधार भइरहे पनि चीन अहिले पनि अधिनायकवादी छ भने भारत चाहिं लोकतान्त्रिक । बाल्यकालमा रामराज्य भनेझैं आदर्श मानिएको सर्वहारा अधिनायकवादमध्ये चीनमा माओकालमा झैं सर्वहाराको राज नभए पनि कम्तीमा अधिनायकवाद त छ भन्ने हाम्रो कंगाल बुझाइ थियो ।
विभिन्न कारणले त्यो बुझाइबारे शंका उठ्न थालिसकेको बेला झण्डै एक दशक अघि एक जना पश्चिमा पत्रकार जेम्स किंजले चीनबारे लेखेको पुस्तक ‘चाइना शेक्स द वल्र्ड’ पढें । सुधारको प्रक्रियामा चीनियाँ जनता कसरी सहभागी भए भन्नेमा केन्द्रित पुस्तकबारे यहाँ बिस्तारमा जानु सम्भव छैन तर त्यहाँ उल्लिखत एउटा उदाहरणले ममा गहिरो प्रभाव पार्यो ।
चीनको बन्द अर्थतन्त्र खुल्ला गरिएपछि शुरुमा जापानी मोटरसाइकल भित्रिए । तिनको मर्मतका लागि वर्कशपहरु खुले । त्यो वर्कशपमा विनासीप छिरेर शुरुमा मोटरसाइकल पुछ्ने केटाहरुले केही महिनामा इन्जिन मर्मत गर्न सिके । एकाध वर्षमा आफ्नै वर्कशप खोल्न सक्ने भए । अरु केही वर्षमा मोटरसाइकलका पार्टपुर्जा हेरेर तिनलाई चीनमै बनाउन थाले । अनि ‘रिभर्स इन्जिनियरिङ’मार्फत् इन्जिन कसरी बन्छ र काम गर्छ भन्ने पत्ता लगाए । अरु एकाध वर्षमा चोरिएको प्रविधिमा आधारित भ्याटभ्याट गर्ने र जसोतसो गुड्ने नक्कली मोटरसाइकलहरु चीनमै बन्न थाले । दशक बित्दा नबित्दै सिलिक्क परेका र जापानी मोटरसाइकलसित प्रतिस्पर्धा गर्न सक्ने चीनियाँ मोटरसाइकलका ब्राण्डहरु शोरुम र सडकमा देखा पर्न थाले ।
त्यो त एउटा उदाहरण मात्र थियो । सुचना प्रविधिमा प्रयोग हुने कम्प्युटर, मोबाइल सेट र ट्याब्लेटजस्चा वस्तुमा त त्यही प्रक्रियाबाट शुरु भएका उत्पादनले कालान्तरमा विकसित विश्वका उत्पादनहरुलाई विश्व बजारमै चुनौती दिने भए र निर्यात–केन्द्रित चीनियाँ अर्थतन्त्रको मेरुदण्ड बन् सफल भए ।
किन्जको किताबको प्रष्ट सन्देश के थियो भने, चीनको अर्थतन्त्रले त्यसरी तरक्की गर्नुमा माओको लिगेसीको कुनै भुमिका थियो भने त्यसलाई अवरुद्ध गर्नुमा थियो । प्रगति र समृद्धिको एउटै आधार भनेको देङ स्याओ पिङले शुरु गरेर उनका उत्तराधिकारीले गति दिएको सुधारको प्रक्रिया थियो जसअन्तर्गत माओकालीन राज्य–नियन्त्रित अर्थतन्त्रका खम्बाहरु एकपछि अर्को गर्दै कमजोर बनाउँदै र ढालिंदै गएको थियो र निजी क्षेत्रको सिर्जनशीलतालाई मलजल गरिएको थियो ।
पूर्ण मोहभंगः तीन पुस्तकको भुमिका
जेम्स किन्जको पुस्तक पढेको दशकपछि यो वर्ष भारतीय लेखक गुरचरन दासको ‘इण्डिया अन्बाउन्ड’ पुस्तक पढें । स्वतन्त्रतापछि भारतको आर्थिक इतिहास भन्न मिल्ने यो किताबले भारत र प्रकारान्तरले दक्षिण एशियामै बाम राजनीतिबारे मेरो धारणालाई जरैदेखि हल्लाएर नयाँ किसिमले सोच्न बाध्य तुलायो ।
पुस्तकको सारांश सरल छः शताब्दीयौंको गरिबी र विभाजनताकाको रक्तपातले क्षीण भएको भारतीय समाजलाई माथि उठाउन संस्थापक प्रधानमन्त्री जवाहरलाल नेहरुले
खास किसिमको अर्थ–राजनीतिक प्रणाली लागू गरेः राजनीतिमा पश्चिममा विकसित भइसकेको उदार लोकतान्त्रिक पद्धति अनि अर्थतन्त्रमा हेभी कलकारखानाको मदतले तीव्र आधुनिकीकरण गरिरहेको सोभियत संघको राज्य नियन्त्रित अर्थव्यवस्थाको जोडी । शीतयुद्धका दुई पक्षमध्ये दुवैका सबलता ग्रहण गर्ने र दुर्बलताबाट बच्ने नेहरुको भिजन सिद्धान्ततः गलत देखिंदैन ।
तर व्यवहारमा भइदियो के भने, दुवै व्यवस्थाका कमजोरी र दुर्बलताले सहजै यता प्रवेश पाए, सबल पक्षहरु ल्याउन चाहिं हम्मे पर्यो । अर्थतन्त्रलाई ‘कमान्डिङ हाइट’मा पुर्याउने भनिएको कर्मचारीतन्त्र घाम तापेर तलब पाउनुपर्छ भन्ने करोडौं अल्छेहरुको झुण्डमा परिणत भयो, जनतालाई सस्तो र चुस्त सेवा दिने भनिएका राज्यको स्वामित्वका कम्पनीहरु रद्दी सेवा दिने वा विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने कमसल सामान बनाउने सेता हात्तीहरुमा बदलिए । नाफा शब्दसित तर्सने समाजवादी पूर्वाग्रहका कारण निजी क्षेत्रलाई रोक्न बनाइएका नियमहरु लाइसेन्स राज भनिने चरम भ्रष्ट प्रणालीले निजी क्षेत्रका पखेटा काटिदियो । अन्तमा अर्थतन्त्र टाक्सिइरह्यो, गरिबी कायम रह्यो अनि यथास्थिति चाहने कर्मचारीतन्त्र राज्य सञ्चालनमा झन् हावी भएर गयो । नेहरुको मृत्युपछि उनकी पुत्री इन्दिरा गान्धीका पालामा यन्त्रवत् रुपमा नेहरु–प्रतिपादित आर्थिक प्रणालीलाई निरन्तरता दिइँँदा त्यसले भारतको अर्थतन्त्रलाई झन् दलदलमा भासिन बाध्य पार्यो ।
केही आलोचकले उहिल्यै यो कुरा औंल्याएका थिए तर दासले उक्त पुस्तक लेख्ने बेलामा चाहिं नेहरुकालीन आर्थिक नीतिको चरम असफलतापछि नब्बेको दशकमा अर्थतन्त्रको उदारीकरणमार्फत् गरिएका सुधारहरुको प्रतिफल पनि आइसकेको थियो । त्यसैले उनले निकालेका निचोडहरु दाबीमा सीमित थिएनन्, तिनलाई भारतीय अर्थतन्त्रका मापन गर्न सकिने सुचकांकहरुको कसीमा जाँच्न सकिन्थ्यो ।
अघिल्लो वर्षसम्म आउँदा कतै वैकल्पिक धारका मिडियाले मलाई विश्वको एउटा पाटो मात्र त देखाइरहेका छैनन् भन्ने शंका लागेपछि मैले मूलधारका मिडियालाई पनि उत्तिकै ध्यान दिन थालेको थिएँ । न्यू योर्क टाइम्स पत्रिका नेपालको रिपब्लिका दैनिकसित सुलभ मूल्यको प्याकेजमा आउन थालेपछि त त्यसको ग्राहक बन्न सजिलो भइहाल्यो । त्यसको पुस्तक समीक्षा खण्डमा एक दिन अमेरिकाका पूर्व–अर्थमन्त्री हेनरी एम पल्सनको चीनबारेको पुस्तक ‘डिलिङ विथ चाइनाः अन इन्साइडर अन्मास्क्स द न्यू इकोनोमिक सुपरपावर’ माथि टिप्पणी पढ्न पाइयो । लगत्तै एक जना हितैषीसँग पुस्तकको सफ्ट कपी मागेर पढें ।
भारतको निकट विगतका दशकहरुबारे दासको पुस्तकले जसरी छर्लंग ज्ञान दियो, पल्सनको पुस्तकले चीनबारे उस्तै भुमिका खेल्यो । दुवै पुस्तकमा लेखकहरुले आफ्नो निजी जीवनको भोगाइलाई समाज र राष्ट्रको जीवनसित चाखलाग्दो गरी जोडेर लेखेका छन् । पहिले रिचार्ड निक्सनको शासनताका ह्वाइट हाउसमा समेत काम गरिसकेका पल्सनले पछि गोल्डम्यान स्याक्स नामक इन्भेष्टमेन्ट बैंकको उच्चस्तरीय कर्मचारीको हैसियतले दशकौं चीनसित काम गरेका थिए । जर्ज डब्ल्यू बुशको दोस्रो कार्यकालको अन्ततिर अमेरिकाको अर्थमन्त्रीसमेत बनेका पल्सनले झण्डै उपन्यासको गतिमा पढ्न सकिने गरी उक्त महत्वपूर्ण पुस्तक लेखेका छन् ।
पुस्तकको सारांश यस्तो छः देङ स्याओपिङले उदारीकरण र बजारीकरणको दिशामा चीनलाई हिंडाउने साहसिक निर्णय गरे पनि त्यसले स्वतः चीनलाई समृद्धि र निरन्तर आर्थिक वृद्धितिर डोर्याउने निश्चित थिएन । सोभियत संघको पतनपछि बोरिस यल्तसिनको पाला रुसले जुन भद्रगोल र संकट व्यहोर्यो, चीनको नियति पनि त्यस्तै हुन सक्थ्यो । तर पुस्तापछि पुस्ताको चीनियाँ नेतृत्वको निरन्तरको लगाव, इच्छाशक्ति, मेहनत र सावधानीका कारण तीन दशकमै चीनियाँ अर्थतन्त्रको कायापलट सम्भव भयो । चीनले आफूलाई त समृद्धितिर धकेल्यो नै, २००८ सम्म आउँदा त्यो वर्ष शुरु भएको विश्वव्यापी मन्दीको प्रभाव र अवधि न्यून गर्न अमेरिका नेतृत्वको पश्चिमा विश्वलाई गम्भीर सघाउ पुर्याउने हैसियतमा चीन पुगिसकेको थियो ।
जेम्स किन्जले पत्रकारको आँखाले हेरेर चीनबारे जे भनेका थिए, चीनियाँ राष्ट्रपतिलगायत सबै तहका नेताहरुसित व्यक्तिगत निकटता राख्न सक्ने र अमेरिकाको सापेक्षमा राखेर चीनबारे विश्लेषण गर्न सक्ने पल्सनले त्यही कुरा भनेका थिए । तर दुवैको विश्लेषणको ‘पस्र्पेक्टिभ’चाहिं फरक थियो । किन्जले कसरी उद्योगशील चीनियाँ नागरिकहरुले लेनोभो र हुवावेइजस्ता भीमकाय कम्पनीहरु सिर्जना गरे भन्ने बिस्तारमा लेखेका छन् भने पल्सनले कसरी चीनियाँ नेतृत्वले माओका अनुयायी मानिने बलिया स्वार्थ समूहहरुको डटेर प्रतिकार गर्दै ती नागरिकका प्रयासमा भरथेग गरे भन्ने कोणबाट उही कुरालाई हेरेका छन् ।
चीनमा मोटरसाइकल पुछ्ने धुस्राफुस्रा केटाकेटी दुई दशक नबन्दै अन्तर्राष्ट्रिय स्तरका ब्राण्डका मालिक भइसक्दा तिनका समकक्षी नेपाली किन यहाँको छाडेर कतारको मोटरसाइकल पुछ्ने भन्दा माथिल्लो हैसियतमा पुगेनन्? हुन पनि २०४६ पछि उदारीकरणको हाम्रो अभ्यासले अब अढाइ दशक काटिसकेको छ तर उतिबेला वर्कशपमा काम गर्ने बालकहरुले अहिले अधिक भए पार्टनरशिपमा आफ्नै वर्कशप खोल्ने र व्यवसाय राम्रै चलेको भए पल्सर वा अपाचे मोटसाइकल किन्ने हदसम्म पुगेका होलान् तर नेपाली ब्राण्डको मोटरसाइकल बनाउने भन्ने कुरा तिनको मनमा कहिल्यै उठ्न पनि उठ्दैन ।
उत्पादनको क्षेत्रमा हामी किन यति पिछडियौं? यो प्रश्नका केही मधुरा उत्तरहरु मसँग थिए तर ठोस र निर्विवाद उत्तर थिएनन् । यही पृष्ठभुमिमा हालै सुजीव शाक्यको ‘अनलिशिङ नेपाल’ पढेपछि मलाई त्यो प्रश्नको चित्त बुझ्दो उत्तर प्राप्त भएको महसुस भयो ।
पुस्तकको सारांश छः ऐतिहासिक रुपमा हामी शासकको जमीन वा सम्पत्ति उसको निगाहस्वरुप कमाएर जीविका धान्ने पृष्ठभुमिबाट आयौं, सम्पत्ति र नाफा आर्जन गरेर सञ्चित गर्ने पुँजीवादको आधारभुत अवधारणा हामीकहाँ आएकै धेरै भएको छैन । त्यसमाथि, प्रत्येक ठूला राजनीतिक परिवर्तनपछि मानिसका आकांक्षा र अपेक्षा त चुलिए तर तिनलाई सम्बोधन गर्ने गरी अर्थतन्त्रमा समय सुहाउँदो परिवर्तन ल्याउन नेतृत्व तहले सकेन । सात सालसम्म पूरै बन्द भएको अर्थतन्त्र त्यसपछि एकाएक दातृ निकायहरुको सहयोगमा निर्भर हुँदै जान थाल्यो । निजी क्षेत्रमार्फत् उत्पादकत्व बढाउन, विश्व बजारमा प्रतिस्पर्धा गर्ने क्षमता बढाउन र त्यसरी बढेका उत्पादकत्वको भरमा विदेशी सहयोगमाथिको निर्भरता घटाउन आवश्यक पर्ने सुधारहरु पञ्चायतकालमा त हुन सकेनन् नै, २०४६ सालपछि पनि हुनुपर्ने गतिमा भएनन् । शुरुआतका केही वर्षमा भएका उल्लेख्य सुधारहरुपछि सम्पूर्ण सुधार प्रक्रिया नै राजनीतिक अस्थिरता र राजनीतिज्ञहरुको अदुरदर्शिताको बन्धक भयो । अर्थतन्त्र टाक्सिंदै गएसँगै उदारीकरणसँगै स्वर भेटेको निजी क्षेत्र उत्पादन र उत्पादकत्व बढाउन भन्दा तस्करी, कर छली र अन्य खालका दलालीजस्ता तत्काल प्रतिफल आउने गतिविधिमा केन्द्रित भयो ।
यो आलेख पढेपछि नेपालको भविष्यप्रति चिन्तित र हालसम्म नपढेका सबै नेपालीले शाक्यको उक्त पुस्तक पढून् भन्ने आग्रहसहित पुस्तकबारे म यहाँ बिस्तारमा जान्नँ तर कुनै बेला दुवै मोटरसाइकल पुछ्ने चीनियाँ र नेपाली बालक वा किशोरमध्ये किन एउटा बहुराष्ट्रिय कम्पनीको मालिक भयो र अर्को ग्यारेजमै सीमित भयो भन्ने प्रश्नको गहकिलो उत्तर पुस्तकमा छ । त्यति मात्र नभएर नेपालले अब के गर्यो भने समृद्धि र प्रगतिको बाटो समात्न सक्छ भन्ने बोधगम्य रोडम्याप प्रस्तुत भएकाले पनि उक्त पुस्तक छुटाउनै नहुने खालको छ ।
बाल्यकालका प्रश्नका उत्तरहरु
हामीले बाल्यकालदेखि देख्दै आएको गरिबी, असमानता र पिछडापनको उपचार के त?
झट्ट हेर्दैखेरि बुझ्न सकिने यो प्रश्नको एउटा उत्तर छः सामन्त वा धनीहरुको धन र सुविधा खोसेर सबैलाई बाँड्ने र समानता हासिल गर्ने । समृद्धिका लागि कार्ल माक्र्स र उनी पछि जन्मेका माक्र्सवादीहरुले उत्पादनका साधनको स्वामित्व सीमित मानिसबाट खोसेर सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने दलको सरकारलाई दिने अनि उत्पादन बढाउने उपाय पनि सुझाएका छन् । तर सोभियत संघ र चीन मात्र नभएर क्युवा र उत्तर कोरियासम्मको अनुभवले देखायोः व्यवहारमा चाहिं सर्वहाराको प्रतिनिधित्व गर्ने भनिएको पार्टी र सरकारको प्रमुख इतिहासका अन्य तानाशाहभन्दा फरक रहँदैन । त्यो अवस्थामा सर्वहाराको शासन हुने भनिएको व्यवस्था सर्वहाराको नाममा जोसेफ स्टालिन, माओ त्सेतुङ, किम इल सुङ वा फिडेल क्यास्त्रो र तिनको वंशको पारिवारिक तानाशाहीमा बदलियो । फलस्वरुप सर्वहाराको स्वामित्व हुने भनिएको औद्योगिक क्षेत्रलगायत देशको भुगोलभित्रको सबै सम्पत्ति र उत्पादनका साधनको स्वामित्व त्यही एकल नेतृत्व कब्जामा पर्ने भयो । ती सम्पत्तिका मालिक हुने भनिएका र रगत बगाएर उक्त व्यवस्था सिर्जना गरेका आम मानिसहरु फेरि तिनै मालिकहरुका ज्यालादारी श्रमिकमा बदलिए । अर्थात्, नेतृत्व तह र तिनका आसेपासेलाई छाड्ने हो भने समानताको सिर्जना त भयो तर सबैलाई उत्तिकै गरीब बनाएर, धनी बनाएर हैन ।
मलाई यति सरल यथार्थ बुझ्न झण्डै तीन दशकको समय लाग्यो । तर जब यो असफलताका लागि म लज्जाबाृध गर्ने कोशिस गर्छु, मलाई एउटा नेपालको राजनीतिक दलको याद आउँछ जसका वयष्क मानिसहरुले चीनमा माओको अवसान भएर सुधार शुरु भएको दुई दशकपछि र सोभियत संघको पतन भएको समेत आधा दशकपछि नेपालमा माओकालीन चीनको जस्तो व्यवस्थाको परिकल्पना गरेर प्रहरीहरुको हत्या गर्न शुरु गरेका थिए ।
अहिलेको पुँजीवादी विश्वले गरिबी निवारणको अचुक अस्त्र भेट्यो वा विश्व छिट्टै गरिबीबाट मुक्त हुँदैछ भन्ने पटक्कै हैन । तर पछिल्ला तीन दशकमा चानचुन एक अरब मानिस निरपेक्ष गरिबीको रेखाबाट बाहिर आउनु, तिनमध्ये बहुसंख्यक चीन र भारतबाट आउनु अनि दुवै देशमा यही बेला अर्थतन्त्रको उदारीकरण हुनु संयोग थिएन ।
गजब त के भने, इतिहासकै महत्वपूर्ण कालखण्डमा आर्थिक क्षेत्रमा द्रुत उपलब्धि हासिल गर्ने क्रममा चीन र भारतले दशकौंदेखिको एउटा खास प्रवृत्ति त्यागेका थिए । त्यो के भने, अमेरिका र उसको नेतृत्वमा रहेको पश्चिमा विश्वलाई लुट मच्चाउने साम्राज्यवादी भनेर आलोचना गर्न छाडेर तिनीसँग खूला वातावरणमा व्यापार गर्न थालेका थिए । त्यति हुनासाथ विश्वकै एक तिहाइ जनसँख्या भएका यी दुई देशमा रहेको सस्तो श्रमको उपयोग गरेर नाफा अधिक गर्न लालायित बहुराष्ट्रिय कम्पनीहरु हाम फालेर यता आएसँगै रोजगारी र समृद्धि दुवै उल्लेख्य रुपले बढेका थिए । अफशोरिङ र आउटसोर्सिङ भनिने प्रक्रियाहरुबाट उताका कलकारखानादेखि घरायसीजस्ता लाग्ने कामहरु समेत यताका नागरिकले गर्न पाएपछि यताको अर्थतन्त्रको कायापलट भएको थियो । (यो प्रक्रियाबारे बिस्तारमा लेखिएको थोमस फ्रिडम्यानको ‘दी वल्र्ड इज् फ्ल्याट’ शीर्षक पुस्तक पढ्दा म अझै साम्यवादको गहन प्रभावमा थिएँ र आलोचना गर्नकै लागि उक्त पुस्तक पढेको थिएँ तर फर्केर हेर्दा चाहिं अब त्यो पुस्तक तथ्यपरक लाग्छ ।)
सुजीव शाक्यको ‘अनलिशिङ नेपाल’ पढेपछि चीन र भारत मात्र नभएर जापान, ताइवान, मलेशिया, सिंगापुर, थाइल्याण्ड र भियतनामजस्ता एशियाली देशहरु समेत चढेको उदारीकरणको त्यो बस नेपालले मात्र किन छुटायो भन्ने प्रश्नको उत्तर मिल्छ । र मलाई अहिले लाग्छ, अब नेपालले अर्थतन्त्रलाई कुन दिशामा लैजानुपर्छ भन्ने अहम् प्रश्नको उत्तर पनि त्यहीं मिल्छ ।
कम्युनिष्ट सिद्धान्त र व्यवहारको भेद
यो आलेखको शुरुमा उल्लिखित बलात्कार प्रकरण किन उल्लेखनीय थियो भने शताब्दीयौंदेखि पितृसत्ताको राज रहेको हाम्रो गाउँमा एकाएक महिला सशक्तीकरण र महिला ‘मुक्ति’ बहसमा मात्र सीमित नभएर व्यवहारमा उतारिन थालेका थिए । कम्तीमा हामीलाई ऊबेला त्यस्तै लाग्थ्यो । तर बाम राजनीतिको मेरुदण्ड मानिएको त्यो सशक्तीकरणको प्रक्रियाले उक्त बलात्कार प्रकरणलाई रोक्न सकेन किनकि सशक्तीकरण सतहमा र मानिसहरुको ओठमा थियो, त्यसलाई भजाएर ताली पाउन पुरुष र महिला दुवै राजनीतिज्ञले सिकिसकेका थिए तर मानसिकतामा रत्तिभर परिवर्तन भएको थिएन ।
जब ती बलात्कारी साथीहरुमा अहिले पश्चात्तापबोध छ कि छैन होला भन्ने मलाई लाग्छ, म सम्झन्छु करोडौं नेपालीको पेटमा एकसाथ लात हान्ने ‘कम्युनिष्ट’ राजनेताहरुमा रतिभर पश्चात्तापबोध नभएको त्रासद तथ्य । उनीहरुले जनताका नाममा यस्तो भुलभुलैया सिर्जना गरेका छन् कि जनताले घुमिफिरी तिनलाई भोट हालिरहन्छन् तर उनीहरुचाहिं आफ्नो व्यक्तिगत, पारिवारिक, गुटगत र दलगत स्वार्थबाट माथि उठ्न कहिल्यै सक्दैनन् ।
पटके चोरलाई पार्टीको मान्छे भनेर छुटाउन गृहमन्त्रीले प्रहरीलाई फोन गर्ने फूटकर भ्रष्ट कर्मदेखि तस्करीको जालोलाई नियन्त्रणमा राख्ने मन्त्रालय हात पारेर अरबौं कमाउने थोक भ्रष्टाचारसम्म, पारदर्शिता कायम गर्ने प्रविधिको वकालत गर्ने सरकारी अधिकारीलाई मृत्यूको धम्की दिनेदेखि अपराधीहरुलाई पार्टीको खोल ओढाएर तिनीहरुसित लुटको धनको बाँडफाँडसम्म, हाम्रा कम्युनिष्ट नेताहरुको व्यवहारको फेहरिस्त यहाँ उतारिरहन सम्भव छैन ।
दण्डहीनताको फाइदा उठाएर धनी बनिहाल्ने नेपाली राजनीतिको सार्वभौम परम्परालाई त कम्युनिष्टहरुले अँगाले नै, त्यसलाई संस्थागत गरेर अपराधी कहिल्यै नपक्रिने व्यवस्था समेत गरे । सुशासन कायम गर्ने जिम्मेवारी लिएको निकायमा ‘इन्टिग्रिटी’ वा इमान भएको मानिसलाई नियुक्त गर्यो भने आफ्ना आर्थिक अपराध खुल्ने भएकाले दुई बाम नेताले (तेस्रो काँग्रेस नेताको निकम्मापनको मदतसहित) त्यो निकायकै तेजोबध हुने गरी नियुक्ति गरेपछि मुलुकमा दण्डहीनता कसरी संस्थागत भएर गयो, त्यो हामीले देखेकै कुरा हो ।
अन्तमा नेपालमा बाम राजनीतिको चरित्रलाई दुरुस्त प्रतिनिधित्व गर्ने अर्को एउटा उदाहरण हेरौं । पहिलो संविधान सभाको चुनावमा एमालेको तर्फबाट उम्मेदवार रहेका रमेश राजभण्डारी पछि न्याय परिषद्मा भएको राजनीतिकरणको बुई चढेर पुनरावेदन अदालतका न्यायधीश बन्न पुगे । २०१४ जुन १० मा उनको नियमित म्याद सकिने अवस्थामा न्याय परिषद्ले सार्वजनिक सुचना जारी गरेर लिखित परीक्षा लिनु पर्ने प्रचलित विधिलाई लत्याउँदै जुन ५ मा उनीलगायतका ३० न्यायधीशको म्याद थप्यो ।
राजभण्डारी र (काँग्रेसी कोटामा बनेका) अर्का न्यायधीश नरबहादुर शाहीले एउटा कुख्यात बलात्कार काण्डमा जिल्ला अदालतले दोषी ठहर्याएर १३ वर्ष जेल सजायँ सुनाएका आरोपीहरुलाई प्रमाण नपुगेको भन्दै उन्मुक्ति दिए । तोकेर भन्ने आधार नभए पनि त्यस किसिमको फैसलापछि आर्थिक लेनदेन वा आरोपीहरुको राजनीतिक पहुँचले मुख्य भुमिका खेलेको लख काट्न गाह्रो थिएन ।
बलात्कारपछि मरणासन्न बनाएर फालिएकी र मानसिक विक्षिप्तताबाट बाहिर आउन कोशिस गर्दै गर्दा अदालत बोलाएर संवेदनविहीन तरिकाले उल्लीबिल्ली पारिएकी पूजा बोहराको पीडा एक समय नेपाली मिडियामा छताछुल्ल भयो तर उक्त फैसलाको छानविन गर्ने भनेर तत्कालीन न्याय परिषद्ले गरेको प्रचारबाजी व्यवहारमा उत्रने छाँट छैन । यही अकर्मण्यताको फाइदा उठाएर एमाले र उसको अबको सगोत्री दल माओवादी अब टीका लगाएर अरु न्यायधीशहरु बनाउने चक्करमा छन्, उता न्यायालयको दण्डहीनता जस्ताको तस्तै छ ।
कम्युनिष्टहरुको संलग्नता र अग्रसरतामा सिर्जना गरिएको यस्तो निरपेक्ष दण्डहीनताको पृष्ठभुमिमा नयाँ संविधानको प्रस्तावनामा नेपाललाई ‘समाजवादउन्मुख’ देश भनेको मलाई मन परेको छैन । त्यो किन भने यस्ता पात्रहरुले सिर्जना गर्ने समाजवाद सके जनवादी लोकतान्त्रिक गणतन्त्र कोरिया (उत्तर कोरिया)को जस्तै सन्नाटामय समाजवाद हुनेछ, नत्र अहिलेकै नेपालजस्तो भद्रगोल र अराजक समाजवाद हुनेछ ।
उपसंहार
यो लेखाइ मेरा लागि एक खालको ‘क्याथार्सिस’ हो । लेखिसकेपछि मैले कुनै उपलब्धि हासिल गरेको छैन तर मलाई हल्का महसुस भइरहेको छ ।
पछिल्लो समय ठूलो आश गरिएको भेनेजुएला अर्थतन्त्रको चरम संकटबाट गुज्रिरहेको छ र विश्वकै ठूलो प्रमाणित पेट्रोलियम रिजर्भ भएको देशका मानिसहरु डलरको कालो बजारी गरेर जीविका धान्न अभिशप्त छन् । साम्यवादको जीवित अवशेष मानिने क्युवा आफैं उदारीकरणको बाटोमा लागेको छ । अर्को अवशेष उत्तर कोरियामा गरिबी र भोकमरी उस्तै छ । उदार पुँजीवादको विकल्प भनिने समाजवादी झुकाव भएका ब्राजिलजस्ता देशका अर्थतन्त्रहरु संकटको नजिक पुगेका छन् । २००८ को आर्थिक संकटपछि गल्र्यामगुर्लूम ढल्ला भनेर अपेक्षा गरिएको ‘साम्राज्यवादी’ अमेरिकाको अर्थतन्त्र निरन्तर मजबुतीतिर बढिरहेको छ। सोही समयमा शुरु भएको संकटबाट पूरै बाहिर आउन अझै संघर्ष गरिरहेको युरोपमा अझै धेरै चुनौती छन् तर त्यहाँको अवस्था ‘क्रोनी क्यापिटलिजम्’ फस्टाएको रुसको झैं खराब छैन । इस्ट एशियन टाइगर भनिने बेलैमा उदारीकरण अँगालेका देशहरु मध्यम–आयस्तरको अल्झनलाई पार गर्दै उच्च–आयस्तर हुने देशमा पुगिसकेका छन् । विविध अवरोधका कारण चीन र भारतमा सुधार प्रक्रिया ढिला हुन पुगेको छ र त्यहाँका अर्थतन्त्रले केही पुराना र केही नयाँ चुनौतीहरुको सामना गरिरहेका छन् तर सुधारको आवश्यकता वा वैधताबारे त्यहाँ प्रश्न उठ्ने ठाउँ छैन ।
यो आलेखको अर्थ मैले विगतदेखि पुँजीवादमा देखेका समस्याहरु अलप भएर गए भन्ने हैन । खास गरी बढ्दो असमानता, वातावरणीय प्रदुषण, पर्यावरणीय क्षय, हावापानी परिवर्तनजस्ता गम्भीर र विश्वव्यापी समस्यासित कसरी जुध्ने भन्नेमा धेरै बहस भए पनि ती चुनौती सामना गर्ने गरी अर्थतन्त्रलाई आकार दिन औद्योगिक विश्वले धेरै काम गर्न बाँकी छ ।
ती चुनौती शीघ्र र गम्भीरतापूर्वक सामना गर्नुको विकल्प छैन । तर उत्पादनशीलता बढाएर गरिबीबाट बाहिर आउँदै र समृद्धि हासिल गर्दै गरेका सबै भौगोलिक क्षेत्रका नागरिकहरुलाई ती काममा लागिरहन मिल्ने वातावरण बनाइदिनुको विकल्प छैन । जसरी चीन र भारतले उदारीकरण अन्तर्गतका सुधार प्रक्रियाहरुमार्फत् समृद्धि हासिल गरे, हाम्रा लागि पनि त्यो भन्दा फरक बाटो छैन, उताभन्दा हाम्रा सापेक्षिक सबलताका उत्पादन क्षेत्रहरु फरक होलान् त्यत्ति हो ।
नेपालको भविष्यबारे मेरो अब एउटै भिजन छः भविष्य बनाउनका लागि भनेर विकट गाउँबाट एसएलसी दिन आएका बेला बलात्कृत भएर झण्डै मारिएकी पूजा बोहराले न्याय पाउन्, जत्रै राजनीतिक पहुँचले पनि उनका अपराधीहरुलाई उन्मुक्ति दिन नसकोस् । मेरो गाउँमा जुन युवती पार्टीका कमरेडहरुको वासनाको शिकार भइन्, त्यस्तो भयको वातावरणबाट उनका सन्ततिले मुक्ति पाऊन् । अनि उनीहरुजस्तै लाखौं बेनाम नेपाली बालबालिका र किशोरकिशोरीहरुले अहिलेभन्दा फरक नेपालमा आफ्नो भविष्यका लागि रचनात्मक काम गर्ने वातावरण बनोस् । तिनको जीवन पानी भर्नेदेखि पासपोर्ट बनाउनेसम्म लाममा बसेर नबितोस् ।
र तिनले तीन दशक बिताइसकेपछि गलत बाटो आईएछ भनेर पश्चात्ताप गर्न पनि नपरोस्।
आँँखा खुलेका र भविष्यतिर नजर भएका सबल युवाहरुले देशको राजनीति हाँकुन्, दुई घण्टाभन्दा परको सोच्न नसक्ने र चेतनाको विकासक्रम बाल्यकालमै रोकिएका वृद्ध-अशक्त नेताहरुले हैन ।
मलाई विश्वास छ, फरक र उज्ज्वल भविष्यतिर लाग्न अझै ढिला भइसकेको छैन ।
मेरा लागिचाहिं बाल्यकालदेखि ओढिएको साम्यवादी पक्षधरताको महंगो खोल यसै आलेखसँग विगतको कुरा भइसक्यो । भविष्यतिरको वैचारिक गोरेटोचाहिं अब खन्दै जानुपर्ला ।
अनुभवले अबचाहिं मलाई वास्तवमा जानेभन्दा धेरै जानेको अभिनय र ब्रम्हाण्डमा उठ्न सक्ने सबै प्रश्नको उत्तर मसँग छ भन्ने दम्भबाट मुक्त हुन बाध्य पारेको छ । उदार पुँजीवाद विश्वको उत्कृष्ट अर्थव्यवस्था नहुन पनि सक्ला, माक्र्सले भविष्यवाणी गरेझैं यसभित्रका अन्तर्विरोधहरुले यसलाई कुनै दिन भित्रैबाट विस्फोट गराउन पनि सक्लान् । अथवा सत्य त्यसको उल्टो ठहरिएला। तर माक्र्सले अघि सारेका केही दार्शनिक उक्तिलाई अघि लगाएर सत्ता–विप्लव, आम हत्या, बलात्कार, चोरी र अन्य किसिमका जति जघन्य अपराध इतिहासमा भए, तीमध्ये कुनै पनि क्ष्यम्य थिएनन् । अनि नेपाललगायतका देशमा अझै पनि माक्र्सको नाम भजाएर तिनै कर्म दोहोर्याउने जुन संगठित प्रयासहरु भएका छन्, तिनको भण्डाफोर हुनु आवश्यक छ ।
खास गरी भविष्यप्रति चिन्तित शिक्षित नेपालीहरुलाई मेरो एउटै सल्लाह छः सके भारतबारे लेखिएको ‘इण्डिया अन्बाउन्ड’ र चीनबारे लेखिएको ‘डिलिङ विथ चाइना’ समेत पढौं, हैन भने पनि कम्तीमा पनि नेपालबारेकै सुजीव शाक्यको ‘अनलिशिङ नेपाल’ गौरपूर्वक पढौं । अल्पज्ञानको भरमा संसार बदल्न ननिस्कौं, भन्छन् निः अल्प विद्या भयंकरी ।
(लेखकको पुस्तकाकार सामाग्रीको सम्पादित अंश)
No comments:
Post a Comment