एमाओवादीको खाओवादतिरको यात्रा र ड्यास माओवादीको हिजोको बन्द र दैलेख घटनाबारेको प्रतिक्रियालाई फराकिलो नजरबाट हेर्न पदम कुँवरलगायत जनयुद्धको बाली हुर्काइसकेर फलचाहिं प्रचण्डका आसेपासे र दलालहरुलाई सुम्पेका मानिसहरुको जीवनले ऐनाको काम गर्छ । केही अनुभुतिहरुः
जनयुद्धको गौरवशाली इतिहासको विरासत थाम्न हिजोको बन्दको आयोजक दलले ऐतिहासिक निर्णय गरेर फेरि एकचोटि जनहितका लागि हतियारै उठाउन परे पनि पछि नहट्ने भन्ने नेताहरुको भाषणबाट बुझिन्छ । उनीहको स्थानबाट हेर्दा त्यस्तो विश्लेषण कति यथार्थपरक छ मलाई थाहा छैन । तर आम मानिसको स्थानबाट हेर्दा त्यो के हो भन्ने कुराचाहिं म छोटकरीमा राख्न चाहन्छु ।
हिजो जनयुद्ध भनिएको सशस्त्र संघर्षका लागि हतियार लिएर आफ्नो ज्यान होमेका मानिसहरुका लागि उनीहरुले गरेको इतिहासको विश्लेषण र लिएको निर्णय कति सत्य र कति मिथ्या थियो भन्ने आँकलन गर्न पदम कुँवर र उनीजस्तै उपेक्षित, परित्यक्त र दिग्भ्रमित पूर्व माओवादी कार्यकर्ताहरुको अवस्था हेर्न सकिन्छ । आम राजनीतिक विश्लेषकहरुका लागि मात्र नभई ऐतिहासिक धरातलमा रहेर दीर्घकालसम्मका लागि नेपालको माओवादी विद्रोह र त्यसको अवतरणसम्बन्धी शोध गर्नका लागि पनि ती युवाहरुको अवस्था उचित हुन्छ ।
त्यसो त अहिले अस्तित्वमा रहेका र नाममा माओवादी जोड्ने कुनै पनि शक्तिको दम्भ, अहंकार, संकीर्णता र ढोंगले यथार्थलाई सही रुपमा बुझ्नबाट उनीहरुलाई रोक्छ, त्यो अर्कै कुरा हो । प्रचण्डलाई झापड हानेकै कारणले हैन कि विगतमा उनीहरुले देखाएका झूटा सपना र इतिहासको आत्मकेन्द्रित विश्लेषणबाट निश्रित अवस्थालाई पृष्ठभुमिबाट सतहमा ल्याएकाले एउटा प्रतिनिधिका रुपमा पदम कुँवरलाई यहाँ चर्चामा ल्याइएको हो ।
उसो त वैद्य नेतृत्वको माओवादीले भन्लाः कुँवरको झापड त एमाओवादीले गरेको गद्दारीका फल हो जसको ड्यास माओवादीले विरोध गर्छ । तर त्यसो भए आज किन हजारौं पदम कुँवरहरु दिग्भ्रमित भएर अरबको मरुभुमिमा जाँदैछन्, उनीहरुको गौरवशाली पार्टीमा आवद्ध हुन छाडेर? फेरि उनीहरुले भन्लान्ः हामीसँग जति पनि नेपाल बन्द गर्न पुग्ने गरी कार्यकर्ताहरु छँदैछन् । तर संक्रमणकालीन भद्रगोल र अराजकता भएको यो देशमा अहिले बन्द गर्न कुनै पनि क्षुद्र स्वार्थ समूहले पालेका दुई दर्जन लठैतहरु नै काफी छन्, कमरेड वैद्यको गौरवशाली पार्टीका त के कुरा ।
थप्पडकाण्ड पछिको सांघातिक हमलामा झण्डै ज्यान गुमाएका कुँवरले एउटा अन्तर्वातामा भनेका रहेछन्ः यति त भइ नै सक्यो ,अब गुमाउन जीवनमा के नै रह्यो र? जसरी पदम कुँवरहरुको जीवनमा गुमाउन केही रहेन, खाओवादीमा परिणत हुँदै गइरहेको एमाओवादीका लागिचाहिं कमाउन बाँकी केही नरहलाजस्तो छ भने हिजोको सशस्त्र युद्धको पीडा बिर्सिनसकेका मानिसहरुलाई अर्को सशस्त्र विद्रोहको अगुल्टोले डाम्दै जाने हो भने वैद्यहरुका लागि पनि छिट्टै गुमाउनका लागि कुनै जनाधार रहने छैन । त्यसो त माक्र्सवादका पोथाहरु यान्त्रिक रुपमा रटान गर्नु र आधा वा एक शताब्दीअगाडिको रुस वा चीनको यथार्थमा घोत्लिनुबाहेक अहिलेको नेपाल र यहाँका नेपालीहरु गुज्रिरहेको अवस्थाबारे कहिल्यै वस्तुगत रुपमा बुझ्ने कोशिस गरेजस्तो लाग्दैन नेपालको कुनै पनि कथित माओवादी पार्टील, कम्तीमा पनि उनीहरुको व्यवहारले त्यो देखाउँछ । हिजो ज्यानै गुमाएका हजारौं नेपालीहरुमात्र हैन, आफन्त गुमाएका लाखौं मानिस र त्यो युद्धका लागि जीवनको उर्वर हिस्सा खर्च गरेका तथा युद्धकै कारण अकल्पनीय कष्ट खपेका मानिसहरुलाई देखाउन अहिले उनीहरुसँग के छ, जसले विश्वास दिलाओस् कि उनीहरुका शब्दहरुको कुनै अर्थ पनि हुन सक्छ?
जनयुद्धकालीन मुद्दाहरुलाई ब्यूँताउने षड्यन्त्र भनेछ हिजोको बन्दकर्ता दलले, कथित दैलेख काण्डलाई । या त कमरेड वैद्यले भन्नुपर्यो सीधा सीधाः पार्टी हेडक्वार्टरको आदेश थियो मुक्तिनाथ अधिकारीलाई रुखमा बाँधेर गोली ठोक्ने र डेकेन्द्र थापालाई ज्यूँदै गाड्ने र चुनौती दिनुपर्योः सक्छौ भने मलाई थुन । सिंगो विश्वसामू गर्जनुपर्यो कि निःशस्त्र मानिसको कत्लेआम गर्ने हाम्रो सिद्धान्त थियो त्यसैले ती आदेश पालकहरुलाई भन्दा मलाई र प्रचण्डलाई कारवाही होस् भनेर । त्यति गर्ने आँट छैन भने भन्नुपर्यो, हिजोको अन्धकारमा कृष्ण सेन इच्छुकहरुलाई यातनापछि गोली ठोक्ने र पचासौं आस्थाका बन्दीलाई गोली ठोकेर शिवपुरीमा गाड्नेहरुलाई दिइने उन्मुक्तिले मुक्तिनाथ र डेकेन्द्रलाई पनि न्याय गर्छ । वैद्यलगायतका नेताहरुले कुरा जति चपाए पनि लोकले बुझेको कुरा त्यही हो र एउटा नेपाल बन्दले आम मानिसबीच उनीहरुको अलोकप्रियतालाई नयाँ उचाइ दिने बाहेक केही गर्ने छैन । उसो त उनीहरुलाई बेरेको कर्मकाण्डीय माओवादको जालोले त्यस्तो यथार्थ देख्नबाट पनि रोक्छ भने त्यो उनीहरुकै समस्या हो ।
संयोगवश भर्खर मैले जर्ज अर्वेलको विख्यात कृति एनिमल फर्म पढिसकें जसमा व्यवस्थाका रुपमा सोभियत संघले जनताको शासनदेखि व्यक्तिको निरंकुश शासनसम्म गरेको यात्रालाई दुरुस्त उतारिएको छ । बिरालो बाँध्ने काइदाको आचार संहिताले यदि रोक्दैन र दशकौंदेखि बोकेको रुढीग्रस्त चिन्तनको कालो चस्माले छेक्दैन भने एकचोटि त्या किताब पढ्ने सुझाव छ वैद्यलगायतका कमरेडहरुलाई मेरो ।
तत्कालका लागि भने ड्यास माओवादीले आफ्नो अस्तित्व जनाउन गरेको बन्ददेखि अपूर्व स्तरमा अर्थ संकलन गर्ने धन्दामा लागेको एमाओवादीले आफ्ना कुकर्मका लागि दिने गरेको रुन्चे सफाइ दुवैले तिनीहरु आ आफ्ना लागि एउटा भ्रमको सिर्जना गर्न सक्लान् तर त्यसभन्दा बढी ऐतिहासिक महत्व कुनैको पनि छैन । जबसम्म तिनीहरु आ आफ्नै कल्पनाको संसारमा उडान भर्न छाडेर पदम कुँवरजस्ता तावाबाट भुंग्रोमा खस्न पुगेका नेपालीहरुको आँखामा आँखा जुधाएर तिनको पीडा बुझ्न सक्दैनन् तबसम्म तिनका बन्द र रोदनका चर्तिकला बढेर जाने निश्चित छ । कालक्रमले निकट भविष्यमा चुनाव भएमा त्यसको परिणामले पनि धेरै कुरा बताउनेछ ।
No comments:
Post a Comment