मेरो ब्लगमा मिडिया वाच भन्ने अलग्गै स्तम्भ छ । त्यसमा खास गरी छिमेकी भारतका सञ्चार माध्यमहरुको एक हदसम्म विश्लेषण गरिएको छ । तर डा गोविन्द के सीले शुरु गर्नुभएको अनशनरुपी आन्दोलन देशव्यापी भएर चिकित्सा क्षेत्रको जनआन्दोलनमै परिणत भएपछि नेपाली सञ्चारमा माध्यमहरु पनि स्पष्ट रुपमा आ आफ्नो कित्तामा उभिएका छन् र तिनका बारे धेरै कुरा बुझ्न सजिलो भएको छ । आन्दोलनका क्रममा एक मिनट पनि टी भी हेर्ने वा रेडियो सुन्नेसमेत फूर्सत नभएकाले यो आलेखमा नेपालको प्रिन्ट र अनलाइन पत्रकारिताबारे मात्र छोटो विश्लेषण गरिनेछ ।
१. रुन्चे र धुन्चे पत्रकारिता
रुन्चे पत्रकारितामा विवेक भन्ने कुरा परित्याग गरेर भावना केन्द्रित दृश्यहरुको हुबहु रिपोर्टिङ गरिन्छ । त्यसले समस्या वा प्रक्रियाको सतहमुनि जाने चेष्टा गर्दैन किनिकि त्यसो गर्न गाह्रो हुन्छ र त्यसो गर्दा मित्र र शत्रु दुवै कमिन्छन् । एक तिर हजार जना मानिसहरु व्यवस्था बदल्न संघर्ष गरिरहेका छन्, छेउमै एउटा मानिस त्यो संघर्षका कारण भोकै परेको छ । संघर्षको रिपोर्टिङ गर्यो भने आफूलाई समेत चोट लाग्ने र ज्यानसमेत जाने खतरा हुन्छ तर दिनभर रल्लिएर त्यो भोको मानिसको व्यथा सोधिरहने हो भने हाइसुख्ख हुने मात्र हैन आम मानिसको संवेदना समेत पाइन्छ । यस्तो पत्रकारिता अहिले राजधानी नामक दैनिकले गरिरहेको छ ।
अब आयो धुन्चे पत्रकारिता । यस्ता पत्रिका त कसैको फोहर धुने मनसायले नै स्थापित भएका हुन्छन् । सतहमा अलि अलि व्यावसायिकताको लेप लगाएर भ्रम पार्ने तर सारमा पूरै फोहर धुने यस्तो पत्रकारिता अहिले नयाँ पत्रिका नामको दैनिकले गर्दै आएको छ । माओवादी दलको समेत प्रचण्ड खेमाको छवि उज्ज्वल हुने स्थिति हुँदै नभएको अवस्थामा थप धमिलिन नदिने असम्भव म्यान्डेट लिएर आएको यो पत्रिकाले जुन स्तरमा झरेर पनि त्यो प्रयास गर्न अभिशप्त छ । हिजोको संस्करणमा चाहिं धुलाइको रणनीतिमा राजधानीजस्तै रुन्चे कार्यनीतिमा यो पत्रिका ओर्लेको थियो ।
२. शक्तिको भक्ति पत्रकारिता
बहुदलकालका मण्डलेहरुझैं सत्ता र शक्ति जता ढल्किन्छ आफू त्यतै ढल्किने, सन्तुलनलाई पूरै बिर्सने र खोज पत्रकारितालाई निषेध गर्ने यस्तो भक्ति पत्रकारिता दि हिमालयन टाइम्स भनिने अंग्रेजी पत्रिकाले नेपालमा गर्दै आएको छ । लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाइँदादेखि नै स्पष्ट त्यो कित्तामा गएको यो पत्रिकाले अझै त्यस्तो धर्म निभाइरहे पनि पछिल्ला दिनमा घटनाक्रमले अलि बढी सन्तुलनमा आउन बाध्य पारिरहेका छन् । हास्यास्पद रुपमा शुरुदेखि नै डा के सीको आन्दोलनलाई दुई गुटको लडाइँको रुपमा व्याख्या गरिरहेको यो पत्रिकाले एक दिन पीत पत्रकारिताको स्तरमा झरेर विरोधाभासपूर्ण समाचार प्रकाशित गरेको थियो ।
३. व्यावसायिक र खोज पत्रकारिता
नेपालमा व्यवासायिक पत्रकारिताको स्थिति छिमेकी देशहरुभन्दा पछाडि नै भए पनि मोटामोटी राम्रै छ । तर खोज पत्रकारितााहिं शुन्यप्राय भयो भनेर मैले भन्न थालेको धेरै भयो । तर केही पत्रिकाहरुले डा गोविन्द के सीले उठाउनुभएको मुद्दा वरपर रहेर जोखिम उठाएरै भए पनि केही हदको खोज पत्रकारितामा होमिएको अवस्था छ । खासगरी विगत हप्ताको नागरिक र कान्तिपुर दैनिकको कभरेजले स्वास्थ्य क्षेत्र र मेडिकल माफियासम्बन्धी त्यस्ता कुराहरु बाहिर ल्याएको छ, जुन सामान्य अवस्थामा सधैंभर पृष्ठभुमिमै रहने थिए ।
त्यसो त डा के सीका मुद्दा खोतल्दा खोतल्दै पनि बिरामीहरुलाई पर्न गएको असुविधाप्रति कुनै पनि पत्रिकाले आँखा चिम्लोस् भन्ने मेरो आशय हैन । कतिसम्म भने मैले त चिकित्सकहरुको आन्दोलन राम्रो भनेर भन्न त परै जाओस्, यो एक खालको अपराध हो र अझ ठूलो र दीर्घकालीन अपराध रोक्न कम क्षतिजनक भनेर यो बाध्यतावश गरिएको हो भनेर भन्दै आएको छु । त्यो अवस्थामा पत्रिकाहरुले बिरामी र जनमानसको हामीप्रतिको आक्रोशको कभरेज गर्नु स्वभाविक हो । र पत्रकारितामा सन्तुलित कभरेज भनेकै त्यही हो । तर राजधानी वा नयाँ पत्रिकाझैं सतहमै रुमल्लिएर हात्तीको पुच्छर समातेर हात्ती त लठ्ठीजस्तो छ है भनेर डंका पिट्नु कमजोर पत्रकारिताको नमुना हो ।
४. तत्कालीन र अनलाइन पत्रकारिता
अलि पुरानो समयमा इनटरनेट यति विधि नआइसक्दा सन्ध्याकालीन पत्रिकाहरुको नेपाली पत्रकारितामा उल्लेख्य वर्चस्व रहने गथ्र्यो । अहिले भने द्रुततामा टी भी च्यानलहरुसित प्रतिस्पर्धा गर्ने गरी तत्कालको पत्रकारिता भनेको अनलाइन पत्रकारिता भएको छ । यो अवस्थामा सापेक्षतः नयाँ सेतोपाटीले गैर व्यवसायिक ब्लगरहरुको बाहुल्य रहेको नेपालको अनलाइन पत्रकारितामा व्यावसायिक पत्रकारहरुलाई तानेर ल्याएको अवस्था हो । अहिलेको आन्दोलनको सन्दर्भमा चाहिं सेतोपाटीको भुमिका प्रिन्टका नागरिक र कान्तिपुरसित मिल्दोजुल्दो छ ।
अन्यमा, सदाझैं यान्त्रिक रिपोर्टिङ कायम राखेको नेपाल समाचारपत्र र तुलनात्मक रुपमा शुष्क कभरेज गरिरहेको अन्नपूर्ण पोष्टले चाहिं खोजलाई भन्दा सन्तुलनलाई बढी ध्यान दिएको पाइन्छ । रिपब्लिका र काठमाण्डु पोष्ट दैनिकको कभरेजचाहिं उही पब्लिकेशनका क्रमशः नागरिक र कान्तिपुरसँग मिल्दोजुल्दो भएकाले यहाँ अलग्गै चर्चा नगरिएको हो ।
No comments:
Post a Comment