अहिले हेर्दा लाग्छ, त्यतिखेरको समय वर्षभर चक्रमा घुमिरहेको थिएन, त्यो त एउटा स्पाइरल अथवा स्प्रिङजस्तो आकारमा हिंडिरहेको थियो । प्रत्येक वर्षको अन्तमा लाग्थ्यो हामी त्यही बिन्दुमा फेरि एउटा वैशाख १ गते मनाउन गइरहेका थियौं तर वास्तवमा त्यो अर्कै वैशाख १ गते हुने गथ्र्यो । हामी बढ्दै थियौं र कक्षा चढ्दै थियौं । हेर्दाहेर्दै सँगै घाँस काट्न जाने दाइ दिदीहरु गाउँलाई चटक्क छाडेर क्याम्पस पढ्न भनेर जान्थे र पाहुनाजस्तै कहिलेकाहीं झुल्किन थाल्थे । तिनका हातखुट्टा सफा हुन्थे अनि उहिले चिरिएका पैताला भरिएर रहरलाग्दा भएका हुन्थे, खुट्टाका औंलाका कापमा हिलोले खाएका घाउ निको भएका हुन्थे । उनीहरुको लवज केही फरक हुन्थ्यो, लुगाफाटा सफा र नटालिएका हुन्थे ।
हाम्रो बाल्यकालमा जुन ग्रामीण जीवन थियो, अब त्यो झण्डै लोप भैसकेको छ । नेपालमा अझै गाउँहरु धेरै छन् तर अब ती विगतमा झै शहरबाट, खाडीबाट अनि त्यहाँबाट आउने धनमाल र त्यहाँको प्रभावबाट अलग छैनन् । अझै त्यस्ता गाउँहरु पनि कतै कतै अस्तित्वमा होलान् तर ती शीघ्र लोप हुने प्रक्रियामा छन् । नेपालको शहरी क्षेत्र भुमण्डलीकृत विश्वसँग एकाकार हुँदै जाँदा गाउँहरुमा पनि शहरको प्रभाव बढ्दो छ ।
त्यही बितिसकेको र अस्तित्वबाट हराउँदै गरेको ग्रामीण जीवनका सम्झनाहरु अहिले निकै आत्मीयतापुर्वक मानसपटलमा घुमिरहन्छन्, त्यो किन पनि भने, एक त गाउँको वातावरण फेरिंदै गएको छ भने अर्कोतिर आफु र गाउँलाई जोड्ने केही पुलहरु पनि जीर्ण भएर भत्किने क्रममा छन् । चाहेर पनि भौतिक रुपमा गाउँमा विचरण गर्न नसक्ने अवस्थामा विगतका यादहरुलाई कोट्याएर भए पनि एक हदसम्म न्यास्रो मेट्ने इच्छा जाग्नु स्वभाविकै हो ।
त्यसको अर्थ के हैन भने म आफु शहरको जीवनमा अभ्यस्त भएर भौतिक अर्थमा प्रगति गर्दै गर्दा गाउँमा रहने मानिसहरुचाहिं पहिलेजस्तो कुटो कोदालो र मेलापातसहित सापेक्षतः अभावको जिन्दगी बाँचेर विगतको सामाजिक परिदृश्यलाई कायम राखुन् । निर्वाहमुखी अर्थतन्त्रबाट पुँजीवादी अर्थतन्त्रतिर जाँदै गर्दा बढ्न जाने शहरीकरण र गाउँहरुमा आउने परिवर्तनहरु दुवै अहिलेको विश्वका सबै विकासशील समाजहरुका साझा प्रक्रिया हुन्, तिनलाई रोक्नु न आवश्यक छ न त सम्भव नै ।
![]() |
House and nostalgia: the castle where all four of us siblings were born and reared. Life revolved around this house for much of our childhood. |
यद्यपि हाम्रो पुस्ताको बाल्यकालमा जुन सामाजिक परिस्थिति थियो, त्यसका आर्थिक र राजनीतिक पाटाहरु मात्र नभएर मनोवैज्ञानिक पाटाहरु पनि थिए । र हामीलाई खास मानिस बनाउनमा तिनको खास भुमिका थियो । हामीभन्दा अघिल्लो पुस्ताले बिताएको बाल्यकाललाई हाम्रो बाल्यकालसँग तुलना गर्दा केही आधारभुत भिन्नताहरु पाउँछु म । समाजभित्र अर्को व्यक्तिसँग गरिने व्यवहारमा मात्र हैन जीवन र विश्वलाई हेर्ने दृष्टिकोणमा पनि बाल्यकालमा विकसित हुन आउने खास मनोविज्ञानले विशेष भुमिका खेलेको हुन्छ । त्यसैले अहिले बाल्यकालमा रहेको पुस्ताले विकसित गर्न जाने विश्वदृष्टिलाई हाम्रोसँग तुलना गर्ने हो भने पनि हामीले आफ्नो बाल्यकाललाई खास गहिराइसम्म सम्झनै पर्ने हुन्छ ।
![]() |
The orange tree that enticed us, so long as we were there |
सारमा भन्नुपर्दा बाल्यकालका केही घटना विशेषमा डुबुल्की मार्दा मैले त्यसलाई भावुकताको एउटा अवस्था भन्दा पनि विगतको समाजलाई अध्ययन गर्ने र बुझ्ने एउटा माध्यमको रुपमा लिने गर्छु । त्यसमा नोस्टाल्जियाको पनि एउटा लेप हुन्छ, त्यो अलग्गै कुरा हो ।
***
गाउँका किसानको जीवन दुई कुराले धानेका हुन्छन्, खेतीपाती र चौपाया । खेतीपातीको मौसम हुन्छ, त्यसले वर्षका खास खास समयमा गाउँमा भनिने गरेझैं मुते आत्तुरी –पिसाब गर्न पनि नभ्याउने अवस्था, गराउँछ जतिखेर रातसाँझ नभनी काम गर्नुपर्ने हुन्छ । माघ फागुनतिरको मकै छराइपछि चैततिर कोदो र धानको बिउ राख्नु, वैशाख, जेठतिर मकै खन्नु, जेठ, असारमा कोदो र धान रोप्नु, साउनको अन्तिम र भदौमा धान र कोदो गोड्नु, भदौमा मकै भाँच्नु, अनि कार्तिकमा धान, कोदो थन्क्याउनु र हिउँदे खेती हुने ठाउँमा लगत्तै गहुँ छर्नु र त्यसलाई चैत वा वैशाखमा थन्क्याउनु । यसरी हेर्दा वर्षका लगभग सबै महिना खेतीपातीमा कुनै न कुनै काम भइरहेको हुन्छ तर गाउँको चलन के हुन्छ भने असारको रोपाइँ र कार्तिक मंसीरको खेती थन्क्याउने बेलाबाहेक अरु बेलाको कामलाई काम भन्ने चलन नै उस्तो हुँदैन किनकि अरुबेला लाग्ने मेहनत त्यो बेलाको मेहनतको तुलनामा नगण्यजस्तै हुन्छ ।
![]() |
How many shades of green? Sun is about to set in a winter day |
त्यसैले किसानलाई वर्षभर व्यस्त राख्ने कामचाहिं पशुवस्तुले गर्छन् । भिरालो पहाडमा रहेका बस्तीहरुमा डाँडाकाँडानजिक बाहेक चरनको व्यवस्था शुन्यप्रायः हुने भएकाले र उब्जने अन्न मानिसलाई नै अपुग भएर पशुलाई दानाको रुपमा ख्वाउन नपुग्ने भएकाले वर्षभर धर्ती चिथोरेर गाइवस्तुको पेट भर्नुको अर्को विकल्प हुँदैन । हिउँदमा डालेघाँस र परालको प्रयोगले मानिसलाई राहत दिन्छ भने वर्षायाममा चाहिं जत्रै झरी र बाढी भए पनि रुझ्दै घाँस काटेर नख्वाएसम्म पशुहरुको पेट भरिंदैन ।
त्यसैले हामी गाउँमा वर्षालाई एउटा यातनाको रुपमा लिने गथ्र्यौं । दिन गनेर असार र साउनका महिना कटेपछि बिस्तारै तीज आउँथ्यो अनि दशैं र तिहारको प्रतिक्षा शुरु हुन्थ्यो । भुइँको घाँस काट्नु नपर्ने हिउँदका महिना राहत बनेर आइपुग्थे र धान पाकेसँगै हर्षोल्लासका साथ न्वाइँ र वन भात खाने चलन हुन्थ्यो । धान काटेर फुकेका खेतमा फूक्काफाल चरेका गाइगोरुहरु हेरेर हामी आफू पनि स्वतन्त्र भएको महसूस गथ्र्यौं ।
***
यसरी हेर्दा गाउँको जीवन खेतीपाती र पशुवस्तुको वरिपरि चक्कर काटिरहन्थ्यो । हेर्दा हेर्दै हिउँद मिलिक्कै सिद्धिन्थ्यो, वार्षिक परीक्षा सिद्धिएर हामी नयाँ कक्षामा पुग्थ्यौं तर उही पुरानो बर्खा फेरि खडा हुन्थ्यो, हिलो र पाखाभरि पातलो घाँस बोकेर । बिहान उठेर भकारा सोहोर्नु, भैंसी दुहुनु, अनि केही नास्ता गरेर हतार हतार डोको बोकेर पाखातिर जानु, पोहोर वैलिएका ठेट्नामा भर्खर पलाउँदै गरेको पातलो घाँस काटेर डोको भराएर घर आउनु अनि हतार हतार आटो वा ढिंडो खाएर एक डेढ घण्टा हिंडेर स्कुल जानु, चार बजेसम्म पढेर घरको काम सम्झेर हतारिंदै फर्कनु, केही नास्ता गरेर फेरि मकै खन्न वा कोदो रोप्न वा फेरि घाँस काट्न वा सोत्तर झार्न जानु, साँझ फर्केर खाना खानु अनि लखतरान शरीर लिएर केही पढेजस्तो गर्नु अनि सुत्नु । अहिले अपत्यारिलोजस्तो लागे पनि वर्षा यामभर हाम्रो दैनिकी दुरुस्त यस्तै हुने गथ्र्यो ।
![]() |
After ploughing, the earth is ground like this: this kid is doing exactly as we did |
तर त्यो जीवनको विशेषता के थियो भने, कुनै एक वर्षको समय मात्र हेर्ने हो भने जीवन ज्यादै गतिशील हुन्थ्यो । जसरी सुविस्ताको हिउँद पत्तै नपाइ सिद्धिन्थ्यो, त्यसरी नै कष्टकर वर्षा याम पनि लागिसकेपछि थाहै नपाइ सिद्धिन्थ्यो । मकैका बोट उम्रेपछि हेर्दा हेर्दै एकोहोरो र दोहोरो खन्ने हुन्थे, पसाउँथे, दाना लगाउँथे र नाग पञ्चमीका दिन एउटा मकै उखेलेर नागलाई चढाएपछि मकै पोलेर खाने बाटो खुल्थ्यो । भर्खर ब्याएको भैंसीको दुधसँर्गै पोलेका मकै खाँदा बालकदेखि वृद्धासम्म सबैले वर्षभरको दुख भुल्थे, आखिर वर्षे खेतीमध्ये पहिले पाक्ने र थन्किने मकै हुन्थ्यो र त्यसले अब घरमा अरु पनि अन्न आउँदैछ है भन्ने संकेत गथ्र्यो ।
हरेक वर्ष त्यो चक्र दोहोरिन्थ्यो, त्यो अलग्गै कुरा हो तर एक वर्ष भित्रका गतिविधि हेर्दा त्यो गाउँको जीवन द्रुत गतिमा परिवर्तनशील थियो र मानिस आफ्ना छिमेकी र प्रकृतिसित झण्डै एकाकार भएर काम गर्थे । अहिले वर्षभर कार्यालयमा काम गर्ने कुनै महिला वा पुरुषले त त्यो खालको गतिशीलता अनुभव गर्न पाउँदैन नै, दिनभर कार्टुन वा कम्प्युटर गेममा टाँसिइरहने बालक र दिनभर हिस्टेरियाग्रस्त टेलिसिरियल हेरेर जीवनमा बचेखुचेका सम्भावनाहरुको हत्या गर्ने महिलाहरु पनि त्यसबाट वञ्चित हुने गर्छन् ।
***
अहिले हेर्दा लाग्छ, त्यतिखेरको समय वर्षभर चक्रमा घुमिरहेको थिएन, त्यो त एउटा स्पाइरल अथवा स्प्रिङजस्तो आकारमा हिंडिरहेको थियो । प्रत्येक वर्षको अन्तमा लाग्थ्यो हामी त्यही बिन्दुमा फेरि एउटा वैशाख १ गते मनाउन गइरहेका थियौं तर वास्तवमा त्यो अर्कै वैशाख १ गते हुने गथ्र्यो । हामी बढ्दै थियौं र कक्षा चढ्दै थियौं । हेर्दाहेर्दै सँगै घाँस काट्न जाने दाइ दिदीहरु गाउँलाई चटक्क छाडेर क्याम्पस पढ्न भनेर जान्थे र पाहुनाजस्तै कहिलेकाहीं झुल्किन थाल्थे । तिनका हातखुट्टा सफा हुन्थे अनि उहिले चिरिएका पैताला भरिएर रहरलाग्दा भएका हुन्थे, खुट्टाका औंलाका कापमा हिलोले खाएका घाउ निको भएका हुन्थे । उनीहरुको लवज केही फरक हुन्थ्यो, लुगाफाटा सफा र नटालिएका हुन्थे । तिनले बस र ट्रकका, चौडा पिच सडकका कुरा मात्र हैन कुछ कुछ होता हे भन्ने फिल्मका कहानीसम्म सुनाउन सक्थे । सँगै घाँस काट्न गयो भने थाहा हुन्थ्योः तिनको अब घाँस काट्ने जाँगर नै मरिसकेको छ ।
![]() |
This is our childhood playground, next to the public tap |
यसरी हाम्रासामु एउटा नयाँ संसार उदायो ।
गाउँमा आफ्नो तारिफ आफैं गर्नु नराम्रो मानिन्छ तर आफ्नो दुखमा चाहिं जति रोए पनि हुन्छ । वर्षौंदेखि हामीले हाम्रो वरपरका मानिसहरु आफ्नो दुखमा रोएको यथेष्ट देखेका थियौं । बालकदेखि वृद्धसम्ममा धेरै काममा दलिन पर्नुको सन्ताप त छँदैछ, सबैका आ–आफ्ना गच्छेअनुसाका निजी दुख पनि हुन्थे । बालबालिका र किशोरकिशोरीहरु कामले गर्दा पढ्न नपाएको अनि सोचेअनुसार जाँच राम्रो गर्न नसकेको भनेर कनकन गरिरहन्थे भने उनीहरुको सदावहार गुनासो चाहिं खेलकुद गर्ने र रामरमितामा जानेजस्ता मनोरञ्जनका गतिविधिका लागि समय र खर्च नभएको भन्ने हुन्थ्यो । वयस्क मानिसहरुमध्ये ऋण वा व्यवहारमा नफसेका मानिस भेट्न गाह्रै हुन्थ्यो र त्यसबाट कहिले मुक्ति मिल्ला भनेर तिनले व्यग्रताका साथ प्रतिक्षा गर्थे । छोराछोरीले अपेक्षा गरेअनुसार पढेनन् भने बिग्रेर भविष्यमा झन् व्यवहार विगार्लान् कि भन्ने तिनीहरुको सदावहार चिन्ता हुन्थ्यो । बुढाबुढीहरुका दिनचाहिं आफूहरुले सासुससुराको कसरी सेवा गथ्र्यों भनेर सम्झँदै त्यसलाई आफ्ना छोराबुहारीहरुका व्यवहारसँग तुलना गरेर दुखी हुँदैमा बित्थे ।
![]() |
At dusk, Macchapuchhre and other peaks of Annapurna range, in their glory. |
क्रमशः