कुनै बेला थियो, राजा ज्ञानेन्द्रले हार्दै गरेको युद्ध जित्नका लागि भनेर अन्तिम अस्त्र प्रयोग गरेका थिए, सेन्सरशीपबाट मानिसलाई यो गर र त्यो नगर भनेर । नतिजा उल्टो भयो, उनको शासन नै छिटटै ढल्यो र मानिसुहरुले उनको अदुरदर्शीतालाई कुरी कुरी गरे ।
नव गठित माओवादीको पछिल्लो स्टन्टको समाचार सुनेपछि ज्ञानेन्द्रका ती कदमहरुको याद आयो । त्यो दलका विद्यार्थीले स्कुलका बस फोड्दा मैले मनमनै टिप्पणी गरेको थिएँ: निर्धाको हात छिटो चल्छ भन्थे...... । अहिलेको नयाँ छलाङपछि तिनीहरुलाई के भन्नुपर्ने हो, मलाई थाहा छैन ।
नेपाल–भारत सम्बन्धको प्रकृतिप्रति चित्त नबुझाउने मानिसको नेपालमा कमी छैन । त्यसरी नै बलिउड सँस्कृतिले नेपालमा पारेको प्रभावबाट बेखुश मानिसहरुको पनि अभाव छैन । तर चित्त नबुझ्नु एउटा कुरा हो र त्यो अवस्थालाई परिवर्तन गर्न लाग्नु अर्कै कुरा हो । आफुलाई चित्त नबुझेको कुरालाई निषेध गर्नुचाहिं कुनै कुरै हैन, अति राम्रो भएमा मुर्खता हो र नराम्रो भएमा आफ्नो खुट्टामा बञ्चरो हान्ने काम हो ।
त्यो कसरी भने अहिलेको युगमा मानिसलाई तँ यसो गर् र यसो नगर् भन्ने कुनै निकाय नै छैन । दंगा र हिंसा फैलाउने गतिविधिविरुद्ध राज्यले लगाउने रोकबाहेक अरु कुनै पनि किसिमको प्रतिबन्धले त्यसको लक्ष्यभन्दा ठिक उल्टो नतिजा व्यहोर्नुपर्ने अवस्था छ, खासगरी पुस्तक र चलचित्र वा वृत्तचित्रजस्ता सामाग्रीको प्रसंगमा ।
हिजो पुँजीवादी विश्वलाई कडा टकराव दिएको साम्यवादी विश्वको कटु पराजयको एउटा कारण नै त्यहाँका शासकहरुको प्रतिबन्धको सँस्कृति थियो जसमा फरक मत राख्नु नै अपराध बन्न पुग्थ्यो । हुन त जब मानिसहरु स्टालिन र माओले यति लाख मानिस मारे भनेर उद्धृत गर्छन्, कर्मकाण्डीय साम्यवादीहरु त्यस्ता मानिसको मानसिक अवस्थामा शंका गर्न पुग्छन् किनकि तिनलाई विश्वासै हुँदैन कि देवतुल्य बनाएर पुजेका तिनका आस्थाका केन्द्रले कहिल्यै त्यस्तो गरेका हुन सक्छन् । जति स्वीकार्छन्, त्यतिलाई क्रान्तिविरोधी र जनविरोधी मानिसहरुका उचित सफायाको रुपमा पुष्टि गर्न खोज्छन् । त्यसको प्रमुख कारण के भने आजका धेरै कर्मकाण्डीय साम्यवादीहरुले हिजोको साम्यवादी व्यवस्थाको गुण र दोषसहितको सार भन्दा पनि त्यसको यान्त्रिक रुपमा धेरै ध्यान दिएको पाइन्छ । जसले गर्दा त्यो व्यवस्थामा विद्यमान् फरक मतको निषेधजस्ता आत्मघाती प्रवृत्तिहरुबारे त्यस्ता दलका बुद्धिजीवीहरुमा समेत छर्लंग धारण भएको पाइँदैन । हिजोको साम्यवाद कस्ता गल्तीका कारण किन ढल्यो भन्नेसम्म वस्तुगत विष्लेषण नगरी आज क्रान्ति सम्पन्न गर्न हिंडेपछि हिजोका सबै गलत कुराहरु पनि सही लाग्ने अवस्था त आउने नै भयो ।
उसो त इतिहासमा गल्ती र अपराध जति कम्युनिष्टहरुको र पुण्य कर्मजति पुँजीवादीहरुको भनेर अलापिरहनेप्रति मेरो गम्भीर विमति छ । रुस र चीनजस्ता भीमकाय राष्ट्रहरुमा साम्यवादको उत्थानको पृष्ठभुमिमा रहेका तमाम शोषण र पिछडापनलाई बिर्सेर त्यहाँका व्यवस्थालाई मुल्यांकन गर्न पनि सकिंदैन । तर ती व्यवस्थाले फरक मतको निषेध, प्रतिबन्ध र दमनको जुन चक्रको बलमा शासन टिकाउन खोजे, ती माध्यमको सफलता क्षणभंगुर मात्र थियो भनेर बुझ्न अहिलेको पुस्ताको लागि कुनै कठिनाइ छैन, सार्थक सिकाइको प्रयास गर्ने हो भने । करोडौं मानिसको बलमा स्थापित भएर पनि कसरी त्यहाँका साम्यवादी व्यवस्था सारा शक्ति जति एक व्यक्तिको हातमा केन्द्रित हुने गरी स्खलित हुँदै जाँदा अरु तानाशाही व्यवस्थाजस्तै हुन पुगे र तिनको अन्त अवश्यम्भावी भयो भन्ने बुझ्न पनि गा¥हो छैन ।
नेपालका ड्यास माओवादीका कुरा गर्दा तिनको अबको बाटो के हो, जनता छर्लंग भइसकेका छैनन्, उनीहरु आफैंमा कति अन्योल छ उनीहरु नै जानुन् । तर तिनको व्यवहारले चाहिं अन्योल र पराजयको मानसिकताले काम गरेको देखिन्छ । निर्धाले हात पहिले किन छाड्छ भने उसलाई आफ्नो प्रतिद्वन्दीको तागत कति छ थाहै हुँदैन । खास उनीहरुको अहिलेको प्रतिद्वन्दी न त भारत हो, न त उनीहरुले भनेझैं भारतपरस्त भनिएको अहिलेको नेपाल सरकार न त अमेरिका नै । आफ्ना भाषण र शब्दमा विश्वास गर्छन् भने उनीहरुको सबैभन्दा ठुलो वैरी भनेको आम मानिसको माानसिकता र व्यवहारलाई खास आकार दिन पुँजीवादको आधुनिक रुप बजार अर्थतन्त्रले खेलेको भुमिका हो । तिनको सफलता यदि सम्भव छ भने त्यसको एक मात्र माध्यम भनेको आम मानिसको मानसिकतामा त्यस्तो परिवर्तन ल्याउनु हो जसका कारण मानिसमा उपभोग्य वस्तु (उदाहरणका लागि हिन्दी संगीत, चलचित्र र भौतिक उत्पादनहरु)को खपत प्रति नै वितृष्णा छाओस् ।
विडम्बना के छ भने, मानिसहरुले जे नगरुन् भन्ने छ, आफुले सम्म त्यस्ता व्यवहारबाट अछुत रहने क्षमता छैन, अनि मुल्लाहहरुले फतवा जारी गरेझैं अरुलाई चाहिं यसो गर र यसो नगर भन्यो । ड्यास माओवादी दल जन्मेको यति छिटो धर्मराउला र कर्ममा उतार्न नसकिने वचनवाणहरु छाडेर यसरी संकट निम्त्याउला भन्ने धेरैलाई शुरुमा लागेको हैन । आफ्नो कर्म गरेर देखाउने क्षमतामा तिनलाई कति विश्वास छ, आगामी दिनले देखाउने नै छन् । तर तिनको शुरुवात यति कमजोर र अदुरदर्शी होला भन्न किन पनि गा¥हो थियो भने संसार नै बदल्ने कसम खाएर र ख्वाएर लडिएको हिजोको जनयुद्धका मुल पात्र लडाकुहरुले भोगेको नियति अझ आलै छ ।
भारत निषेधको हुइयाँपछि त तिनको कर्म र व्यवहार मात्र हैन, सोच पद्धति, परिस्थितिको आँकलन र रणनीति चयनमै गम्भीर कमजोरी, अदुरदर्शीता र संकीर्णता दृष्टि गोचर हुन्छ जसले ऐतिहासिक स्केलमा पार्टीको रुपमा ड्यास माओवादीलाई धेरै पर पु¥याउने स्थिति म देख्दिन । आशा गरौं कसैले यस्तो आलोचनाले भरिएको विश्लेषण नगरोस् भनेर भोलि अर्को फतवा जारी गर्ने धृष्टता नगरुन् ।
No comments:
Post a Comment