Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Tuesday, December 23, 2014

Review: Memoirs of Stalin's daughter Svetlana Alliluyeva

(A version of this article first appeared in Kantipur, Koseli dated 2071/9/5)

सर्वहारावर्गको अधिनायकत्व स्टालिन शासनझैं एक व्यक्तिको क्रुर तानाशाहीमा स्खलित भएर जाँदैन भन्ने आधार नभएसम्म साम्यवादका लागि भनेर अब युद्धमा जानु इतिहासप्रति ‘गद्दारी’ हुनेछ । 




शीत युद्धको अन्त भएको अढाइ दशक बित्दा नबित्दै रुस र पश्चिमा शक्तिहरुबीच यसबीच शुरु भएको टक्करको अवस्था गहिरिंदै गएको छ । युक्रेनको संकट गहिरिंदै गएसँगै अब रुस र आंग्लो—अमेरिकन गठबन्धनको सम्बन्ध पूर्ववत् अवस्थामा फर्कने सम्भावना शुन्यप्रायः छ भन्नेमा धेरै विश्लेषकहरु सहमत छन् । 

तर रुस र पश्चिमा देशहरुबीच तिक्तता र वैमनश्यताको इतिहास हेर्दा यी दुई पक्ष अहिलेभन्दा धेरै गम्भीर मुठभेडको अवस्थाबाट गुज्रिसकेका छन् । यसै पनि रुस बीसौं शताब्दीका सबैजसो ठूला राजनैतिक प्रयोगहरुका लागि पनि खूला मैदानजस्तो रह्यो । त्यहाँ जारशाहीको अन्त भएर दोस्रो दशकमा बोल्शेभिक भनिने साम्यवादीहरु सत्तामा आउँदा विश्वभर जुन उथलपुथलका लागि बाटो खुल्यो, शताब्दीको अन्तिम दशकतिर आएर सोभियत संघको पतन हुँदा पनि अवस्था उस्तै रह्यो । शीत युद्धको अवधिभर एउटा महाशक्तिकै रुपमा सोभियत संघले अर्को महाशक्ति अमेरिका र उसको पुँजीवादी गठबन्धनलाई टक्कर दिइरह्यो ।

बोल्शेभिक क्रान्तिको पृष्ठभुमिमा लेखिएका म्याक्सिम गोर्की, निकोलाई आस्त्रोभस्की आदिका पुस्तकहरु तथा चिनियाँ क्रान्तिको पृष्ठभुमिमा त्यसै गरी लेखिएका याङ मो आदिका पुस्तकहरुमा दुवै ऐतिहासिक घटनाहरुलाई मानव जातिकै मुक्तियुद्धका रुपमा झण्डैझण्डै अलौकिक अभियानको रुप दिइएको छ । खास गरी क्रान्तिका कमाण्डरहरुका रुपमा लेनिन र माओको चित्रण त धर्मशास्त्रहरुमा देवताको चित्रणजस्तै छ । दुवै समाजमा युगौंदेखि गुम्सिएर बसेको मुक्ति र परिवर्तनको चाहनालाई क्रान्तिपूर्वको अपूर्व लेखनबाट मुखरित गरेका आन्तोन चेखब र लु सुनहरुका कृतिहरुको पृष्ठभुमिमा दुवै ठूला परिवर्तनहरुलाई राखेर हेर्ने हो भने कतै समग्र मानवजातिले युगौंदेखि व्यग्रतापूर्वक पर्खेर बसेको मुक्ति र प्रगतिका वाहक तिनै परिवर्तनहरु त थिएनन् भन्ने लाग्छ ।

तर दुवै देशमा साम्यवादी शासनले पहिलो दशक बिताएपछि आजका दिनसम्म पार्टी दस्तावेजबाहेक तिनबारे जति कुरा लेखिए, तीमध्ये सबैजसोले क्रान्तिको बेला लेखिएका आख्यान र गैर—आख्यान दुवैलाई मिथ्या सावित गर्ने कोशिस गरेका छन् । खास गरी स्टालिन र माओमाथि लाग्ने गरेका ठूला भोकमरी र संस्थागत रुपमा मानिसहरुको हत्यामार्फत् इतिहासकै ठूला नरसंहार मच्चाएको भन्ने आरोपलाई आजका अर्थोडक्स साम्यवादीहरुले पुँजीवादी प्रोपागाण्डा भनेर तर्कने गरेको पाइन्छ तर ती त्रासदीबाट बाँचेका मानिस लगायत धेरै ऐतिहासिक प्रमाणका कारण उनीहरु त्यसरी तर्कने आधारहरुचाहिं ज्यादै निम्छरा छन् । पछिल्लो समयमा राजनीतिको वामवृत्तमा रहेका बुद्धिजीवी, विश्लेषक र इतिहासकारहरुको उल्लेख्य हिस्सालेचाहिं स्टालिन र माओका अतिवादलाई वस्तुगत रुपमा हेरेर उनीहरुको तीव्र आलोचना गर्ने गरेका पाइन्छ । 

यो पृष्ठभुमिमा स्टालिनको मृत्युको एक दशकपछि १९६३ मा लेखिएको र १९६७ मा प्रकाशित उनकी छोरी स्भेत्लाना अलिलुएभाको संस्मरणहरुको सँगालो ‘ट्वेन्टी लेटर्स टु अ फ्रेण्ड’ स्टालिनको कार्यकालको निर्मम पोस्टमार्टम रिपोर्टजस्तै बनेर रहेको छ । बालिका र किशोरीका रुपमा घरभित्रैबाट अनि युवाका रुपमा केही दुरीबाट तर सरोकारसहित स्टालिनकालीन सोभियत राज्यको अवलोकन गरेकी अलिलुएभाले आफ्ना बाबुको शासनबारे दिएको बयान अद्वितीय छ किनकि जस्तोसुकै क्षमतावान् इतिहासकारका लागि समेत अभेद्य रहेका धेरै कुराहरुलाई उनले नजिक र भित्रैदेखिसमेत देख्ने मौका पाएकी थिइन् । त्यो बेलाका सबै घटनाक्रमको विवरणतिर नगएर स्टालिनको खास प्रकारको व्यक्तित्व निर्माण अनि उनको मनोविज्ञानमा समयसँगै आउँदै गएको परिवर्तनमा केन्द्रित भएकैले अलिलुएभाका संस्मरणहरु इतिहासका अन्य कृतिका विकल्प नभएर अद्वितीय पूरक बन्न पुगेका छन् ।

अलिलुएभाले घोषित रुपमै आफैं देखेको र आफू विश्वस्त भएको कुरा मात्र लेखेकाले पुस्तकमा स्टालिनको प्रारम्भिक जीवन र कम्युनिष्ट पार्टीभित्र उनको शीर्षारोहणबारे केही उल्लेख छैन । उनी आफैं अक्टोबर क्रान्तिको झण्डै एक दशक र लेनिनको मृत्यूपछि जन्मेकीले लेनिनबारे पनि पुस्तकमा उल्लेख्य केही छैन । तर स्टालिन र उनका सहयोगीहरुको चरित्र चित्रण भने पुस्तकमा रुसी साहित्यका शिखर व्यक्तित्वहरु चेखव र टोल्सटायकै शैली र गहनताका साथ गरिएको छ । साथै आफ्नो आँखाअगाडिका मानिसहरुबारे लेख्ने र तिनका विगत खोतल्ने क्रममा रुस, युक्रेन, जर्जिया लगायतका सोभियत पूर्वका समाजहरुबारे भने उल्लेख्य चर्चा भएको छ ।

उनका संस्मरणहरुको सार यस्तो छः स्टालिनको झण्डै तीन दशक लामो शासनकालको शुरुआततिर क्रान्तिपछाडिको अव्यवस्था र भर्खरै अन्त भएको गृह युद्धबाट सिर्जित अस्तव्यस्तता व्याप्त थियो तर मानिसहरुमा प्रगति र समग्र समृद्धिको सम्भावनाप्रति क्रान्तिकालीन आस्था र विश्वास बाँकी नै थियो । राज्यले तोकेर दिएको राशनले पेट नभरिए पनि दिनहरु सुध्रेलान् र समृद्धिसँगै पेटभर खान पाइएला भनेर मानिसहरु आशावादी थिए । त्यसअघिसम्म अवधारणामा मात्र सीमित सर्वहारा वर्गको अधिनायकत्व शैशवकालमै भएकैले अव्यवस्था र पिछडापन भएको हो र व्यवस्था परिपक्व भएसँगै बिस्तारै सबै ठीक भएर जानेछ भन्ने धारणा बलियो थियो । 

पार्टीको उच्च नेतृत्वसमेत मितव्ययी रुपमा चल्ने त्यो समय शायद मुक्ति र परिवर्तनको आम सपनाको अन्तिम प्रहर थियो । लगत्तै स्टालिन नेतृत्वको सोभियत संघले यस्तो दिशा लियो, जुन अक्टोबर क्रान्तिका लागि आफ्नै रगत बगाएका क्रान्तिकारीहरुले कल्पनासमेत गरेका थिएनन् ।
  
अलिलुएभाको पुस्तक पढेपछि जर्ज अर्वेलले एनिमल फार्म नामक विख्यात कृति किन लेखेका रहेछन् भन्ने स्पष्ट हुन्छ । एनिमल फार्ममा मानिस जातसँग विद्रोह गरेर स्वतन्त्र फार्म खोलेका पशुहरु बिस्तारै विद्रोहको नेतृत्व गर्ने सुँगुरहरुको तानाशाही शासनको शिकार हुन्छन् । विद्रोह सफल पार्न प्रयोग गरिएका सात नाराहरु कालान्तरमा स्खलित र अपभ्रंशित हुन्छन्ः ‘कुनै पशुले अर्को पशुलाई मार्ने छैनन्’ भन्ने नाराको बीचमा ‘विनाकारण’ भन्ने शब्द थपिन्छ भने ‘सबै पशुहरु बराबर हुन्’ भन्ने वाक्यका पछाडि थपिन्छः ‘तर केही पशुहरु अरु पशुहरुभन्दा धेरै बराबर हुन्छन् ।’

आफू अरुभन्दा धेरै बराबर हुने क्रममा सत्ता सम्हालेको डेढ दशक हुँदा नहुँदै पार्टीभित्र स्टालिनभन्दा भिन्न मत राख्ने, भिन्न मतको शंका लागेका र उनका चाप्लुसहरुले वैमनश्यपूर्वक भिन्न मतको आरोप लगाएका सबै या त मारिइसकेका थिए या कठोर श्रम शिविर वा एकान्त कारावासमा पुगिसकेका थिए । आजसम्म जो स्टालिनको डिनर टेबलमा बसेर दशकौंसम्मका लागि भावी योजना बनाउँदै थियो, ऊ भोलि बिहानसम्ममा गद्दार वा जनताको दुश्मन घोषित भएर कञ्चटमा गोली थाप्न पुग्थ्यो । अक्टोबर क्रान्तिमा उनीसित कुम जोडेर लडेकाहरुलाई यो अवस्था असह्य भएसँगै आफ्नै कञ्चटमा गोली दाग्नेहरुको सुची लम्बिंदै थियो । अलिलुएभाकी आमा र स्टालिनकी दोस्री पत्नीले १९३२ मा गोली चलाएर आत्महत्या गरेपछि यो प्रक्रिया यति तीव्र भयो कि स्टालिनकै करीब दर्जन आफन्तमध्ये केही वर्षपछि एकाध मात्र जीवित थिए, जसको आफैंले वा अरुले हत्या गरेन, उनीहरु असह्य तनावका कारण एकपछि अर्को हृदयाघातले मरे । जो मर्नबाटसम्म बचे, उनीहरु कारावासको निर्मम सजायँ सहन नसकेर मानसिक रुपमा विक्षिप्त भए । 

एक्लोपना बढेसँगै स्टालिनको क्रुरता पनि बढ्दै गयो । दोस्रो विश्वयुद्धको शुरुमै अग्रपंक्तिमा लड्न पठाइएका उनका छोरा र अलिलुएभाका सौतेनी भाइ याकोभ (जसले स्टालिनकै हेलाहोचोका कारण पहिले आत्महत्याको असफल प्रयास गरपछि स्टालिनले उनलाई तिरस्कारपूर्वक भन्थेः जीवनमा अरु त गर्न सकेन नै, आफ्नै कञ्चटमा ढंगसित गोली हान्न पनि जानेन) लाई जर्मनहरुले घाइते र बन्दी बनाएपछि युद्ध बन्दी साटासाट गरेर उनलाई मुक्त गर्ने जर्मन प्रस्तावलाई स्टालिनले सीधै अस्वीकार त गरे नै, उनकी निर्दोष पत्नीलाई जर्मनसँग मिलेमतोको आरोप लगाएर जेलमासमेत कोचे । विश्वयुद्धमा युद्धबन्दी भएका आफ्ना सैनिकहरुलाई मुक्त गर्न अरु देशहरु सक्रिय भएर लागिरहँदा स्टालिनले चाहिं प्रत्येक सोभियत युद्धबन्दीलाई गद्दार घोषणा गरेर तिनका आफन्तहरुलाई सताउन थाल्थे, फलस्वरुप युद्ध सकिएपछि स्वतन्त्र भएर पनि उनीहरु मातृभुमिमा फर्कने अवस्था रहेन । स्टालिन आफू यथार्थबाट टाढाभन्दा टाढा पुगिरहँदा केही पाशविक वफादारी भएका गोप्य पुलिसका अधिकारीबाहेक अरु कसैको कुरा सुन्न छाडे र आज जो अन्यायमा परेको ‘जनताको दुश्मन’को जीवन भिक्षा माग्न आउँथ्यो, ऊ भोलि आफैं त्यो सुचीमा परेर जल्लादहरुका अगाडि खडा हुन पुग्थ्यो । 

जेले अक्टोबर क्रान्तिलाई जीवन्त बनाएको थियो, त्यो स्पिरिट मर्दै जाने र त्यसको ठाउँ सोभियत गोप्य पुलिसको भयावह  र क्रुर मेशिनले लिंदै जाने प्रक्रियालाई बाल्यकालदेखि नै महसुस गरेकी अलिलुएभाले छ वर्षको उमेरमा आमा गुमाएर सोह्र वर्षको उमेरमा मात्र उनको दुखद अन्तबारे सही जानकारी पाएकी थिइन् । उनले त्यो क्षणपछि मात्र गम्भीर रुपमा आफ्ना बाबुलाई शंकाको दृष्टिले हेरे पनि उनको जीवन दर्शन निर्माणमा चाहिं स्टालिनको निर्णायक भुमिका रहेको पाइँदैन । 

पुस्तक स्टालिनका आलोचकहरुले भन्दा साम्यवादी व्यवस्थाको वकालत गर्नेहरुले पढ्नु धेरै जरुरी छ । मस्तिष्कघातले १९५३ मा मृत्यु हुनुअघिसम्म पार्टी र देश दुवैको नेतृत्व सम्हालिरहेका स्टालिनको बहिर्गमनलगत्तै सोभियत सत्ताको दमनचक्र उल्लेख्य कम हुनु र उनको शासनकालमा कारावास सजायँ भोगिरहेका धेरै मानिसहरु मुक्त हुनुले स्टालिनकालीन दमन र बर्बरताका लागि अधिनायकवादी चरित्रको राज्य संयन्त्र बढी जिम्मेवार थियो वा उनको खास प्रकारको व्यक्तित्व बढी जिम्मेवार भन्नेमा इतिहासकारहरु विभाजित छन् । 

अलिलुएभाको दृष्टिमा कुटिलतापूर्वक स्टालिनको विश्वास जितेर आफ्ना विरोधी कर्मठ बोल्शेभिकहरुको एकपछि अर्को हत्या गर्दै उपप्रधानमन्त्री सम्म बन्न पुगेका लाभ्रेन्ती बेरिया स्टालिन शासनको समग्र दुखान्तका लागि उनीजत्तिकै वा उनीभन्दा पनि बढी जिम्मेवार थिए । स्टालिन मरेलगत्तै सत्ता हत्याउन सबै हरकत गरेका बेरियालाई लगत्तै साम्राज्यवादको दलाल भएको आरोप लगाएर गोली हानी मारिएको थियो । स्टालिनपछि सोभियत संघको नेतृत्वमा पुगेका म्यालेन्कोभ र बुल्गानीन दुवै जना ‘पार्टीविरोधी समुह’मा लागेको आरोपमा एकाध वर्षमै पदमुक्त गरिनुले सोभियत सत्ताका लागि अनवरत चलिरहने संघर्षलाई प्रतिविम्बत गथ्र्यो । 

स्टालिन मरेको छ दशक बितिसक्दा पनि एउटा प्रश्न अझै अनुत्तरित छः उनको सट्टा सोभियत सत्तामा लेनिनपछि म्यालेन्कोभ, बुल्गानिन वा खुश्चेभजस्ता व्यक्ति पुगेको भए स्टालिनकालीन त्रासदीबाट सोभियत संघ बच्थ्यो? के त्यो अवस्थामा मारिने, आत्महत्या गर्ने, तनावका कारण हृदयाघातबाट मर्ने र यातनाका कारण मानसिक रुपमा विक्षिप्त हुने रुसी नागरिकहरुको सुची धेरै नै छोटो हुन्थ्यो? सबैजना सबै अनुमान लगाउन स्वतन्त्र छन् किनकि अब कुनै दाबीलाई पुष्टि वा खण्डन गर्ने आधार छैन । तर अलिलुएभाको संस्मरण पढेपछि एउटा कुरा स्पष्ट हुन्छः जस्तोसुकै भयंकर त्रासदीबाट पनि मानिस गुज्रिन र बचेको अवस्थामा फेरि बौरिन सक्छ, जस्तै भीषण अन्याय र हिंसाका बीच पनि प्रेम र आशावादिताजस्ता मानवीय गुणहरु बाँचिरहन सक्छन् । 

साथै फेरि युद्धमा जान लागेको भनिएको नेपालको एउटा माओवादी पार्टीलगायत अब साम्यवादी व्यवस्था स्थापनाको सपना देख्नेहरुले एउटा प्रश्नको जवाफ नदिई सुख छैनः कथं कदाचित् सफल भइहालेको खण्डमा उनीहरुले निर्माण गर्ने सर्वहारावर्गको अधिनायकत्व स्टालिन शासनझैं क्रुर व्यक्तिको तानाशाहीमा स्खलित भएर जाँदैन भन्ने आधार के? यो प्रश्नको चित्तबुझ्दो उत्तर नदिई अर्को युद्धमा होमिनु भनेको आफ्नो मुढता र इतिहासबारेको निरक्षरताका लागि भोका मानिसहरुको बलि चढाउनु हो । 

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more