अहिले चिकित्सकहरुले देशभर अत्यावश्यकबाहेकका सेवाहरु नियमित ओपीडीहरुबाट नदिएर इमर्जेन्सी वा अस्पताल परिसर वा सडकबाट दिइरहेको अवस्था छ । त्यसबाट सर्वसाधारण बिरामीहरुप्रति पर्न गएको असुविधा सबैलाई ज्ञात भैसकेको छ ।
यसैबीच आज आमरण अनशनको १३ औं दिनमा अत्यन्त पीडा र कमजोरीका बीच सास बचाउन संघर्ष गर्नुभएका डा गोविन्द के सीका मागहरु सुनुवाइ नभएको कारणले उहाँका मागहरु पूरा गराउन चिकित्सकहरुले आन्दोलन अझ सशक्त बनाउनुपर्ने अवस्था आएको छ ।
यस्तो विषम परिस्थितिमा आम मानिसबाट आउने गुनासो, दुखेसो र आक्रोशलाई हामीले अन्यथा नलिंदै यो आन्दोलनबारे नबुझिएका अरु कैयौं कुरा बुझाउने उद्देश्यले यो सम्बोधन गरिएको हो ।
गुनासो १ः डाक्टरले खास गरी गरीब बिरामीहरुको दुख बुझेनन्, अस्पताल छाडेर क्लिनिक दौडे र सेवाभाव बिर्सेर चिकित्सालाई पेशा बनाए
– कुनै बेला डाक्टर भगवान् मानिन्थे (गम्भीर रोग वा दुर्घटनाबाट बाँचेका कसैकसैले अझै पनि त्यसो मान्छन् तर अब आम धारणा त्यस्तो रहेको छैन), त्यसो त त्यो बेला धेरै मानिसले राजालाई पनि भगवान् मान्थे । तर अब समय फरक छ । समाज व्यवस्थाको काँचुली फेरिएसँगै अब पहिले मानिसले जे भनेर भगवानलाई बुझ्थे, त्यो बुझाइ नै फेरिएको छ ।
जब नैतिकताले बाँधिएको अवस्थाबाट चिकित्सा पेशा नियम कानुनले बाँधिएको अवस्थामा पुग्दैछ, हाम्रो देशमा पनि अरु विकसित देशमा जस्तै विधिको शासनले यो पेशालाई मर्यादित बनाउनुपथ्र्यो । तर हामीकहाँ त्यस्तो भएन । लागू औषध तस्करीजस्ता अवैध काम गरेर कमाएको पैसा समेत स्वास्थ्य र चिकित्सा क्षेत्रमा लगाएर तस्करी धन्दाकै गतिमा नाफा गर्ने मनसाय राखियो र हाम्रा नीति निर्माता र नियम पालक भनिएका राजनीतिज्ञहरु त्यस्तो धनमा किनिए र कानुनी राजको धज्जी उडाए ।
यो देशका बढीमा दर्जन जना मानिसको अकुत नाफाका लागि नेपालीको सन्तानले एउटा विशेषज्ञ डाक्टर बन्न डेढदेखि दुई करोड तिर्नुपर्ने अवस्था कायम राखेर त्यसरी पढेको डाक्टरलाई दार्चुलामा गएर मासिक साठी हजार रुपैयाँमा काम गर्न कसरी लगाउन सक्छ यो सरकारले? त्यसरी सेवा दिने व्यवस्था मिलाउन त सरकारले दुई चार लाख लगानीमै उत्कृष्ट क्षमताका विद्यार्थी छानेर त्यस्तो पढाइ पढाउने र त्यहाँ पठाउनुपर्ने हो, जुन नीति तल्लो तहका एमबीबीएस र बीडीएसका कोर्सको हकमा एक हदसम्म कार्यान्वयन भइरहेको पनि छ ।
ठीक त्यही दुई करोड लगानी गर्ने डाक्टर शहरमा जागिर गरेर बस्यो भने त सरकारले दिन्छ करीब पचास हजार, अब कल्पना गर्नुस्ः के डाक्टर निजी क्लिनिक नदौडी सम्भव छ? गरीबको सेवा गर, दुर्गममा सेवा देउ भनेर यी राजनीतिज्ञहरुले डाक्टरलाई पाठ मात्र पढाउने कि उचित नीति निर्माण र तिनको पालन मार्फत् कम लगानीमा स्तरीय डाक्टरहरु बन्ने वातावरण पनि मिलाउने?
गुनासो २ः आफ्नो निहित स्वार्थका लागि स्वास्थ्य सेवा ठप्प पारेर देशलाई बन्धक बनाए, कानुन समेत आफ्नो हातमा लिए
स्पष्टतः आजका डाक्टर भगवान हैनन् । तिनको आफ्नो स्वार्थ छँदैछ । र बुझ्नुपर्ने कुरा त के छ भने, तिनको स्वार्थ आम बिरामीसित जोडिएको छ र आ आफ्नो ठाउँमा काम गरिरहनु सबैभन्दा सजिलो काम हो । अहिले पनि आन्दोलनमा आउने सबैजसो डाक्टरहरु वार्ड र आकस्मिक कक्षमा २४ घण्टासम्मको ड्युटी गरेर भोकै र अनिदै आन्दोलनमा लागिरहेका छन् ।
अब आयो कुरा निहित स्वार्थको । एउटा योग्य विद्यार्थी डाक्टर बनेर कम लगानीमा पढ्न पाउँछ अनि सरकारबाट सन्तोषजनक सेवा सुविधा पाएर तोकेको ठाउँमा जान्छ भने त्यो डाक्टर र बिरामी दुवैको स्वार्थमा हुन्छ । अयोग्य भए पनि अरबपतिका सन्तान मात्र करोडौं तिरेर डाक्टर बन्छन् र चित्त नबुझी नबुझी अस्पतालमा सेवा दिन्छन् भने त्यो दुईमध्ये कसैको पनि स्वार्थमा छैन तर तिनीसँग करोडौं लिएर रातारात अरबपति वा खरबपति बन्ने धनाढ्यहरुको र तिनलाई छत्रछायाँमा राख्ने भ्रष्ट राजनीतिज्ञहरुको स्वार्थमाचाहिं छ ।
देशभर कालो अर्थतन्त्र मौलाउँदै गएको र औपचारिक अर्थतन्त्र टाक्सिंदै गएको अवस्थामा योचाहिं प्रक्रिया बन्द हुनुपर्छ र स्वास्थ्य सेवा र चिकित्सा शिक्षा चिकित्सक र आम मानिसको हितमा हुनुपर्छ न कि मेडिकल माफिया भनिने सीमित मान्छेहरुसित भनेर डा गोविन्द के सीले आफ्नो ज्यान दाउमा राखेर अनशन गरेको पूरा आठ दिन बितेपछि मात्र देशभरका चिकित्सक यस्तो विरोधमा उत्रिनुपरेको हो । जहाँसम्म कानुनको कुरा छ, देशमा यतिविधि भ्रष्टाचार र कालो अर्थतन्त्र मौलाउँदा कानुन चुप लागेर बसेबाट स्पष्ट हुन्छ, यो देशमा केही दर्जन मानिसको स्वार्थका लागि पौने तीन करोड मानिसको स्वास्थ्य र शिक्षाजस्ता आधारभुत भनिएका अधिकारहरु कुण्ठित गर्नका लागि कानुनका हतियारहरुलाई निस्तेज पारिसकिएको छ ।
गुनासो ३ः सरकारले गर्न सक्ने जति गरि नै सक्यो, तैपनि डा के सीको अनशन र चिकित्सकहरुको आन्दोलन रोकिएन ।
–सरकारले अनशनको बाह्र दिनसम्म बाटो हराएको बटुवाले झैं रल्लिएर हेरिरह्यो । हामीले गर्नै सक्दैनौं भनेर झूट बोल्दै आएकोमा अब आएर त्यही काम त गर्यो तर माफिया भनिने ती तत्वहरुलाई नियतवश खेल्ने ठाउँ छाडिदिएर । डा शशि शर्मा भनिने मानिसले डिनबाट राजीनामा दिएर तत्काल वरिष्ठताका आधारमा नयाँ डिन नियुक्ति दिएको भए समस्या सल्टिने अवस्थामा मन्त्रीपरिषद्का अध्यक्षको अल्टिमेटमको कमजोर हाँगामा टेकेर त्रि वि पदाधिकारीहरुले शर्मालाई बर्खास्त गरे र सडकमा भैरहेको संघर्षलाई जबर्जस्ती पुरातन र सुस्त न्याय प्रणालीतिर जबर्जस्ती धकेले । न त बर्खास्त गरिएको भनिएको निर्णय लिएर अनशनरत डा के सीलाई भेट्ने कष्ट गरे त्रि वि पदाधिकारीले न त नयाँ नियुक्ति नै । त्यो भनेको यत्रो विरोध भैसकेका शशि शर्मालाई अदालती आदेशमार्फत् अझ बलियो डिन बनाएर ल्याउने र यत्रो मुल्य चुकाइसकेको आन्दोलनलाई खुच्चिङ गर्ने रणनीतिक चाल हो भन्ने बुझ्न धेरै बेर लागेन ।
यो थप विषम परिस्थितिमा डा के सी आफ्नो आन्दोलनमा अडिग रहेकाले अरु चिकित्सकहरुले उहाँको साथ छोड्ने अवस्था छैन । यो चिकित्सक र बिरामीको सिंगो पुस्ताको लागि र मुठ्ठीभर धनाढ्यहरुको निकृष्ट स्वार्थका विरुद्धमा एक युगमा एक चोटि मात्र आउने आन्दोलन भएकाले अब पछि फर्केर त्रि वि पदाधिकारीहरुको जालझेल सहने अवस्था नरहेको हो ।
गुनासो ४ः खाली एउटा मानिसको विरोधमा, त्यो पनि प्रक्रियामा आएको................
नेपालका करीब १४००० चिकित्सकहरुमध्ये १२,००० जना एकतिर र अरु २,००० जना अर्कोतिर भएको अवस्थामा सम्म सानो समुह सही र ठूलो समूह गलत हुन पनि सक्थ्यो । तर १३९७० जनाले एक मुखले बोल्दा त्यो गलत हुने र बाँकी ३० जना चाहिं सत्य हुने सम्भावना अत्यन्त न्यून हुन्छ । त्यसमाथि डा शशि शर्माको नेपाल मेडिकल काउन्सिलमा छँदाको कार्य सम्पादन, पदभार सम्हाल्दा म तीनै पार्टीको समर्थनमा आएको हुँ भन्ने अभिव्यक्ति र डा के सीको अनशन शुरु हुने बेला शर्माको समर्थनमा आएका गुण्डाहरुको अराजक गतिविधिले शर्मा कति सही भन्ने कुरा स्पष्ट पार्छन् ।
राजनीतिक दलहरु देश सञ्चालनको कार्यमा त अक्षम भए नै, अहिलेको रफ्तारमा व्यापार व्यावसायमा हात हाल्दै जाने हो, विधिको शासनलाई अपभ्रंश गरेर समस्त आपराधिक गतिविधिलााई लुकाउँदै जाने हो भने स्वास्थ्य क्षेत्र मात्र नभएर देशका हरेक क्षेत्रमा शशि शर्माजस्ता पात्रहरु खडा भइरहने र तीनै वा चारै दलको समर्थनको आडमा ती संस्थाहरुलाई डुबाउने निश्चित छ । समयमै यस्ता गतिविधि रोक्न प्रक्रिया भनेर सबैजना चुपचाप नरहेको भए आज आयल निगम, विद्युत् प्राधिकरण र साझा यातायातजस्ता सरकारी संस्थानहरु अहिलेको हालतमा पुग्ने थिएनन् ।
त्यसैले यो आन्दोलन व्यक्ति विशेषको विरोधमा नभएर खास व्यक्तिमार्फत् राजनीतिज्ञहरुले आइओएमजस्ता संस्थाहरुमा आफ्नो निहित स्वार्थ पुति गर्ने प्रवृत्ति विरुद्ध हो ।
गुनासो ५ः आखिर डाक्टरहरु चाहन्छन् के र कुन अवस्थामा उनीहरुको माग पूरा हुन्छ?
आजका डाक्टरहरु भगवान् बन्न चाहँदैनन् किनकि भगवानलाई मानवीय गल्ती गर्ने ठाउँ रहँदैन । तर मर्यादित रुपमा रहेर यथोचित सुविधाका साथ सहज अवस्थामा काम गर्न भने अवश्य चाहन्छन् । राजनीतिज्ञहरुले कुनै पनि नयाँ लगानीकर्तासित अवैध रुपमा करोडौं वा अरबौं असुल गरेर अत्यन्त चर्को लगानीमा कमसल डाक्टर उत्पादन गर्ने अवस्था ल्याउन छाडेर अहिलेको आन्दोलनमा माग गरिएझैं सक्षम मानिसहरु मात्र थोरै लगानीमा डाक्टर बन्ने बातावरण बनाउने हो भने त्यस्तो अवस्था ल्याउन सम्भव छ ।
डाक्टरको मात्र नभएर बिरामीका लागि पनि त्यो अवस्था अनुकुल हुने कुरामा दुविधा छैन ।
निकासः
अब निकासका दुई बाटो बाँकी छन्ः
१. काममा फर्कने, नाजुक अवस्थामा पुगिसकेका डा के सीलाई मर्न दिने र यो समग्र आन्दोलनको नैतिक श्रोतलाई सिद्धिन दिने । त्यसपछि देशमा माफियाहरुको नग्न नाच हेरेर बस्ने ।
२. देशभरका विद्यार्थी, बुद्धिजीवी र आम मानिसहरुको सहयोग लिएर आन्दोलनलाई अझ उचाइमा पुर्याउने, यो समस्त षड्यन्त्र र जालझेलका लागि जिम्मेवार ठहर्याउँदै त्रि वि पदाधिकारीहरुलाई पदमुक्त गर्न मन्त्रीपरिषदलाई बाध्य पार्ने । सरकारबाट डा के सीका अन्य मागहरु स्पष्ट सम्बोधन हुने गरी नयाँ अलग्गै मेडिकल युनिभर्सिटी नभएसम्मका लागि नयाँ मेडिकल कलेजको सम्बन्धन पूर्ण रुपमा बन्द गर्ने नीति लिन सरकारलाइृ बाध्य पार्ने । आन्दोलन अझ उचाइमा पुग्ने हो भने यी काम गर्न त्यति गाह्रो छैन ।
अपिल
यस्तो गम्भीर र तरल अवस्थामा देशका सबै तह र तप्काका मानिसहरुलाई चिकित्सकहरुले यो देशकै स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षाको भविष्यका लागि गरिएको आन्दोलनमा आ आफ्नो ठाउँबाट सहयोग गरिदिएर केही दिनको असुविधा सहनुपरेकोमा धेरै उत्तेजित नभइदिनुहुन समग्र चिकित्सकहरुको तर्फबाट अपिल गरिन्छ ।
More on the series:
No comments:
Post a Comment