प्यारा दिदीबहिनी तथा दाजुभाइहरु
शुरुमा, मेरो ब्रम्हले देखेको सत्य र न्यायको बाटोमा विश्वास गरिदिनुभएकोमा यहाँ उपस्थित तथा अनुपस्थित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आमरण अनशनको १४ दिनसम्म मलाई त्यही विश्वास एवं स्नेहले नै जोगाएको म ठान्दछु ।
नेपाली स्वास्थ्य क्षेत्रको कालकुट विषलाई पिएर निलकण्ठ बन्ने ध्याउन्न मेरो कदापि हैन । मैले त राजनीतिको नाममा मौलाएको माफियातन्त्रको जरो हल्लाउने प्रयास मात्र गरेको हुँ । र यसैको नाममा गहिरोसित विभाजित समाजलाई घच्घच्याउने जमर्को मात्र गरेको हुँ । यसका लागि आफ्नो जीवन उत्सर्ग गर्ने तत्परतालाई मैले मेरो जीवन मूल्यकै रुपमा प्रयोग गरेको हुँ ।
गएका केही वर्ष र विशेष गरी गएका २ हप्ता हाम्रो प्यारो संस्थान र देशकै लागि उतारचढाव पूर्ण रहे, र आज हामी यो दिनसम्म आइपुगेका छौं । यस सन्दर्भमा मेरा बटमलाइनहरुले मात्र मेरा मागहरुको मर्मलाई बोक्न सक्छन् भन्ने कुराको हेक्का मलाई राम्रोसँग छ । मेरा मागहरुको समर्थनमा सारा चिकित्सकहरु एकजुट भएको जान्दाजान्दै पनि, सारा चिकित्सकहरु आफ्नो चिकित्सकीय धर्ममा बसेर समर्थनमा उत्रिँदा उत्रँदै पनि, आखिरमा देशभरको स्वास्थ्य सेवा र नागरिकहरुको जीवन प्रभावित भएको सत्यसँग म राम्रोसित परिचित छु ।
यसको पृष्ठभुमिमा सरकारको तर्फबाट व्यक्त भएको यो तहको प्रतिबद्धता र मलाई माया गर्ने समपूर्णको दिाशयता र सहमतिमा मैले अनशन तोड्ने निर्णय गरेको हुँ । तर प्रतिबद्धता पूरा नहुन्जेल र मुलतः यो सारा अभियानको आत्मालाई सम्बोधन भएको प्रत्याभुति नहुन्जेल यो आन्दोलन पृथक रुपमा जारी रहनेछ भन्ने उद्घोष पनि गर्न चाहन्छु । त्यतिबेला पनि यसरी नै सबैको साथमा एउटा सुसभ्य, सुसंस्कृत र प्राज्ञिक संस्थाको निर्माण गर्न पाइयोस् भन्ने इच्छा पनि जाहेर गर्न चाहन्छु ।
आज जे जति पनि हासिल भएको छ, यसको ७नतसेय म देशभरका मेरा प्यारा विद्यार्थी तथा रेजिडेण्टहरु, नेपाल चिकित्सक संघको नेतृत्वमा आन्दोलनमा उत्रेका देशभरका चिकित्सक मित्रहरु, सिंगो पत्रकारिता जगत, स्वास्थ्य क्षेत्रलगायतका सम्पूर्ण पेशागत संघ संगठनहरु सम्पूर्ण सामाजिक संघ संस्थाहरु, देश विदेशका सम्पूर्ण शुभचिन्तकहरु तथा मेरो सुस्वास्थ्यको कामना गर्नुहुने सम्पूर्ण सर्वसाधारणहरुलाई दिन चाहन्छु ।
धन्यवाद
डा गोविन्द के सी
त्रि वि शिक्षण अस्पताल काठमाडौं
No comments:
Post a Comment