विगतमा साम्यवादका ती रुपलाई जीवन्त राख्ने क्रममा विभिन्न विम्ब र यान्त्रिकताहरु सिर्जना भए र सार खस्कँदै गएपछि कालान्तरमा तिनै विम्ब र यान्त्रिकता ती व्यवस्थाका परिचय बने । ‘चेयरम्यान माओ’ एउटा विम्ब थियो, जसका पछाडि नेपाल लगायत विश्वभरका माओवादी आन्दोलनहरुमा अकाट्य क्षमताका ‘चेयरम्यान’हरु स्थापित भए । चीनको सांस्कृतिक क्रान्ति त्यस्तै बलियो विम्ब थियो जसको पुजा गर्दै विश्वभर फरक विचारलाई निषेध गर्ने प्रवृत्ति विकास भयो –हेर्नोस् कसरी मुक्तिनाथ अधिकारीको बध गरिएको थियो ।
जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’ पढ्दा पाठक कुनै बेला निश्चित हुन्छः अब मृत्यु आउँछ । रोग र पीडाको वर्णन पढ्दा त्यसको अन्त मृत्यु नै हुने कुरा सबैलाई थाहा हुन्छ । तर चामत्कारिक रुपमा क्यान्सरग्रस्त कोषिकाहरुलाई मारिसकेपछि सद्दे कोषिकाको प्रत्यारोपणबाट ज्यान बचाउने प्रविधिका कारण घिमिरेको ज्यान बौरिन्छ र पाठकले पुरा रुपमा त्यो पुस्तक पढ्न पाउँछ ।
एकताकाको माओवादी र अहिलेको एमाओवादीलाई बचाउन पनि त्यस्तै चामत्कारिक कदमको आवश्यकता भएको आभास मलाई भइरहेको छ । घिमिरेको क्यान्सर एकदिन अचानक प्रकट भएको थियो तर माओवादीको क्यान्सरबारे मानिसले कुरा काटेको धेरै भइसक्यो र अब त त्यो दिनको घामजस्तै छर्लंग भइसकेको छ । एकताका एमाले भन्ने दलको बारेमा पनि त्यस्तै चर्चा हुन्थ्यो, उसलाई गहन उपचारको आवश्यकता महसुसै भएन र अहिले पनि क्यान्सर पालेरै बसेको छ । माओवादीको प्रसंग भने अलि फरक छ ।
माओवादीमा क्यान्सरको कहानी बडो दुखलाग्दो छ । माओवादी आन्दोलनको उठान देशमा फैलिएको असमानता, अन्याय र गरिबीबाट सिर्जित क्यान्सरलाई निको पार्न भनेर भएको थियो । ऊबेलाको क्यान्सर ठिक पार्ने हतियारका रुपमा उनीहरुले चीनमा माओले लिएको ऐतिहासिक हतियार सापट लिए र आफुलाई माओवादी भने । क्यान्सरको उपचार कस्तो हुन्छ भने त्यसले क्यान्सरग्रस्त कोषिकालाई मार्ने क्रममा अरु सामान्य कोषिकाहरुलाई पनि सखाप पार्छ । भयो त्यस्तैः १३,००० मध्ये धेरै गरीब र निर्दोष मानिस मरे, झण्डै ५०,००० मानिसले आफ्ना नातेदार गुमाए, हजारौं मानिस विस्थापित भए ।
जब माओवादी विद्रोह सकियो, पीडा र क्षतिको बीचबाटै पनि मानिसहरुले माओवादीलाई भोट दिएः क्षति र ध्वंश त भइ नै सक्यो अब निर्माण पनि गर्लान् कि भनेर । त्यो किन पनि थियो भने एमाले र काँग्रेसले हिजो बहुदलकालको आफ्नो क्यान्सर निको भएको कुनै प्रमाण दिन सकेका थिएनन् । तर आज वास्तविक जीवनको दुर्दान्त नाटकको एउटा भाग वियोगान्तमा गएर टुंगिएको छः माओवादीले प्रणालीको क्यान्सर ठिक पार्न त परै जाओस्, उनीहरु आफैं क्यान्सरग्रस्त हुन पुगेका छन् ।
एमालेको क्यान्सरभन्दा माओवादीको क्यान्सर धेरै घातक भएको मैले देखेको छु । मदन भण्डारीको वाक्पटुताका कारण उचाइमा पुगेको एमालेले उनको अवसानपछि कहिल्यै देशको राजनीतिमा पहिलो शक्तिको रुपमा भुमिका खेलेन र उसले समाज परिवर्तनका लागि भनेर कहिल्यै माओवादीले झैं चरम ध्वंशको जोखिम लिएन । अवसर खोजीखोजी सत्ता र शक्तिमा वा त्यसको नजिकै बस्न पाए उसका सानातिना आवश्यकताहरु पुरा भइरहे र ऊ आफ्नै संसारमा हराउन पुग्यो । त्यसैले उसको क्यान्सर पनि ऊ आफैंलाई भन्दा अरु कसैका लागि त्यति घातक हुने कुरा भएन ।
उता माओवादी भने २०५६को आम चुनावपछि नै यो वा त्यो रुपमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आएको छ र त्यो क्रममा अधिकांश नेपालीको जीवनमा कुनै न कुनै हदसम्म असर पारेको छ । त्यसले सबैजसो नेपालीका लागि ‘माओवादी’ भन्ने विम्बको सिर्जना गरेको छ र माथि उल्लेखित क्यान्सरका कारण त्यो विम्ब निरन्तर धमिलिंदै गएको छ । त्यो क्यान्सरको निदान सही नभएसम्म उपचार असम्भव भएकाले त्यसको प्रकृतिबारे छोटो चर्चा यहाँ गरिन्छ ।
माओवादीले ‘जनयुद्ध’ शुरु गर्दा चीनमा खास साम्यवादको अन्त र राज्य नियन्त्रित पुँजीवादको पुनरोदय भएको दुई दशक बितिसकेको थियो भने सोभियत साम्यवादको त विस्फोटक अन्त भएको नै ५ वर्ष बितिसकेको थियो । पुरा विश्व नै पुँजीवादको उत्कर्षतिर यात्रारत थियो । चीन र रुसको साम्यवादको तितो अनुभव के थियो भने लाखौं वा करोडौं मानिसको बलबुतामै आएको भए पनि कम्युनिष्ट पार्टीको नेतृत्व सत्ता र शक्तिको उत्कर्षमा पुगेपछि छिट्टै इतिहासका अन्य कुरुप तानाशाहहरुजस्तै वास्तविकताभन्दा परको आत्मपुजाको संसारमा हराउन पुग्यो । शक्तिको केन्द्रीकरण र जवाफदेहीताको अभावका कारण उहिलेका राजा महाराजाहरुजस्तै स्टालिन र माओले पनि आफैंलाई मानव जातिको सर्वोच्च एकाइ ठान्न थाले ।
कतिसम्म भने दशकौंको आत्मकेन्द्रित शासनबाट खोक्रो भइसकेको सोभियत संघ ढल्नुभन्दा ६, ७ वर्षअघिसम्म निस्केका पुस्तकमा समेत साम्यवादको अपराजेयता र पुँजीवादको क्षणभंगुरतालाई शाश्वत सत्यका रुपमा वर्णन गरिएको छ । यसरी चीन र रुस दुवैमा शुरुदेखि नै साम्यवादी व्यवस्थाको सारचाहिं सर्वहाराको अधिनायकवादबाट व्यक्तिको अधिनायकवादमा पतित र स्खलित हुन पुग्यो भने रुपलाई चाहिं उनीहरुले आदर्श साम्यवादी व्यवस्थाको रुपमा कायम राख्ने निरर्थक प्रयास गरे ।
विगतमा साम्यवादका ती रुपलाई जीवन्त राख्ने क्रममा विभिन्न विम्ब र यान्त्रिकताहरु सिर्जना भए र सार खस्कँदै गएपछि कालान्तरमा तिनै विम्ब र यान्त्रिकता ती व्यवस्थाका परिचय बने । ‘चेयरम्यान माओ’ एउटा विम्ब थियो, जसका पछाडि नेपाल लगायत विश्वभरका माओवादी आन्दोलनहरुमा अकाट्य क्षमताका ‘चेयरम्यान’हरु स्थापित भए । चीनको सांस्कृतिक क्रान्ति त्यस्तै बलियो विम्ब थियो जसको पुजा गर्दै विश्वभर फरक विचारलाई निषेध गर्ने प्रवृत्ति विकास भयो –हेर्नोस् कसरी मुक्तिनाथ अधिकारीको बध गरिएको थियो ।
पुँजीवाद न्यायप्रद व्यवस्था होइन र यो प्रचार गरिएझैं प्रजातन्त्रको पर्यायवाची त हुँदै होइन । तर पुँजीवादी विश्वलाई नेतृत्व दिनेहरुचाहिं साम्यवादीहरुझैं आत्मकेन्द्रित भएनन् र तिनले आफुबाहिरको विशाल संसारलाई हेरे र त्यसको प्रकृतिअनुरुप आफुलाई ढाल्दै गए, जो सकेन उसले अर्को सक्षम मानिसलाई ठाउँ दियो । संचार माध्यमलाई प्रत्यक्ष राज्यको नियन्त्रण हैन कि परोक्ष रुपमा बजारको नियन्त्रणमा छाडिदियो । कानुन र जवाफदेहीताबाट पर रहने कम्पनी र कर्पोरेशनहरु बढ्दै गए पनि त्यस्तो व्यक्तिचाहिं कम्तीमा देखिने गरी कोही रहेन । समग्र रुपमा पुँजीवादी प्रणाली यी सबै कारणले आफुभित्रका अन्तर्विरोधहरुका बाबजुद पनि गतिशील हुन पुग्यो र मौलाउँदै गयो ।
यसै पृष्ठभुमिमा नेपाली माओवादी आन्दोलन विगतका साम्यवादी आन्दोलनका खोक्रा यान्त्रिकता र विम्बको शिकार त भएको थियो नै ०६२–०६३ यताको संक्रमणले तिनलाई त्यागेर पुँजीवादी व्यवस्थामा केही मात्रामा भए पनि नभइ नहुने जवाफदेहीता (Accountability) को विकास हुन सकेन । माओपछिको चीनमा रुपको साम्यवादी व्यवस्था नै कायम भए पनि तीन जनाको कार्यकाल सकिएर चौथो मानिस नेतृत्वमा पुग्नै लागेको अवस्था छ भने नेपालमा चाहिं ‘चेयरम्यान माओ’ भनेझैं ‘चेयरम्यान प्रचण्ड’को विकल्प खोज्ने प्रयासै भएन, बरु अब ‘चेयरम्यान वैद्य’को अर्को रडाको शुरु हुने छाँटकाँट छ ।
आजको विश्व हिजोको जस्तो रहेन । विश्वव्यापीकरण र भुमण्डलीकरणका कारण जुन देश अरुसंग कदम मिलाएर हिंड्न जान्दैन, त्यो पछि पर्छ वा हराएरै जान्छ । राजनीतिक शक्तिहरुमा पनि जो विश्व परिदृश्यको निरपेक्ष चल्न खोज्छ, त्यो खिइंदै जान्छ । त्यसैले आजको क्यान्सरग्रस्त माओवादीका सामु दुई विकल्प छन्, दुवै कष्टकर र अप्रिय । एक, हिजोका विम्ब र यान्त्रिकता लाई पुनर्जीवित पार्न खोज्दै विना जवाफदेहीताको एकल यात्रामा लागेर खिइंदै जाने । दोस्रो, ल्याटिन अमेरिकाका वामपन्थीहरुजस्तै पुँजीवादी प्रजातन्त्रभित्रै बढी जवाफदेहीताका साथ जनपक्षीय नीति र कार्यक्रमका साथ अरु पुँजीवादी शक्तिहरुसित प्रतिस्पर्धा गर्ने र दीर्घकालको कष्टप्रद बाटोबाट आफुलाई स्थापित गर्ने ।
आफुभित्रै जवाफदेहीताको विकास गर्न जति ढिलो गर्छ, माओवादीभित्रको क्यान्सर त्यति फैलिंदै जाने निश्चित छ । हिजो नयाँ निर्माणका लागि ध्वंश भनेर भौतिक सम्पत्ति ध्वस्त पार्दै हिंडेका मानिसहरुले आज आफ्नो पार्टीकै बारेमा त्यसरी सोच्नुपर्ने अवस्था आएको छ । टालटुले समाधान खोजेर एमालेपथमा लाग्न पनि अब सम्भव छैन किनकि देशमा एउटा रोगी एमाले पहिले नै विद्यमान् छ ।
‘चेयरम्यान प्रचण्ड’ भन्ने विम्ब तोडिएको दिन धेरै मानिसले त्यसलाई माओवादी चकनाचुर भएको देख्लान् तर त्यो वास्तवमा माओवादीको कष्टप्रद तर नवीन र जनमुखी यात्राको शुरुवात हुनेछ । त्यसो नभएसम्म असली रुपमा माओवादीको रुपान्तरण असम्भव छ । त्यो किन भने त्यही विम्बले नै प्रचण्डको महल यात्रा र प्रचण्डपुत्रको रछ्यानयात्रा सम्भव बनाएको हो । पुरानोलाई नष्ट गरेर नयाँलाई जन्माउने काम कति कष्टप्रद हुन्छ, जगदीश घिमिरेलाई सोध्नुः अहिले घिमिरेको रगतमा स्वस्थ कोषिकाहरु दौडिरहेका छन् । उपचारको कष्टसाध्य क्षण पार गरेरै यो अवस्था सम्भव भएको हो ।
1 comment:
शक्तिको केन्द्रीकरण र जवाफदेहीताको अभावका कारण उहिलेका राजा महाराजाहरुजस्तै स्टालिन र माओले पनि आफैंलाई मानव जातिको सर्वोच्च एकाइ ठान्न थाले ।
what is its theme?
Post a Comment