Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Sunday, November 1, 2020

  दशैं डायरी ’७७: साइकलमा उपर्दाङगढी



 

कार्तिक ९, नवमी

बिहानै उठेर छिमेकी जिल्ला नवलपुरस्थित मौलाकालिका मन्दिर जाने योजना थियो । उठें, साइकल निकालें र बत्तिएँ । नारायणगढ पुग्नै लाग्दा साथीहरुले फोन गरे, फेदीमा पुगेछन् । उनीहरुलाई जाँदै गर्नु भनें । एकै छिनमा फेदी नजिकै पुगें । सिंढीको उकालो साइकल चढ्दैन । त्यसैले साइकल बत्ताउँदै डाँडालाई दायाँ पारेर पश्चिम हानिएँ ।


पल्लो खोल्सोनेर सानो बस्तीको छेउबाट खानेपानीका टंकी हुँदै एउटा कच्ची सडक माथि लाग्छ । त्यतै लागें । पानी टंकीको छेउमा ठाडो बाटो आयो । साइकलबाट ओर्लेर डो¥याउन थालें । एकै छिनमा ट्रान्समिसन लाइनका लागि जंगल फाँडेको ठाउँ आयो । अनि शुरु भयो उकालो ।

पूरा नभए पनि कम्तीमा आधा वा एक तिहाइ भए पनि साइकल चलाउन पाइएला भन्ने आशा थियो । तर बर्खे भेलले खोलेर बाटोलाई खोल्सो बनाइदिएछ । साइकल जुरुक्क पार्नु वा धकेल्दै डो¥याउनुको विकल्प थिएन । कपडा पसिनाले निथ्रुक्क भिजे । पाखुरा लत्रक्क गले । साथीहरु माथि पुगिसक्ने बेला भयो । आत्तिएर मात्रै के गर्नु ।

बाटोमा घाँस काट्न वन जाँदै गरेका एक जना दाइ फेला परे । आजकल साइकल माथि पुग्ने गरेको बाटो अलि पर, पहाडको अर्को पाखाबाट जाँदो रहेछ । उनीसित गफिंदै, साइकल घिसार्दै माथि पुगें ।

मन्दिरनेर पुगेर फोन गर्दा साथीहरु पूजा गरेर फर्केर हेलिप्याड पुगिसकेछन् । तिनलाई माथि नै बोलाएँ । अनि तीन जनाको ओरालो यात्रा म आएकै बाटोतिर शुरु भयो । उकालोमा घिसार्न जति गाह्रो, ओरालोमा डो¥याउँदै धान्न उति नै साह्रो । आखिर तल निस्केपछि साथीहरुको यात्रा मोटरबाइकमा शुरु भयो भने मेरो बाइकमा ।

घर पुगेर खाना खाएँ । अस्पतालमा खासै बिरामी थिएनन्, काम पनि थिएन । फेरि तीन जना साथी लिएर पौडीका लागि निस्कें, एक जनालाई साइकल समेत दिलाएर । टिकौली जंगल पारी मूल पलाएको दहमा बाह्रै महिना पौडन सकिन्छ । त्यहाँ पुग्दा हरियो दहले हामीलाई पर्खिरहेको थियो । लगातार दुई घण्टा पौडी खेल्यौं ।

निस्केपछि बाँकी दिन साइक्लिङका लागि थियो । मेरोबाहेक साइकल एउटै थियो तर दुई साथीहरु साइक्लिङ जान चाहन्थे । मुस्किलले एक जनालाई मोटरबाइकमा फर्कन मनाएर दुई जना लाग्यौं खोलेसिमलतिर । एक किलो स्याउ किनेर खाँदै, गफ गर्दै साँझसम्म साइकल चलायौं ।

साँझ पर्दा शरीरका हरेक मांसपेशी लठ्ठीले हिर्काए झैं दुखिरहेका थिए । त्यसैले मेथी पड्काएको तेलले ज्यान मालिस गरेर सुतें । भोलि जो दशैं थियो ।


कार्तिक १०, दशैं

यसपालि गाउँका दाजुभाइमा तीन जनाको मृत्यु भएकाले दशैंमा टीका थिएन । तीमध्ये दुईको अकालमा मृत्यु भएको थियो । त्यसैले दशैं निराशाजनक हुने अपेक्षा थियो । तर दशैंको दिन बिहान २ बजे भाइ कान्छोलाई पुत्रीलाभ भएकाले टीका नभए पनि दशैं उल्लासपूर्ण भयो । त्यसमाथि बुहारीले कष्टपूर्वक कोभिडलाई जितेको चार दिनपछि नै सकुशल बच्चालाई जन्म दिएकी थिइन् । साता दिन अगाडिको भय र आशंका अब खुशीमा परिणत भएको थियो ।

टीका नभएकाले र राती निद्रा खल्बलिएकाले बिहान ढिलो गरी उठें । खाना खाएँ । आजका दिनदेखि म शाकाहारी बन्छु भनेर घरमा सबैलाई भनिसकेको थिएँ । तर आफैं मासु नखाने श्रीमतीले बिहान खानामा मासु पकाएपछि चखाउने वहानामा मासु ल्याएर खुवाउने प्रयास गरिन् । खाइनँ । कोचाउने प्रयास गरिन् । आखिर मासुमा चोपलिएको चम्चा बन्द ओठबाट छिराइदिएर मलाई बिटुलो पारिदिइन् ।

खाना खाएपछि फेरि सुतें । दिउँसो अबेर गरेर उठें । निबुवा साँधेर खायौं । आरामै गरेर पूरा दिन बित्यो । तर तिघ्रा र पिंडौलाका मांसपेशीमा पीडा उस्तै थियो । भोलिपल्ट उपर्दाङगढीसम्म साइकलमा जाने योजना थियो । त्यसैले खुट्टा ठिक पार्नुको विकल्प थिएन । फेरि शरीरभर तेल मालिस गरेर सुतें, नौ नबज्दै ।


कार्तिक ११, एकादशी

 छिटो र गहिरो निद्रा सुतेकाले होला, बिहान छ बजे नै उठें ।

आठ बजे निस्कने योजना थियो । तर पाँच जना साथीहरु जुट्दा साढे आठ भयो । साइकलहरु कसकास गर्दै बन्दोबस्तीका सामाग्री जुटाएर नौ बजे हामी निस्क्यौं । मेरा मांसपेशीको दुखाइ बढेको त थिएन तर एक तहको दुखाइ निरन्तर थियो ।

भरतपुरको बाइपास रोड छाडेर भोजाड र पदमपुर हुँदै हामी हानियौं शक्तिखोरतिर । उपर्दाङगढी चढ्नेका लागि शक्तिखोर आधार शिविर हो । त्यहाँ पुग्नै उकालो बाटो भएकाले हामीलाई झण्डै दुई घण्टा लाग्यो । थकाइ लाग्ने नै भयो । त्यसमाथि एक जना साथी दशैं लागेका कारण बिहान पाँच बजे सुतेर मैले फोन गरेपछि आठ बजे उठेको रहेछ । अर्को साथी बिहान १२ किलोमिटर कुदेर अनि आएको रहेछ । अर्को साथीले यति लामो बाटो साइकल बल्लै चलाएको रहेछ ।

जे होस्, शक्तिखोरमा एउटा घर अगाडिको भुइँमा बसेर फलाहार गरेपछि हामी पाँच भाइ उकालो लाग्यौं । मेरा लागि समेत यो सर्वथा नौलो र चुनौतीपूर्ण यात्रा थियो । समुद्र सतहबाट २०८ मिटर उचाइमा रहेको भरतपुरबाट १,२२८ मिटरको उपर्दाङगढी पुग्दा सिंगो एक किलोमिटरको ‘भर्टिकल’ दुरी पार गरिन्थ्यो । विगत ९ वर्षदेखि वर्षेनी जसो हिंडेर त्यहाँ जाने गरे पनि साइकलमा यत्रो उकालो कहिल्यै चढेको थिइनँ । त्यसमाथि दुई दिन अगाडि ५६१ मिटरमा रहेको मौलाकालिका मन्दिरसम्म साइकल लिएर उक्लन त हम्मे परेको थियो । त्यो थकाइ मरेकै थिएन ।

शक्तिखोरसम्म पनि तिघ्रा र पिंडुलाको दुखाइ नबढेपछि म माथि जान सक्नेमा ढुक्क थिएँ । मांसपेशीहरुको दुखाइ अंग्रेजीमा ‘फ्याटिग’ भनिने थकानका कारण भएको हो भने त्यसलाई केही हदसम्म मनोबलका भरमा पेलेर पनि जान सकिन्छ । तर अचानक भारी काम गरेका कारण मांसपेशीका तान्द्राहरुमा क्षति भएर हुने दुखाइलाई नटेर्नु वा पेल्नु भने घातक हुन सक्छ । त्यस्तो दुखाइ अक्सर काम गरिरहँदा बढ्दै जान्छ र आरामबाहेक त्यसको तत्कालीन उपचार हुँदैन ।

उकालो लाग्नासाथ म र एक जना साथी अलि अगाडि प¥र्यौं, बाँकी साथीहरु पछि पर्दै गए । अलि बेरपछि त्यही साथी पनि छुट्यो । साथीहरुलाई पर्खंदा पर्खंदा झण्डै डेढ घण्टाको समय यसै खेर गयो ।

साइकल चढ्दा यसै पनि मलाई संगीत सुन्दै एक्लै पाइडल मार्न आनन्द आउँछ । नागबेली परेको नवनिर्मित कच्ची सडकमा पुष्कर शाहलाई याद गर्दै मैले पाइडल दबाइरहें । तर जब ढुंगा र गेग्र्यानले छोपिएको बाटो आउँथ्यो, ओर्लेर साइकल डो¥याउनुको विकल्प हुँदैनथ्यो । यो बाटो बनेपछि मोटरबाइक, स्कुटर र अटोरिक्सा माथि पुग्ने गरे पनि साना कारहरु अझै माथि जान सक्दा रहेनछन् । 



साथमा रहेको एक बोतल पानी र केही स्याउहरु बीच बाटोमा पुग्दा सकिए । भाग्यवश तबसम्म तलको जंगल छिचोलेर म चेपाङ बस्तीसम्म पुगिसकेको थिएँ । एउटा घर अगाडि धारो देखियो, पिंढीमा दाइ देखिए । ‘पानी भरुँ’ भनेर दाइलाई सोधें ।

धारोमा पानी आउंदैन, म बोतल भरिदिन्छु भन्दै दाइले ढोका खोलेर दुई लोहोटा पानीले बोतल भरिदिए । तल सडकमा साइकलको ह्याण्डलमा एक्लै मोबाइलमा गीत बजिरहेको थियो ।

इन्धनको जोहो भएपछि म ढुक्कसित उकालो लागें । तर खुट्टाका मांसपेशी अब आफ्नो अधिकतम क्षमताको सीमामा काम गरिरहेका थिए । अलिकति बढी बल ग¥यो कि खुट्टै जाम होलान् भन्ने डर । त्यसैले पहिले मज्जाले उकाल्ने गरेको बाटोमा पनि साइकल डो¥याउँदै, खुट्टालाई ‘आराम दिंदै’ म उकालो चढिरहें । 



आधाभन्दा बढी उकालो चढेपछि उपर्दाङगढी जाने बाटो एउटा सानो डाँडोको सम्म थाप्लो हुँदै जान्छ । त्यसको अगाडि माथिपट्टि गढी देखिन्छ । दुवैतिर होचा र सुन्दर डाँडा र पाखाहरु छन् । बाटोले सिध्याउन नभ्याएको हरियाली अझै बाँकी छ । सिर्सिर बतासबीच त्यही थाप्लोमा साइकल कुदाउँदै थिएँ, मोबाइलमा एउटा सुमधुर धुन बज्योः

चलो दिलदार चलो,

चाँदके पार चलो

हम भी तैयार चलो


कैफ भोपालीका शब्द, गुलाम मोहम्मदको संगीत अनि लता मंगेशकर र मोहम्मद रफीको स्वर रहेको यो गीत हिन्दी सिनेमा पाकिजामा प्रयोग भएको थियो । यसै पनि मन पर्ने गीत, साइकलको थकान र गढी पुग्नै लागेको उमंगले लैश भएको बेला सुन्न पाउँदा म अर्कै संसारमा पुगें । हरेक जसो यात्रामा यस्ता विरल क्षणहरु आउँछन् जसले यात्राका सारा थकानहरु बिर्साइदिन्छन् र व्यक्तिलाई दैनिक जीवनको अनन्त कोलाहलबाट टाढा एउटा सुन्दर संसारमा पु¥याइदिन्छन् ।

त्यो गाउँको सम्म बाटो हिंडिसकेपछि पहाडको दक्षिणी मोहडा हुँदै गढी पुग्ने गोरेटो बाटो छ भने पूर्व र उत्तरतिरबाट अहिले सडक बनाइएको रहेछ । अघिल्लो पल्टसम्म हामी त्यही गोरेटो बाटो हुँदै अमला टिपेर खाँदै माथि चढ्थ्यौं । अहिले भने साइकल साथमा भएका कारण धुलाम्य भए पनि सडक हुँदै जान कर लाग्यो । अबको घुम्ती पारीपट्टिको अर्को डाँडामा भएकाले अब बाटो भने त्यति उकालो र असहज थिएन । थाकेकै खुट्टाले पनि पाइडल दबाउँदै र ठाडा गेग्र्यानी घुम्तीहरुमा साइकल डो¥याउँदै म अघि बढें । 



आखिर तीन बजेतिर बल्ल गढीमुनि सडक पुग्ने अन्तिम बिन्दुमा उक्लें । त्यहाँबाट अरु सय मिटर जति उकालोको सिंढीमा साइकल जुरुक्कै बोकेर जानुप¥यो ।

सडक पुगेसँगै गढीमा पर्यटक बढेछन् तर परिणाम आहा भन्नेभन्दा कठै भन्नेजस्तो भएछ । मान्छे पहिलेझैं पैदल हिंड्दै एकान्तका लागि त्यहाँ जानको सट्टा मोटरबाइक, अटोरिक्सा वा गाडीमा मदिरासमेत जंकफुडका भारी बोकेर ‘ड्राइ पिक्निक’ जान थालेछन् । हामी पुग्दा चार जना किशोरले गढी किल्लाभित्रको कुनामा बसेर बियर दन्काइरहेका थिए । साथमा एउटा स्पिकरमा गीतहरु पनि बजाइरहेका थिए ।

कोक लगेर बोतल पाखामा मिल्काउनेहरु त कति कति । पहिले हरियो दुबोको चौरमा अब पाइलैपिच्छे चाउचाउ र चिप्सका प्लास्टिक भेटिने भएछन् । साथी सुवास श्रेष्ठ फालिएका प्लाष्टिक टिप्न यति मग्न थिए कि हामीले गढीमा खिचेका फोटोहरुमा उनलाई देख्नै गाह्रो छ ।

त्यहाँको माहोल हेरेपछि हामीलाई लाग्यो शहरका भट्टीका सबै सुविधा थपक्क मोटरगाडी चढेर गढी पुग्न थालेछन् । गढी अब गढी हैन, नेपालजस्तो अविकसित देशको अव्यवस्थित शहरको एउटा हिस्सा बनेछ ।

निराश हुँदै हामीले चाहिं हाम्रा साइकलहरुसँग फोटो सेसन ग¥यौं । साथीहरु बसन्त ढुंगाना र खगेन्द्र क्षेत्रीले फोटो सेसनको नेतृत्व गरे । गढीबाट झर्दै गर्दा अर्का साथी अशोक उप्रेतीले बाटोमा मिल्काइएका बोतलहरु टिप्दै गरेको केही महिलाहरुले देखेछन् । साथी नजिकै पुगेपछि आफूसितको कोक हतपत रित्याएर त्यसको बोतल पनि थमाइदिएछन्!


 



गढी छेउको होमस्टेमा खाना खाने बेला साथीहरुले कुखुराको मासु खुवाउन बल गरेर मेरो ‘शाकाहारी धर्म’को परीक्षण गर्न खोजे । तर मैले आनन्दपूर्वक आलु र सोयबिनको तरकारीसित भात दबाएँ । मलाई सात्विक आहार र सन्तोषी जीवनतिरको यात्रा जो गर्नु थियो ।


हामीले खाना खाँदै गर्दा मािथ बियर पिउने किशोरहरु यहीं आइपुगेर गिलासका गिलास छ्याङ थपेर पिइरहेका थिए । चुरोट त पिउने नै भए । ब्याट्री सकिएर गीत बजाउँदै नाच्न पाइएन भनेर गुनासो पनि गर्दै थिए । जुन दिन त्यहाँ विद्युत् पुगेर त्यस्ता सधान चार्ज गर्न मिल्छ, त्यस दिनदेखि तिनको त्यो सपना पनि पूरा हुनेछ । अनि पहाडको टुप्पामा चराको चिरबिर हैन, ‘लैजाऊ घुमाउन मलाई ठमेलबजार...’ को कर्कश आवाज गुञ्जिनेछ ।

यसरी देश विकासको सिंगो ‘प्याराडाइम’ देख्न पाइयो उपर्दाङगढीमा ।

आखिर नेपालको आन्तरिक पर्यटनको नमुना हेरेपछि गढीबाट बिदा भएर हामी ओरालो हान्नियौं । जाँदा तिघ्रा र पिंडुलाका मांसपेशीको परीक्षा भएजस्तै गेग्र्यानी ओरालो बाटोमा चाहिं ब्रेक हान्ने हातका मांसपेशी र शरीरलाई सन्तुलित गर्ने मस्तिष्कको तल्लो र पछिल्लो भागको परीक्षा हुँदै थियो । जाँदाभन्दा बल कम परे पनि गति ज्यादा हुनाले ‘वन मिस गेम फिनिश’को अवस्था थियो । त्यसैले होशियारीपूर्वक ब्रेक हान्दै हामी तल झ¥यौं । शक्तिखोर कटेर जुटपानी आउँदा झिसमिसे भयो ।

फर्कंदाखेरिको एउटा अनुभव उल्लेखनीय रह्यो । सडकको जुन हिस्सा जाँदा ओरालो थियो, त्यो फर्कंदा पनि ओरालै लाग्यो । कारणः माथितिर उकालोको जुन मानक बनेको थियो, त्यसलाई सानोतिनो उकालोले भेट्न सक्दैनथ्यो । जाँदा जत्तिको उकालोलाई हामी गियर निकै घटाउँथ्यौं, अब बढी गियरमै सजिलै त्यत्तिकै उकालो कट्थ्यो ।

सात बजे भरतपुर पुगेपछि एउटै काम थियोः दिनभर सेवा गर्ने मांसपेशीहरुलाई तेल मालिस दिने र सुत्ने । शरीर अब दुखेको पक्कै थियो होला तर त्यो दुखाइ महसुस गर्ने शरीरको प्रणाली नै दिनभर तिरीमिरी भएको थियो । दुखाइ र थकान महसुस गर्नका लागि त भोलि छँदैछ ।

यसपल्ट दशैंको तीन दिने यात्राको सन्देशः तपाइँमा पर्याप्त इच्छाशक्ति छ भने ‘तँ आँट्, म पु¥याउँछु’ भन्ने तपाइँका आफ्नै मांसपेशीहरु छन् । तिनलाई विश्वास गर्नुभएन भने तपाइँको जीवन यत्तिकै खेर जानेछ, तपाइँले बोकेका यावत् सम्भावनाहरु दिनको उज्यालो नहेरी गायब हुनेछन् । विश्वास गर्नुभयो भने तपाइँ आफैंले देखेका हरेक सीमाहरु भत्कनेछन् र तपाइँले कल्पनै नगरेका खुट्किलाहरु चढ्नुहुनेछ ।

Video Embed code: 

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/CFHbFW-2Yz4" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>






No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more