शुरुमा लामो सास फेर्न मन लाग्छ, फेर्यो । अबचाहिं सामान्य श्वासप्रश्वास गर्नुपर्छ भन्ने मनमा लाग्छ तर त्यसपछि अर्को सास पनि आफैं लामो भइदिन्छ, अझ अर्को पनि लामो । एकै छिनमा बिरामी वा असाध्य थाकेको मानिस झैं स्वाँस्वाँ हुन पुग्छ, सास नपुगे नपुगेजस्तो लाग्छ । स्वासको रफ्तार बढेसँगै आत्मविश्वासको पारो ह्वात्तै ओर्लन्छ ।
मुस्ताङपट्टि थोराङ फेदीको दुई सय मिटर पनि कटेको थिएन । यस्तो समस्या आइलागेपछि म हतोत्साहित भएँ । घरबाट निस्केका छ जनामध्ये तीन जनाको टोली एकैछिन अघि माथि जान नसक्ने निश्कर्षसहित फर्किसकेको थियो भने बाँकी दुई जना माथि निकै अगाडि पुगिसकेका थिए । यार्सा टिप्न हिंडेका एक दाइले घोडालाई झोला बोकाइदिएर उद्धार गरिदिएका थिए तर त्यो अघिल्लो बिसौनीसम्म मात्र थियो । त्यहाँबाट उनी अर्कैतिर लाग्थे र हामीले आफ्ना झोला आफैं बोक्नु पर्ने थियो ।
झोला नबोक्दा यो चाल छ, बोकेपछि के हुने होला भन्दै मनमा निराशाको भाव प्रवाह भयो । मुक्तिनाथबाट बिहान निस्केर छड्के छड्के पाराको पहिलो ४०० मिटर उचाइ सजिलै पार गरिएको थियो तर त्यसपछिको २०० मिटर उक्लन यसरी महाभारत भइरहेको थियो । बिसौनीमा पुगेपछि झोला बोकेर अझ १२०० मिटर उक्लन बाँकी नै थियो, थोराङ पार गर्ने हो भने ।
योपल्ट पनि फर्कने हो भने थोराङ पार गर्ने दोस्रो असफल प्रयास हुने थियो मेरा लागि । ठिक दुई वर्ष अघि मनाङतिरबाट पार गर्न खोज्दा खाङसार भन्ने ठाउँमा पुग्दा घरमा आमा बिरामी भएको खबर आएपछि त्यहींबाट फर्केका थियौं । त्यसैले मन जसरी पनि पारी जान चाहन्थ्यो भने शरीर त्यहींबाट फर्कन । यो द्वन्द्व निकै बेर चलि नै रह्यो ।
त्यो कठिनाइ ‘लेक लागेका’ कारण हैन भन्नेमा म विश्वस्त थिएँ, पहिले ४००० मिटर भन्दा माथि नपुगेको भए पनि त्यति बुझ्न मलाई कठिन थिएन । लेक लाग्ने समस्याभित्रको विज्ञान बुझेका कारण पनि मलाई सजिलो भएको थियो । खाली मेरो शरीरले उकालो चढाइका लागि ऊर्जा निकाल्न सकिरहेको थिएन । कारण यथेष्ट थिएः यात्राभन्दा धेरै दिन अघिदेखि बसाइ नमिलेर ढाड दुख्ने समस्या आइलागेको थियो । चितवनबाट निस्कने बेला म हल न चलजस्तै थिएँ, झोला बोक्न नसकेर साथी र रिक्साको सहयोग लिनुपरेको थियो । त्यसका लागि नियमित जस्तै खाइराखेको एउटा औषधिले मांसपेशीको कामलाई अवरुद्ध गरेर पीडा कम गथ्र्यो । त्यसमाथि गहिरो निद्रा नसुतेको तेस्रो वा चौथो रात भइसकेको थियो, अघिल्लो रात मुस्किलले ४ घण्टा निद्रा परेको थियो । यसै पनि अनिदो एक किसिमको गम्भीर समस्या हो, त्यसमाथि पहिले कहिल्यै नपुगेको उचाइमा हिंडिरहन शरीर बाध्य थियो ।
पहिले कहिल्यै अनुभव नगरेको कठिनाइसहित अगाडिको बिसौनीमा पुगियो । मेरो लक्षण देखेर घोडावाला दाइले भनेः यो पाराले तपाइँहरु थोराङ क्रस गर्न सक्दैन, यतैबाट फर्के हुन्छ । टोलीका बाँकी २ सदस्यको राय पनि त्यस्तै थियो । उनीहरुको आफ्नै हालत पनि धेरै फरक थिएन । त्यहाँ आराम गर्दा ताप्लेजुङबाट द ग्रेट हिमालयन ट्रेलको पूर्वी आधा भाग पार गरेर ९० दिनमा त्यहाँ आइपुगेका एक विदेशी पर्यटक र उनका नेपाली गाइडसित भेट भयो । गाइडले सल्लाह दिएः यहाँभन्दा माथि लाग्ने हो भने थोराङ पार गर्ने निश्चित भएर मात्र लाग्नुस्, हैन भने यतैबाट फर्के हुन्छ । अरु पदयात्री पर्यटकहरु पनि आए, भेट भयो र मन भुल्यो । आधा घण्टा भुलेपछि निर्णय गर्नुपर्ने बेला आयो ।
पातलिंदो अक्सिजनबीच झोलाहरु झन् गह्रौं लाग्दै थिए । मैले अघि बढ्ने दृढता देखाएपछि हाम्रो टोली उकालो लाग्यो । झोला बोके पनि अब पाइला अलि राम्ररी सर्दै थिए । कारणः ज्यानलाई झुक्याउने उपाय मैले फेला पारेको थिएँ । बिसौनीमा पुग्ने बेला मैले के आविष्कार गरेका थिएँ भने शरीरका बल प्रयोग गर्ने हातखुट्टाजस्ता भागहरुलाई नियन्त्रण गर्ने दिमागी हिस्सामाथि सोचविचार गर्ने बौद्धिक हिस्साहरुमार्फत् अलिकति नियन्त्रण गर्न सम्भव हुन्छ । अर्थात्, शरीर थाकेर लखतरान भयो भने दिमागको एउटा हिस्साले हिंडाइलगायतका गतिविधिलाई निषेध गरेर शरीरलाई आरामको प्रबन्ध गर्छ, तर बौद्धिक हिस्साले त्यस खालको नियन्त्रणलाई प्रभावित गरेर थाके पनि शरीरलाई एकनास हिंडाइराख्न सम्भव हुन्छ ।
यसै उभिंदासमेत स्वाँस्वाँ हुने अवस्थामा पुगेको मैले दाइसित समसामयिक सामाजिक र राष्ट्रिय विषयहरुमा भावपूर्ण कुराहरु गरिरहँदा चाहिं उकालोमा पाइला चाल्न समेत सम्भव भएको थियो । बिसौनी कटेपछि यो रणनीतिको पूरा उपयोग गर्दै बोल्दा स्वाँस्वाँ थपिने भए पनि म एकोहोरो बोलिरहें । यसो गर्दा उक्लिन सम्भव भएको कुरा पनि उहाँलाई भनें ।
झण्डै अरु १०० मिटर उक्लेपछि म लयमा फर्किसकेको थिएँ र आत्मविश्वास फेरि जगाएको थिएँ तर दाइले लत्तो छाड्नुभयो । अघि मेरो लक्षण मात्र हेरेर बाँकी सदस्यले फर्कौं भनेका थिए, मैले केही भनेको थिइनँ भने अब त उहाँ आफैंले मुख फोरेर फर्कौं भन्न थाल्नुभयो । यात्राको सबैभन्दा सम्वेदनशील क्षण यही थियोः यहाँबाट माथि लागेपछि पछि फर्कनुपर्ने सम्भावना कम हुँदै जान्थ्यो भने पछि फक्र्यो भने फेरि थोराङ पार गर्ने अर्को अवसर कुन युगपछि आउने हो पत्तो थिएन । स्वासप्रश्वास र मुटु दुवैको गति तीव्र भएकाले उहाँ आत्तिनुभएको थियो । पातलो अक्सिजनमा अरु ११०० मिटर उक्लन बाँकी थियोः मोबाइलको अल्टिमिटर जति हेरे पनि नहिंडेसम्म उचाइ कम हुँदैनथ्यो ।
मैले आविष्कार गरेको उपाय, त्यसको वैज्ञानिक व्याख्या र लेक लाग्ने समस्याको ‘फिजियोलोजी’ बताएर उहाँको ध्यान अन्यत्रै मोडें । फोनमा भिडियो हेर्न लगाएँ । उहाँको समस्या पनि लेक लागेको वा ‘अल्टिच्युड सिक्नेस’ नभई शरीरको थकान मात्र भएको मेरो मुल्यांकन थियो, जुन पछि सही पनि ठहरियो । सबैले ग्लुकोज पानी पियौं र ऊर्जा बटुल्न सम्भव सबै उपाय अपनाइयो । त्यहीं बस्दा एउटा महत्वपूर्ण फोन आयो र कुरा भयो, त्यसको केही क्षणपछि चाहिं फोनले टावर टिप्न पनि छाड्यो ।
दाइको मनोबलमा अझै अपेक्षित सुधार नदेखेपछि मैले अन्तिम अस्त्र प्रयोग गर्दै एउटा पानीको बोतल र क्यामेरा उहाँको झोलाबाट मेरोमा सारेर अघि बढ्ने प्रस्ताव राखें । यात्राको शुरुदेखि नै मेरो ढाड दुखाइका कारण मेरो झोला सबैभन्दा हल्का थियो । अब तीनै जनाका झोलाहरु वजनका हिसाबले तुलनायोग्य भइसकेका थिए । झोला अलि हल्का हुनेसमेत देखेपछि दाइले अघि बढ्न तयार हुनुभयो, तेस्रो सदस्य दीपक साविकझैं प्रतिक्रियाविहीन रुपमा लुरुलुरु हिंडिहाल्यो । यसरी यात्राको दोस्रो निर्णायक क्षणमा पनि हामी अघि बढ्न सफल भयौं ।
त्यसपछिको एकनास उकालोमा मैले बोलेर शरीरलाई झुक्याउने रणनीति अलिबेर कायम राखें । प्रत्युत्तर केही नआए पनि कहिले यो त कहिले त्यो विषयमा बोलिरहें । स्वाँस्वाँ भए पनि त्यो पहिले झैं अनियन्त्रित र अत्याउने खालको थिएन । सर्लक्क हिउँको बाक्लो पत्रले ढाकिएका सुन्दर हिमालहरु हातले छोउँलाझैं नजिक आउँदै जाँदा यात्रा अझ रौनकपूर्ण हुन थाल्यो । अब हिमरेखा आउन धेरैबेर थिएन र बाटो पनि फेदीनेर झैं ठाड्डै नभएर अलि छड्के किसिमको थियो । खानेकुरा र ग्लुकोज पानी घटाउँदै यात्रा जारी रह्यो ।
तर मैले ज्यानलाई झुक्याउने पनि सीमा थियो । यात्रा शुरु भएयता ढाड दुख्नेलगायतका समस्याका लागि ४ थरी औषधि खाइरहेको थिएँ । त्यसमाथि अघिल्लो दिन मुक्तिनाथमा मुक्तिका आशले १०८ धारा नुहाएपछि टनटनी टाउको दुख्न थालेको थियो । त्यो दुखाइ यति चर्को भएको थियो कि त्यसका कारण ढाडको दुखाइ महसुस हुनै छाडेको थियो, सोचेंः टाउको दुखेको पनि कुनै फाइदा त छ ।
शायद रातिको अनिदोका कारण पनि हो क्यार, बिहानैदेखि असामान्य रुपमा दुखिरहेको टाउको अहिले उचाइ बढेसँगै फेरि टन्किन थालेको थियो । झोला थप गह्रौं भएका कारण शरीरलाई अझ मर्का परेको थियो । एउटा मनोबल सिवाय चारैतिर प्रतिकुलता नै प्रतिकुलता थिए ।
दाइले अघिको संकटबाट पार पाइसक्नुभएको थियो भने दीपकले कहिल्यै हामीले झैं समस्या प्रकट नै गरेन । अब क्रमशः दुई जना फेरि अघि बढ्न थाले भने म लत्रिन थालें । एक्लै भएपछि बोल्ने कुरा पनि भएन । जिन्दगीका अरु सबै कठिन काम झैं यो काम पनि निरस र पट्यारलाग्दो अनुभुत हुन थाल्यो, कम्तीमा भोग्ने बेला । पछि गएर यही समय सम्झँदा आनन्द आउनेछ भन्ने भरोसा र थोराङ काट्ने उत्कट लालसा नभइदिएको भए फरक्क फर्केर ओरालो लागिदिऊँ जस्तो ।
उकालोको अन्तिम ४०० मिटर उचाइतिर त यस्तो हुन थाल्योः ४ पाइला हिंडाइ, केही सेकेण्ड आराम । २० देखि ५० मिटर उचाइपछि झोला फालेर त्यसैलाई सिरानी हालेर पल्टिने । सुत्दा इन्तु न चिन्तु भएजस्तो, न कुरा गर्नु न फोटो खिच्नु । तीनै जनाको शरीर दिमागको आदेश पालन गर्न अस्वीकार गर्ने गर्ने अवस्थामा पुग्न लागेको महसुस भइरहेको थियो । पछि पत्ता लाग्यो तीनै जनाको मनस्थिति पनि उस्तै थियो, होशमा पनि, कता कता होश हराउला कि जस्तो पनि ।
हिंडेपछि चाहिं बाँकी दुई जना अघि अघि, म पछि पछि हुने क्रम जारी रह्यो । अन्ततिर अति भएर मैले घुक्र्याएँः अब म पछि छुटें भने टुप्पोमा पुगेर झोला राखेर एक जना मेरो झोला लिन आउनु । यसबाट दुई जना साथी यति तर्से कि मलाई पछि छाड्ने आँट गरेनन् र कछुवाको गतिमा हामी अघि बढिरह्यौं । बेला बेला म गफ गरेर शरीर झुक्याउने रणनीति दोहोर्याउन चाहन्थें तर अब बोल्ने र सुन्ने दुवै शक्ति क्षीण हुँदै गइरहेको थियो ।
यात्रा शुरु गरेको ११ घण्टापछि दिनको ४ बजेतिर बल्ल अगाडि क्षितिजमा ध्वजा पताका फर्फराएको देखियो, थोराङ घाँटी त्यही होला भनेर अनुमान लगाइयो । तीनै जनाका शरीर एकाएक सर्सेजस्ता भए । उत्तेजनामा निस्कने ‘एड्रिनालिन’ नामक हर्मोनको अर्को एउटा झोक्काको भरमा सकी नसकी त्यहाँ पुग्यौं । त्यही थियो धौलागिरी र अन्नपुर्ण हिमश्रृंखलाबीचको बहुचर्चित हिमालयन घाँटी थोराङ–ला ।
थोराङ–लाको बोर्ड देख्नासाथ तीनै जनाका ज्यान बौरिए । भाग्यवश मौसम सफा थियो, दुवैतिर स्निग्ध र शालीन हिमालहरु थिए । ससानो गुम्बाजस्तो संरचनाको वरपर रंगीचंगी पताकाहरु हावामा फर्फराइरहेका थिए । खुशी र रोमाञ्चको सीमा रहेनः हाम्रा लागि त्यो सगरमाथा चढ्नुजस्तै थियो । माथिल्लो मुस्ताङतिर बरालिने भनेर घरबाट निस्केका हामी अचानक बाटोमै योजना बदलेर थोराङ घाँटी पुग्न सफल भएका थियौं र अब मनाङ झरेर तिलिचो ताल जानेसमेत बाटो खुलेको थियो । जबकि बाटोबाट फर्कनु परेको भए लुरुलुरु मुक्तिनाथ पुगेर गाडी चढेर बेनी हुँदै निरस यात्रा गर्नुपर्ने थियो । एक अर्थमा यो सफलता हाम्रा लागि फुटबलमा पहिले गोल खाएर पनि अन्ततः खेल जितेको टिमको सफलताजस्तै थियो ।
सबैभन्दा बढी त त्यो हाम्रा लखतरान परेका शरीरहरुमाथि उच्च मनोबलको जित भएको क्षण थियो ।
...
थोराङ–ला पार गर्न मनाङ हुँदै जानु उत्तम मानिन्छ किनकि त्यतापट्टिको हाइक्याम्प ४८८० मिटरको उचाइमा छ र त्यहाँ बास बसेर एक दिनमा चानचुन ५५० मिटर मात्र उक्ल्यो भने त्यहाँ पुग्न सकिन्छ । त्यसो गर्दा शरीर ‘एक्लिमेटाइज’ हुने राम्रो अवसर पाउँछ । बिहानमा त्यति उक्लेपछि दिनभर आरामले ओरालो झर्न सकिन्छ ।
तर मुस्ताङ पट्टिबाट चढ्दाचाहिं मुक्तिनाथबाट शुरु गर्यो भने दिनमा १८०० मिटर जति र फेदीबाट चढ्यो भने १४०० मिटर जति चढेर अर्कोपट्टि ५५० मिटर नझरेसम्म वासको व्यवस्था छैन, कम्तीमा अहिलेसम्म । त्यसैले १ दिनमा त्यति धेरै उचाइ उक्लिने सल्लाह कसैले नदिने रहेछन्, खास गरी अनुभव नहुनेहरुका लागि । त्यो रुटका पर्यटकहरुमध्ये झण्डै ९८ प्रतिशत मनाङतिरबाट चढ्ने गरेका भनेर मुक्तिनाथको होटलवाला भाइले हामीलाई बताएका थिए ।
...
यात्राका लागि म नारायणगढबाट नारायणीलाई पछ्याउँदै मुग्लिनसम्म पुगेको थिएँ, त्यहाँबाट डुम्रेसम्म मस्र्याङदी पछ्याउँदै । त्यसपछि कुश्मा पुगेपछि नारायणीको एउटा स्रोत कालीगण्डकीसित भेट भएको थियो । त्यहाँबाट कागवेनी पुगेपछि कालीगण्डकीको मुख्य भँगालो छाडेर मुक्तिनाथ हुँदै थोराङ पुगिएको थियो । त्यहाँबाट अर्कोपट्टि झरेपछि पहिले थोराङ खोला हुँदै याकखर्क पुगेपछि फनक्क मोडिएर डाँडा काटेपछि खाङसार खोला पुगिएको थियो । त्यो खोला पछ्याउँदै तिलिचो पुगेपछि त्यसकै किनारै किनार मनाङसम्म फर्किएको थियो जहाँ खाङसार र थोराङ खोला मिलेर मस्र्याङदी बनाउँथे । त्यसपछि मस्र्याङदी पछ्याउँदै डुम्रे पुगेपछि अन्नपूर्ण सर्किटसँगै हामीले यात्रा गरेको ‘लुप’ पनि पूरा हुन्थ्यो ।
अर्थात्, पूरैजसो यात्रा नदीको किनारै किनार भयो र नेपालका दुई प्रमुख नदीको मुहानभन्दा पनि माथि हामी पुग्यौं । यो ‘लुप’को धेरै बाटोको दुवैपट्टि भीमकाय चट्टानहरु छन्, अन्दाजी आधादेखि डेढ किलोमिटरसम्म अग्ला । ती हेरेपछि पृथ्वीको विगत बीस करोड वर्षको इतिहास दृष्टिगोचर हुन्छ । कुनै बेला ती चट्टानहरुको माथिबाट बग्ने पानी अहिले निकै तल खोंचबाट बग्छ । जब अहिलेका महादेशहरु जन्मेकै थिएनन् र ऊबेलाका लाउरेसिया र गोन्ड्वाना महादेशबीच टेथिस सागरको पानी बग्थ्यो, त्यसको तल समथर भुभाग थियो । तर भारतीय र तिब्बती प्लेटहरुको निरन्तरको बेमेल र टकरावका कारण समुद्रको पींधबाट चुचुराहरु पलाउन र हुर्कन थाले, महादेशहरुको संरचना बदलिएर अहिलेका महादेशहरु जन्मे, हिम श्रृंखला जन्मे र समुद्रको पानी सापेक्षतः गहिरो क्षेत्रतिर गएर अहिलेका महासागरहरु बने ।
अग्लिंदै जाँदा चिसिंदै गएका चुचुराहरुमा हिउँ परेर त्यो पग्लिंदा पानीको नियमित स्रोतको जन्म भएपछि अहिलेको नेपालका सबैजसो नदीको उत्पत्ति भएको हो । उबडखाबड भएको हिमालयमा ती गहिरो ठाउँ खोजेर बगेनन् मात्र, बग्दै जाँदा आफूमुनिको धरातल खियाएर गहिरो बनाउँदै लगे । त्यसक्रममा अरबौं टन ढुंगा र बालुवा माथिबाट तल सर्दै गए । बालुवा र माटो बगेर थुप्रिंदै जाने र पानीको बहावसँगै फैलिंदै पनि जाने गर्दा भारतीय उपमहाद्वीपमा गंगाको बिशाल मैदान सिर्जना भयो । त्यहाँ जीवनका लागि अनुकुल वातावरण बन्यो, पहिले वनस्पति अनि प्राणी त्यहाँ देखिए । त्यसको पनि करोडौं वर्षमा प्राणीमध्ये मानिस नामक प्राणी विकसित भएर आयो ।
त्यो मानिस नामक प्राणीका लाखौं पुस्तामध्ये अहिले हामी एक हौं । हामीमध्ये अधिकांशको जीवनकाल टेथिस सागर लोप भएर हिमालय श्रृंखला बन्न थालेयताको अवधि हेर्ने हो भने कालीगण्डकीको पानीबाट एक अँजुली निकालेजस्तै हो ।
तर गजब केचाहिं के छ भने, हामीमध्ये धेरैलाई लाग्छ, हामी अनादिकालदेखि यहाँ छौं, संसारका मालिक हामी नै हौं, हामी सर्वस्व जान्दछौं र हामी सर्वशक्तिमान छौं । त्यस्तो पराक्रमी प्राणी मानिसमध्ये पनि हामी सबै जसोलाई यो सृष्टि र ब्रम्हाण्डको केन्द्रमा हामी आफैं भएको भ्रम छ । अहंकार यति छ कि, कुरा गरी साध्य छैन ।
थोराङको उचाइबाट ओरालो झर्दा मलाई उदेक लागेको कुरा के भने, बाटोको वरिपरि करोडौं ससानादेखि ठूला ढुंगासम्म थिए । ती असाध्य अस्थिर थिए । हावाहुरी चल्यो वा नाउरहरु क्रीडा गर्न थाले भने ती हुरुरु खसेर तल खोला वा नदीमा पुग्थे । त्यसक्रममा टुक्रिन्थे, साना हुन्थे । त्यहाँ फेरि हिउँपहिरो आएर बाढी आउँथ्यो, त्यसले बगाएर ठोक्याउँदै अझ तल पुर्याउँथ्यो । जुन ढुंगा नबगेर एक ठाउँमा बस्थे, तिनलाई समेत पानीको धारले खियाउँदै बीसौं वर्ष लगाएर बालुवाको थुप्रोमा बदलिदिन्थ्यो । अनि त्यो बालुवा बग्दै बग्दै निकै तल पुग्थ्यो । अर्बौं वर्ष अघि पृथ्वी बन्दा सिर्जना भएका ती ढुंगा अनेक रुप र अवतार हुँदै बालुवामा परिणत हुन्थे । ती स्वच्छन्द थिए, न तिनको कसैमा नियन्त्रण थियो न तिनलाई अरु कुनै चीजमा नियन्त्रणको दम्भ ।
तर बालुवा बन्नासाथ, त्यसको अधिक हिस्सा बालुवा र भू–माफियाहरुको कब्जामा पुग्थ्यो । प्रकृतिमा स्वच्छन्द रुपमा रहेर अर्बौं वर्ष बिताएको ढुंगाको कुनै रुप इतिहासको पछिल्लो कालखण्डमा मानिसले बनाएको ‘निजी’ सम्पत्तिको अवधारणाभित्र बाँधिन पुग्थ्यो । सरकारका सचिवसम्म अरबले नपुगेर खर्बौं जम्मा गर्न बालुवा माफिया चलाएर, नदी गहिरिएर पुलहरु धमाधम भत्किने स्थिति आउन्जेल नदीको दोहनमा संलग्न थिए । तिनलाई हेरेपछि प्रस्टै हुन्थ्यो मानव जाति किन सभ्यता र समृद्धिका नाममा आत्म नाशको दिशामा उद्यत् छ ।
विश्वभर नै अत्यधिक निर्माणका क्रियाकलापका कारण अहिले यस्तो अवस्था छ जहाँ नदीलगायतका प्राकृतिक माध्यमहरुबाट बालुवा बन्नेभन्दा त्यसका दोहन हुने क्रम धेरै तीव्र छ र मानिसहरु खनिज तेल सकियो भने के गर्ने भनेर बहस गरिरहेका बेला बालुवा र पानीजस्ता वस्तुहरुको माग र आपुर्तिबीच चरम असंगति देखा परिसकेको छ । खडेरी र पानीको अभावले ठूलो संख्यामा मानिसहरु विस्थापित भइसकेका छन् भने ढुंगा र बालुवाजस्ता सम्पदाहरु निरन्तर आम मानिसको पहुँचभन्दा टाढा संगठित माफियाहरुको हातमा गइरहेका छन् ।
मेरो ठाउँमा उभिएर हेर्दा म को हो? कम्तीमा मेरा लागि सर्वस्व, म छैन त केही छैन । तर अरबौं वर्ष इतिहासको यो कालखण्ड, जुन यथार्थ हो र जसको प्रमाणका रुपमा कालीगण्डकी र मस्र्याङदी नदीको दुवै किनारमा भीमकाय चट्टानहरु छन्, त्यसको दाँजोमा म के हो? समुद्रका लागि एक अँजुली पानीजस्तै, जुन झिकिनु व नझिकिनु, थपिनु वा नथपिनुले समुद्रलाई केही फरक पर्दैन ।
यो कुराको मलाई बोध छ । त्यो बोधचाहिं सहजै आएको हैन, दशकौंको हण्डर र ठक्करपछि आएको हो । तर यो देशमा अझै त्यस्ता धेरै मानिस छन् जसका लागि ब्रम्हाण्ड आफ्नो जन्मसँगै शुरु भयो र मृत्युसँगै सकिनेछ । तिनका लागि आफ्नो दृष्टि पर कुनै संसार छैन र आफूले सुने र पत्याएबाहेक अर्को सत्य छैन । ती जीवनको नशामा यति चुर छन् कि तिनलाई अर्बपतिबाट खर्बपति बन्नुछ र ती नदीले करोडौं वर्ष लगाएर बनाएको बालुवा रातारात ओगटेर, बेचेर जीवन सार्थक पार्न चाहन्छन् । तिनलाई यहाँ ‘शासन’ गर्नुछ, ‘यश’ कमाउनुछ र नाम राख्नुछ । तिनको महत्वाकांक्षा र अहंकारले संसारलाई निर्देशित गर्नुपर्छ भन्ने तिनको मत छ तर समग्र सृष्टिको चाँजोपाँजोमा तिनको सिंगो जीवनसमेतको खास अर्थ छैन भनेर कसले बुझाइदिने?
थोराङ घाँटीमा आधा घण्टा जति रहँदा जीवन र जगतसम्बन्धी यी प्रश्नहरु मेरो मनमा आएका थिएनन् किनकि मन हलुंगो र प्रफुल्ल थियो । तर ओरालो झरेर समाजमा फर्केपछि म निरन्तर यी विषयमा शोध गरिरहेछु । भौतिक थोराङ घाँटी पार गर्न पक्कै कष्टकर थियो तर मानवि सिर्जित जटिलताहरुको गाँठो फुकाउनु पनि कम कष्टकर छैन ।
No comments:
Post a Comment