नयाँ वर्षलाई स्वागत गर्दै गर्दा पुरानो वर्षलाई बिर्सिहाल्नु हुँदैन किनकि त्यसले आउने वर्षका लागि थुप्रै सन्देशहरु दिइरहेको हुन्छ । यो छोटो आलेखमा २०६९ का केही महत्वपूर्ण घटना र विकास क्रमको चर्चा गरौं ।
दुखान्त १ः माओवादीको कायाकल्प
नेपालको राजनीतिक परिदृश्यको कुरा गर्दा २०६९ मा सबैभन्दा बढी गुमाउने दल एमाओवादी रह्यो । दश वर्षे सशस्त्र युद्धको औचित्य पुष्टि गर्नका लागि उसले २०६३ यताका वर्षमा उल्लेख्य राजनीतिक पुँजी जम्मा गरेर राखेको थियो । त्यो पुँजी के भने बहूदलीय प्रतिस्पर्धाकै राजनीतिमा भए पनि ऊ काँग्रेस र एमाले लगायतका पहिलेका संसदीय राजनीतिक दलभन्दा फरक देखिन्थ्यो । कतिसम्म भने राज्य पुनर्संरचना लगायतका विषयमा उसको धारणा र अरु स्थापित दलको धारणामा आकाश पातालको अन्तर भएकाले पनि देशमा हुने कुनै पनि ठूलो स्केलको परिवर्तन उसकै बलबुतामा मात्र हुन सम्भव भएको भन्ने धेरैलाई लागेको थियो ।
तर २०६९ सालभर जब संविधान सभाको अवसानपछि राजनीतिक मूद्दा ओझेलमा परेर मानिसले माओवादी नेतृत्वको सरकारको शासनसत्तामार्फत् उसका व्यवहारिक आर्थिक र अन्य पाटाहरुलाई मिहीन रुपले हेर्न थाले, पुरानो माओवादीको खोलमा एउटा नयाँ, कुरुप र भद्दा नयाँ एमाओवादीको रुप देखा पर्यो । मुस्ताङ चढेको बाबुरामको धमिलो छविलाई हिसिला यमीको डरलाग्दो र दुस्साहसी पाराको भ्रष्ट छविले पूरै ओझेल पार्यो । मान्छेले चोभारनेरको बाग्मतीको पानी र हिसिला कम्पनीको स्वचछतालाई उस्तै देख्ने अवस्था आयो र भ्रष्टाचारी भनेर चिनेका काँग्रेस र एमालेका हरेक नेतालाई साधूजस्तो देखायो यमी र गच्छेदारको गठबन्धनले ।
नतिजा के भइदियो भने माओवादीले अघिल्लो चुनावमा संशयको फाइदा लिएर जुन पपुलर म्यान्डेट पाएको थियो त्यसलाई सर्वथा गुमाइसक्यो । आम मानिसको विश्वासलाई माओवादीले यो वर्षभर जुन स्तरमा गुमाएको छ, त्यसलाई पुर्ति गर्न आउँदो दशकभरको समय पनि पर्याप्त होला भन्न गाह्रो छ । यो प्रक्रियामा सबैभन्दा धेरै गुमाउने नेपालका ऐतिहासिक रुपमा पिछडिएका ती मानिसहरु हुन् जसको भरोसा भनेकै व्यवहारिक रुपमा माओवादी नै थियो । आफ्नै संसारमा हराएर द्वैअर्थी अभिव्यक्ति दिंदै हिंडेर प्रचण्डले जुन गतिमा आफ्नो विश्वसनीयता गुमाउँदैछन्, त्यो फेरि कहिल्यैपनि फर्केर आउने कुरामा सन्देह नै छ । डेढ वर्ष जति शासन गर्दा सुशासन भनेर चिच्याएर कहिल्यै नथाक्ने बाबुराम पनि हिसिलाको छायाँमा बाजको छायाँमा परेको सर्पजस्तै बनेर अहिले रुन्चे स्पष्टीकरण दिएर हिंड्नुपर्ने अवस्थामा छन् ।
उसो त अझै पनि सैद्धान्तिक रुपमा माओवादीले राज्य पुनर्संरचनाका मुद्दामा आफ्नो धारणा फेरेको छैन । तर एउटै कुरा पनि फरक हैसियतका मानिसले भन्दा फरक अर्थ राखेजस्तै अहिलेको छायाँ माओवादीले भनेको र पहिलेको माओवादीले भनेका कुराहरुको एउटै अर्थ रहँदैन, कम्तीमा पनि व्यवहारिक रुपमा । एक दशकको सशस्त्र युद्ध र आधा दशकको शान्तिपुर्ण राजनीतिक यात्राका दौरान जम्मा पारेको राजनीतिक पुँजी एक डेढ वर्षमा स्वाहा पार्नुजस्तो ठूलो दुखान्त के होला?
दुखान्त २ः एमालेको रछ्यानतिरको तीव्र यात्रा
एक हिसाबले एमालेलाई गाली गर्नु बेकार छ किनकि त्यो दलका मनुवाहरुले विगत दशकभर गैंडाको जस्तो छाला विकास गरिसकेका छन्, जसलाई गोलीले पनि छेड्न गाह्रो मान्छ । तर यसपाली भने तिनले एउटा नयाँ कुकर्मका लागि ध्यान तानेका छन् । त्यो के भने, देशमा बढ्दै गएको अराजकता र अव्यवस्थालाई शक्ति र धनमा परिणत गर्ने खेलमा सबैभन्दा बढी सफल तिनीहरु हुँदै आएका छन् । त्यसो त त्यो दौडमा एमाले एक्लो कदापि छैन । तर फरक के छ भने १) त्यो प्रक्रिया त्यो दलमा बढी नै संस्थागत भएको छ २) त्यो दल भित्र मारमुंग्रीमार्फत् शक्ति संचय गर्न हुँदैन भन्ने पक्ष किनारा लाग्ने प्रक्रियामा छ र ३) सबैभन्दा डरलाग्दो के छ भने पहिले राजनीतिक प्रश्रयमा हुर्केका गुण्डाहरुले अब त्यो पार्टीलाई बाटो देखाउने र नेताहरुले तिनलाई पूजा गर्ने अवस्था आउन लागेको आभास हुन्छ ।
एमालेको रछ्यान यात्रा यो हदमा गतिमय छ भन्ने बुझ्न मलाई कान्तिपुरमा नियमित लेख्ने त्यो दलका दयाल बहादुर शाही नामका पात्रको एउटा लेख पढ्नुपरेको थियो । एमालेलाई तिनाउ किनारको सन्देश वा त्यस्तै कुनै शीर्षकमा तिनले युवा संघका ओली खेमाका डनहरुको विजय भएको प्रसंगलाई लिएर के पी ओलीको शैलीमा पार्टी नेतृत्वलाई या त युवाहरुबाट सिक्न नत्र बढारिन चुनौती दिएका थिए । ओलीको आफ्नै सच्चा एमाले महात्म्य त परशुराम बस्नेत प्रकरणताका नै छताछुल्ल भएको थियो । यसले के देखाउँछ भने नेपालमा अराजकतालाई भजाएर कालो अर्थतन्त्रमार्फत् तरक्की गर्न चाहने मानिसहरको आकर्षणको केन्द्र बन्दै गएको छ एमाले ।
राजनीति र हिंसाबीच घूलन भएपछि त्यसले कसरी डरलाग्दो रुप लिएर सारा समाजलाई अन्तहीन हिंसा र अराजकताको दलदलमा फसाउँछ भन्ने बुझ्न के पी ढूंगानाले ओपन सेक्रेटको अन्ततिर मुम्बइ अन्डरवल्र्डको विकासक्रमबारे लेखेको कुरा धेरै सान्दर्भिक छ । भारतजस्तो सापेक्षतः बलियो र व्यवस्थित राज्य भएको ठाउँमा त भुमिगत समुहहरुले मुम्बइजस्तो महानगरलाई त्राहिमाम पारेका छन् भने नेपालजस्तो राज्यको पकड कमजोर हुँदैगरेको समाजमा तिनको प्रभाव डरलाग्दो हुने अवश्यम्भावी छ । यही क्रम रहने हो र ओली र शाहीको पदचाप अरुले पछ्याउँदै जाने हो भने कुनै दिन अहिले युवा संघ हुँदै एमाले पार्टीमा भर्याङ उक्लिरहेका बलकर्मीहरु एमालेको नेतृत्वमा पुगे भने अनौठो हुने छैन । दुर्भाग्यवश सबैजसो पार्टीले एजेण्डालाई तिलान्जली दिएर धन र डनको भरमा चुनाव लड्ने अवस्था सिर्जना हुँदै गएकोमा आउँदो चुनावमा एमाले सबैभन्दा ठूलो दल भयो भने पनि अनौठो हुनेछैन ।
त्यसैले अब चुनाव भैहाल्यो भने चुनाव लड्न सबैभन्दा अनुकुल अवस्थामा छ एमाले । तर दीर्घकालमा हेर्दा २०६९ भर एमालेमा संगठित भएको डनवाद र धनवादले नेपाललाई अरु केही दशकसम्म अन्धकारमा धकेल्ने बलियो आधार बनाएको छ, त्यो यो वर्षको दोस्रो दुखान्त हो
दुखान्त ३ः गलत ठाउँमा दलहरुको चलखेल
सधैं झैं यो वर्ष पनि राजनीतिक दलहरु अंग्रेजीमा रेस टु बटम भनिएझैं तल गिर्ने प्रतिस्पर्धामा रहे । त्यो क्रममा सरकारी र सार्वजनिक संस्थाहरुलाई आफ्नो स्वार्थ पुर्तिको केन्द्र बनाउने प्रतिस्पर्धा कायमै रह्यो । त्रि वि शिक्षण अस्पताल र पाटन एकेडेमी लगायतका संस्थाहरुमा भएको राजनीतिक हस्तक्षेप र त्यसले जन्माएको भद्रगोल र दुर्गति वर्षभर चर्चामा रह्यो । वीर अस्पताल र बि पी को स्वा वि प्र धरानलगायतका ठाउँमा चाहिं गुपचुप रुपमा लुटकर्म जारी नै रह्यो ।
तर एउटा सुखद संयोग के भने राजनीतिज्ञहरुले आफूहरुलाई निकम्मा सावित गर्दै देशको कार्यकारी प्रमुखमा अराजनीतिक व्यक्तिलाई नियुक्ति गरेजस्तै वर्षको अन्ततिर आउँदा तिनको निहित स्वार्थविपरीत केही घटनाक्रमहरु विकसित भएका छन् । खास गरी त्रि वि शिक्षण अस्पतालमा दलका भरौटे त्रि वि पदाधिकारीहरुले चाहेको नियुक्ति हुन नसक्नु र पाटनमा संगीता भण्डारी नामकी तुच्छ महिलालाई ल्याइए पनि तिनी टिक्न नसक्नुले अझै पनि संगठित प्रतिरोध हुने हो भने सार्वजनिक संस्थाहरुलाई अति राजनीतिकरणमार्फत धराशायी बनाउने प्रक्रियालाई रोक्न सम्भव छ भन्ने देखाउँछ ।
जाँदाजाँदै, कुनै बेला दलहरुका कार्यकर्ताको भर्तीकेन्द्र र नेताहरुको हस्तक्षेपको शिकार भएको साझा यातायातले यही नयाँ वर्षदेखि सानै स्केलमा भए पनि सेवा शुरु गरेको छ । ठूला दुखान्तहरुकै बीच पनि ससानै भए पनि सुखद समाचारहरुले आशाका किरणहरु जगाउन पनि छाडेका छैनन् । आशा गरौं, २०७० साल अघिल्लो सालभन्दा बढी सुखद रहनेछ ।
1 comment:
Hi to every , as I am actually eager of reading this webpage's post to be updated on a regular basis. It contains fastidious material.
Feel free to visit my website: on the main page
Post a Comment