नयनराज पाण्डेको लु ले मलाई यही तथ्यको याद दिलायो । पत्रपत्रिका लगायतका संचारका सबै माध्यममा तराई लगायत नेपालका सबै भुभागमा रहेका आम मानिसको अंग्रेजीमा बर्डस आइ भ्यु भनेझैं टाढाबाट दृष्टिगोचर हुने सोलोडोलो चित्रले मात्र वर्चस्व जमाइरहन्छ । त्यसमा पनि दुर दराजका समाचारहरुमा राजनैतिक गतिविधिहरुको उपस्थिति यति हुन्छ कि जनजीवनका आर्थिक र सामाजिक पाटाहरुले उचित ठाउँ पाउँदैनन् । काठमाडौंका राजनेताहरुको रुघाखोकी समेत मुख्य समाचार बनिरहँदा भोकमरीको चपेटामा परिरहेका मानिसहरुको समाचारचाहिं कतै कुनामा लुकेको हुन्छ ।
यस्तो परिवेशमा एउटा सीमाक्षेत्रको दुर्गम गाउँको मिहिन चित्र खिच्नु आफैंमा ज्यादै चुनौतीपुर्ण काम हो । त्यसमा पनि डर लाग्दो गरी तन्किएको संक्रमणकालमा निकम्मा हुँदै गरेका राजनैतिक शक्तिहरु र कानुन आफ्नो हातमा लिइसकेका आपराधिक तत्वहरुका बारेमा लेख्नु झनै चुनौतीपुर्ण बनेको छ । अझ विगत केही वर्षमा सीमा क्षेत्रका विभिन्न ठाउँमा फैलिएको साम्प्रदायिक हिंसाको जरो केलाउनु त त्यो प्रक्रियालाई जरैदेखि नबुझ्नेहरुका लागि असम्भव नै हुन्छ ।
यिनै विविध पक्षमा अव्बल प्रस्तुति रहेको पाण्डेको लु ले सीमा क्षेत्रको एउटा गाउँको कथा मार्फत् एउटा अविकसित, पर निर्भर र निर्बल समाजको रुपमा नेपाली समाजको दयनीय कथा कहेको छ । २०४६ को परिवर्तनले छुन नसकेका नेपाली समाजका कुना काप्चाहरुको यथार्थपरक र मार्मिक कथा बोकेको नारायण ढकालको दुर्भिक्ष पछि लु ले त्यही स्तरमा समाजलाई साहित्यको ऐनामा उतार्न सफल भएको मेरो ठम्याइ छ । र त्यस हिसाबमा नेपाली साहित्यका लागि यो नवीन उपलब्धि हो ।

