डाक्टरहरुको आन्दोलनको कडा विरोध गरौं तर..........
आन्दोलन गर्नु कतिपय अवस्थामा मानिसको बाध्यता बनेर आउँछ तर हडताल, बन्द वा दैनिक सेवा प्रभावित गर्ने त्यस्तै कुनै तरिका अपनाउनु सरासर गलत हो । त्यो पनि मानिसको स्वास्थ्य सेवा पाउने अधिकार नै कुण्ठित पार्नु भनेको त अक्षम्य अपराध नै हो । निरपेक्ष रुपमा भन्नुपर्दा त्यस्तो अपराध गर्ने काममा सहभागी हुने वा सहयोग गर्ने कुरा मलगायत धेरै मानिसको सिद्धान्तसँग मेल खाँदैन ।
तर समस्या के छ भने एक हिउँदले जाडो जाँदैन भनेझैं भविष्य हेरेर अहिले कदम चालिएन भने अहिलेको क्षणिक सजिलोले भविष्यलाई जोखिममा पार्न सक्छ । कल्पना गर्नुस्, तपाइँ भविष्यमा तलका मध्ये कुनै अवस्थामा पर्नुभयोः
अवस्था १ः एक्युट एपेन्डिसाइटिस भनिने तुरुन्त शल्यक्रिया नगरी नहुने रोग लाग्यो र तपाइँ काठमाडौं बाहिर हुनुहुन्छ । तपाइँ नजिकैको ठूलो अस्पतालमा लगिनुभयो । तपाइँको तत्काल अपरेशन गर्न लागियो तर अपरेशन गर्ने मानिस यस्ता छन् जसले पहिले कहिल्यै अपरेशन गरेका छैनन् । तिनले तपाइँको पेट खोले तर एपेण्डिक्स भनिने निकाल्नु पर्ने अंग पत्ता लगाउनै सकेनन् । जे नहुनु थियो, त्यो भयो ।
अवस्था २ः तिनै व्यक्तिले तपाइँको पेट खोल्ने आँट नगरेर तपाइँलाई काठमाडौं वा लखनऊ पठाए तर बीच बाटोमै उपचारका लागि ढिलो भैसक्यो र जे नहुनु थियो त्यो भयो ।
अवस्था ३ः तपाइँलाई विषालु सर्पले टोक्यो, तपाइँ साधन र स्रोतले सम्पन्न अस्पतालमा पुर्याइनुभयो तर त्यहाँको चिकित्सकलाई तपाइँको अवरुद्ध स्वासप्रश्वास फेरि चलाउन इन्ट्यूबेट भनिने काम गर्न आएन । स्रोत, साधन र जनशक्ति भएको ठाउँमा समयमै उपचारका लागि जाँदा पनि खाली जनशक्तिमा हुनु पर्ने जति दक्षता नहुँदा सित्तैमा तपाइँको स्वासप्रश्वास बन्द भयो ।
अवस्था ४ः मानौं वयस्क हुनुहुन्छ, तपाइँलाई तर ग्यास्ट्रिक अल्सर भइदियो । तपाइँ काठमाडौंमै हुनुहुन्छ र नेमप्लेटमा ५ वटा डिग्री झूण्ड्याएका सुपर स्पेशलिष्ट खोजेर उपचारका लागि पुग्नुभयो । तर यथार्थमा तिनलाई इन्डोस्कोप राम्रोसँग समात्न समेत आउँदैन । तपाइँको पेटको अल्सर बास्तवमा एक किसिमको क्यान्सर रहेछ तर तिनले अन्त अन्तबाटै बायोप्सी गरेर निकाले र तपाइँको रिपोर्टमा क्यान्सर नभएको भन्ने आयो । तपाइँ घर गएर खुशी मनाउनुभयो तर छ महिनामा क्यान्सर दिमागसम्म फैलियो, तपाइँलाई पक्षघात भयो र अर्को एक हप्तामा फेरि त्यही भयो, जे नहुनु थियो ।
अवस्था ५ः तपाइँको सुयोग्य छोरा वा छोरी डाक्टर बनेर देश र बिरामीको सेवा गर्न चाहन्छ । या त ऊ छात्रवृत्तिका लागि योग्य भएर सरकारबाट निजी मेडिकल कलेज पठाइयो वा तपाइँले जीवनभरको बचत निकालेर आफ्नै खर्चमा पढ्न त्यहाँ पठाउनुभयो तर पढाइको बीचमै मेडिकल कलेजले भौतिक पूर्वाधार, दक्ष जनशक्ति र सिकाइका लागि यथोचित बिरामीमध्ये केही पनि नभएर मैले केही सिक्न सकिन, मेरो कलेजले त विद्यार्थीलाई बिरामी बचाउने ज्ञान र सीप सिकाउनुभन्दा परीक्षामा चिट चोरेर पास हुन सिकाउँछ भनेर तपाइँसामु निरीहता प्रकट गर्यो ।
यदि समयमा कदम नचाल्ने हो भने स्वास्थ्य क्षेत्रमा निकट भविष्यमै त्यस्ता अनगिन्ती अवस्थाहरु आउने छन् नेपालमा ।
अब प्रश्न आयो, किन त्यस्तो विकराल अवस्थामा चुपचाप रहेर त्यस्ता आवाज उठाउन खाली डा गोविन्द के सीको अनशन पर्खेर बस्छन् चिकित्सकहरु? एक हिसाबले भन्नुपर्दा नेपालमा आम मानिसको दैनिक जीवनमा आउने कुनै पनि समस्या हल भएर जानेभन्दा नयाँ झन् ठूलो समस्या आएपछि बिर्सिएर जाने अवस्था विद्यमान् छ । त्यसैले हामी समस्याको हिलो पन्छाएर एक अँजुली धमिलो पानी उठाएर खान अभ्यस्त छौं न कि एक छिन तिर्खा सहेर पानी सङलो पारेर खाने । चिकित्सकहरु पनि यही समाजबाट आएका हुनाले आफ्नै घाँटीमा तरबार नपरुञ्जेल सहेर बस्ने गरेका छन् र जसो तसो काम चलाइरहेका छन् । त्रि वि का पदाधिकारी र मेडिकल माफिया भनिने केही धनाढ्यहरुले अहिले दिनदाहाडै डा गोविन्द के सीजस्तो सम्मानित मानिसको घाँटीमा तरबार राख्ने दुस्साहस गरेकैले देशभरका चिकित्सकहरु एक भएका हुन् ।
अहिलेको आन्दोलनमा उठेका अन्य गौणजस्ता लाग्ने मागका कुरा गर्दा, अझै पनि स्वास्थ्य क्षेत्रबाहिरका कति मानिसहरु अवस्थाको गम्भीरतासित परिचित छैनन् भने कति त बुझ पचाएर निहित स्वार्थका लागि अहिलेकै अवस्थामा नयाँ मेडिकल कलेजहरु काठमाडौंमै चाहिए भनेर कुर्लिरहेका छन् । तर आधा नेपालमा गाउँका मानिसहरु सिटामोल नपाएर मरिरहेको अवस्थामा काठमाडौंमा एक किलोमिटरको दुरीमा दुइवटा मेडिकल कलेज खोल्न दिनु भनेको ती एक करोडभन्दा मानिसहरुलाई तिमीहरु सहज र सुलभ स्वास्थ्य सेवा पाउन अयोग्य छौ भन्नु हो ।
विडम्वना के छ भने, साझा बस डुब्यो, त्यसलाई निजी यातायातले विस्थापित गर्यो । मानिसहरु अहिले रातभर उभिएर वा छतमा बसेर समेत यात्रा गर्छन्, राजमार्गको यात्रा कहालीलाग्दो भएको छ तर कोही मरिहालेको छैन । आयल निगमको चुहावट र अनियमितताको कारणसमेत मासिक अरबौं घाटामा छ, सरकारले जनताले तिरेको करबाट निकासा गरेर टालटुल गर्दै आएको छ, पेट्रोलियमको हाहाकार भइरहन्छ तर मानिसले खाना काँचै खालान् तर मरिहालेका छैनन् । विद्युत् प्राधिकरण त वर्षौंदेखि मृत्युशैयामा रहेजस्तो देखिन्छ, लोड शेडिङ बढेसँगै मानिसले त्यसलाई सराप्छन् तर यसको प्रत्यक्ष कारणले मरिहालेको छैन ।
तर चिकित्सा शिक्षाको क्षेत्रमा माफियाकरणका कारण एउटा मात्र कमसल चिकित्सक बन्नु भनेको उसले जीवनकालमा हेर्ने दशौं हजार मानिसको स्वास्थ्य जोखिममा पर्नु र कतिको ज्यान जानु हो । अब कल्पना गर्नुस्, चिकित्सकहरुको एउटा सिंगो पुस्ता नै त्यस्तो भयो भने के होला । मानिसहरु चिकित्सकलाई कुट्न र अस्पताल तोडफोड गर्न सजिलै अग्रसर हुन्छन् तर त्यसले समस्या समाधान गर्नु त कता हो कता झन् बल्झाइदिन्छ ।
यदि यी कुरा धेरै भावनात्मक र अनुमानजन्य लाग्छन् भने यथार्थ बुझेर हेर्नुस्, अहिले नेपाल मेडिकल काउन्सिलजस्तो जिम्मेवार संस्थाले तिनै माफियाको दबाबमा एम बी बी एस कोर्सका लागि अनुगमनका बेला भारतबाट भाडामा चिकित्सक ल्याएर खडा गर्नुपर्ने निजी मेडिकल कलेजलाई विशेषज्ञताको एम डी र एम एस तहको कोर्सका लागि मात्र नभई सुपर स्पेशलिटीको डी एम तहको कोर्सका लागि स्वीकृति दिएको छ ।
यो अवस्थामा तपाइँ भन्नुस्, चिकित्सकहरु आन्दोलित हुने कि नहुने, डा गोविन्द के सीको ज्यान बचाउने कि नबचाउने । जहाँसम्म हडतालको कुरा छ, सरकार र त्रि वि पदाधिकारीहरु डा के सीको अनशनको सातौं दिनसम्म पनि कानमा तेल हालेर बसेपछि बाध्य भएर माघ ३ गते नेपाल चिकित्सक संघले आन्दोलनको चेतावनी मात्र दिएका हो, त्यो पनि आन्दोलनमा जाने मनसायले हैन कि दबाब दिएर छिटो डा के सीका माग पूरा गराउने अनि उहाँको जीवन बचाउने उद्देश्यले । मरता क्या ना करता भनेझैं यो अवस्थामा समेत सरकार लाचार भएर बसिरहने र त्रि वि पदाधिकारीहरु अझै मेडिकल माफियाकै अडान लिएर बसिरहने हो भने त वास्तविक आन्दोलनको विकल्प नै रहँदैन ।
यो आन्दोलनको सन्दर्भमा मेरो निजी अडान यस्तो छः मानिसहरुको उपचार पाउने अधिकार कुण्ठित गर्ने अपराधभन्दा सारा प्रणाली ध्वस्त हुन दिएर डा गोविन्द के सीको जीवन जोखिममा पार्ने अपराध बढी अक्षम्य भएकाले दुईमध्ये कम अक्षम्य अपराध गर्न अग्रसर भएको अवस्था हो यो ।
No comments:
Post a Comment