नगरी नहुने एउटा बहस जसबाट नेपाली लगायतका बाम पार्टीहरु चुक्दैछन्
- के रुस र चीनमा साँच्चै साम्यवादी व्यवस्था स्थापना भएका थिए त?
- स्टालिनकालीन सफाइ र माओकालीन साँस्कृतिक क्रान्ति त्यहाँका ऐतिहासिक आवश्यकता थिए कि स्टालिन र माओका विरोधीलाई तह लगाउने हतियार?
हामी स्कुल पढ्ने बेला केही साथीहरु यस्ता थिए, जसलाई हामी जन्मजात कम्युनिष्ट भन्थ्यौंः उनीहरुका बाबुआमा कम्युनिष्ट थिए, सानैदेखि उनीहरुलाई कम्युनिष्ट पार्टीका साँस्कृतिक कार्यक्रमलगायतका गतिविधिहरुमा संलग्न गराइयो र स्कुलमा पढ्दैदेखि उनीहरु कट्टर ‘कम्युनिष्ट’ भए ।
हामी जन्मजात कम्युनिष्ट थिएनौं तर पनि किशोरकालसम्म आइपुग्दा साम्यवादी दर्शनको गहिरो प्रभाव हामी (अर्थात् साथीभाइहरु जसका बाआमा सक्रिय कम्युनिस्ट कार्यकर्ता थिएनन्) मा पनि परिसकेको थियो । विश्वमा कम्युनिस्ट व्यवस्था कहिल्यै आउनेछैन भनेर कसैले भन्यो भने त्यो हामीले पत्याउन सक्थ्यौं होला तर त्यो व्यवस्था खराब हो भनेर कसैले भन्यो भने हामीले त्यसलाई पुँजीवादले दिमाग खोक्रो बनाइसकेको बुर्जूवा भन्ठान्थ्यौं ।
अर्थात् बुढाबुढीले जसरी भगवान्लाई मान्थे, हामीले साम्यवाद र त्यसका प्रवर्तकहरु माक्र्स, ऐंगेल्स, लेनिन, स्टालिन र माओलाई त्यसरी नै मान्थ्यौं ।
मैले हालै स्टालिन–पुत्रीको एउटा संस्मरण पुस्तक पढेर त्यसको समीक्षा गरें । पुस्तकको आफ्नै कुनै निश्कर्ष छैन तर पुस्तक पढेपछि मेरो निश्कर्ष यस्तो छः सोभियत संघमा बोल्शेभिकहरुले जुन व्यवस्था स्थापना गरे, त्यही व्यवस्थामा पनि स्टालिन नभएर अर्को कोही व्यक्ति पुगिदिएको भए हजारौं रुसी नागरिकहरुको ज्यान बच्न सक्थ्यो ।
सोभियत संघका कट्टर पुँजीवादी आलोचकहरुले त स्टालिनलाई बीसौं शताब्दीमा माओपछि सबैभन्दा धेरै मानिसको मृत्यूका लागि जिम्मेवार ठहर्याउँछन् र ऐतिहासिक खलनायकहरुको सुचीमा शीर्षस्थानमा माओ र स्टालिनलाई राख्छन् ।
माओ र स्टालिनः देव कि दानव त? यी प्रश्नहरुका उत्तर खोज्दै जाँदा अर्को अझ गम्भीर प्रश्न खडा भयोः के सोभियत संघ र चीनमा वास्तवमै कार्ल माक्र्सले परिकल्पना गरेका साम्यवादी व्यवस्था स्थापना भएका थिए त?
यी प्रश्नको मेरो उत्तर के हो भन्ने कुरा अहिलेलाइै गौण विषय हो किनकि मेरा कतिपय धारणाहरु अझ परिपक्व हुने क्रममा छन् । तर यी प्रश्न लिएर केही विद्वानहरुसँग पुग्दा उनीहरुले दिएका उत्तरचाहिं रोचक र अर्थपूर्ण थिए ।
नेपालका अगुवा विचारक, राजनीतिक विश्लेषक तथा समाजशास्त्री प्रा. चैतन्य मिश्रलाई एउटा विस्तृत अन्तर्वातामा मैले तिनै प्रश्न राखें । त्यसमा उहाँको उत्तरको सार यस्तो थियोः सही अर्थमा समाजवादी व्यवस्था न १९१७ को रुसमा सम्भव थियो, न १९४९–५० को चीनमा थियो थियो र न त अहिले नै विश्वको कुनै ठाउँमा सम्भव छ । रुस र चीनमा जुन व्यवस्था स्थापना भए, ती त खाली राज्य नियन्त्रित पुँजीवादका खास स्वरुपहरु थिए । भन्नलाई सर्वहाराको अधिनायकत्व भनिए पनि अन्ततः दुवै ठाउँमा ती व्यवस्था व्यक्तिको क्रुर तानाशाहीमा बदलिएर गए । कार्ल माक्र्सले व्याख्या गरेझैं सामन्तवादको गर्भबाट जन्मने पुँजीवादी व्यवस्थालाई हुर्कन, बढ्न र यथेष्ट अन्तर्विरोधहरुसहित छिप्पिन दिएर मात्र त्यसको गर्भबाट साम्यवादी राज्यव्यवस्थाको जन्म हुन सक्छ भन्ने यथार्थलाई लेनिन र माओले तोडमरोड गरेर सोभियत संघ र चीनका व्यवस्थाहरु स्थापना गरेकैले ती अन्ततः असफल हुन गएका हुन् ।
जुनबेला पुँजीवादी किल्लाका विद्वानहरुले चीनको पुँजीवादतर्फको संक्रमणको पृष्ठभुमिमा सोभियत संघको पतनसँगै उदारवादी पुँजीवाद सदाका लागि विजयी भएको भन्ठानेर इतिहासको अन्त भएको घोषणा गरेका थिए, संयोग भन्नुपर्छ, त्यही समयमा नेपालमा एउटा बाम पार्टी सशस्त्र विद्रोहमार्फत् साम्यवादी राज्यव्यवस्था निर्माण गर्ने सपना बोकेर जंगल पसेको थियो ।
विश्वका कम्युनिस्टहरुका लागि मक्का र मदिनाको रुपमा रहेका सोभियत संघ र चीनका शासनबारे त्यति भनिसकेपछि नेपालको माओवादी जनयुद्ध उस्तै गलत बुझाइमा उभिएको थियो भन्ने प्रा. मिश्रको स्वभाविक तर्क थियो ।
त्यसअघि २००९ सालमा प्रकाशित बाबुराम भट्टराईको ‘आजको माक्र्सवाद’ शीर्षक लेखको प्रतिक्रियामा पनि प्रा. मिश्र र नेपाली काँग्रेसका नेता प्रदीप गिरीको त्यस खालको धारणा आइसकेको थियो ।
प्रा मिश्रसित उक्त अन्तर्वार्ता लिएकै समयमा अन्य कुनै प्रसंगमा अहिले जीवित बागी धारका विचारकहरुमध्ये शायद सबैभन्दा प्रभावशाली विचारक नोम चोम्स्कीलाई मैले लेखेको इमेलको उनले जवाफ दिए । त्यसमै जोडेर मैले उनलाई सोधेंः रुस र चीनका सफल साम्यवादी क्रान्ति र लगत्तै ती व्यवस्था एक व्यक्तिको तानाशाहमा बदलिएको अवस्थालाई तपाइँले कसरी हेर्नुहुन्छ? ती व्यवस्थाले दाबी गर्नै गरेझैं मानवताको सेवा गर त? विगतको अनुभवबाट आजका कम्युनिस्टहरुले कुन कुरा सिक्न नसकेका होलान्?
यी प्रश्नमा चोम्स्कीको सटिक जवाफ यस्तो थियोः
"रुस र चीनका दुवै परिवर्तनहरु सफल साम्यवादी क्रान्तिहरु थिएनन् । १९१७ को रुसमा उल्लेख्य क्रान्तिकारी आन्दोलन भएको थियो । तर चर्को हिंसा र दमनले त्यसलाई दबाएर बोल्शेभिकहरु सत्तामा आएका हुन् । यो जटिल र लामो किस्सा छ, एक वाक्यमा भनेर सकिंदैन । चीनमा पनि किसानहरुको आम विद्रोह भएको थियो, त्यो आंशिक रुपमा जापानी अत्याचारविरुद्ध र आंशिक रुपमा अमेरिकाले समर्थन गरेका राष्ट्रवादीहरुविरुद्ध थियो । ग्रामीण इलाकामा क्रान्ति भएको पनि हो तर अन्तमा त्यो पनि अन्तमा पूर्ण रुपमा केन्द्रबाट लादिएको नियन्त्रणमा गएर टुंगियो । त्यो साम्यवाद छँदै थिएन ।"
त्यसै गरी वैकल्पिक धारको मिडियाका प्रभावशाली प्रतिनिधि फरेन पोलिसी जर्नलका सम्पादक जेरेमी आर ह्यामोण्डलाई त्यसै गरी रुस र चीनका साम्यवादी शासनहरुले सर्वसाधारणलाई उनीहरुले वाचा गरेझैं मुक्त गरे त भन्ने प्रश्न सोध्दा उनले भनेका थिएः
कदापि गरेनन् । सोभियत संघ र चीनका कम्युनिस्ट सत्ताहरु मानवताको तवरबाट हेर्ने हो भने विपत्ति थिए । कम्तीमा पनि स्टालिन र माओको शासनकालमा सर्वसाधारणहरु मुक्त त हुँदै भएनन् ।
यी वार्ताहरु भइरहँदा नेपालमा अझै पनि एमाओवादी सबैभन्दा ठूलो र निर्णायक दल थियो । त्यस यता नेपालमा के के भयो, त्यो अब दोहोर्याइरहनु जरुरी छैन । नेपालको पछिल्लो चुनावमा ऊबेलाको विद्रोही माओवादीको हार भएको केही महिनापछि छिमेकी भारतमा भएको आम चुनावमा भन्नका लागि मात्र मध्य–बाम भनिने काँग्रेसलाई समेत सोत्तर पार्दै दक्षिणपन्थी भाजपा सरकारमा आयो ।
त्यसअघि नै पाकिस्तानको चुनावमा पनि मध्य वाम भनिने पाकिस्तान पिपुल्स पार्टीलाई विपक्षी धार्मिक दक्षिणपन्थी पाकिस्तान मुस्लिम लिग (एन) ले ठूलो अन्तरले हराएर क्षेत्रीय रुपमा राजनीतिको हावा दाहिनेपट्टि लागेको संकेत दिइसकेको थियो ।
भारतमा चुनाव हुनुअगावै पाकिस्तानी चुनावको नतिजाको विश्लेषण गर्दै फरेन पोलिसि जर्नलमा २०१३ जुनमा प्रकाशित एक लेखमा मैले निश्कर्ष निकालेको थिएँः दक्षिण एसियामै बामपन्थी वा समाजवादी झुकाव भएका र धर्म निरपेक्षतावादी शक्तिहरुको हारको सिलसिला पाकिस्तानमा शुरु भएको मात्र हो, त्यो भारतको आगामी चुनावमा अझ गहिरिएर जानेछ ।
खास गरी २००८–२००९ मा पहिले बंगलादेशमा अवामी लिगको जित, अनि पाकिस्तानम पीपीपीको जित र अन्ततः भारतमा काँग्रेसको जितले उनीहरुको अवस्था क्षेत्रभरि नै जति मजबुत बनाएको थियो, त्यसलाई सत्तारुढ शक्तिहरुको निरन्तर कुशासन र आर्थिक अव्यवस्थाले निरन्तर खियाउँदै गइरहेको थियो र एकाध वषमै यो क्षेत्रमा राजनीतिक शक्ति सन्तुलन तीव्र गतिमा बदलिइरहेको थियो ।
यो अवस्थामा ती शक्तिहरुको पतनसँगै प्रतिद्वन्दी दक्षिणपन्थी शक्तिहरुको उदय निश्चित थियो र भारतमा त्यस्तो उदय विवादित तर चामत्कारिक नेता नरेन्द्र मोदीको नेतृत्वमा भयो ।
यो पृष्ठभुमिमा दिल्लीबाट प्रकाशित हुने फरेन पोलिसी रिसर्च सेन्टर जर्नल नामक अनलाइन जर्नलले नेपाल–भारत सम्बन्धबारेमा एउटा लेख लेख्न आग्रह गरेपछि मैले दुवै देशमा एकैचोटि संकटमा परेका बाम दलहरुको नियतिलाई सम्बोधन गरेर लेख्ने निर्णय गरें । ‘ड्रिफ्टिङ राइट? दी शेयर्ड प्रेडिकामेन्ट अफ द लेफ्ट इन इण्डिया एण्ड नेपाल’ शीर्षक उक्त लेखको सार यस्तो थियोः विगतका गल्तीबाट केही सिक्न अस्वीकार गर्दै कमजोर धरातलमा राजनीति गरेकैले तथा समयसँगै बदलिंदो मानिसहरुको चेत पक्डन नसकेकैले दक्षिण एसियामा राजनीतिको बामवृत्त खुम्चिंदै गएको हो । भविष्यको विश्वमा उल्लेख्य हिस्सा खोज्ने हो भने यहाँका बाम पार्टीहरु जरैदेखि सच्चिनु जरुरी छ ।
उक्त लेखको प्रतिक्रिया स्वरुप भारतकै एकजना राजनीतिक विश्लेषक समिर नजारेथले यस्तो प्रतिक्रिया लेखे जुन मेरा लागि सर्वथा अप्रत्याशित थियोः
भारतमा समाजवाद हारेकै हैन, न त कहिल्यै हार्ने नै छ । यहाँ त खाली समाजवादी भनिनेहरु मात्र हारेका हुन् । भारतको जुन मध्यम वर्गले आज नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनायो, त्यसलाई जन्माएको त भारत राज्यले सात दशकसम्म लिएका समाजवादी नीतिहरुले पो हो । समाजवादीहरुले मिहिनेतसाथ आर्जन गरेको राजनैतिक पुँजीलाई विकसित भारतको सपना बाँड्दै आफूले हत्याएर नरेन्द्र मोदीले भारतमा सत्तारोहण गरेका हुन् । यसबाट यहाँका समाजवादीहरु अत्तालिनुपर्ने वा हारको प्रतिक्रियास्वरुप अझ उग्र नव उदारवाद अँगाल्नु हैन कि आफूले गरेको काम मानिसहरुलाई बुझाएर त्यसको जस लिनु पर्ने हो ।
यी अन्तक्रियाहरुले यो विषयमा मेरो बुझाइलाई फराकिलो बनाउन धेरै सहयोग गरिरहेका छन् । मेरो हालसम्मको एउटा निश्कर्षचाहिं के भने विश्वभर आज बाम राजनीति पछि पर्नुको प्रमुख कारण उनीहरुले इतिहासलाई जस्तो छ त्यस्तै स्वीकारेर साम्यवादका नाममा आजसम्म जति विकासक्रमहरु देखिए, तिनको वस्तुगत विश्लेषण गर्न नसक्नु हो । जस्तो कि, ‘स्टालिनिस्ट पर्ज’ र माओको सांस्कृतिक क्रान्ति स्टालिन र माओका विरोधीहरु सिध्याउनका लागि शुरु गरिएर अन्ततः संस्थागत हिंसा मार्फत् ठूलो संख्यामा मानिसहरुको यातना र हत्यामा टुंगिएका थिए भन्ने अब स्वतन्त्र रुपमा पुष्टि भइसकेको छ । तर कर्मकाण्डीय भनिने हाम्रा कम्युनिष्ट दलहरुले अहिले पनि स्टालिन र माओको स्तुति गरेर दुवै भीषण हिंसात्मक अभियानलाई स्टालिन र माओकै आँखाले हेर्छन् अनि खुश्चेभ र देङ स्याओपिङलाई इतिहासका खलपात्रका रुपमा चित्रण गर्छन् ।
इतिहासलाई हेर्ने त्यस खालको खोटो दृष्टिकोणलाई नसच्याएसम्म अहिलेका बाम दलहरु इतिहासमा आफ्नो भुमिकाबारे एकपछि अर्को भ्रममा परेर तिनै भ्रममा टेकेर सशस्त्र विद्रोह र क्रान्तिमा जाने अनि ठूलो संख्यामा मानिसहरुको बलि चढाएपछि फेरि अन्ततः अहिलेको विश्वव्यवस्थामै अस्तित्वका लागि संघर्ष गर्ने चक्र दोहोरिइरहने देखिन्छ ।
मेरा जन्मजात कम्युनिष्ट साथीहरुमध्ये धेरैजसो किशोरकाल लगत्तै राजनीतिसित मोहभंग भएर अहिले धेरैजसो खाडी मुलुकहरुमा छन् । तर कम्युनिष्ट पार्टीहरुको जुन नेतृत्वले उनीहरुका बाबुआमा र उनीहरुलाई कम्युनिष्ट बनाएका थिए, त्यो नेतृत्व तहचाहिं अहिले पनि त्यही क्रान्तिको आदर्शलाई च्यापेर बसिरहेको छ । खाली फरक यत्ति छः उतिखेर हामीलाई लाग्थ्यो साँच्चै नयाँ जनवादी क्रान्ति हुनेवाला छ, अबचाहिं लाग्छ, सही अर्थको क्रान्तिबाहेक बाँकी सबै कुरा हुनेवाला छन् ।
No comments:
Post a Comment