Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Friday, April 14, 2017

बम्जन, तपस्या र धर्म

२०७३ चैत्र ३१ गते सेतोपाटीमा प्रकाशित

बुद्धले आफ्नो शिक्षामार्फत उल्ट्याएको त्यो समयको मान्यता के थियो भने यस लोकमा मानिसले गर्ने पापहरुबाट प्रायश्चित गर्न र यहाँ भोग्ने दुखबाट मुक्त हुनका लागि पूजा, यज्ञ र तीर्थाटन लगायतका कर्मकाण्डहरु गर्नुपर्छ, जसमा खास तीर्थस्थल र ब्राम्हणहरुको मुख्य भुमिका हुन्छ । बाहिरी तीर्थाटनको सट्टा अनुशासन, साधना र आफैंभित्रको यात्राले मुक्ति मिल्छ भन्ने बुद्धको अवधारणा खास गरी ती करोडौं तल्लो जातका मानिस र महिलाहरुका लागि स्वतः मुक्तिदायी थियो जो वर्णव्यवस्थाको पिंधमा च्यापिएर ब्राम्हण पुरुषहरुको खटनमा पूरा जीवन दयनीय हालतमा गुजार्थे ।



‘लिटिल बुद्ध’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनले हालै राजधानीमा विश्व शान्ति मैत्री पूजा गरेपछि उनी र उनले प्रचार गरिरहेको धर्मबारे अहिले बहस भइरहेको छ । यस क्रममा धेरै प्रश्न पनि उठेका छन् जसमध्ये प्रमुख होः के उनले वास्तवमा उनका अनुयायीहरुले दाबी गर्ने गरे झैं ज्ञान प्राप्त गरिसकेका हुन्?

यो प्रश्नको उत्तर खोज्नु यो टिप्पणीको आशय हैन। तर खास गरी उनीबारे सेतोपाटीमा तीन भागको श्रृंखला पढेपछि के लाग्यो भने विश्वमा हाल कायम धर्महरुमध्ये केही प्रमुख धर्म कसरी आए भनेर फर्केर हेर्ने यो राम्रो अवसर हो । त्यसले सिंगो बम्जनको कहानीलाई एउटा सही पृष्ठभुमिमा राखेर हेर्न तथा किन उल्लेख्य संख्यामा मानिसहरु उनको पछाडि लागे भन्ने कुरा बुझ्न हामीलाई सघाउँछ । मानव समाजमा धर्म र सभ्यताहरुको विकास कसरी भयो भन्ने इतिहास छिटपुट रुपमा स्कुल र कलेजहरुको पाठ्यक्रममा राखेर पढाउने गरिए पनि नेपालमा त्यस खालको पढाइ–सिकाइ सन्तोषजनक छैन । खास गरी आधुनिक इतिहासकार र पुरातत्वविद्हरुले पुष्टि गर्न सकिने तथ्यहरुलाई आधार मानेर त्यस खालको विकासलाई कसरी खुट्याएका छन्, त्यसबारे त हामी बेखबर नै छौं ।

त्यसैले इतिहासमा सापेक्षतः ढिलो गरी आएको इस्लाम, इसाइ र बौद्ध धर्महरुबारे विद्वान् इतिहासकारहरुले खोतलेका तथ्यहरु हेर्ने हो भने हामीलाई बम्जनबारे मात्र हैन, धर्म गुरु वा भगवान् भएको दाबी गर्ने अरु धेरै मानिसका अभियान, तिनले पाउने साथ र समाजमा छाड्ने प्रभावहरुबारे बुझ्न धेरै सजिलो हुन्छ । यस टिप्पणीमा ख़ास गरी बुद्ध धर्म र सभ्यताको विकास प्रक्रियालाई केन्द्रमा राखिनेछ।


त्यस्तो इतिहासमा जानु अगाडि विज्ञानको मदतले एउटा महत्वपूर्ण प्रश्नको उत्तर खोज्ने कोशिस गरौंः के बम्जन महिनौं केही नखाइ तपस्या बसे?

हिन्दु धर्मशास्त्रमा ऋषिमुनिहरुले केही नखाइ वर्षौं तपस्या बसेका अनगिन्ती उदाहरणहरु पाइन्छन् । एक ऋषिको त तपस्या गर्दागर्दै शरीरमा धमिरा लागेर उनी रुखको ठूटोजस्तो बनेको, ठूटो सम्झेर एक राजकुमारीले उनका आँखा कोपेर फुटाइदिएकी अनि उनले श्राप दिएका भन्ने एउटा कथा पनि छ । शरीरलाई प्रताडना दिएर तपस्या गर्यो भने मोक्षको द्वार खुल्छ भन्ने विश्वासमा त्यो बाटो अँगाल्ने योगीहरुको अहिले पनि भारतमा कमी छैन ।

तर के वास्तवमा त्यसरी बाँच्न सम्भव छ? यो विषयमा विज्ञान के भन्छ? यथार्थ के हो भने, विज्ञानले त्यो प्रश्नको पूरै उत्तर दिएको छैन र दिने दाबी पनि गर्दैन । मानिसले वैज्ञानिक ज्ञानका आधारमा बुझ्न बाँकी रहस्यहरु अझै धेरै छन् । तर अति प्रतिकुल र असम्भव मानिएको अवस्थामा मानिस वा कुनै प्राणी बाँचिरहने कारण के हुन सक्छन् भन्ने प्रश्नको आंशिक उत्तर चाहिं विज्ञानसँग छ । शीतनिद्रा वा हाइबरनेशनमा प्राकृतिक रुपमा जाने सर्पलगायतका प्राणीहरुको अध्ययनले पनि अन्य प्रजातिहरुमा यदाकदा देखिने त्यस्तो प्रक्रियाको अध्ययनलाई सजिलो बनाएको छ ।

मानिसलगायत प्राकृतिक रुपमा शीतनिद्रामा नजाने प्राणीहरु लामो समय प्रतिकुल अवस्थामा बाँच्ने अवस्थालाई विज्ञानको भाषामा सस्पेन्डेड एनिमेशन भनिन्छ । राम्रो वैज्ञानिक अध्ययन भएका त्यस्ता उदाहरणहरुमध्ये २००५ मा जन्मेकी लैना बिस्ली नामक अमेरिकी बालिकालाई लिन सकिन्छ जो कृत्रिम गर्भाधानमार्फत भ्रुण बनेको १३ वर्षपछि जन्मेकी थिइन् । उनका तिम्ल्याहा जेफ्री र कार्ली १९९२ मा जन्मेका भए पनि उनको भ्रुणलाई त्यति लामो समयसम्म फ्रिजमा राखिएको थियो । शरीरका सबै खालका रासायनिक प्रक्रियाहरु असाध्य जटिल भइसक्ने जन्मपछिको अवस्थामा त्यति लामो सस्पेन्डेड एनिमेशन सम्भव छैन तर आधुनिक विज्ञानमा समेत २४ दिनसम्म शुन्यभन्दा कम तापक्रममा अचेत अवस्थामा केही नखाइ बाँचेको (मित्सुटाका उचिकोशी, जापान, २००६) र ४० मिनटसम्म हिमतालको सतहमुनि बाँचेका (अन्ना बेगनहोम, स्वीडेन, १९९९) उदाहरणहरु छन् ।

तिनलाई विज्ञानले पुष्टि मात्र गरेको छैन, जटिल शल्यक्रियाहरुमा त्यही प्राकृतिक प्रक्रियाको सिको गर्दै शरीरको तापक्रम कृत्रिम रुपमा घटाएर मानिसहरुलाई बचाउने अभ्यास अहिले व्यवहारमै आइसकेको छ ।

बम्जन वर्षौं ध्यान बसेको प्रसंगमा ठ्याक्कै कुरा के हो यकिन छैन तर खास गरी डिस्कभरी च्यानलले खिच्दा ७२ वा ९६ घण्टा उनी निरन्तर ध्यानमा रहिरहेको भन्ने कुरा एकदमै सम्भव छ । त्यो काम पक्कै सजिलो छैन र दुर्घटनामा परेका वा नियन्त्रित रुपमा केही घण्टा शरीर चिस्याइएका मानिसहरुबाहेक त्यस खालको ध्यानमा बस्ने मानिसहरुको शरीरमा कस्ता रासायनिक प्रक्रियाहरु चल्छन् भन्ने कुनै अध्ययन भएको पाइँदैन । केचाहिं निश्चित हो भने असाध्य कडा अनुशासन र शरीरलाई निर्देशित गर्ने र त्यसका आवश्यकता पूरा गर्न झक्झक्याउने मस्तिष्कका विभिन्न हिस्साहरुमाथि कठोर नियन्त्रण नभएसम्म त्यो काम सम्भव छैन ।

शरीर र मस्तिष्कबीचको यही जटिल अन्तक्रियाका अनेक आयामहरु अहिले पनि हाम्रो ज्ञानभन्दा बाहिर छन् । तर भौतिक विज्ञान र मनोविज्ञानको उपलब्ध ज्ञानले के भन्छ भने मानव शरीरको प्रतिकुल अवस्थामा टिकिरहन सक्ने क्षमता दैनिक व्यवहारमा देखिनेभन्दा निकै बढी हुन्छ र कठोर मानसिक अभ्यासले शरीरलाई समेत त्यस्तो प्रतिकुल अवस्थामा टिक्न सहयोग गर्छ । त्यसैले बाध्यताले भोक र तिर्खा सहनुपर्ने युद्धपीडित र विस्थापितहरु केही दिन वा हप्ताको अवधिमा हजारौंको संख्यामा मरेका उदाहरण हुँदाहुँदै पनि केही मानिसहरु महिनौंसम्म भोक हडतालमा बाँचेका उदाहरणहरु छन् । ६३ दिन भोकै बसेर मृत्युवरण गरेका जतिन्द्रनाथ दास र ५८ दिन भोकै बसेर मरेका अमरजीवी श्रीरामुलु होउन् वा ११६ दिन भोकै बसेर समेत बाँचेका भगत सिंह होउन्, महात्मा गान्धीबाहेक पनि लक्ष्य प्राप्तिका लागि कठोर त्याग गर्न सक्ने धेरैले मानव शरीर कति प्रतिकुल अवस्थामा बाँच्न सक्छ भन्ने सिद्ध गरेका छन् ।

त्यसैले बम्जन लामो समय नखाइ तपस्या बसेको भन्ने कुरा सहज नभए पनि वैज्ञानिक रुपमा असम्भव छैन ।

अब हाम्रो मूल विषयसँग जोडेर अर्को एउटा प्रश्नको जवाफ खोजौंः बुद्ध, जिसस वा मोहम्मदले आफ्नो जीवनकालमा गरेको पथप्रदर्शन र त्यसको आधारमा कालान्तरमा संस्थागत हुन पुगेका धर्म–परम्पराबीच के फरक छ?

इतिहास के भन्छ भने, बुद्ध, मोहम्मद र जिससजस्ता पथप्रदर्शकहरु जब विश्वमा थिए, उनीहरु देवताभन्दा बढी क्रान्तिकारी थिए । उनीहरुको प्रशंसा र स्तुतिभन्दा बढी निन्दा र विरोध हुन्थ्यो । जिससलाई त त्यतिखेरको सत्ताले आफूमाथिको खतरा ठानेर ज्यानसमेत लियो । ज्ञान प्राप्त भएलगत्तै मक्कामा मुर्ति पूजाको विरोध गर्दा कडा प्रतिरोधको सामना गरेका मोहम्मद छ वर्षसम्म याथ्रिव नामक शहरमा विस्थापित भएनन् मात्रै (जसको नाम मोहम्मद गएपछि मदिना बन्न पुग्यो), उनले सिर्जना गरेको नयाँ व्यवस्था मक्काका पुराना सरदारहरुको सांघातिक आक्रमणमा पर्यो र त्यसमा विजयी भएका कारण मात्र उनी मक्कामा फर्केर आफ्नो पथप्रदर्शन जारी राख्न सके ।

बुद्धले आफ्नो शिक्षामार्फत उल्ट्याएको त्यो समयको मान्यता के थियो भने यस लोकमा मानिसले गर्ने पापहरुबाट प्रायश्चित गर्न र यहाँ भोग्ने दुखबाट मुक्त हुनका लागि पूजा, यज्ञ र तीर्थाटन लगायतका कर्मकाण्डहरु गर्नुपर्छ, जसमा खास तीर्थस्थल र ब्राम्हणहरुको मुख्य भुमिका हुन्छ । बाहिरी तीर्थाटनको सट्टा अनुशासन, साधना र आफैंभित्रको यात्राले मुक्ति मिल्छ भन्ने बुद्धको अवधारणा खास गरी ती करोडौं तल्लो जातका मानिस र महिलाहरुका लागि स्वतः मुक्तिदायी थियो जो वर्णव्यवस्थाको पिंधमा च्यापिएर ब्राम्हण पुरुषहरुको खटनमा पूरा जीवन दयनीय हालतमा गुजार्थे । एक हिसाबले, बुद्धले युगौंदेखि मानिसले मोक्षको प्रयासमा प्रयोग गरिआएका ( र त्यसबाट अन्तहीन फाइदा लिई आएका) बिचौलियाहरुलाई हटाइदिएका थिए । त्यसो हुँदा जसको स्वार्थमा आँच आएको थियो, उनीहरु स्वभावतः बुद्धसित रुष्ट थिए र टाढा टाढाका भुभागमा लगत्तै बौद्ध धर्मले जरा गाड्दै गर्दा उनको कर्मभुमि भारतीय उपमहाद्वीपमा बौद्ध दर्शन खिइँदै जानु र हिन्दु वर्णाश्रम व्यवस्था कायम रहिरहनुमा त्यस समाजको त्यही शक्तिशाली हिस्साको मुख्य भुमिका थियो ।

बुद्धले मोक्षसम्बन्धी उल्ट्याइदिएको अर्को धारणा भनेको त्यसका लागि त्याग वा चरम् आत्मपीडनको आवश्यकता हो । आफैंले छ वर्षसम्म चरम अवस्थामा ध्यान गरेर उनलाई बोध भएको कुरा के थियो भने मुक्तिको एउटै बाटो भनेको मध्यमार्ग होः वीणाको तार ढिला छाड्यो भने त्यो बज्दैन तर धेरै कस्यो भने पनि चार चुँडिन्छ तर वीणा बज्दैन, बौद्ध दर्शनको एउटा केन्द्रीय अवधारणा यही हो । समाज र यसका सुखसुविधाहरुबाट टाढा जंगलमा वा पहाडको गुफामा वर्षौं सबै इन्द्रियहरुलाई दबाएर कठोर तपस्या गरेपछि मात्र ज्ञान प्राप्त हुन्छ वा मुक्ति मिल्छ भन्ने त्यो बेला स्वीकारिएको मान्यतामा धावा बोल्दै बुद्धले भनेका थिएः तिमीभित्र अहिले यहीं र यसै बखत मुक्तिको मार्ग छ, खाली भित्री आँखा खोलेर आफैंलाई हेर ।

आफ्नो जीवनकालमा ती पथप्रदर्शकहरु असाधारण प्रतिभाका मानिस थिए र उनीहरुको प्रभाव त्यतिखेरको समाजमा अभुतपूर्व रुपमा फैलिएको थियो तर मुख्यतः उनीहरुलाई देवत्वकरण गरिएको उनीहरुको जीवन सकिएको लामो समयपछि मात्रै हो । त्यस खालको देवत्वकरण र उनीहरुले दिएको शिक्षाको यान्त्रिक व्याख्याबाट जुन परम्पराको निर्माण भयो, कालान्तरमा त्यसले उनीहरुको शिक्षाका आडमा बनेको धर्म र सभ्यताको मुख्य हिस्सा ओगट्न पुग्यो ।

त्यसो हुनुको खास कारण छ । त्यतिबेलाको समयमा क्रान्तिकारी लाग्ने ती पथप्रदर्शकहरुको शिक्षामा उनीहरुको जीवनकालमा जुन धार र प्रभाव थियो, त्यो उनीहरुको मृत्युपछि समयसँगै स्वभाविक रुपमा खस्कँदै गयो र अपभ्रंशित पनि हुँदै गयो । त्यसबाट जुन खालीपन सिर्जना हुन गयो, त्यसलाई भर्न अनेक खाले चमत्कार र जादुगरी कथाहरु सिर्जना गरिए र ती हरेक धर्मको मौखिक इतिहासका हिस्सा बने र पछि गएर तीमध्ये कति लिपिबद्धसमेत भए । कालान्तरमा तथ्य र कल्पनाबीच भिन्नता छुट्याउन असम्भवप्रायः हुन पुग्यो । त्यस्ता काल्पनिक कथाहरुमध्ये कति रोचक र हानिरहित थिए त कति थिएनन् ।

बौद्ध, इसाइ वा इस्लाम, कुनै पनि धर्म त्यतिबेलाको राज्यसत्ताको प्रभाव वा स्वीकृतिको बलमा आएका थिएनन् बरु तिनको धार त्यतिबेलाको परम्पराभन्दा ठिक उल्टो थियो । मोहम्मदको जीवनकालमा उनले प्रवद्र्धन गरेको दर्शनका कारण मक्काका तत्कालीन शासक रहेका (उनी आफैं जन्मेको कुल) कुरेश फौजसित उनी अन्तर्गतको मदिनाको मुस्लिम फौजको तीन पटक लडाइँ भएको थियो तर आधारभुत रुपमा उनको ध्यान आफूले पाएको ज्ञान फैलाउनुमा थियो, भुभाग जितेर शासन गर्नुमा थिएन । बूद्धले त कुनै पनि रुपमा युद्ध र सत्ता प्राप्तिमा ध्यान दिने प्रसंगै उठेन ।

तर प्रवर्तकको मृत्यूपश्चात् धर्मको प्रभाव बढ्दै गएसँगै सत्ता र धन शक्ति त्यससित घनीभुत जोडिन पुग्यो र हजारौं वर्षदेखि मानव समाजमा चल्दै आएको शक्ति संघर्षमा यी नयाँ धर्महरु पनि मिसिए । शासकहरुले नयाँ भुभाग जितेपछि त्यहाँ जबर्जस्ती धर्म परिवर्तन गराउनु आम प्रवृत्ति बन्न पुग्यो । स्वभावतः ज्यादतीपूर्वक धर्म फैलाउने कामको पहिलो शिकार ती धर्मका प्रवर्तकहरुले दिएका मूल शिक्षा भए । तरवार र बन्दुकको नालका बलमा आफ्नो भनिएको धर्म र सभ्यता फैलाउन चाहनेहरुलाई स्वभावतः मोहम्मद वा जिससले दिएको सन्देश के थियो भन्दा पनि तिनका आधारमा स्थापित हुन पुगेका र हेर्दा सहजै चिनिने धर्मका पहिचानहरु महत्वपूर्ण भए, जस्तो कि चर्च वा मस्जिद जानेहरुको संख्या, बुर्का लगाउने महिलाहरुको संख्या, आदि ।

धर्म सत्ता शक्तिको आधार बन्दा केही उल्लेखनीय आधुनिक द्वन्द्वहरु कसरी जन्मे भन्ने एउटा उदाहरणः मोहम्मदको असली उत्तराधिकारी को भन्ने विषयमा इस्लाम धर्ममा दुई भँगाला फाट्न पुग्दा बनेका सुन्नी र शिया समाज र देशहरुबीचको द्वन्द्व अहिले मुस्लिम देशहरु र विश्वकै जटिल द्वन्द्वमध्ये पर्छ ।

त्यसबाहेक, गत १३ शताब्दीको इतिहासमा इस्लाम र इसाइ धर्मको फैलावट र अन्तक्रिया रक्तपातपूर्ण रहेको छ र  यी विषयमा अनेक गहिरा अध्ययनहरुसमेत भएका छन् । तर हामी बाँचिरहेको समयका लागि एकदमै सान्दर्भिक प्रसंगचाहिं निःशर्त रुपमा मैत्री, अहिंसा र करुणाको वकालत गर्ने बौद्ध धर्मको भ्रष्टीकरण र विकृतिकरण छ, जसबारे अपेक्षित अध्ययन अझै हुन नसकेको देखिन्छ । तीमध्ये भुटान, श्रीलंका र बर्मामा बौद्ध धर्म र सभ्यताको रक्षा गर्ने नाममा फरक समुदायका नागरिकहरुप्रति समाज र राज्यले गरेको ज्यादती र हिंसालाई लिन सकिन्छ ।

यो टिप्पणीका लागि अन्तिम प्रश्नः धर्मबारे टिप्पणी गर्दा भारतीय उपमहाद्वीपमा हजारौं वर्षदेखि चलिआएको हिन्दु धर्मबारे किन जिकिर नगरिएको? गौतम बुद्धको मृत्यू भएको पाँच शताब्दी हाराहारी पछाडिबाट बुद्धको जीवन र दर्शनबारे लिखित सामाग्रीहरु उपलब्ध छन् । जिसस र मोहम्मदको समयसम्म आउँदा लिखित भाषा धेरथोर स्थापित भइसकेको थियो। जीससको मृत्युको केही दशकपछाड़ि देखिका लिखित दस्तावेजहरु अहिले उपलब्ध छन् भने कुरान चाहीं मोहम्मदलाई जसै जसै 'उपलब्ध' भयो, त्यतिबेलै उनका सहयोगीहरुले त्यसलाई लिखित रुपमा उतारेका थिए । अनेक थरी कहानी र किम्बदन्तीका बीच पनि तीनै जनाको जीवनबारे मूलतः विवादरहित धेरै तथ्यहरु उपलब्ध छन् । अर्कोतिर, गौतम बुद्धकै समयमा भारतीय उपमहाद्वीपमा चलिआएको हिन्दु धर्म र सभ्यता निकै पुरानो भइसकेको थियो । त्यस्तै हिन्दु धर्मका अनेक धर्मशास्त्रहरु लिखित रुपमा उपलब्ध भए पनि तीमध्ये धेरै जसो ठ्याक्कै कुन मितिमा कसले लेखेको भन्ने यकिन छैन र हिन्दु धर्मलाई विविधता र गहिराइ दिने असंख्य साधक र मुनिहरुले आफ्नो काम मात्र छाडेका छन्, पहिचान छाडेका छैनन् ।

त्यसैले खास व्यक्तिले सापेक्षतः निकट विगतमा प्रवद्र्धन गरेका बौद्ध, इसाइ वा इस्लाम धर्मको अध्ययन गर्नु वा तिनबारे टिप्पणी गर्नु जति सजिलो छ, हिन्दु धर्मबारे त्यसो गर्नु सजिलो छैन, यद्यपि धर्मको प्रादुर्भाव, विकास र विकृतिकरणबारे अन्य धर्मबारे भनिएका कुराहरु यो धर्ममा पनि लागू हुन्छन् ।

अन्तमा, बम्जनबारे हाम्रो जिज्ञासा हुनु स्वभाविक हो र उनका भावी गतिविधिले उनीबारे थप जानकारीहरु देलान् तर हामी आफैंले वा हामी वरिपरिका मानिसहरुले मानिआएका धर्महरुको अध्ययन पनि कम रोचक र सान्दर्भिक चाहिं छैन । खास गरी छिमेकी भारतमा धर्मको सिंढी चढेर मानिसहरु सत्तामै पुगिसकेको र नेपालमा समेत धर्मका नाममा गरिने राजनीतिले टाउको उठाउने कोशिस गरिरहँदा अहिले धर्म भनेर बुझिने कुरा मात्र हैन, विभिन्न धर्मका प्रवर्तकहरुले आफ्नो समयमा फैलाउन खोजेका मूल सन्देशहरुबारे पनि हामी जानकार हुनु आवश्यक छ । 

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more