जीवन क्षेत्री
नेपालको इतिहासमा आज एउटा अध्याय सकिएको छ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्ति बदर गरिदिएको छ ।
कार्की एउटा व्यक्तिबाट संस्था बनिसकेका थिए । उनी अन्तर्गतको अदुअआ शक्तिशाली समानान्तर राज्य बनेको थियो । त्यसले नेपालको नियमित राज्यलाई प्रभावित मात्रै गरेको थिएन लोकमानमा कुनै दिन देशको राजनीतिक प्रक्रिया दुर्घटित भएपछि नेपाल राज्यकै कार्यकारी प्रमुख बन्ने महत्वाकांक्षा चुलाइदिएको थियो ।
लोकमानको फाइल हराएको कि हाम्रा नेताहरुको लगौंटी?
अब कार्की अख्तियार प्रमुख रहेनन् र सँगसँगै उनको त्यस खालको सपना पनि अब रहेन ।
तर यो देशमा सबै समस्याको चुरो लोकमान थिएनन् । देशमा भ्रष्ट उनी एक्लै थिएनन् । कानुन हातमा लिएर व्यक्तिगत र पारिवारिक स्वार्थ सिद्धि गर्ने उनी एक्लै थिएनन् । आज सर्वोच्च अदालतले लोकमानको नियुक्ति बदर गरेको छ तर अरु सयौं लोकमानहरु अहिले पनि ज्यूँका त्युँ छन् । लोकमान प्रवृत्ति पनि ज्यूँदै छ ।
अख्तियारमा अझै लोकमानसित काँधमा काँध मिलाएर मेडिकल शिक्षाको सातो लिने राजनारायण पाठक पदमै छन् । विश्वविद्यालयको हुर्मत लिएर तिनलाई कार्यकर्ता भर्तीस्थल बनाउने पदाधिकारीहरु पदमै छन् । खाली पदहरुमा थप कार्यकर्ता भर्ना गरेर विश्वविद्यालयहरुलाई धराशायी बनाएर हाम्रो सिंगो पुस्ताको भविष्य अन्धकार बनाउन उद्यत् दलहरु जहाँको त्यहीं छन् ।
हाम्रो अर्थतन्त्रका अनेक परजीवीहरु यथावत् छन् ।
लडाइँ अझै जारी छ ।
म अन्धविश्वासी हैन तर सपनामा मलाई अनौठो विश्वास छ । जीवनका प्रत्येक ठूला परीक्षाहरुको नतिजा आउनु अगाडि म सपना देख्छु । तिनमा नदी हुन्छ, अक्सर सफा निलो पानी भएको । धेरैपल्ट ती नदी तरेको सपना देखेको छु र तीलगत्तै उत्कृष्ट नतिजाहरु हात परेका छन् । कति पल्ट सफा निलो पानी मात्र देखिन्छ । राम्रै नतिजा हात लाग्छ । कहिलेकाहीं धमिलो पानी बगेको विशाल नदी देखा पर्छ जुन तर्न सकिंदैन । त्योसँगसँगै अनेक थप चुनौती र असफलता हात परेका छन् ।
लोकमान विरुद्धको लडाइँमा, शुरुको चरणमा उनलाई जिस्क्याएर मात्र छाडेपछि, पार्टीहरु पर पर भागेर हामी असाध्य अप्ठेरो अवस्थामा भएको बेला, एउटा सपना देखेको थिएँ । एउटा फराकिलो, शान्त नदी तरेको । बिहान लागेको थियोः अब अवस्था उही रहेन, कतैबाट त सफलता हात लागेरै छाड्छ ।
लगत्तै सर्वोच्च अदालतले लोकमान नियुक्तिको फाइल खोल्ने निर्णय गरेको थियो । त्यसपछि शुरु भएको प्रक्रिया आज गएर टुंगियो ।
सपनामै पनि त्यति फराकिलो, गहिरो, सफा र शान्त नदी तरेको मलाई याद छैन । तर यसो भविष्यपट्टि फर्केर हेर्यो भने प्रस्टै हुन्छः अब धेरै त्यस्ता नदीहरु पार गर्नुछ । यह तो अभि शुरुआत हे मेरे दोस्त========
No comments:
Post a Comment