Monday, September 8, 2014

धर्म र सम्प्रदायको विवादः कति आस्था कति पाखण्ड?

सम्प्रदायगत पाखण्ड र आडम्बर तिनै मानिसहरुलाई आवश्यक हुन्छ, जो १) आफ्नो जीवनमा असन्तुष्टि र असफलताका लागि वहाना खोज्दा तिनलाई फेला पार्छन्  २) जसलाई सत्ता र शक्ति प्राप्त गर्नुछ तर तीबाहेक त्यस्तो प्राप्तिको अर्को माध्यम आफूसँग छैन  ३) जसलाई दैनिक जीवनमा पाप र अपराधबोध यति हुन्छ कि तिनलाई पखाल्ने व्यग्रतामा र छोप्ने चेष्टामा उनीहरु जस्तोसुकै माध्यम अपनाउन तयार हुन्छन् ।

एउटी गायिकाले खास शब्द भएको एउटा गीत गाउन अस्वीकार गरेको समाचार बाहिर आएपछि धर्म, धार्मिकता र धर्म परिवर्तनबारे नेपालमा चलेको तातो बहस अब बिस्तारै सेलाउने क्रममा छ । यही मौका छोपेर यी विषयसित सम्बन्धित तर चर्चामा कम आएका वा आउँदै नआएका पाटाहरुबारे प्रकाश पार्न जरुरी हुन आएको छ ।

त्यो किन पनि भने समाज र देशमा धर्म र साम्प्रदायिकताबारे यथोचित स्वस्थ बहस नहुँदा जब जब तीसम्बन्धी विवाद छेडिन्छन्, तिनको पक्ष र विपक्ष दुवैतिर अतिवादी विचारका मानिसहरु हावी हुने गर्छन् ।

त्यसैले निकट विगतको यो प्रकरणले जन्माएको तिक्तता र आक्रोशलाई थाँती राख्दै यो विषयमा खुलेर स्वस्थ बहस गर्नैपर्ने भएको छ । त्यस्तो बहसले भविष्यमा यस्तो विवाद उठ्दा दुवै पक्षतिर तार्किक र गैर—अतिवादी तर्क र दाबीलाई बल पुर्याउने मेरो अपेक्षा छ ।


धर्म कि साम्प्रदायिकता?


अंग्रेजीमा जेलाई रिलिजन भनिन्छ, त्यसले संस्कृतबाट आएको धर्म शब्दलाई भन्दा बिल्कुल फरक अर्थ बोक्ने साम्प्रदायिकता शब्दलाई प्रतिनिधित्व गर्छ भन्ने कतिपय विद्वान्हरुको भनाइसित म सहमत छु ।

त्यो किन भने, अमेरिकामा कुरान जलाउने अभियानलाई नेतृत्व गर्ने क्रिश्चियन पादरी देखि आफ्नै धर्मको फरक सम्प्रदायलाई समेत मार्ने स्पष्ट एजेण्डा बोकेका सशस्त्र समुहलाई अरबौंको सहयोग गर्ने मुसलमान साउदी राजतन्त्रसम्म, राज्य आतंकको पर्याय बनेको इजरायलको ‘यहुदीवादी’ राज्य देखि भारतका अतिवादी हिन्दु समूहसम्म सबैले धर्म वा आस्थालाई खाली हतियारको रुपमा प्रयोग गरेर तथा आफ्नो सम्प्रदायको नाम भजाएर शक्ति, सत्ता र वैधता हत्याउने गर्छन् ।

त्योभन्दा पर धार्मिक ग्रन्थमा लेखिएझैं मानव कल्याण गर्ने वा सधर्मीहरुको कल्याण गर्नेसमेत उनीहरुको ध्येय हुँदैन ।

त्यसैले हामीले जेलाई धार्मिक अतिवादी भन्छौं, ती यथार्थमा साम्प्रदायिक अतिवादी हुन् किनकि सच्चा धार्मिक मानिसले कुनै धर्मको भए पनि हत्या, हिंसा, चोरी र लुटपाटजस्ता गतिविधि गर्छ भनेर कल्पना गर्न पनि सकिंदैन ।

त्यसरी नै जेलाई हामीले धर्म परिवर्तन भन्छौं, त्यो पनि विशुद्ध सम्प्रदाय परिवर्तन हो किनकि सच्चा धार्मिक वा अध्यात्मिक मानिसलाई उसको ‘धर्म’को नाम के हो, त्यसले केही फरक पर्दैन । मानव सेवा र परोपकार गर्ने हो भने त्यसलाई संसारको कुनै पनि धर्मले छेक्दैन ।


हो, एउटा सम्प्रदायमा व्याप्त परम्परा, कर्मकाण्ड र थिचमिचोसित  चित्त नबुझेका वा फरक सम्प्रदायका खास विशेषताहरु मन पराउने मानिसहरुको जीवनमा त्यस्तो परिवर्तनले ठूलो भुमिका खेलेर दैनिक जीवनमा पर्याप्त सन्तुष्टि ल्याउन सक्छ । त्यसबाहेक अभाव र गरिबीमा पिल्सिएका र आफ्नो सम्प्रदायबाट कुनै राहत नपाएकाहरुले त्यस्तो परिवर्तनबाट राहत महसुस गर्ने गरेको पाइन्छ ।

त्यसबाहेक साम्प्रदायिक विभाजनबाट शक्ति र वैधता हासिल गर्ने मानिसहरु र तिनीहरुका स्वार्थ समूहले विश्व इतिहासमा धेरै अघिदेखि त्यस्तो विभाजनको खेती गर्दै आएका हुन् । युद्ध जितेर फरक सम्प्रदायका मानिसहरुलाई जबर्जस्ती सम्प्रदाय परिवर्तन गराउनु तथा फरक रुपमा बल र प्रलोभन एकसाथ प्रयोग गरेर त्यस्तो परिवर्तन गराउनु मानव इतिहासको एउटा ज्यादै फराकिलो गतिविधि बन्दै आएको छ । खास गरी पश्चिमा विश्वबाट निस्केका इसाइ पादरीहरु त्यस्तो सम्प्रदाय परिवर्तन गराउने मिशन नै तोकेर पूर्वीय र दक्षिणी विश्वका कुनाकाप्चा पुग्ने हुनाले तिनीहरुको नाम नै मिशनरी बन्न गएको हो ।

त्यस्ता कार्यकलापमा संलग्न मानिसहरुले विभिन्न धार्मिक आस्थाहरुको सारमा जुन एकरुपता पाइन्छ, त्यसलाई छोपेर र विभिन्न रुपमा ती आस्थाबीच रहेका प्राविधिक र सामान्य भिन्नतालाई बढाइचढाइ गरेर एउटा धर्मलाई अर्कोभन्दा सानो वा ठूलो बनाउने गरेको पाइन्छ । त्यसो गर्नुको कारण पनि आस्थागत भन्दा उपयोगवादी बढी हुन्छ किनकि उनीहरुले आफ्नो रोजीरोटी चलाउने नै आफ्नोे सम्प्रदायलाई महान् र अर्कोलाई तुच्छ घोषणा गरेर तुच्छ सम्प्रदायका मानिसहरुलाई आफूतिर तान्नु हुने गर्छ ।

यो परिप्रेक्ष्यमा, हालको विवादमा तानिएकी गायिकाले पनि धर्म नभएर सम्प्रदाय परिवर्तन गरेकी हुन् र उनको पक्ष र विपक्ष दुवैतिरबाट आएका धारणा र प्रतिक्रियाहरु मूलतः साम्प्रदायिक कोणबाट आएका थिए, यद्यपि साम्प्रदायिक शब्द सधैंजसो दंगा वा वैमनस्यसित सम्बन्धित भएर आउने हुनाले मानिसहरुलाई तिम्रो धारणा साम्प्रदायिक थियो भनेर भन्यो भने त्यसलाई नकारात्मक अर्थमा लिने सम्भावना रहन्छ जबकि यथार्थ त्यस्तो हैन । हामी सबै मिलेर भाषा दुरुपयोग गर्दै धर्मलाई गलत अर्थमा र सम्प्रदायलाई नकरात्मक अर्थमा प्रयोग गरेकाले मात्र त्यस्तो भान पर्न गएको हो ।

यसरी उनको कदमको समर्थन वा विरोध गर्नुअघि बुझ्नुपर्ने पहिलो कुरा के हो भने, यो बहस धर्म वा अध्यात्मको हैन, सम्प्रदायको हो ।


सम्प्रदायहरुको मायाजाल

खुलेर भन्ने हो भने अहिले धर्मका नाममा संसारमा जति पनि दोकान थापिएका छन्, तिनीहरुको धर्म र अध्यात्मसित कुनै पनि सम्बन्ध छैन । चतुर, हिंस्रक र पाखण्डीहरुले सबैजसो धर्मलाई मागिखाने भाँडोदेखि मानिस मार्ने निहुँसम्मको रुपमा प्रयोग गर्ने गरेका छन् ।

जो सच्चा इसाइ छन्, उनीहरु अहिले पनि इटली वा स्पेनका गाउँ वा शहरमा दुखजिलो गर्छन्, चर्च जान्छन्, प्रायश्चित गर्छन्, अनि फेरि काममा फर्कन्छन् । जो सच्चा मुसलमान छन्, ती पाकिस्तानदेखि यमनसम्म मुस्किलले गाँस जुटाउँछन्, साविकअनुसार नमाज पढ्छन् र मस्जिद जान्छन् तर शत्रु घोषणा गरेर कसलाई मारौं भन्ने तिनको मनमा कुनै पनि हालतमा आउँदैन । जो सच्चा हिन्दु र बौद्ध छन्, उनीहरु नेपालदेखि कोरियासम्म आ—आफ्नो हैसियतअनुसारको जीवन ज्यूँछन्, मन्दिर वा गुम्बा जान्छन् अनि सकेको दान दक्षिणा दिन्छन् । कति समुदायमा दुई वा सोभन्दा बढी आस्थाका मानिसहरु बस्छन् तर आस्थाकै कारण तीबीच कहिल्यै विभाजन र वैमनस्य हुँदैन जबसम्म साम्प्रदायिकताको विष षड्यन्त्रपूर्वक फैलाइँदैन ।

अर्कोतिर इस्लाम धर्मको नाम भजाएर आइएस नामको एउटा अतिवादी समूहले अहिले पश्चिम एसियामा भष्मासुर पार्दै हजारौं मानिसहरुको कत्लेआम गर्दैछ भने बूद्ध धर्मको मुखुण्डो लगाएर म्यान्मारका खास मानिसहरुले त्यहाँको मुसलमान समुदायलाई हत्या र दंगामार्फत् विस्थापित गर्दैछन् । यहुदी धर्मको खोल ओढेर इजरायल भनिने देशले छ दशकदेखि दण्डहीनतापूर्वक प्यालेष्टिनीहरुलाई मार्दै र विस्थापित गर्दै आएको छ । भारतमा अहिले पनि हिन्दु अतिवादीहरुले मानिसहरुको ध्रुवीकरणमार्फत् चुनाव जित्नकै लागि भनेर बस्तीका बस्ती उजाड हुने गरी साम्प्रदायिक दंगा फैलाइरहेका छन् । मध्य अफ्रिकी गणतन्त्रमा गत वर्ष शुरु भएर अझै नसेलाइसकेको हिंस्रक गृहयुद्धमा इसाइ र मुस्लिम अतिवादीहरुले नृशंसताका लागि एक अर्कासित प्रतिस्पर्धा गरिरहेका छन् ।

धर्म भन्छः क्षमाशील बन, शत्रुलाई पनि क्षमा गर । मैले देखाएको एउटा बाटो मात्र सत्य बाँकी सबै मिथ्या, मेरा अनुयायी धार्मिक, बाँकी सबै पापी र दुष्ट भनेर धर्मले भन्दैन ।

तर धर्मको खोल ओढेको साम्प्रदायिकताले त्यसो भन्छ । रक्तपिपासु तानाशाहजस्तै उसका लागि आफूले देखेको सत्यबाहेक अरु सबै मिथ्या हुन्छ । आफ्ना अनुयायी धार्मिक हुन्छन् भने बाँकी सबै पापीहरु । र त्यो पाप पखाल्ने कुनै उपाय छ भने त्यो त्यही सम्प्रदायमा प्रवेश गर्नु हुन्छ ।

यी सम्प्रदायका अुनयायीहरु कति कट्टर हुन्छन् भने, आफूले विश्वास गरेको सत्यप्रति कसैले औंला उठ्यायो भने ती त्यसलाई मार्न जाइलाग्छन् । बाइबललाई आखिरी सत्य मान्ने इसाइ पादरीहरुले बाइबलको खिलाफ बोलेकैमा जर्दानो ब्रुनो नामक वैज्ञानिकलाई ज्यूँदै जलाए ।

त्यसै गरी हिन्दु धर्म युगौंदेखि पण्डितहरुले व्याख्या गर्ने गरेझैं एकाकी पाराको नभएर बहूलतापूर्ण थियो भनेर लेखेकैमा भारतका हिन्दु अतिवादीहरुले एउटा पूस्तकप्रति केही महिनाअघि आपत्ति जनाएपछि भारतको प्रतिष्ठित प्रकाशकले लज्जास्पद रुपमा त्यसको प्रकाशन नै रोकेको थियो । १९९२ को दंगाको बेला बंगलादेशका हिन्दुहरुमाथि भएको ज्यादतीबारे साँचो कुरा लेखेकैले त्यहाँका मुस्लिम अतिवादीले जारी गरेको फतवाले तसलीमा नसरिनलाई अहिलेसम्म भारतीय उपमहाद्वीपमा बस्न समेत  एक स्तरको जोखिम छ, बंगलादेश फर्कनु त परै जाओस् । भारतका क्रमशः मुस्लिम र हिन्दु अतिवादीहरुका कारण सलमान रस्दी र एम एफ हुसेनजस्ता उपन्यासकार र चित्रकार निर्वासित जीवन बिताउन बाध्य भए / छन् ।



अञ्जु पन्तको प्रसंग


अञ्जु पन्तले गीत नगाएको प्रकरणप्रति धेरै मानिसहरुले आ—आफ्नो गच्छेअनुसार टिप्पणी गरे । धेरैले धर्म वा आस्थाको जलप लगाएर आफ्ना कुण्ठा र पूर्वाग्रहहरु पोखे ।

तर पहिलोपल्ट समाचार पढ्नासाथ मेरो जिज्ञासा रह्योः इसाइ धर्मावलम्बी हुँदाहुँदै पनि उनले त्यो गीत गाउनै नसक्ने स्थिति कसरी सिर्जना भयो? अर्थात्, उनले गाइहालेको भए त्यस्तो के हुन्थ्यो, जसका कारण उनले नेपालमा आफ्नो लोकप्रियतालाई नै दाउमा राखेर त्यस्तो कदम उठाइन्?

यो प्रकरण बाहिर आएलगत्तै त्यसबारे लेख्ने र बोल्ने मिडियाको तँछाडमछाडले त्यसपछि बाहिर आएका भनिएका उनका अभिव्यक्ति कति सत्य थिए भन्न गाह्रो छ र सञ्चारकर्मी नभएकै कारण उनको धारणा लिने सुविधा पनि मसँग छैन ।

एउटा सञ्चारमाध्यममा आएको उनलाई उद्धृत भनाइलाई आधिकारिक मान्ने हो भने, त्यस्ता शब्द भएको गीत गाउँदा उनको जीवनलाई असर पथ्र्यो ।

त्योभन्दा आपत्तिजनक कुरा अर्को कुनै हुन्छ जस्तो मलाई लाग्दैन । त्यो अवस्थामा अञ्जु पन्तलाई सबैले घृणा हैन सहानुभुति दिनुपर्छ, एउटा त्यस्तो सम्प्रदायको कैदी—बन्दीको रुपमा जो एउटा कलाकारका रुपमा कुन गीत गाउने र कुन गीत नगाउने भन्ने निर्णय गर्ने अधिकार आफ्नो सम्प्रदायगत आस्थालाई छाड्न बाध्य छ ।

र अझ डरलाग्दो कुरा त उनीमाथि आस्थारुपी एउटा यस्तो तरबार झुण्डिएको छ जो उनले एउटा फरक सम्प्रदायको आस्था बोकेको गीत गाउनासाथ उनीमाथि बज्रिन्छ । व्यक्तिको मौलिक अधिकारको त्योभन्दा नग्न हनन कुनै हुन सक्दैन । बरु एउटा लोकतान्त्रिक मुलुकको नागरिकको रुपमा कुनै गीत गाउने वा नगाउने मेरो अधिकार छ भनेर उनका धेरै शुभेच्छुकहरुले सुझाएझैं भनेको भए त्यो कता हो कता स्वीकार्य उत्तर हुने थियो । यो कुराचाहिं उनले स्पष्टीकरणका लागि सामाजिक सञ्जालमा राखेको हस्तलिखित नोटमा समेत भन्न सकेकी छैनन् ।


इसाइ—महात्म्य र कटु यथार्थ

यदि त्यो कुरा साँचो हो भने, प्रलोभनले वा विना—प्रलोभन नै नेपालमा सम्प्रदाय परिवर्तन गरेर इसाइ सम्प्रदायमा गएका अरु मानिसहरुका मौलिक अधिकारहरुको के हालत होला त भन्ने प्रश्न उठ्छ जबकि एउटा विख्यात सेलिब्रिटीको हालत त यस्तो छ । आफ्नो जीवन र समाजबाट सन्तुष्ट मानिसहरुले कमै सम्प्रदाय परिवर्तन गर्छन् । तर विभिन्न असन्तुष्टिका कारण जो त्यस्तो परिवर्तनमा भाग लिन्छन्, कतै उनीहरु अर्को सम्प्रदायगत अतिवादका शिकार त हुँदैनन्?

उनीहरु आफैंले त त्यसलाई मुक्ति वा मोक्ष भनेर परिभाषित गर्लान् तर नेपालको संविधानले त धर्म वा सम्प्रदायको निरपेक्ष व्यक्तिका मौलिक अधिकारहरुको ग्यारेन्टी गरेको छ र त्यस्ता प्रसंगलाई हामीले संविधानको कसीमा राखेर मूल्यांकन गर्नुपर्छ ।

त्यो अवस्थामा विश्वका इसाइ बहूल धेरै पश्चिमा राष्ट्रहरुलाई धार्मिक स्वतन्त्रता र मौलिक अधिकारबारे नेपालले राम्रो पाठ पढाउन सक्छ । पश्चिममा कसैले नेपालमा बाहुल्य रहेको हिन्दु सम्प्रदायगत आस्था अँगाल्न खोज्यो भने उसले इसाइ भजन गाउन वा कुरान पढ्न निषेध हुँदैन र त्यसो गर्दैमा उनीहरुको जीवनमा कुनै असर पर्दैन ।

पश्चिमाहरुलाई भगवान् र तिनका शास्त्रलाई इश्वरीय वाक्य ठान्ने पूर्वीयाहरुले एउटा सत्य सधैं याद गरे हुन्छः अन्य शास्त्रजस्तै बाइबल पनि मानिसबाट लेखिएको र इश्वरीय वचनका रुपमा प्रचार र व्याख्या गरिएको शास्त्र हो र त्यसका वचनको साँचो अर्थ तिनी व्यवहारमा कसरी उतारिन्छन् भन्नेमा निर्भर हुन्छ ।

संसारभर इसाइ धर्म फैलाउन मिशनरीहरु पठाउने बेलायती साम्राज्यले विश्वभरका बर्बर र असभ्य जातका मानिसहरुलाई इसाइ धर्मको उज्यालोले देदीप्यमान उद्घोष गर्दै के गरेको थियो, जाँदाजाँदै एउटा प्रसंग हेरिहालौं ।

सन् १९४२ मा भारतभर अनपेक्षित रुपमा अन्न उब्जनीमा उल्लेख्य ह्रास आएको थिएन । तर लगत्तै बंगाल क्षेत्रभर मानिसहरु भकाभक भोकले मर्न थाले । सडकभर कुकुर र मानिसहरुका लास एकनासले छापिए, तिनलाई उठाएर दाहसंस्कार गर्ने पनि कोही भएन । बंगाल भोकमरी भनेर चिनिने उक्त भोकमरीमा चालीस  लाख सम्म मानिसहरु मरेको बताइन्छ ।

भोकमरीको कारण थियोः मानिसहरुले अन्न किन्न नसक्नु, किनकि अन्न एकाएक अचाक्ली महंगो बन्न गएको थियो । महंगो किन भयो भने, दोस्रो विश्वयुद्धमा व्यस्त युरोपमा अन्न उब्जाउमा भारी गिरावट आएपछि भारतभरको अन्न पानी जहाज हुँदै बेलायतको बाटो लाग्यो । बेलायतमा अन्नको डंगुर लाग्यो भने भारतमा लासको । विश्व इतिहासकै ठूला राजनेता मानिने तत्कालीन बेलायती प्रधानमन्त्री विस्टन चर्चिलले त्यस्तै  प्रसंगमा भनेका थिएः आई हेट इंडियनस, दे आर अ बिस्टली पीपल विद बिस्टली रिलिजन।  … दे आर दी बिस्टलिएस्ट पीपुल इन दी वर्ल्ड नेक्स्ट टू द  जर्मन्स। 


अन्तमा

सम्प्रदायगत पाखण्ड र आडम्बर तिनै मानिसहरुलाई आवश्यक हुन्छ, जो १) आफ्नो जीवनमा असन्तुष्टि र असफलताका लागि वहाना खोज्दा तिनलाई फेला पार्छन्  २) जसलाई सत्ता र शक्ति प्राप्त गर्नुछ तर तीबाहेक त्यस्तो प्राप्तिको अर्को माध्यम आफूसँग छैन  ३) जसलाई दैनिक जीवनमा पाप र अपराधबोध यति हुन्छ कि तिनलाई पखाल्ने व्यग्रतामा र छोप्ने चेष्टामा उनीहरु जस्तोसुकै माध्यम अपनाउन तयार हुन्छन् ।

स्पष्ट छ, अहिलेको विश्वमा यस्ता मानिसहरुको बाहुल्य छ र त पाखण्ड र आडम्बरलाई मानिसले धर्म नै सम्झेर एकअर्कासित हिलो छ्यापाछ्याप र कति अवस्थामा त मारामार नै गर्ने गरेका छन् ।

त्यसैले साँगुरो आयामको सम्प्रदायगत पाखण्डबाट निःसृत विवादलाई धार्मिक विवाद वा बहस भनेर धर्म शब्दको अपमान गरिरहनु आवश्यक छैन ।

इसाइ मात्र नभएर कुनै पनि सम्प्रदायले नेपालीहरुको मौलिक हक र स्वतन्त्रता कुण्ठित गर्छ भने व्यक्ति वा सम्प्रदायका रुपमा कसैले नभएर राज्यका रुपमा नेपालले तिनको बचाउमा लाग्नुपर्छ ।

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more