माओवाददेखि खाओवादसम्मको यात्रामा एकीकृत माओवादी
१५ वर्ष अघिः
झुप्रोमा बस्ने एउटा गरीबको छोरोले संसार बदल्ने सपना देख्छ । समाजमा व्याप्त ठालुहरुको बिगबिगीबाट वाक्क भएर तिनको संसार उल्ट्याउने र गरीबहरुको भलो गर्ने कसम पनि खान्छ । अनि त्यो महान सपना साकार पार्न कम्युनिष्ट पार्टीको छहारीमा पुग्छ । त्यहाँ समाजमा व्याप्त वर्गीय, लैंगिक, जातीय, क्षेत्रीय, आदि विभेदलाई निमिट्यान्न पार्ने अभियानमा ऊ पनि सरिक हुन्छ । खाली निजी सम्पत्ति जोड्ने र सुखसयल मात्र गर्ने आम प्रवृत्तिलाई चुनौती दिंदै उनीहरुले चर्चा गर्छन् कसरी सोभियत संघ र चीनका कम्युनहरुमा मानिसहरुले आदर्श किसिमको जीवन यापन गर्छन् । कसरी त्यहाँका सर्वहाराहरुले राज्य चलाउँछन् र पहिलेका ठालु र सामन्तहरुचाहिं पसिना चुहाउँदै काम गर्न बाध्य हुन्छन् । अनि कसरी त्यहाँको राज्यले मानिसका सबै आवस्यकता पुर्ति गर्छ र यहाँ झैं एक गास भात र एक सरो लुगाका लागि मानिस रुनुपर्दैन । के त्यस्तो राज्य नेपालमा नआउला? यस्ता प्रश्नका उत्तर दिंदै नेताहरु भन्छन्ः सर्वहाराका लागि गुमाउन नेल र जञ्जिरबाहेक केही छैन तर जित्न सारा संसार छ । आज वा भोलि, हाम्रो विजय निश्चित छ ।
हालः
पहिलेको गरीबको छोरो अब गरीब रहेन । ऊ अब घरको मालिक भैसकेको छ र गाउँको पनि नामी मानिस बन्ने क्रममा छ । गाउँमा गरिबी छ तर ऊ अब धनी भैसकेको छ । उसको ढुंगाले छाएको पक्की घर भैसकेको छ र त्यहाँ एउटा ठुलो पसल छ । त्यहाँ के पाइन्छ भन्दा पनि के पाइंदैन भनेर सोध्नुपर्छ । तर त्यहाँको सबैभन्दा प्रख्यात र धेरै व्यापार हुने वस्तुचाहिं रक्सी हो । एउटा ठुलो कोठामा ओछ्याइएका गुन्द्रीहरुमा मानिसहरु लस्करै बसेर मासु र रक्सी खाँदै गरेका भेटिन्छन् । तास खेल्नेहरुका लागि अलग्गै कोठा छ । शहरका अमीरहरु त यहाँ रक्सी खान कसरी आउँथे र, खाडीमा काम गरेर फर्केका र गाउँमै ज्यालादारी काम गर्नेहरु यहाँका ग्राहकहरु हुन् । भुतपुर्व गरीबले व्यावसाय बढाउने नयाँ तरिका निकालेको छ । घरगोठ वा स्कुल बनाउने कामदारहरुलाई महिनाभर बोलाई बोलाई उधारो रक्सी पिलाउँछ अनि ठेकेदारलाई चाहिं सित्तैमा । महिना मर्दासाथ ठेकेदारले उसको बिल कटाएर मात्र कामदारलाई बचेको पैसा दिन्छ र अर्कोदिन कामदारका श्रीमतीहरु आफ्ना श्रीमान्, ठेकेदार र पसले तीनैजनालाई धारे हात लगाउँदै सराप्छन् अनि दिनभर बाझेर फर्कन्छन् । अर्को दिनदेखि फेरि त्यही क्रम शुरु हुन्छ ।
यो कथा एक व्यक्तिको हो तर माओवादबाट प्रचण्डपथ हुँदै हिसिलापथमा स्खलित भएको एकीकृत भनिने नेकपा माओवादीको कथासँग यसले हुबहु मेल खान्छ । गरीबीबाट माओवादीमा प्रवेश गरेर त्यो पार्टीलाई नेपालमा राजनीतिको केन्द्रमा पुर्याउने मानिसहरुमध्ये सबैजसो गरीबीमै फर्केर अब त्यसबाट पार पाउन धेरै जना खाडीको मरुभुमितिर हानिंदैछन् भनिन्छ । गरीबको राज्य ल्याउने अनि त्यसलाई बिस्तार गरेर विश्वव्यापी बनाएपछि मानव मात्रलाई आदर्श किसिमको जीवन ज्यूने वातावरण मिलाउने विशाल सपना देखेर बन्दुक बोकेकाहरुको मनमा अहिले के गुज्रिरहेको छ, मलाई थाहा छैन । तर त्यो पार्टीको नेतृत्व तहमा रहेर गरीबी मेट्ने सपनासँग रक्सीको व्यावसाय साटेर आफैंलाई धनी बनाउनेहरुको मनोस्थितिचाहिं कस्तो होला भनेर चाहिं लख काट्न सकिन्छ ।
गाउँमा सबै किसिमको व्यावसायलाई राम्रो मानिन्छ जबसम्म त्यसले राम्रै कमाइ दिन्छ । तर एउटा अपवादको रुपमा रहेको हुन्छः भट्टीव्यवसाय र जुवाको खाल । त्यो व्यवसाय गर्नेले त छिटो र ठूलो कमाइ गर्छ तर त्यो एकजनाको प्रगतिका लागि समाजले धेरैजनाको दुर्गति देख्नुपर्छ । त्यसले मानिसलाई निचोर्नुसम्म निचोर्छ, जँड्याहा र जुवाडेका परिवार सबैभन्दा पीडित हुन्छन् । ती न समयमा खान पाउँछन् न त तिनका बच्चा पढ्न स्कुल जान पाउँछन् । समाजमा अरु मानिस ममृद्धिको भर्याङ चढ्दै गर्दा ती परिवारहरुचाहिं उल्टो यात्रा गरिरहेका हुन्छन् ।
त्यसो त अहिलेको सत्तालाई व्यवहारिक रुपमा नियन्त्रण गरेजस्तो देखिने प्रधानमन्त्री पत्नीले अहिलेको सत्तालाई भट्टी बनाइसकिन् भन्ने मेरो आशय हैन । जसको जे प्रभाव वा दाबी भए पनि नङग्रा नभएको बाघजस्ता लाग्ने बाबुरामको सुशासनको मुद्दा तुहिनुमा उनको विकलांग कार्य क्षमताकै प्रमुख दोष हो भन्छन् बुझक्कडहरु । तर साम्यवादको नारा लगाएर कहिल्यै नथाक्ने माओवादी बोरिस यल्तसिनको रुसजस्तो क्रोनी क्यापिटलिजम् भनिने भ्रष्ट प्रकारको व्यवहारिक नीतितिर धकेलिंदै जाँँदा एउटा भट्टीले गाउँलाई पुर्याउने क्षतिभन्दा धेरै गुना क्षति पुगेको छ नेपाललाई ।
त्यसो त हिसिलाले यति करोड वा अरब जम्मा पारिन् वा बाबुरामले देशलाई यति खरब क्षति पुर्याए भन्ने आँकडा मसँग छैन । र त्यो कसैसँग हुने पनि छैन । मरुभुमिमा पानी परेझैं कहिलेकाहीं सक्रियतापुर्वक चोर समात्ने अख्तियार र अदालतले केही राजनीतिज्ञहरुलाई फन्दामा पारेदेखि कुनै पनि नेताले देखिने वा पक्रिने गरी भ्रष्टाचार गरेको मलाई थाहा छैन । त्यसो त अहिले देशका धनाढ्यहरुको सुची बनाउने हो भने कहिल्यै सार्वजनिक पद धारण नगरेका डनहरु माथि आउँछन् भनिन्छ । तिनको अपराध कर्मले राजनीतिज्ञहरुको प्र७नतसय नपाएको भए त्यो अवस्था आउने त थिएन नै, तिनका आपराधिक जनशक्तिको भरथेग नभएको भए राजनीतिज्ञहरुले पनि अहिलेको गतिमा नपक्रिने खालको धन सञ्चय गर्न सक्ने थिएनन् । त्यसैले मानिसको देखिने धन र पक्रिने भ्रष्टाचार हेरेर मात्र तिनलाई मुल्यांकन गर्नु अन्याय हुन जान्छ ।
अब आयो बालुवाटार भट्टीको कुरा । प्रधानमन्त्रीको वा उनकी पत्नीको कार्यालय नै नेपालमा भ्रष्टाचारको केन्द्र बिन्दु भन्ने आशय मेरो हैन, फेरि पनि किन भने नेपालमा भ्रष्टाचार नापिसक्नु छैन । त्यसबाहेक व्यक्तिका रुपमा प्रधानमन्त्रीको जोडीभन्दा पनि सशक्त भ्रष्टताको छवि भएका मानिसहरु अहिलेको सत्तामा छन् । तर अहिलेको राज्यको कार्यकारी प्रमुखको हैसियतले बाबुराम भट्टराइले ती तमाम अनैतिक कार्यहरुको नैतिक जिम्मेवारी लिनैपर्छ । जनताले बुझेको तर तिनले बुझ्छन् भनेर नेताहरुले नबुझिसकेको तथ्य के भने पैसाको प्रत्यक्ष लेनदेन (जसलाई घुस भनिन्छ) मात्र भ्रष्टाचार हैन । हिसिला यमीको आफन्त नभएकै कारण योग्यता र कार्यक्षमतामा अब्बल हुँदाहुँदै पनि जागिर नपाउने मानिसहरुका (त्यस्ता मानिसहरुको संख्या दिनानुदिन बढ्दो छ भनिन्छ) लागि नातावादजस्तो भ्रष्ट कुकृत्य केही लाग्दैन । सार्वजनिक संस्थानहरुलाई आफ्नो पसिनाले सिञ्चेर हुर्काएका मानिसहरुका लागि भ्रष्टाचारको असह्य रुप हुन्छः प्रधानमन्त्री, उनकी पत्नी, सत्ता साझेदार अरु कोही वा तिनका भरौटेहरुको चाकरी गरेर वा तीमध्ये कसैलाई खास मात्राको रकम बुझाएर संस्था नै डुबाउने गरी नयाँ मालिक आएको अवस्था ।
अनि आम मानिसका लागि चाहिं तिनै अदृश्य भ्रष्ट कदमहरुका कारण जब सेवा प्रदायक सरकारी संस्थाहरु थला पर्छन् वा सेवाका लागि पाइलैपिच्छे घुस खुवाउनुपर्छ, निजी संस्थाहरु मनपरी गर्न स्वतन्त्र हुन्छन् र दैनिक जीवन कष्टकर हुन्छ, भ्रष्टाचारले त्यहाँ पिरोल्छ । भट्टी धाइरहने जँड्याहाका छोराछोरी बिचल्लीमा परेर खान र पढ्नबाट वञ्चित भएजस्तै आम मानिस राज्यबाट पाउनुपर्ने सेवा र सुविधाबाट वञ्चित भइरहेका छन् ।
कुनै बेला संसारलाई बदलेर गरीबको राज्य ल्याउने भनेर अरुलाई बन्दुक थमाएकाहरु अहिले गरीबहरुलाई लाखौंको संख्यामा खाडीतिर तस्करी गरेर आफूहरुचाहिं पहिले घृणा गर्ने भनिएका संभ्रान्तहरुको पंक्तिमा उभिनुपछाडिको मनोविज्ञानको उत्खनन गर्नु यो छोटो आलेखमा सम्भव छैन । तर अहिलेलाई मेरो निष्कर्ष के हो भने गाउँ गाउँमा उम्रंदै र फस्टाउँदै गएका भट्टीहरुले जसरी गाउँबाट समाजवादी काँटका आदर्शवादी मुल्य मान्यताहरुलाई विस्थापित गरेर विशुद्ध उपभोक्तावादी संस्कृतिलाई प्रश्रय दिइरहेका छन्, त्यसरी नै बाबुराम भट्टराइको बोलीमा सुशासन र व्यवहारमा कुशासनको नीतिले देशलाई सामान्य अर्थको पुँजीवादी अर्थ व्यवस्थामार्फत् ढिलै भए पनि प्रगति हुने दिशाबाट मोडेर सन् ९० को दशकको रुसमा झैं क्रोनी क्यापिटलिजम्को कहिल्यै प्रगति नहुने दिशातिर धकेलिरहेको मलाई आभास भएको छ । त्यो प्रक्रियाको केन्द्रमा हिसिला यमी भनिने व्यक्ति थिइन् वा थिइनन्, इतिहासले त बताउने नै छ तर अहिले आम स्तरमा कुरा हुँदा शत प्रतिशत मानिसले उनलाई त्यो श्रेय दिने गरेको मेरो अनुभव छ ।
साथमा एमाओवादी भनिने दल हिसिलापथको दलदलबाट निस्किने हो वा हैन, त्यो पनि इतिहासले नै बताउला । तर बाटो बिराएर रसातलमा भट्किएका माओवादीहरुले आफ्नो ऐतिहासिक पृष्ठभुमिको सापेक्षमा अहिलेको अवस्थालाई राखेर हेर्ने हो भने आफ्नो रोग पत्ता लगाउन तिनलाई गाह्रो हुने छैन । हामीजस्ता इतिहास बदल्न वा त्यस्तो नाटक गर्न नसक्ने मानिसहरु, जो छेउमा उभिएर इतिहास पढ्न मात्र सक्छन्, तिनका लागि त सबै कुरा छर्लंग छ । विगतमा पतन वा स्खलनको बाटोबाट गुज्रेका शक्तिहरुको पतन र स्खलनका दस्तावेजहरु पनि हामीसामु हाजिर छन् । एमाले भन्ने दलको दलदलको यात्रा आद्योपान्त उतारेको आहुतिको उपन्यास स्खलन र बहुदलकालमा सामुहिक रुपमा स्खलित भएका राजनीतिक शक्तिहरुको दुरुह कथा उतारेको नारायण ढकालको दुर्भिक्ष दुई त्यस्ता दस्तावेजहरु हुन् । पैसा गन्न वा त्यसको हिसाब गर्नमा रस बसेकाहरुका लागि अब पुस्तक पढ्न त कठिनै होला तर विगतका एक बौद्धिकका हिसाबले कम्तीमा बाबुराम भट्टराइलाई ती पुस्तक पढ्ने मेरो सुझाव छ ।