Sunday, January 1, 2017

मैले (एन्टी-)सोसल मिडिया किन छाडिनँ?


पछिल्लो महिना एक दिन म सामाजिक सञ्जालबाट बाहिरिने निर्णयमा पुगें । तर वर्षौंदेखिको नशा कसरी एकैपल्ट छाड्न सकिन्थ्यो र? लाग्यो, शुरुमा केही समय ‘ट्रायल’ गरिहेरौं ।

ट्वीटरको खातामा गएर ‘डिएक्टिभेट’ क्लिक गरें । त्यसपछि आएको सुचना अनुसार ट्वीटरबाट त्यसरी बाहिरियो भने त्यसमा रहेका आफ्ना सारा सम्पत्ति एक महिनाका लागि मात्र त्यहाँ रहने रहेछन् र अनि स्वतः ट्वीटरले सफाइ गरेर हटाइदिने रहेछ ।

म हच्किएँ र फेसबुकतिर लागें । आफूले चलाउने ग्रुप र पेजहरु हेरें । तिनलाई बेवारिशे छाड्न मन लागेन । केही साथीहरु थपेर केही दिन ती चलाउन लगाएर हेर्ने विचार गरें ।

केही दिनपछि निर्णयमा पुगेंः यो सामाजिक सञ्जालबाट बाहिरिने बेला हैन ।


किन बाहिरिन चाहन्थें म?

कहिलेकाहीं कुनै कुरा अचेतन मनमा गडेर बसेको हुन्छ तर चेतन मनमा आइरहेको हुँदैन । कसैले त्यसको जिकिर गर्यो भने त्यो फ्याट्ट मनमा आउँछ र महसुस हुन्छ कि यो कुरा त पहिलेदेखि मनमा थियो ।

एक दिन त्यस्तै भयो । ट्वीटरमा पत्रकार साथी वसन्त बस्नेतले शेयर गरेको न्यू योर्क टाइम्स पत्रिकाको एउटा लेखमा आँखा पुग्योः क्विट सोसल मिडिया । योर करिअर मे डिपेन्ड अन इट । 



कस्तो विरोधाभास– सामाजिम सञ्जाल छाड भन्ने आशयको लेख सामाजिक सञ्जालमै शेयर भइरहेको । हामी बाँचिरहेको विरोधाभासी समयको राम्रो प्रतिनिधि थियो त्यो ।

काल न्युपोर्ट नामक कम्प्युटर वैज्ञानिक तथा लेखकको यही नोभेम्बर १९ मा प्रकाशित उक्त लेख पढ्दै जाँदा आफ्नै अचेतन मनमा लुकिरहेको कुरा पढे झैं लाग्यो ।

आफूले कहिल्यै सामाजिक सञ्जाल नचलाउनुको गजब औचित्य पेश गर्दै उनले शुरुमा अहिलेको भूमण्डलीकृत विश्वमा पनि किन सामाजिक सञ्जालको अन्तहीन अन्तर्कि्रया अपरिहार्य छैन भन्ने दलिल पेश गर्छन्ः आफू यति उत्कृष्ट बन कि बजारले तिमीलाई खोज्दै हिंडोस्, आफ्नो ज्ञान, सीप तिखार्नमा कम र विज्ञापन गर्नमा बढी जोड दिन छाड ।

आफूलाई उत्कृष्ट बनाउने प्रयासमा सामाजिक सञ्जालको व्यवधान देखाउँदै उनले लेख्छन्ः अक्सर जटिल र मूल्यवान् सिकाइको प्रक्रियाका लागि गहन अध्ययन र मेहनत लाग्छ, त्यसका लागि अविच्छिन्न रुपमा ध्यान केन्द्रित गर्ने क्षमता आवश्यक हुन्छ । मिनट मिनटमा नभए पनि घण्टा घण्टामा सामाजिक सञ्जालको चियो गर्ने र घण्टौंसम्म त्यता बरालिने गरेपछि व्यक्तिको जटिल काममा ध्यान केन्द्रित गर्ने क्षमता ह्रास हुन्छ ।

उनका अनुसार व्यक्तित्व र पेशागत विकासका लागि सामाजिक सञ्जालको ब्राण्डमा भर पर्नु भनेको निस्क्रिय खालको रणनीति हो जहाँ व्यक्तिको ध्यान जति सार्थक उपलब्धि हात पार्ने, आफूलाई माझेर कुशल बनाउने भन्दा संसारलाई ‘म पनि कोही हुँ’ भनेर छाप छोड्नमा केन्द्रित हुन्छ । यही कुरा अन्ततः एक खालको नशा बन्न पुग्छ र पछिल्लो पुस्ताका लागि यो अवस्था खतरनाक रुपमा प्रत्युत्पादक छ ।

यो लेखले मनमा उथलपुथल मच्चियो । आफैंलाई फर्केर हेरेंः मेरो कति समय अहिले सामाजिक सञ्जालमा बित्छ? के त्यो सबैजसो अनुत्पादक समय हैन? सामाजिक सञ्जाल एक किसिमको नशा बनेकै हो त? त्यहाँ कहिल्यै नछिरेको भए म अहिलेभन्दा कति फरक हुन सक्थें? कतै मनभित्र लुकेर बसेको ‘एक्झिविसनिजम’ भनिने प्रदर्शन–मोहलाई सामाजिक सञ्जालले कैयौं गुणा बढाइदिएर मेरो यथार्थ रुपलाई लुकाइदिएको त छैन? कतै सामाजिक सञ्जालमा पोस्ट गरिरहन मन लाग्नु आफ्नो कार्य सम्पादनमा आएको ह्रास आएको लक्षण त हैन?

यी विषयमा मन्थन भएपछि म सामाजिक सञ्जाल छाड्ने निश्कर्षमा पुगेको हुँ ।


नछाड्नुका कारण

सामाजिक सञ्जाल छाडे पनि अहिले त्यहाँबाट जति रचनात्मक कामहरु भइरहेका छन्, ती कुनै पनि अवरुद्ध गर्न चाहिं म चाहंदैनथें । अर्थात्, सामाजिक सञ्जालका लत लाग्ने खालका वा गलत प्रभावबाट बचेर म त्यसका रचनात्मक पक्षहरुलाई बचाउन चाहन्थें, जुन सिक्काका दुई पाटामध्ये एक मात्र रोज्न नमिलेजस्तै अवस्था थियो ।

सामाजिक सञ्जालको प्रयोजन थियो, त्यसले मलाई राम्रा लागेका कामहरु गथ्र्यो, त्यसैले त्यसका खराब पक्षका बाबजुद पनि म त्यहाँ थिएँ । त्यहाँ रहँदा दुवै स्वीकार्नु पथ्र्यो र छोड्दा स्वभाविक रुपमा दुवै छाडिन्थे ।

सामाजिक सञ्जाल छाडेको खण्डमा त्यसका रचनात्मक कामहरु गर्ने वैकल्पिक माध्यम के हुन सक्थ्यो? नेपाल भित्र नभए पनि बाहिर केही उदाहरणहरु चाहिं थिए ।

२०११ मा इजिप्टमा मुबारकको शासन त ट्वीटर र फेसबुकको मदतले ढल्यो तर त्यसपछि सिर्जना भएको अराजकतामा ती माध्यम काम लागेनन् । यथास्थितिलाई ध्वंश गर्न काम लागेका ती माध्यम नव निर्माणका लागि काम नलाग्ने बरु थप अराजकताको स्रोत बन्ने दुखद निश्कर्षका साथ तहरिर स्क्वायरका एक शीर्ष अभियन्ता वाएल गोनिमले पार्लियो डट कम नामक अलग सञ्जाल निर्माण गरे । त्यसमा गम्भीर विषयहरुमा सभ्य र शालीन अन्तक्र्रिया गर्न थालियो र फरक मतलाई सम्मानजनक रुपमा ग्रहण गर्दै बहस जारी राख्ने अभ्यास बस्यो ।

सामाजिक सञ्जालका अँध्यारा पक्षहरु एकपछि अर्को बाहिर आइरहँदा पार्लियोजस्ता सानै र कम शक्तिशाली माध्यमले पनि कस्तो महत्व पाए भने, विख्यात लेखक तथा न्यू योर्क टाइम्सका स्तम्भकार थोमस फ्रिडम्यानले एउटा स्तम्भमा गोनिमको नाम लिएर पार्लियोलाई सभ्य समाजमा अन्तक्रिया गर्ने नमुना माध्यमका रुपमा उल्लेख गरे । (२०१६ मार्चमा पार्लियो अर्को प्रश्नोत्तर केन्द्रित सञ्जाल कोरा डट कम (quora.com)  मा गाभिएको छ ।)

यी त भए बाहिरका कुरा ।

नेपालमा अहिले मैले आफूलाई संलग्न गराएका दुई प्रमुख काम छन्, जसमा सामाजिक सञ्जालले सघाएको छः लेखन र अभियान । लेखनमा सन्दर्भ सामाग्रीहरु जुटाउन मात्र हैन, आम मानिसको नाडी छाम्न पनि सामाजिक सञ्जालहरुले मदत गर्ने गरेका छन् । अभियानहरुमा त ठूलो संख्यामा मानिसहरुसम्म सुचना र जानकारी पुर्याउन मात्र नभई उनीहरुलाई उत्प्ररित गरेर अभियानसँग जोड्न सामाजिक सञ्जालको ठूलो भुमिका छ ।

२०१६ मा मैले लेखेको सबैभन्दा महत्वपूर्ण र प्रभावशाली ‘अन्नपूर्ण पोस्टको कालो पत्रकारिता’ शीर्षक लेख (जसका कारण सो पत्रिकाले कम्तीमा ३ वटा सामाग्री अनलाइनबाट हटाउनु परेको थियो) का लागि सन्दर्भ सामाग्री जुटाउन धेरै मेहनत परेको थियो । खास गरी नेपाली युनिकोडमा छापिने सामाग्रीहरु गुगल सर्चबाट भेट्न निकै कठिन वा असम्भव नै हुन्छ र कुनै कुनै पुरानो सामाग्री भेट्न दैनिक पत्रिकाका महिनौंसम्मका कपिहरु छाँद मार्नुपर्ने हुन्छ । त्यसो गर्दा पनि केही हात नलागेपछि मैले आफ्नै वर्षभरका ट्वीट खोतल्दै र सिंगो ट्वीटरमा सर्च गरेर ती सामाग्री फेला पारेको थिएँ । ट्वीटर नभएको भए शायद तिनलाई फेला पार्न गाह्रै हुने थियो ।

त्यसैले सामाजिक सञ्जाल छाड्यो भने लेखनका हिसाबले ठूलै मुल्य चुकाउनु पथ्र्यो ।

अभियानहरुका लागि चाहिं सामाजिक सञ्जालमा सक्रिय अन्य सहकर्मी साथीहरु हुने हो भने म आफैं त्यहाँ भइरहनु जरुरी थिएन तर केही दिन पेजको जिम्मा अरुलाई छाडेर हेर्दा त्यता पनि सन्तोषजनक नतिजा आएन । काम गर्नु र ढंग पुर्याएर काम गर्नु फरक हुन् भन्ने कुरा त्यो अनुभवले देखायो ।

त्यसपछि मसामू दुई विकल्प रहेः लेखन र अभियानमा तत्काल पर्न जाने प्रतिकुल प्रभाव सहेरै सामाजिक सञ्जालबाट बाहिरिने कि अहिलेका लागि ती सञ्जालमै रहिरहने? मैले दोस्रो विकल्प रोजें ।

ताजा स्थितिः एन्टी–सोसल मिडिया

जसरी इन्टरनेटको आविष्कार भए लगत्तै विश्वभर अनन्त अन्तक्र्रिया र लोकतान्त्रिकरणको नयाँ माध्यम आयो भनेर उत्साह फैलिएको थियो, सामाजिक सञ्जालहरुको आगमनले पनि त्यस्तै उत्साहको सञ्चार गरेको थियो । शताब्दीयौंदेखि सीमित पत्रकार र सम्पादकहरुमा कायम सुचना र विचार प्रवाह गर्ने एकाधिकार तोडिएर आम मानिसको अभुतपूर्व सशक्तीकरण हुन पुग्दा त्यसले मानिसहरुबीच पहिलेभन्दा निकै बढी आदानप्रदान हुने र त्यसले लोकतान्त्रिक परिपाटीलाई जरैदेखि बलियो बनाउने धेरैको अपेक्षा थियो ।

केही हदसम्म त्यस खालको सकारात्मक परिवर्तन आएको पनि हो । पहिले इन्टरनेट र पछि सामाजिक सन्जालका कारण मानिसहरुको सशक्तिकरण भएको र पहिले कहिल्यै आफ्नो आवाज सुनाउन नपाउनेहरुले आवाज सुनाएको पनि हो । सम्भ्रान्तहरुको नियन्त्रणमा रहेका मानिने परम्परागत मिडिया हाउसहरुलाई न्यू मिडिया भनिने नयाँ माध्यमहरुले चुनौती दिएको पनि हो । एउटा उदाहरणः १८५१ सालदेखि निरन्तर प्रकाशित न्यू योर्क टाइम्सको १९९६ मा शुरू भएको वेबसाइट र २००५ मा ब्लगका रुपमा शुरु भएको हफिंटन पोस्टबीच एलेक्सा डट कमले गर्ने ट्राफिकमा आधारित र्यांकिङ अहिले तुलना योग्य रहेका छन् (३ महिना अगाडि विश्वव्यापी र्यांकमा न्यू योर्क टाइम्स १२० औं स्थानमा हुँदा हफिंटन पोस्टको र्यांक १५३ थियो।)

तर यस खालको लोकतान्त्रिकरण कुन मुल्यमा भयो भने, झुट्टा वा काल्पनिक समाचारले अमेरिकाजस्तो देशको राष्ट्रपतिय चुनावलाई प्रभाव पार्ने अवस्था बन्यो । बिस्तारै खास गरी सामाजिक सञ्जालको हकमा समाजमा खूलापन, सहिष्णुता र लोकतन्त्रको पृष्ठपोषण गर्नेहरुको आवाज धिमा वा कम प्रभावशाली र इस्लामिक स्टेटजस्ता आतंककारी संगठन वा डोनाल्ड ट्रम्प, सुब्रमण्यम स्वामी र नाइजेल फाराजजस्ता अतिवादीहरुको आवाज अपूर्व रुपमा प्रभावशाली बन्न पुग्यो । संसारभर टाउको उठाइरहेको उग्र दक्षिणपन्थी, नश्लवादी र आतंकवादीहरुका लागि सामाजिक सञ्जालहरु अहिले जीवन बुटी नै बनेका छन् ।

यो भनेको स्थापित सञ्चार गृहहरुले एजेण्डा र बहसको दिशा निर्धारण गर्ने पुरानो संरचना भत्किसकेको तर त्यसको ठाउँ नयाँ संरचनाले नलिइसकेको (र निकट भविष्यमा लिने अवस्था पनि नरहेको) एक खालको अराजकताको अवस्था हो ।  यसका अवसर र चुनौती दुवै छन् तर संसारभर अहिले सार्थक, रचनात्मक र बहुआयमिक मन्थन र अन्तक्र्रियाको अवसर साँघुरिंदो छ भने मानिसहरुको नकारात्मक र आपराधिक समेत प्रवृत्तिहरूलाई यी माध्यमहरुबाट प्रकट गर्ने, विद्वेष र हिंसा फैलाउनेजस्ता यी माध्यम दुरुपयोगका पाटाहरु रोक्ने चुनौतीहरुको सामना हुन सकेको छैन।

हामीमध्ये धेरैलाई अहिले पनि यी कुराहरु कतै सुदुर भुगोलका, आफूसँग असम्बन्धित कुराजस्ता लाग्छन् । तर अहिलेको भुमण्डलीकृत विश्वमा असल वा रचनात्मक कुराहरु फैलन समय लाग्छ तर यस्ता  नकारात्मक कुराहरु निमेषभरमै फैलिन्छन् ।

एउटा उदाहणः केही दिन अगाडि भारतको एक अनलाइन पोर्टल क्याचन्यूजमा रन्जन क्रेस्टाले भारतीय राजनीतिमा सामाजिक सञ्जालको ट्रोलिङले खेल्दै गएको महत्वपूर्ण भुमिकाका बारेमा लेख्दै एउटा चिन्ताजनक कुरा उजागर गरेका छन्ः अरु त अरु बलिउडका सबै जसो कलाकारभन्दा फरक र जब्बर मानिएका आमिर खानसमेत ट्रोेलिङको भीमकाय मेसिनबाट बच्न सकेनन् । अघिल्लो सालसम्म मोदी शासनमा भारतमा मौलाएको असहिष्णुता र अतिवादको जमेर आलोचना गरेका आमिरले यसपल्ट आएर मोदीको नोटबन्दीको निर्णयको बचाउ गर्ने अवस्था आयो । त्यो पनि कहिले भने त्यो निर्णयका कारण सय भन्दा बढी मानिसको ज्यान गएर त्यसका दुष्प्रभावहरु छर्लङ्ग भएपछि ।

त्यस्तो परिवर्तनके पृष्ठभुमि खोतल्दै उनी लेख्छन्ः एक जना पत्रकार स्वाती चतुर्वेदीको प्रकाशोन्मुख पुस्तकमा बीजेपीकी एक पूर्व स्वयंसेविका साधवी खोस्लालाई उद्धृत गरिए अनुसार आमिरमाथि निरन्तरको ट्रोलिङ स्वतः स्फुर्त थिएन बरु बीजेपीको सुचना–प्रविधि प्रमुख अरविन्द गुप्ताको निर्देशन र संयोजनमा भएको थियो । त्यस्तो संगठित ट्रोलिङ कति प्रभावकारी थियो भने, भारतको ठूलो इ–कमर्स कम्पनी स्न्यापडिलले त्यही दबाबका कारण आमिर खानलाई यो वर्ष ब्राण्ड एम्बेसडरको सम्झौता नवीकरण गरेन भने भारत सरकारको पर्यटन प्रवद्र्धनको योजना ‘इन्क्रेडिबल इण्डिया’को ब्राण्ड एम्बेसडरबाट पनि उनले हात धुनुपर्यो ।

भारतमा त स्थिति यसै पनि कति विकराल छ भने अहिले राष्ट्रिय स्वयंसेवक संघ र बीजेपीलाई चुनौती दिएर वा तिनका अपराध खोतलेर समाचार लेख्ने पत्रकारदेखि सम्पादकसम्म ‘ट्रोल आर्मी’ भनेर चिनिने लठैतहरुको जमातबाट निरन्तर प्रताडित हुने मात्र नभई या त उनीहरुको रोजगार नै खोसिने, या प्रकाशकहरुको व्यवसाय नै डुब्ने अवस्था छ । हिमाल साउथएसियनको पछिल्लो (र हाललाई अन्तिम) अंकमा पत्रकार नेहा दीक्षितले आफ्ना दर्दनाक अनुभवहरु साटेकी छन्ः खास गरी हिन्दुत्ववादी भनिने दक्षिणपन्थीहरुका करतुतहरुबारे लेखेका कारण उनलाई हत्या र बलात्कारका धम्की आउनु त सामान्य भइसकेका छ । कतिसम्म भने उनले, श्रीमान्सँग लिएको सेल्फीलाई यौन व्यवसायको ग्राहकसँग खिचेको भनेर सामाजिक सञ्जालमा राखिएपछि त्यो तत्काल २५०० पल्ट शेयर गरिएर भाइरल भएको थियो ।

यसरी एकतिर अधिकांश नागरिकहरु धेरै मानिसहरुसंग सम्पर्क हुने लोभमा सामाजिक सञ्जालमा आउने, तिनलाई विज्ञापन देखाएर सञ्जालहरु धनी हुने क्रम छ भने अर्कोतिर त्यही माध्यम प्रयोग गरेर एउटा उल्लेखनीय अल्पसंख्यामा रहेको ट्रोल सेनाले फरक मतलाई पूरै निषेध गर्न सफल भएको छ ।

उसो भए मेरो सामाजिक सञ्जालका भित्ता किन राम्रा, सकारात्मक सन्देश, नयाँ लुगामा सजिएका वा नयाँ ठाउँमा घुमिरहेका हँसमुख साथीहरु, र मलाई पढुं पढुं लाग्ने समाचारहरुले मात्र भरिएका छन्? यति पढिरहँदा धेरै आम सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको मनमा यो प्रश्न उठ्न सक्छ ।

हालैको अमेरिकी चुनावपछि एक जना अमेरिकीले लेखेका थिएः मेरो फेसबुक टाइमलाइन हेर्दा त ट्रम्पले जित्नु त कता कता, बेइज्जतीपूर्वक हार्नेछन् भन्ने लाग्थ्यो । तर म त आफ्नै ‘इको च्याम्बर’मा बाँचेको रहेछु । फेसबुकको ‘अल्गोरिदम’ले ती सामाग्री मात्र मलाई देखाउँदो रहेछ, जुन म मन पराउँछु । मैले उग्र राष्ट्रवादी, नश्लवादी, रंगभेदी र महिलाद्वेषी सामाग्री कहिल्यै मन पराइनँ र क्लिक गरिनँ, त्यसैले फेसबुकले ती सबै हटाएर सिनित्त मलाई मन पर्ने कुरा मात्र देखाउन थालेछ ।

यसरी सामाजिक सञ्जालहरु विभिन्न मत भएका मानिसहरुबीच रचनात्मक अन्तक्रिया गर्नेभन्दा पनि विचार र रोजाइका हिसाबले मानिसहरुलाई वर्गीकरण गरेर आ आफ्ना कुरा मात्र सुन्ने र सुनाउने, फरक मतलाई पूरै निषेध गर्ने झुण्डहरु बनाउने माध्यम बनिरहेका छन् ।


अब के?

नेपालमा यो समस्या भारतमा जति विकराल नहोला तर आम बौद्धिक विमर्शको महत्वपूर्ण हिस्सा अहिले सामाजिक सञ्जालले ओगटिसकेको छ । जटिल यथार्थलाई श्यामश्वेत विकल्पहरुमा बदल्ने अनि मानिसहरुलाई ध्रुवीकरण गर्ने, विभिन्न किसिमले असुरक्षाको भावना फैलाउने र कृत्रिम रुपमा तयार गरिएका कित्ताहरुमा जबर्जस्ती 'फिट' गराउने क्रम अहिले तीव्र छ ।

फलस्वरुप व्यक्तिको स्वतन्त्र रुपमा र विवेकपूर्वक सोच्ने क्षमता तीव्र रुपले खिइँदैछ । जटिल यथार्थका अनेक पाटा केलाउनभन्दा कसैले तयार पारिदिएको श्यामश्वेत चित्रणका पछाडि आँखा चिम्लेर लाग्ने र यथार्थ बुझ्नुभन्दा अगाडि नै त्यसको प्रतिक्रिया दिइसक्ने अभ्यास हामीहरुबीच विकसित भइरहेको छ । यस्तो अभ्यासका लागि सामाजिक सञ्जाल उर्वर भुमि बनेको छ र माथि उल्लेख गरिए जस्तो आफूले सुन्न चाहेको कुरा मात्र सुन्न चाहिने 'इको च्याम्बर' बन्न पुगेको यो माध्यमले शालीन र स्वभाविक मत भिन्नताहरु र तिनमा आधारित सभ्य बहसको संस्कृतिलाई कुण्ठित गरेको छ । आफूलाई चित्त नबुझ्नासाथ अरुका तर्क खण्डन गर्ने हैन कि व्यक्तिलाई अनेक लाञ्छना लगाएर उसका विचार नै अवैध वा बहसका लागि अयोग्य भनेर पुष्टि गर्ने अभ्यास संस्थागत हुँदैछ ।

फलस्वरुप हाम्रोे समाजमा जति पनि मत भिन्नताहरु छन्, तिनको लोकतान्त्रिक व्यवस्थापन अत्यन्त कठिन बन्दै गइरहेको छ र अहिलेको ध्रुवीकरण अझ तीव्र भएर जाने क्रममा छ । देशको राजनीति एकपछि अर्को संकटमा लम्कने दुश्चक्रमा अन्तहीन रुपमा फसेको अवस्थामा समाज समेत यसरी विभाजित, ध्रुवीकृत हुनु, अनि फरक मत राख्ने मानिसहरुले एक अर्काको कुरा सुन्नै नचाहनुले समाजका रुपमा हाम्रो भविष्य उज्ज्वल रहेको संकेत गर्दैनन् ।

यो परिवेशमा नेपालमा बहुलता, सहिष्णुता र सही अर्थको लोकतान्त्रिक मन्थनको अभ्यास जोगाउनु आवश्यक छ भनेर हामीमध्ये धेरै सहमत हौंला तर त्यो कसरी सम्भव छ भन्ने प्रश्नको उत्तर सहज छैन ।

समयको यो बिन्दुमा मसँग पनि यो प्रश्नको उत्तर छैन र विकासक्रम हेर्दा छिट्टै त्यो प्राप्त हुने पनि देखिंदैन । खास गरी दिनानुदिन उग्र र धेरै हदसम्म जटिल यथार्थसँग विच्छेदित, नाजायज रुपमा श्यामश्वेतमा ढालिएका तर्क, उत्तेजक र उरन्ठेउला अभियानहरु फैलंदै गर्दा सामाजिक सञ्जालहरुले हाम्रो समाजको लोकतान्त्रिकरणलाई अवरुद्ध गर्ने मात्र हैनन्, तिनका प्रयोगकर्ताहरुलाई अझ सशंकित, कुण्ठित, उत्तेजित र आक्राशित बनाउने काम गरिरहेका छन् । आफूलाई ठीक लागेको कुरा वास्तवमै ठीक हो कि हैन, फरक मत राख्नेहरुले विरोधकै लागि मात्र नभएर औचित्य भएका कारण त्यस्तो मत राखेका हुन् कि, आफूले निरपेक्ष मानेका निचोडहरुहरु कतै सापेक्ष पो हुन् कि, कुनै परिवेशमा व्यक्त भएको कुराले फरक परिवेशमा फरक अर्थ पो राख्छ कि, यस्ता कुरा नसोची आँखा चिम्लेर भाइरल बनाउन वा ‘ट्रेन्डिङ’ बनाउन कुदेपछि जस्तो अवस्था आउन सक्थ्यो, अहिले हामी त्यही अवस्थामा छौं ।

यो अवस्थामा म सामाजिक सञ्जालबाट बाहिरिनु वा नबाहिरिनुले नेपाली समाजमा ती सञ्जालले खेल्ने भुमिकामा केही फरक नपर्ला तर व्यक्तिका रुपमा मैले कस्ता सामाग्री, सन्देश, बहस वा अन्तक्र्रियाहरुलाई स्वीकार गर्छु वा अपनाउँछु भन्ने कुरालाई चाहिं फरक पार्छ । र आफ्नो व्यक्तित्व विकासका लागि मैले कुन बाटो यात्रा गर्छु भन्ने कुरालाई पनि त्यसले फरक पार्छ।

संसारभर सामाजिक सञ्जालहरुको प्रयोगले मूलभुत रुपमा जुन दिशा लिइरहेको छ, त्यो पटक्कै उत्साहजनक छैन र म विश्वस्त छु, एकपल्ट त्यहाँबाट बाहिरिएपछि मैले ती माध्यमलाई ‘मिस’ गर्ने छैन ।

तर तत्काललाई भने अभिव्यक्तिको वैकल्पिक माध्यम, नयाँ वेबसाइट निर्माणकै क्रममा छ । त्यो नबनुन्जेल म सामाजिक सञ्जालमा रहनेछु । मलाई लाग्छ, २०१७ साल सकिंदै गर्दा त्यो नयाँ माध्यमले अलग अस्तित्व ग्रहण गरिसकेको हुनेछ । 

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more