Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Saturday, July 28, 2012

सुरुङभित्रका विद्यार्थीहरु



के विद्यार्थीहरु पढ्छन्?
के विद्यार्थी संगठन त्यसरी स्वतन्त्र छन्, जसरी धेरैको नाममा लेखिएको हुन्छ ?
के विद्यार्थीहरुले समाजलाई निर्माण र सिर्जनशीलतातिर डोर्याएका छन् त? 
विद्यार्थीहरु सुरुङको यात्रामा छन् कि रोबोटझैं सञ्चालित? 

विदेशी नामका स्कुलका होर्डिङ बोर्ड मेटाउने र स्कुल बस जलाउने काम गरेर विद्यार्थी संगठनहरु केही हप्ता यता चर्चामा छन् । यी गतिविधिहरु बारे मनग्य चर्चा भए पनि आम रुपमा नेपालका विद्यार्थी संगठनहरुको प्रकृति र तिनका गतिविधिहरुमा देखा पर्ने नियमितताबारे चाहिं कमै चर्चा हुने गरेको छ । नेपालको राजनैतिक प्रणालीको परिप्रेक्ष्यमा दलहरुका भातृ संगठनहरुमा संगठित विद्यार्थीहरुले खेलेका र नखेलेका केही महत्वपुर्ण भुमिकाहरुबारे यस आलेखमा चर्चा गरिनेछ ।

नेपालका विद्यार्थी संगठनहरु र तिनमा आबद्ध विद्यार्थीहरु रोबोटजस्तै हुन्, तिनको आफ्नो भन्नु केही छैन । ती दलको रिमोट कन्ट्रोलले जसो गर्न अह्राउँछ, त्यसै गर्छन् । तिनलाई भविष्यमा दलको नेता भएपछि आवश्यक हुने जालझेल, कपट र भ्रष्ट प्रवृत्तिले सिंगारेर यन्त्रवत् पार्ने मात्र हैन, भविष्यमा भीड जम्मा पार्न यान्त्रिक रुपले उत्तेजक भाषण गर्न पनि सिकाइन्छ । अन्ततः भ्रष्ट राजनीतिज्ञको एउटा पुस्तालाई भ्रष्टहरुको अर्को पुस्ताले विस्थापित गर्छ र देशको राजनीतिक संयन्त्र चलिरहन्छ ।

यो अनुच्छेदले एउटा अतिरञ्जित र झुट अभिव्यक्ति प्रवाहित गर्छ । कुनै व्यक्ति, घटना वा प्रवृत्तिलाई त्यसरी श्यामश्वेत दृष्टिले हेर्न सकिंदैन । बहसको शुरुवातका लागि मैले यो नकारात्मक विम्बको प्रयोग गर्नुको चाहिं आफ्नै कारण छ । कसैले स्वीकारोस् वा नस्वीकारोस्, नेपाली समाजमा विद्यार्थी संगठनहरुको पहिचान त्यति सकारात्मक र उज्यालो छैन, जति ती संगठनहरु प्रचार गर्छन् । मोटामोटी रुपमा ती संगठनहरुले निम्न गतिविधिबाट समाजलाई आफ्नो अस्तित्वको जानकारी दिइरहन्छन्ः 
  • बेलाबेलामा महाधिवेशनहरु गर्नु, चन्दा माग्नु
  • केही हप्ता वा महिना बिराएर नेपाल पुर्ण वा आंशिक रुपमा बन्द गर्नु
  • कलेज अगाडि टायर बाल्नु
  • बेलाबेलामा खुँडा, खुकुरी वा बन्दुकसहित एकअर्कासंग भिड्नु

अस्तित्व जनाउने यी माध्यमको प्रयोगमा कोही अगाडि होला, कोही पछाडि तर दर्जन वरिपरिको संख्यामा रहेका नेपालका विद्यार्थी संगठनहरुमध्ये आम मानिसको दृष्टिमा तिनीहरुको उपस्थिति जनाउने त्यति बलियो अरु कुनै माध्यम भेट्टाउन कम्तीमा पनि २०४६ यता कठिनै छ । 

खासमा आजका विद्यार्थी नै भोलिका नेताहरु हुन्, राजनीतिमा होस् वा अन्यत्र । विद्यार्थीको काम भनेको पढ्नु मात्र हैन । पढ्नु र सिक्नु एउटै कुरा पनि हैनन् । सिकेको कुरालाई जबसम्म व्यवहारमा ल्याइंदैन, तबसम्म त्यसको खास औचित्य हुँदैन । सिकाइ भनेकै नयाँ कुरा ग्रहण गर्ने प्रक्रिया भएकाले नयाँ कुरा सिकेसंगै पुराना र स्थापित केही धारणा वा मान्यता नभत्काइ कन नयाँ सिकाइ सम्भव नहुने अवस्था पनि आउँछ । त्यसैले सार्थक सिकाइका लागि इच्छाशक्ति र सिकाइका सामाग्री मात्र भएर पुग्दैन र उर्वर र पुर्वाग्रहरहित मगज पनि आवश्यक हुन्छ । 

यसै सन्दर्भमा नेपाली विद्यार्थीहरुको मानसिकता र सिकाइ प्रवृत्तिलाई व्याख्या गर्न माथिको जस्तो रोबोट मोडल नभएर सुरुङ मोडलचाहिं बढी उपयुक्त हुने देखिन्छ । नेपालका दलहरु आफैंमा भीमकाय सुरुङजस्ता छन् जहाँ द्रुत वा ढिलो गतिमा अघि बढ्ने वा पछि हट्ने स्वतन्त्रता हुन्छ तर स्थापित सुरुङबाहिर विचरण त के चिहाउनुसमेत घातक मानिन्छ । खास गरी कम्युनिष्ट पार्टीमा त त्यसो गर्नुलाई नैै अर्को सुरुङ खनेर नयाँ पार्टी खोल्ने प्रक्रियाको शुरुवात मानिन्छ । यस्तो अवस्थामा दलहरु वैचारिक अभ्यासमार्फत् समाज र राजनीतिमा नवीनता ल्याउने गतिशील शक्ति नभएर खाली सत्ता र शक्तिको चक्कर काटिरहने स्थुल चीजमा परिणत भएका छन् । 

तिनै दलहरुले भातृ संगठन भनेर दलका खास किसिमका मानिसहरुका लागि भनेर सुरुङभित्रै मिनि सुरुङहरु खडा गरेका छन् र तीमध्ये एक विद्यार्थी संगठनहरु रहने गरेका छन् । ती साना सुरुङहरुमा दलको भीमकाय सुरुङको छायाँ यति जब्बर हुन्छ कि दलको विकृतिका सुक्ष्मातिसुक्ष्म  रुपहरु पनि ती साना सुरुङहरु सम्म नफैलिइ रहँदैनन् । हुँदाहुँदा ती साना सुरुङहरुले विद्यार्थीहरुको समग्र विद्यार्थी र राजनीतिक जीवनमा यस्तो प्रभाव पार्छन् कि तिनका आफ्नै मगजमा उचित आकारका सुक्ष्म सुरुङहरु बनिरहेका छन् र आम रुपमा राजनीतिक चेत भएका विद्यार्थीहरु ती सुरुङभित्रका कैदीजस्तै यात्रा गरिरहेका छन् भने संगठन, चाप्लुसी र भनसुनको अवसर नपाउने अराजनीतिक विद्यार्थीहरुचाहिं चुपचाप विद्यालय वा विश्व विद्यालयबाट विदा लिएर खाडीको बाटो तताइरहेका छन् । 


आजको नेपालको प्रधान समस्या राजनीतिक दलहरुको अदुरदर्शिता र भ्रष्ट मनोवृत्ति हुन सक्छ तर भविष्यको नेपालको प्रधान समस्याचाहिं आजका विद्यार्थीहरुका मगजमा बनिरहेका तिनै सुक्ष्म सुरुङहरु हुन् । 

कांगे्रसी सुरुङ बि पी कोइरालाको प्रजातान्त्रिक समाजवादमा कैद छ । काँग्रेस सम्बद्ध विद्यार्थीहरुले समाजवादको अर्थ खोज्ने लेठो गरेका छन् कि छैनन्, मलाई थाहा छैन तर तिनले केही मात्रामा भए पनि सैद्धान्तिक जगमा अडेको बि पीको उक्त नारा र राम शरण महतको यान्त्रिक पाराको पुँजीवादबीच कसरी तालमेल भेटे, त्यो मलाई जानकारी छैन । जुन दिन काँग्रसले व्यवहारमा समाजवादभन्दा १८० डिग्री फरक पुँजीवादको नवउदारवादी मान्यतालाई ग्रहण गर्यो, त्यसै दिन बि पीको समाजवादलाई खण्डन गर्दै बि पी को चाहिं निन्दा गर्नुपथ्र्यो । तर सुरुङ विचार र तर्कले चल्दैन किनकि तर्क गर्न र बौद्धिक अभ्यास गर्न खुला र पारदर्शी मैदान चाहिन्छ न कि अँध्यारो सुरुङ । तिनको सट्टा सुरुङ चलाउने केही कर्मकाण्ड स्थापित भएका हुन्छन्, जसको सर्वोच्चतालाई सुरुङभित्र कसैले चुनौती दिन सक्दैन । त्यही कर्मकाण्डको पोथामा कसैले लेखेको थियोः बी पी महामानव हुन्, र काँग्रेसले अहिले पनि त्यही मन्त्र जप्दै आएको छ जब कि बी पी को प्रजातान्त्रिक समाजवादको हैसियत चाहिं केही नेताहरुको भाषणमा कर्मकाण्डीय पाराले दोहोरिनुमै सीमित भएको छ । 

एमाले सुरुङको त झन् चर्चा गरी साध्य छैन । नाममा त्यो सुरुङको भित्तो मदन भण्डारीको जबजमा अडेको छ । तर सर्वहाराको अधिनायकत्वको वकालत गर्ने माकर््स र लेनिनको नाम आफ्नो नाममा जोडेको एमालेले समयानुकुल परिष्कृत भनिएको जबज संस्करण र राम शरण महतले व्यवहारमा ल्याएजस्तो पुँजीवादी प्रजातन्त्रबीच कति दुरी छ वा छैन भन्नेसम्म स्पष्ट पार्न सकेको छैन । अमुर्तजस्तै लाग्ने व्यवस्थाको त के कुरा, चरम अदुरदर्शिताका कारण हिजो पञ्चायतकालीन तानाशाही व्यवस्था फर्काउन उद्यत भएका राजा ज्ञानेन्द्रको एउटा संस्थातिर समेत एकचोटिलाई मोडियो एमाले सुरुङ । एमाले सम्बद्ध विद्यार्थीहरुबीच यी विषयमा चर्चा हुन्छ वा हुन्न भन्न गाह्रो छ तर तिनले दुनियाँले बुझ्ने भाषामा कहिल्यै ती विषयमा स्पष्टिकरण दिएको मलाई थाहा छैन । 

हालै चिरा परेको माओवादी सुरुङको कहानी पनि त्यति धेरै फरक छैन । विरोधाभास र दुविधाले ग्रस्त सन्देशहरु समाजमा प्रसारित गरिरहेको एकीकृत माओवादी सुरुङ अहिले सत्तामा भएकाले र राजनैतिक संकट गहिरिंदै गएकाले पनि लोकको दृष्टिको केन्द्रमा छ । तत्कालका कुरा गर्दा भु पु हरुको सुविधाको मामलामा लगौंटी फुस्किसकेपछि गुप्तांग त सबैको हुन्छ नि भन्ने पारामा प्र म भट्टराईको कार्यालयले दिएको याचक स्पष्टीकरणले नै माओवादी सुरुङले खेप्नुपरेका आरोह अवरोहबारे धेरै कुरा बताउँछ । अरु दलजस्तै अँध्यारो सुरुङको यात्रामा रहेको उक्त दलले जमिन मुनिको हिजोको यात्रा देखि मुलधार भनिने आजको सुरुङमा संक्रमण गर्दा हिजोका कुन कुन मान्यताहरु बदलिएका हुन् र कुन चाहिं बदलिएका हैनन् भन्ने पनि स्पष्ट पारेको छैन । माओवादी सम्बद्ध विद्यार्थीहरुले पनि माकर््सका सिद्धान्तको लेनिनले गरेको प्रयोग, स्टालिनले तिनलाई दिएको निरन्तरता, माओ नेतृत्वको केही फरक प्रकारको चिनियाँ क्रान्ति, त्यहाँको साँस्कृतिक क्रान्ति, माओपछि चीनमा भएको संक्रमण र गोर्वाचेभ नेतृत्वको सोभियत संघको पतन जस्ता परिघटनाबारे कति विमर्श गर्छन्, त्यो त थाहा छैन तर दुनियाँले बुझ्ने भाषामा ती विषयमा तिनीहरुले केही भनेको थाहा छैन । खास गरी दलका पत्रपत्रिकामा अक्टोबर क्रान्ति वा चिनियाँ क्रान्तिको महात्म्य गाइए पनि चीन र रुसमा अन्ततः साम्यवादको हार हुनुको इमान्दार विष्लेषणसमेत पाइंदैन, त्यो हारको प्रक्रिया र नेपालको सशस्त्र विद्रोह तिक्त रुपमा अवकाश र भर्तीमा टुंगिनुबीच तादात्म्य खोजिनु त परै जाओस् । 

यसं पृष्ठभुमिमा जन्मेको माओवादी नामको नयाँ सुरुङले कुन दिशा लिने हो भनिहाल्न गाह्रो छ तर तिनको पनि प्ररम्भिक लक्षण राम्रो देखिंदैन । बरु गाउँमा जनयुद्ध शुरु गर्ने ध्वाँस दिनु र शहरमा तोडफोड र आगजनीमा उत्रिनु बाट त्यो सुरुङ अझ द्रुत गतिमा अरु सुरुङहरुले पहिले प्रयोग गर्ने गरेका यान्त्रिकताहरुको सहारा लिंदै अझ अन्धकारतिर लम्किरहेको भान हुन्छ । 

समग्रमा भन्नुपर्दा हामीकहाँ दलहरुको नेतृत्वको वर्तमान पुस्ताले त सत्ता र शक्तिका पछाडि सिनोमा गिद्ध एकोहोरिएझैं एकोहोरिएर समाज हाँक्न आवश्यक पर्ने ऊर्जा र गतिशीलता गुमाइसकेको छ । न छिमेकी कहाँ पुगे भनेर हेर्ने होश छ न विश्व परिदृश्य कसरी बदलिंदैछ भनेर हेर्ने यत्न नै । न हिजोका असफलताबाट पाठ सिक्नु छ, न त गल्तीहरु दोहोरिनबाट रोक्नु नै छ । शिथिलता, गतिविहीनता र कि.कर्तव्यमुढताले ग्रस्त नेपालको राजनीतिक परिदृश्यलाई नयाँ जीवन कसैले दिन्छ भने त्यो नयाँ पुस्ताले नै हो । त्यही नयाँ पुस्ताको अर्को नाम नै विद्यार्थी हो । त्यो एैतिहासिक जिम्मेवारी वहन गर्ने हो भने विद्यार्थीहरुले माथि उल्लेखित सुरुङबाट बाहिर आउनु अनिवार्य छ । 

सुरुङबाट बाहिर आउने पहिलो कदम भनेकै अध्ययन हो जुन काम नगरेरै बस्ने विद्यार्थीहरु नै माथि पुग्ने अवस्था हामीकहाँ व्याप्त छ । त्यो किन पनि भने औपचारिक पढाइबाहेक दलका पत्रिकाहरुमा प्रकाशित हुने भजन वा नेताहरुले लेखेका आत्म स्तुति वास्तवमा अध्ययनका सामाग्री नै हैनन् । तिनमा दर्जनौंपटक एउटै कुरा पस्किएको हुन्छ, त्यही वा फरक रुपमा । तिनमा दलबाहिर त के दलकै फरक गुटका विचारसमेत निषेध गरिएका हुन्छन् । असल सामाग्री त ती हुन् जसमा बागी विचार हुन्छ । खास गरी बाम दलसम्बद्ध विद्यार्थीहरुका लागि त अक्टोबर क्रान्ति र चिनियाँ क्रान्तिका स्तुति भन्दा रुस र चीनमा साम्यवादको पतनसम्बन्धी सामाग्रीहरु पढ्नु धेरै जरुरी छ । उता काँग्रस सम्बद्ध विद्यार्थीहरुका लागि काँग्रसभित्रकै बागी प्रदीप गिरीका सामाग्रीहरु धेरै सान्दर्भिक छन् । बी पी कोइरालाको आत्मवृत्तान्त र जवाहरलाल नेहरुका आत्मकथा र Glimpses of World History त आफुलाई विद्यार्थी भनेर चिनाउने कसैका लागि पनि नपढी नहुने सामाग्री भइहाले । 

विद्यार्थीहरु वास्तवमै अध्ययनकर्ममा लाग्ने हो भने न तिनलाई सडकमा टायर बाल्न त्यति जाँगर चल्छ, न त खुँडा र तरबार चलाउनमा त्यति लगाव नै, किनकि ती कर्मबाट वास्तवमै सफल हुने मानिसहरु विश्वमा विरलै छन् भन्ने तथ्य उनीहरुलाई ज्ञात हुन्छ । त्यसो हुनासाथै दलहरुले पालेका पेशेवर बलवीरहरुसित उनीहरुको संगत पनि छुट्छ र विद्यार्थी संगठनबाट शुरु भएर युवा संगठन हुँदै पार्टी संरचनासम्म पुग्दा संगठित भैसक्ने गरेको भ्रष्ट र आपराधिक मानसिकताको विकास क्रम पनि अवरुद्ध हुन पुग्छ । 

फलानो फलानो विद्यार्थी संगठनबीच आज त्यो क्याम्पसमा गोली हानाहान भयो र दलका नेताहरु अस्पताल गएर थप हिंसाका लागि उक्साए भन्ने समाचार पढ्नु भन्दा आज यो ठाउँमा खास व्यवस्थाबारे बहस र अन्तक्रियाको आयोजना गरेर ती संगठनले यति विद्यार्थीहरुलाई उतार्दैछन् भन्ने समाचार पढ्न कति राम्रो हुन्थ्यो होला ? 

विद्यार्थी संगठनहरुमध्ये आफ्ना पर्चा वा पंप्लेटमा आफ्नो संगठनको महात्म्य नगाउने शायद कुनै पनि संगठन छैन होला तर तिनले एकचोटि पनि दुनियाँको ऐनामा आफ्नो अनुहार हेरेका छैनन् जहाँ तिनीहरुको छवि टायरको धुवाँले कुहिरीमण्डल भएको आकाश, भाँचिएका रेलिङ, तोडिएका सिसा र बन्दले उपचार नपाएर मरेका मानिसको विम्बसँग मुछिएको हुन्छ । आजका चिरञ्जिवी वाग्ले र गोविन्दराज जोशीहरु पनि हिजो विद्यार्थी नै थिए । हिजो जुन सुरुङहरुले देशलाई भ्रष्ट र अपराधीहरु आपुर्ति गरे, आज पनि तिनै सुरुङहरु बेरोकतोक सञ्चालनमा छन् र विद्यार्थीहरु अध्ययनबाहेक सबै कामहरु गरिरहेका छन् । जबसम्म मानिस बदलिंदैन, तबसम्म उसको प्रतिविम्ब पनि बदलिंदैन । विद्यार्थी संगठनहरुका लागि पनि त्यही नियम लागु हुन्छ । 

त्यो अवस्था भयावह हुनेछ जब विद्यार्थीहरुका लागि माथि चर्चा गरिएको सुरुङ मोडल भन्दा पनि आलेखको शुरुमा उल्लेख गरिएको रोबोट मोडल बढी उपयुक्त हुनेछ । त्यसो किन भने समाजलाई उज्यालोतिर डोर्याउन नवीनता र ऊर्जा भएका सिकाइबाट विमुख नभइसकेका र भ्रष्ट र आपराधिक प्रवृत्ति छिप्पिइनसकेका मानिसहरुको आवश्यकता छ न कि अपारदर्शी चश्मा लगाएर दुनियाँ देखेको स्वांङ पार्ने अनि असल र खराब, नैतिक र अनैतिकबीच भेद छुट्याउने क्षमता गुमाइसकेको र युवावयमै वृद्ध भइसकेको नेपालको अहिलेको नेतृत्व वर्ग । 

त्यो भयावह अवस्था रोक्न, विद्यार्थीहरुले तिनका मानसपटलमा संस्थागत भइसकेका सुक्ष्म सुरुङहरु भत्काएर शुरु गनुपर्नेछ, जुन पटक्कै गाह्रो छैनः एउटा बागी पुस्तक लिएर विना पुर्वाग्रह पढ्न बस्ने । 





1 comment:

mskhanal said...

यथार्थ कुरो हो| हाम्रा बिद्यार्थी संगठन अहिले पुरै विचारहीन रोबोट बनेका छन्.

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more