(मिति २०७०.९.११ गतेको अन्नपूर्ण पोष्ट दैनिकबाट साभार )
कल्पना गर्नुस्, कुनै मेशिन चलाउँदा तपाइँको पाखुरा काटिएर छुटियो । तपाइँ नजिकैको ठूलो अस्पताल पुर्याइनुभयो । त्यहाँ सम्भव भए तपाइँको हात जोडिनुपथ्र्यो नभए तपाइँको तत्कालीन अत्यावश्यक उपचार र बचेको पाखुराको राम्रो सम्हार गरेर आवश्यक परे रेफर गरिनुपथ्र्यो । तर त्यहाँ त्यसो भएन, उपचारमा आएका डाक्टर लठ्ठिएजस्ता देखिए र उनले आफ्नो नशाको सुरमा तपाइँलाई बेहोशै नपारी बयानै गर्न नसकिने पीडा दिएर कसाइले झैं उपचार गरे । तपाइँ टाउको काटेको खसीझैं फट्फटाइरहनुभयो तर तिनले जबर्जस्ती तपाइँको बचेको पाखुरा टालटुल पारे र भर्ना गरे ।
के तपाइँ त्यो अवस्था कल्पना गर्न सक्नुहुन्छ? सक्नुहुन्न भने पनि मैले आफ्नै आँखाले त्यो अवस्था देख्नुपरेको थियो । विशेषज्ञ भनेर छिमेकी देशबाट झिकाइएका ती चिकित्सकले सधैं बिहान नशाजन्य पदार्थ सेवन गरेर आएर त्यस्तो सेवा दिन्थे । तैपनि तिनको त्यो स्तरको काम निर्विघ्न चलिरह्यो तिनी आफैं एक दिन कोठामा झूण्डिएर नमरेसम्म ।
Screenshot from the mail online news story about a procedure in China in which a severed hand was transplanted to the leg so that it could later be safely re-connected to severed arm. Such an advance in health sector is not impossible but in Nepal? Here we are jeopardizing the health of an entire future generation just because some greedy and corrupt officials administer the institutions that are responsible for advancement of the sector in the country. |
नियतिवश ती चिकित्सकले उपचार गरेका बिरामी सबैजसो गरीब र पिछडिएका हुनाले तिनका कामलाई लिएर अस्पतालमा कुनै बबण्डर मच्चिएन, कम्तीमा अहिले सम्झिने गरी । तर तिनको उपचार पाउने मानिसहरु शिक्षित र सचेत भएको भए उनीहरु के गर्थे त? नेपालको अहिलेको स्थिति हेर्दा त्यो अवस्थामा अस्पतालमा तोडफोड र आगजनी हुन सक्थ्यो, चिकित्सक पिटिन सक्थे र तिनको जागिर खुस्किन सक्थ्यो । तर त्यसबाट उपलब्धि के हुन्थ्यो?
नेपालमा अस्पताल र डाक्टरसँग सम्बन्धित जति पनि घटना, दुर्घटना वा लापरवाहीको अरोपका समाचारहरु आउँछन्, तिनको टुंगिने प्राथमिक तरिका हुलदंगा र तोडफोड हो भने सबैभन्दा माथिल्लो तहचाहिं माफी, मिलापत्र वा क्षतिपुर्ति । तर त्यसबाट माथि उठेर त्यस्ता समस्या किन आउँछन् त भन्ने विषयसम्म अर्थपूर्ण तरिकाले कोही पनि पुगेको देखिंदैन। ती समस्याको समाधान गर्ने कुरा त परै जाओस् ।
अब एक छिन गम्भीर भएर विचार गरौंः मानिसको ज्यान बचाउनेजस्तो पवित्र कर्तव्य बोकेर चिकित्सा शिक्षा हासिल गरेका मानिसहरुको योग्यता, दक्षता, कार्य सम्पादन र नैतिकतामै प्रश्न उठ्ने अवस्था कसरी सिर्जित भएको छ भनेर ।
केही महिनाअघि शिक्षण अस्पतालमा एक पत्रकार महिलाको अवर्णनीय तरिकाले बच्चा गुमेपछि एउटा सञ्चार माध्यममा उनको लेख छापियो । लगत्तै शिक्षण अस्पतालकै एक रेजिडेन्ट डाक्टरले हो हामी गल्ती गर्छौं र हामी सच्चिनुपर्छ भन्ने पारामा लेखिएको अर्को लेख पनि छापिएपछि ती दुवै लेख लामो समयसम्म लोकप्रिय रहे । त्यो अवस्था आउनुमा को वा के जिम्मेवार छ र दीर्घकालमा ती समस्याको कसरी समाधान हुन सक्छ भनेर मैले मेरो ब्लगमा खराब डाक्टर निर्माणको कथा भनेर अर्को लेख लेखें । त्यो लेखमा केही बिस्तारमा लेखिएका केही बुँदाहरु अहिलेका केही घटनाक्रमहरुसित जोडेर छोटकरीमा हेरौं समस्याको जरो कहाँ छ र कसरी त्यो समाधान हुन सक्छ ।
लगाव र व्यवसायिक नैतिकता भनेको चिकित्साको विद्यार्थी र चिकित्सकले निजी तवरबाट दिन सक्ने र दिनुपर्ने चीजहरु हुन्, तिनको निर्माणमा हाम्रो परिवार र समाजको पनि भुमिका हुन्छ । तर जहाँसम्म कार्य दक्षताको कुरा छ, त्यो उनीहरुको निजी प्रयासले मात्र सम्भव हुने कुरा हैन । तिनलाई चिकित्सा शिक्षा दिने संस्थाले तिनले यथेष्ट ज्ञान र सीप हासिल गर्ने गरी व्यवस्था मिलाउन यथोचित भौतिक पुर्वाधार, दक्ष जनशक्ति र व्यवहारिक शिक्षाका लागि पुग्ने गरी बिरामीको चाप सुनिश्चित गर्नुपर्छ । मेडिकल कलेज भनिने ती संस्थाले त्यसो गरे वा गरेनन् भनेर अनुगमन र नियमन गर्ने संस्थाहरु मेडिकल काउन्सिल र सम्बन्धित विश्वविद्यालयको त्यस दिशामा एउटा गम्भीर भुमिका हुन्छ ।
तर दुर्भाग्यको कुरा के छ भने भताभुंग र लथालिंग भएको देश नेपालमा ती नियामक निकायहरुमा यस्ता मानिस पुग्छन् जसको भुमिका माथि बयान गरिएका कसाई डाक्टरसँग दुरुस्त मिल्छ । ती आफ्नो योग्यता र कार्यक्षमताले भन्दा पनि सत्तासीन दलका नेताहरुको वफादारी र चाटुकारी गरेर पुगेका हुन्छन् र पदमा पुग्नासाथै आफ्ना आपराधिक मानसिकताका मालिकहरुको सेवा गर्न आफूले नेतृत्व गरेको सँस्थाकै गला रेट्न पनि तयार हुन्छन् । तोकेरै भन्नुपर्दा विश्वविद्यालय र काउन्सिलका ती पदाधिकारीहरुले खास मेडिकल कलेजको भौतिक पुर्वाधार र जनशक्तिले थेग्नेभन्दा दशौं गुना बढी विद्यार्थी लिने अनुमति दिन्छन्, स्नातक तह राम्ररी चलाउन नसकेको कलेजलाई स्नातकोत्तरको विशेषज्ञता तहका कार्यक्रम चलाउन दिन्छन् । विद्यार्थी लिंदा तोकिएको दरभन्दा तीन गुनासम्म लिन छुट दिएर पढाइमा राम्रो भन्दा पनि बाबुआमाको कमाइमा राम्रो भएका विद्यार्थीहरु यो शिक्षा र पेशामा छिर्ने अवस्था सिर्जना गर्छन् ।
देशमा आफैंले कसाइ डाक्टर निर्माण हुने अवस्था निर्माण गरेको थाहा भएर हो वा के हो, दलका नेताहरु सामान्य बिरामी परे पनि बैंकक वा टोकियो उडिहाल्छन् तर देशमा मात्र उपचार गराउन सक्ने झण्डै ९० प्रतिशत मानिसहरु अहिले देशको स्वास्थ्य क्षेत्रमा व्याप्त यस्तो अव्यवस्था र अपराधको शिकार भइरहेका छन् । नियामक संस्थाहरुमा दलहरुका आपराधिक गतिविधिहरुका चाप बढेसँगैे अब आउने दशकमाचाहिं त्यो अवस्था अझै विकराल भएर जाने देखिन्छ ।
यो पृष्ठभुमिमा त्रि वि अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान र शिक्षण अस्पतालमा राजनैतिक हस्तक्षेप बन्द गरियोस् भनेर डा गोविन्द के सी ले गर्नुभएको आमरण अनशनपछि यी संस्थाहरुमा भएको गैर राजनीतिक नियुक्तिपछि संस्थाहरुमा सुधारले गति लिन थालेको अवस्था थियो । तर आफूलाई नियुक्त गर्ने खास राजनीतिक दलको पाल्तु कुकुरको भुमिकामा रहेका त्रि वि पदाधिकारीहरुलाई त्यो अवस्था पाच्य भएन । र साम, दाम, दण्ड भेद, सबै प्रयोग गरेर तिनले चि शा अ सं का डिन डा प्रकाश सायमीलाई काम गर्न असम्भव हुने अवस्थामा पुर्याएर अन्ततः राजीनामा गर्न बाध्य बनाएका छन् ।
यसरी हेर्दा देशको स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा आएको प्रगति र सुधारको सानो झिल्को राजनीतिक दल र विश्वविद्यालयका तिनका पाल्तु कुकुरहरुले निभाइदिएका छन् । डा सायमीको राजीनामासँगै दलनिकटका अरु कैयौं कसाइहरु डिन पदका लागि हानथाप गरिरहेको पनि बुझाइमा आएको छ ।
दुखद रुपमा भन्नुपर्दा, एउटा मानिस अस्पतालमा मरेको समाचार आउँदा सम्वेदित भएर अस्पताल र चिकित्सकप्रति आक्रोशित हुने आम मानिसहरु भविष्यको सिंगो पुस्ताको स्वास्थ्य जोखिममा पर्दा त्यसको भेउसम्म पाउन सकिरहेका छैनन् । यही अवस्थाको फाइदा उठाएर दल र तिनका चाटुकारहरु एकपछि अर्को सार्वजनिक संस्थाको गला रेट्न सफल भइरहेका छन् ।
अन्तमा कुरा आयो, यो अवस्थामा परिवर्तन ल्याउन के गर्न सकिन्छ त भन्ने । तत्कालका लागि चिकित्सकहरुको तर्फबाट यो विषय आम मानिसमा लैजाने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान आकृष्ट गर्ने कामहरु भइरहेका छन् । दोस्रो चरणमा आम स्तरबाट आउने ऐक्यबद्धता हेरेर हाललाई चि शा अ सं मा राजनैतिक नियुक्ति रोक्नका लाथि हस्तक्षेपकारी भुमिका खेल्ने योजना रहेको छ ।
समस्त पाठकहरुलाई के याद गराऔं भने नेपालको जस्तो संगठित अपराध नहुने देशहरुमा स्वास्थ्य सेवाको यस्तो बिजोग छैन । हालै मात्र चीनको एउटा प्रान्तीय अस्पतालले एक मानिसको दर्घटनामा छिनालिएको हात एक महिनासम्म खुट्टामा जोडेर जीवित राखेर पछि पाखुरामै सफलतापूर्वक जोडेको थियो । हाम्रो स्वास्थ्य सेवालाई पनि त्यो दिशामा प्रगति गर्ने वातावरण बनाउने वा भावी पुस्ताको स्वास्थ्य अक्षम र बिरामी नदेखी डिग्री पाएका डाक्टरहरुलाई सुम्पने हो, सोच्नै पर्ने बेला आएको छ ।
No comments:
Post a Comment