Friday, February 20, 2015

धर्म र राज्यः


धर्म-राज्य सम्बन्धबारे आशीष नन्दीको अचुक पाठ

कहिल्यै टुंगोमा नपुग्नेजस्तो लाग्ने नेपाली राजनीतिको गलफत्तीबारे केही शब्द कोर्दै थिएँ, अचानक स्क्रिनमा विजयकुमार दाइको धर्म र राजनीतिबारेको लेख टुप्लुक्क आयो । लामो लेख पढिसक्दा आफूले लेख्न थालेको विषयबारे विरक्ति उत्पन्न भइसकेको थियोः जसलाई कुरा सुनाउनु थियो, उनीहरु कानमा तेल हालेर बसेका छन् । यो अवस्थामा कुनै पनि लेखलाई सर्वथा निरर्थक हुनबाट बचाउने हो भने विजयकुमार दाइले झैं आम मानिसको मथिंगल एकचोटि खल्बलिने गरी र सबैलाई केही सोच्न बाध्य पार्ने गरी लेख्नुपर्छ भन्ने मलाई लाग्यो । स्वभावतः मेरो उक्त लेख अधुरै रह्यो ।

तर रात बाँकी नै थियो र रातभरमा अग्राख पलायो । धर्म, धार्मिकता र साम्प्रदायिकता अनि राजनीतिको यी तिनै चीजसँग सम्बन्ध लामो समयदेखि मेरा आफ्नै चासो र चिन्तनका विषय थिए । (सेक्युलरिजम्लाई धर्म निरपेक्षता भनेर गरिने भाषानुवाद मलाई पनि मन नपरेकाले यो लेखमा उक्त अंग्रेजी शब्द नै प्रयोग हुनेछ) । त्यसैले विजयकुमार दाइले सार्थक बहसका लागि गरेको आह्वानलाई स्वीकार गरेर म पनि मैदानमा ओर्लने  विचार गरें ।



सन् २००७ मा महेशचन्द्र रेग्मी लेक्चरका लागि काठमाडौं आएका विख्यात भारतीय विचारक आशीष नन्दीले ‘दी रिटर्न अफ द स्याकर्डः दी ल्यांग्वेज आफ रिलिजन एण्ड द फियर अफ डेमोक्रेसी इन अ पोस्ट—सेकुलर वल्र्ड’ शीर्षकमा महत्वपूर्ण लेक्चर दिएका छन् । विश्वकै धेरै कम प्रतिष्ठित राजनीतिक मनोविज्ञ तथा मनोविश्लेषकमध्ये एकमा गनिने नन्दीले आफ्ना दर्जनौं लेख र टिप्पणीहरुमा एउटा कुरा केमा जोड दिएका छन् भने पश्चिमा विश्वमा चर्च र स्टेटको द्वन्द्वपूर्ण सम्बन्ध व्यवस्थापनका लागि ल्याइएको सेक्युलारिजम्को अवधारणालाई भारतजस्ता गैर—पश्चिमा देशहरुमा हुबहु लागू गर्नु ठूलो भुल थियो । पश्चिममा गएर दीक्षित भएका र उतैको विश्वदृष्टिलाई आफसेआफ अपनाएका नेहरुले भारतलाई सेक्युलर राज्य बनाए पनि त्यहाँ सेक्युलरिज्म फस्टाउनेवाला त थिएन नै, अब अस्ताउन समेत लागेको छ भन्ने नन्दीको निक्र्योल छ ।

२००७ को उल्लिखत लेक्चरमा चाहिं उनले एउटा चाखलाग्दो र हाम्रा लागि सान्दर्भिक कुरा लेखेका छन्ः

Because the intelligentsia knows little about religion or the religious way of life, it has to take at face value everyone who claims to speak on behalf of a religion—from psychopathic, violence-prone rabble rousers like Sadhvi Ritambara and Pravin Togadia to scheming, paranoiac necrophiles like Narendra Modi and Ashok Singhal.

यो वाक्यलाई दुरुस्त नेपालीमा उतार्न गाह्रो छ तर यसको भावानुवादचाहिं यस्तो हुन्छः हाम्रा बुद्धिजीवीहरुलाई धर्म र धार्मिक जीवनबारे रत्तिभर ज्ञान नभएकाले उनीहहरुले ती सबैले भनेको पत्याउनु पर्ने हुन्छ जसले धर्मको पक्षमा बोल्ने दाबी गर्छन्, जस्तो कि, साध्वी रिताम्बरा र प्रवीन टोगडियाजस्ता मनोविकृत र हिंसाप्रिय बोलक्कडहरु देखि नरेन्द्र मोदी र अशोक सिंघलजस्ता शंकाग्रस्त मूर्दाप्रिय मानिसहरु ।

उक्त लेक्चर दिएयताका आठ वर्षमा भारतीय राजनीतिको कायापलट नै भइसकेको छ । मोदी र टोगडियाजस्ता मानिसहरुबारे भारतमा अहिले खुल्लै यस्तो अभिव्यक्ति दिने हो भने नन्दी आफैं भारतबाट लखेटिनेछन् भन्नेमा दुईमत छैन । भारतीय चुनावअघि मोदीको जित निश्चितजस्तै भएपछि ‘मोदी वेभ’ र त्यसले भारतीय राजनीतिको कायापलट गर्ने सम्भावनाबारे प्रतिक्रिया माग्दा नन्दीले उक्त विषयमा मौन बस्ने प्रतिक्रिया दिएका थिए । २००६ तिरै २००२ को गुजरात दंगाका लागि त्यहाँको मध्यमवर्गमा बढ्दो हिंस्रक संस्कृति जिम्मेवार भएको भनेर एउटा लेख लेखेकैमा उनलाई त्यहाँको मोदी सरकारले धार्मिक विद्वेष फैलाएको आरोपमा जेल हाल्ने तयारी गरेको थियो र सर्वोच्च अदालतको आदेशले मात्र उनलाई हिरासतबाट बचाएको थियो ।

पछिल्लो चुनावयता भारतको कार्यकारी प्रमुखका रुपमा आइलागेको जिम्मेवारीले मोदीको अतिवादी धारलाई भुत्तो बनाएर कम खतरनाक बनाएको भन्ने आशयको उनको एउटा लेखचाहिं आउटलुक पत्रिकामा आएको थियो ।

सेक्युलरिजम्को विरोधी तर कट्टर हिन्दुवादी भनेर दाबी गर्ने सरकारको चाहिं आँखाको कसिंगर? यो विरोधाभासलाई बुझ्ने हो भने नन्दीले यो क्षेत्रमा गरेको मनोविश्लेषण र अन्वेषणलाई बुझ्न सकिन्छ । नन्दीको केन्द्रीय तर्क के हो भने धार्मिक आस्थाहरु  न त पहिले युरोपेली एन्लाइटनमेन्टका दार्शनिकहरुले भन्ने गरेझैं मानव जातिको पछौटेपन र अविकासका जड हुन्, न त तीपछि आएका साम्यवादीहरुले भन्ने गरेझैं मानिसहरुलाई लठ्याइराखेर तिनको विकास र प्रगति अवरुद्ध गर्ने अफिम नै हुन् । बरु आस्था त मानिसलाई भर—अभरमा र खास गरी संकट र व्यवधानका बेला आडभरोसा दिने, उनीहरुको दैनिक जीवनमा नैतिकता र अनुशासनको सुनिश्चितता गरेर मानव जातिलाई सभ्य र सामाजिक बनाइराख्ने माध्यम हुन् । औद्योगिक क्रान्ति, शहरीकरण अनि विज्ञान र प्रगतिको द्रुत विकासले धार्मिक आस्थाहरुलाई धेरैले दाबी गर्ने गरेझैं निरर्थक र म्याद गुज्रेको अवधारणा बनाउनु त कता कता, तिनको सान्दर्भिकता अरु बढाइदिएका छन् भन्ने नन्दीको तर्क छ ।

धर्म हैन बरु आधुनिक राज्य मानव जातिको नैतिक पतन र अहिंसाको क्षयमा बढी जिम्मेवार छ भनेर पुष्टि गर्न नन्दीले केही उदाहरण दिन्छन्, जस्तो कि, बीसौं शताब्दीमा ठूला नरसंहारमा मारिएका बीस करोड मानिसमध्ये करीब सत्र करोड राज्ययन्त्रको प्रयोगबाट मारिएका थिए भने करीब असी लाख मानिस मात्र धार्मिक हिंसामा मारिएका थिए । त्यस्तै दोस्रो विश्वयुद्ध ताका जर्मनीमा यहुदीहरुको नरसंहार हुँदा छिमेकका यहुदीहरुलाई बचाउन अघि सर्ने र नसर्ने गैर—यहुदी जर्मनहरुको अध्ययन गर्दा के पाइएको थियो भने जसले आफ्नो ज्यान जोखिममा राखेर यहुदीहरुलाई बचाए, ती सबै धर्मप्रति समभाव हुने भनिएका सेक्युलरिष्टहरुभन्दा पाप—धर्मको ख्याल भएका धार्मिक प्रवृत्तिका मानिसहरु थिए ।

खास गरी भारतको गुजरात दंगालगायतका साम्प्रदायिक प्रकृतिका हिंसाहरुपछाडि धार्मिक आस्थाका मानिसहरु नभएर धर्मको खोल ओढेका स्वार्थलम्पट र पाप—धर्मको अवधारणाभन्दा पर रहेका मानिसहरु जिम्मेवार थिए, त्यसैले ती हिंसा चल्तीको दाबीझैं अति—धार्मिकताका परिणाम नभएर भारतमा भएको समग्र सेक्युलरिजम्को प्रयोगका असफलताका द्योतक हुन् भन्ने नन्दीको विश्लेषण छ । हुन पनि भारतीय जनता पार्टीको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघका तीनै संस्थापकहरु विनायक सावरकर, केशब हेग्डेवार र बालकृष्ण मुञ्जे आफैं नास्तिक भएको कुरा कसैबाट छिपेको छैन ।

उसो भने नन्दीले गरेको विश्लेषणको नेपालमा के सान्दर्भिकता छ त? पहिलो, जसरी नेपालका शाह राजाहरुले भगवान् विष्णुप्रति आम नेपालीको आस्थालाई भजाएर आफ्नो शासनलाई वैधता दिने कोशिस गरेका थिए, त्यसरी नै कमल थापाको पार्टीले गाईप्रति हिन्दुहरुको आस्था भजाएर आफ्नो तालुमा आलु फलाइरहेको छ । दोस्रो र थप गम्भीर, संक्रमण र संविधान निर्माणको तरल अवस्थाको फाइदा उठाएर थापालगायतका मानिसहरुले आफ्नो निहित स्वार्थका लागि मानिसहरुको आस्थालाई अझ निचोरेर देशमा धार्मिक द्वन्द्वको वीजारोपण गर्ने सम्भावना कायमै छ ।

उदाहरण हाम्रो घरमै देखियो । यही माघ आठ आउनुअघि सनातन हिन्दु राष्ट्रका लागि भनेर नारायणगढमा ठूलो भेला भएको थियो । राजनीतिक आस्थाका कारण मानिस नआउलान् भनेर त्यसमा राप्रपा नेपालको नाम कतै थिएन, कार्यक्रमलाई स्वतःस्फूर्त भनियो । भेलामा गए पनि बुवाले स्थितिको यथार्थपरक विश्लेषण गर्दै भन्नुभयोः हुन त अब हिन्दु राज्य फर्कन सक्दैन, तर पनि हाम्रो आस्था छ भनेर देखाउन भेला भएको मात्रै हो । तर भेलामा पुरस्कारस्वरुप फ्याँकिएको एउटा विष आमाबाट लुक्न सकेनः ओम्कार चिन्ह अंकित झण्डा उहाँलाई दिंदै कसैले भनेछ—पछि के हुने हो के, यसलाई सुरक्षित राख्नुहोला । अर्थात्, हामीले माग गरेझैं देशमा हिन्दु राज्य कायम भएन भने हिन्दु धर्म र यसका चिन्हहरु संकटमा पर्नेछन्, धर्म र आस्थामाथि दमन हुनेछ ।

त्यो अफवाह कुन तहबाट कति संगठित रुपमा फैलाइएको हो थाहा छैन तर कुरा स्पष्टै थियोः अन्तरिम संविधानले नै नेपाललाई हिन्दु राष्ट्रबाट हटाएको यति वर्षसम्म आकाश खस्नु त के, हिन्दु धर्ममा आस्था राख्ने मानिसहरुलाई कुनै व्यवधान छैन भने अब त्यस्तो व्यवधान आउने छैन भनेर बुझ्न नसक्ने सिधासादा धर्मभीरु बुढाबुढीहरुलाई धर्मका नाममा राजनीतिक प्रगति गर्न चाहने लम्पटहरुले उल्लु बनाइरहेका थिए । त्योभन्दा निकृष्ट अर्को राजनीतिक चाल केही हुन सक्दैन ।

आशीष नन्दीले भारतमा राष्ट्रिय स्वयंसेवक संघ र बीजेपीलगायतका हिन्दु धर्मका स्वघोषित ठेकेदारहरुको धज्जी उडाएर विशुद्ध धार्मिक आस्थालाई राजनीतिको निकृष्ट शक्ति संघर्षबाट बाहिर तान्न जुन बौद्धिक र प्राज्ञिक संघर्ष गरेका छन्, नेपालमा पनि त्यो हुनु जरुरी छ । त्यो किन भने धर्मका नाममा गरिने राजनीतिले निम्त्याउने जोखिममा तत्काल देखिने साम्प्रदायिक दंगाहरु मात्र पर्दैनन्, अहिले नेपालमा गरिएझैं एकनाशले धार्मिक र साम्प्रदायिक विद्वेषको विष समाजमा फालिरहने हो भने त्यसले ढिलोचाँडो विनाश निम्त्याउँछ ।

दुर्भाग्यको कुरा त के भने, विश्वको बौद्धिक र प्राज्ञिक क्षेत्रमा फेशनमा रहेको सेक्युलरिजम् र नेपालीमा हामीले भन्ने गरेको धर्म निरपेक्षताको पछि लाग्दा नन्दीले भारतको सन्दर्भमा भने झैं हाम्रो मुलधारको राजनीतिले पनि नेपालमा कमल थापाजस्ता मानिसहरुलाई धार्मिक आस्थाको एकतर्फी ठेकेदारीको दाबी गर्र्न छाडिदिएको छ । विभिन्न कारणले भारतमा झैं धर्मको नाममा राजनीति गर्नेहरु नेपालमा त्यति अघि नबढ्लान् तर अहिलेकै अवस्था रहने हो भने नेपाली समाजको सहिष्णुतालाई त्यसले दीर्घकालीन हानि गर्ने सम्भावना टड्कारो छ ।

आस्थाका हिसाबले आशीष नन्दी एक नास्तिक हुन् र उनी त्यो कुरा लुकाउँदैनन् । तर दशकौंको अन्वेषण र विश्व इतिहासको अध्ययनले उनलाई के निश्कर्षमा पुर्याएको छ भने पुरातन र अप्रगतिशील देखिने डरले हामीले धर्म र आस्थालाई छिछि दुरदुर गर्नाले मुठ्ठीभर अतिवादीहरुले त्यसलाई भजाएर आफ्नो निहित स्वार्थ पूरा गर्दैछन् ।

भगवान्का डरले पापकर्म नगर्ने गाउँको किसान धार्मिक कि धर्मलाई भजाएर गाई र घोडाको बुख्याँचाले सजिएको टायरले गुड्ने नक्कली रथमा पूर्व–पश्चिम गर्ने कमल थापा धार्मिक? गाउँको आम मानिसको धार्मिक आस्थालाई अस्वीकार वा बेवास्ता गर्नासाथ हामीले कमल थापाजस्ता मानिसहरुलाई त्यसलाई परिभाषित गर्ने अवसर दिन्छौं ।

कुरा हिन्दु धर्मको मात्र हैन र माथि उल्लिखित समस्या नेपाल र भारतको मात्र पनि हैन । प्रविधिको विकासले आम तवरमा समृद्धि बढ्दै गए पनि विश्वभर अध्यात्मिक विश्वदृष्टितिर मानिसहरुको आकर्षण कत्ति कम भएको छैन । खाली सेकुलर–अथेइस्ट भनिने मूलधारले धार्मिक वा अध्यात्मिक आस्थालाई प्राज्ञताको क्षेत्रमा छेउतिर धकेल्दै जाँदा धर्मलाई भजाएर जीविका गर्ने मुठ्ठीभर अतिवादीहरुले यो बहसलाई अपहरण गर्न सकेका हुन् ।

बुद्ध धर्मलाई हेर्ने हो भने संसारभरका करोडौं शान्तिप्रेमी र आस्थावान् धर्मावलम्बीहरुको आस्था एकतिर छ भने श्रीलंकाको बोडु बाला सेना र बर्माको नाइन–सिक्स–नाइन मुभमेन्ट जस्ता उग्रवादी र हिंस्रक संगठनहरुले बौद्ध धर्मको नाम बेचेर फरक सम्प्रदायका मानिसहरुको हत्या गर्ने तहसम्म ओर्लिएका छन् ।

क्रिश्चियन धर्मका कुरा गर्दा, धर्मलाई दीनहीन, अपहेलित र अन्यायमा परेका मानिसहरुको मुक्तिको माध्यम बनाउने आर्चबाइशप ओस्कार रोमेरो र ब्ल्याक लिबरेशन थियोलोजीका प्रवर्तक रेभ. जेम्स कोनका ऐतिहासिक गतिविधिहरु विस्टन चर्चिलजस्ता कुटिल राजनीतिज्ञहरुका परपीडक गतिविधिहरुको छायाँमा परेका छन् । चालीस लाख भारतीय मानिसहरु मरेको सन् १९४२–४३ को बंगाल भोकमरी त्यतिबेला भारतमा राज गरिरहेको ब्रिटेनका प्रधानमन्त्री चर्चिलले चाहेका भए सजिलै रोक्न सक्थे भन्छन् इतिहासकारहरु । अन्न पठाएर वा भारतबाट युरोपमा पठाइने अन्न कम गरेर भारतीयहरुको ज्यान जोगाउनु त कता कता, सम्बन्धित प्रसंगमा उनले भनेका थिएः आई हेट इंडियन्स, दे आर अ बिस्टली पिपुल विद बिस्टली रिलिजन । दे आर द बिस्ट्लिएस्ट पिपुल इन द वल्र्ड नेक्स्ट टु द जर्मन्स । अर्थात्, म भारतीयहरुलाई घृणा गर्छु । तिनीहरु पाशविक धर्म मान्ने पाशविक मानिसहरु हुन् । जर्मनहरुपछि विश्वकै सबैभन्दा पाशविक तिनीहरु नै हुन् ।

अहिलेको आवश्यकता के हो भने, धर्मलाई राप्रपा नेपालका कमल थापा, नाइन–सिक्स–नाइन मुभमेन्टका नेता अशिन विराथु, बोडु बाला सेनाका नेता गलागोडा अथे ननासारा वा निकृष्ट साम्प्रदायिक मानसिकताका विस्टन चर्चिलजस्ता व्यक्तिहरुको विषाक्त अँगालोबाट मुक्त गरेर आम मानिसले जसरी सरलता र सहिष्णुताका साथ ग्रहण गर्छन्, त्यो रुपमा स्थापित गर्नु । त्यसो हुनासाथै धर्मसित  कोही आत्तिनु वा तर्सिनुपर्ने स्थिति रहँदैन ।

यस हिसाबले नेपाल अहिले धर्म र धर्म–राज्य सम्बन्धबारे दोसाँधमा उभिएको छ । धर्मलाई भजाएर राजनीतिक जीविका चलाउने एउटा सानो अतिवादी समूहका लागि भनेर राज्यको धर्म उल्लेख गर्नु आवश्यक छैन । जसले त्यसो गर्नु आवश्यक छ भन्छन्, तिनीहरुको दाबी नेपाल हिन्दु राष्ट्र भएन भने हिन्दुहरुको उठिवास हुन्छ भन्ने दाबीजस्तै उडन्ते छ । कुनै पनि धर्म लाखौं, करोडौं र अरबौं मानिसहरुको विशुद्ध आस्थामा टिकेको हुन्छ, न कि कुनै राज्यले दिने आड भरोसामा । फरक धर्महरुबीच भेदभाव नगर्नु अनि धार्मिकदेखि नास्तिकसम्म सबै किसिमका आस्थाका मानिसहरुका लागि स्वतन्त्रतापूर्वक जीवन यापन गर्न दिनु नै आधुनिक राज्यको कर्तव्य हो ।

जहाँसम्म समाजको मूलधारमा सेक्युलरिजम्लाई विस्थापित गरेर अहिलेसम्म अँध्यारोमा मिल्काइएका अध्यात्म–सम्बन्धित धारणाहरुलाई स्थापित गर्नुपर्छ भन्ने आशीष नन्दीलगायतका विचारकहरुको मत छ, त्यो सामाजिक प्रयोगका लागि नेपाल पनि महत्वपूर्ण आधारभुमि हुन सक्छ । 

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more