डा केसीको बारम्बारको अभियानले के हात लाग्यो त भनेर धेरैले प्रश्न सोध्छन् । त्यसको एउटा उदाहरण हेरौं ।
यही वर्ष अप्रिल २५ मा नेपाली काँग्रेसका नेता सशांक कोइराला मेडिकल शिक्षा व्यवसायी सुनिल शर्मासित अमेरिकामा रहेछन् । त्यहाँ रहेका एक नेपालीले मलाई इमेलमा लेखेः
डा सशांक कोइराला अमेरिका भ्रमणमा छन्, हिजो भर्जिनियामा थिए । उनी सु्निल शर्मासित आएका छन् । दुईलाई सँगै देखेर हामी छक्क र क्रुद्ध दुवै भयौं । भर्जिनियाका केही साथीहरुले सुनिल शर्मालाई यसो बाहिर तानेर डा केसी र उहाँको अभियानका बारे सोधे तर उनी केही नबताइ गए र कार्यक्रमबाटै बाहिरिए । त्यसपछि डा सशांकको अन्तक्र्रियाका बेला उनी देखै परेनन् । त्यही प्रश्न हामीले डा सशांकलाई सोध्यौं, उनी जवाफ दिनबाट तर्के र खाली आम रुपमा यति भनेः अवैध वा गैर कानुनी पैसा राजनीतिमा आइरहेको छ । अनि मैले काँग्रेस जन सम्पर्क समितिका धेरैलाई दुई जनाको बारेमा सोधें । थाहा भयो कि डा सशांकको यात्रा डा सुनीलले प्रायोजन गरेका थिए । (प्रत्यक्ष पुष्टि हुन बाँकी) । यो विषयमा थप जानकारी चाहियो भने मलाई लेख्नुहोला ।
डा सशांक सुनिल शर्मासँग अमेरिकामा देखिनु कुनै ठूलो वा आफैंमा गलत कुरा हैन । कुनै प्रयोजनको लागि शर्माले कोइरालालाई प्रायोजित भ्रमणमा लगेको भन्ने पुष्टि पनि भएको छैन, मलाई त्यो दाबी गर्नु पनि छैन । त्यसको उल्टो साथीका रुपमा कोइरालाले शर्मालाई लिएर गएका पनि हुन सक्छन् । एक जना राजनीतिज्ञ र एक व्यवसायीबीच दोस्ती नहुनु भन्ने पनि केही छैन ।
Earlier: डा केसीका पक्षमा र्याली र बालुवाटारमा विशाल प्रदर्शन (फोटो तथा भिडियो कथा)
तर नागरिक यति सचेत भइसकेका छन् कि अमेरिकामा दुवैलाई र्याख्र्याख्ती पारेर एक जनालाई कार्यक्रमबाट भाग्नै बाध्य बनाएछन् । नागरिक सशक्तिकरण र नेताहरुलाई जवाफदेही बनाउने उनीहरुको तत्परता उदाहरणीय छ । डा केसीको अभियान नचलेको भए मेडिकल शिक्षाबारे यो क्षेत्रका विकृतिहरु कहिल्यै बाहिर नआउने र फलस्वरुप नागरिकहरुमा यस्तो चेतना नहुने सम्भावना धेरै थियो ।
कोइराला र शर्मालाई सँगै देखेपछि त्यसलाई उनीहरुको सामान्य मित्रता नसम्झेर किन नागरिकहरुले कालो वा अवैध धनले राजनीति चलेको सम्म कुरा उठाए? किन कोइराला त्यस्तो धनको प्रभावबारे बोल्न बाध्य भए? किन उनले खुलेर ‘हामी साथी भएकाले आ–आफ्नो खर्चमा घुम्न आएका हौं वा साथीका रुपमा मैले उसलाई आफ्नो खर्चमा ल्याएको हुँ’ भनेर भन्न सकेनन्? सँगै रहेका शर्मा केही प्रश्नहरु सोधिनासाथ कार्यक्रमबाटै गायब हुनुपर्ने बाध्यता के थियो? काँग्रेसको जनसम्पर्क समितिका मानिसले किन सहजै शर्माले कोइरालाको यात्रा प्रायोजन गरेका थिए भनेर भने?
यी प्रश्नको इमान्दार जवाफ नपाएपछि मानिसहरु स्वतः उदासलाग्दो निश्कर्षमा पुग्छन्ः राजनीतिक दलका नेताहरु व्यक्तिगत हितका लागि देशको हितलाई तिलान्जली दिएर एकाध मानिससित मिल्छन् र गर्न नहुने काम गर्छन् । त्यसमाथि शर्मा र कोइराला परिवारको नाम बारम्बार जोडिएर आउने गर्छ ।
केही वर्ष अगाडि सामान्य आर्थिक अवस्थाका शर्मासित अहिले अर्बौं पर्ने मेडिकल र डेन्टल कलेज छन् । तेस्रो मेडिकल कलेजचाहिं डा केसीको अभियानका कारण रोकिएको हो, त्यो नभएको भए अहिले त्यसमा समेत एमबीबीएस अन्तिम वर्षको पढाइ भइरहेको हुने थियो ।
सुनील शर्मा अन्य कारणले पनि चर्चामा आइरहन्छन् । केही समय अघि उनी नक्कली प्रमाणपत्र छानविनमा परेर देशबाटै बाहिरिएको भन्ने समाचार आएको थियो ।
दुई वर्ष अघि उनले सामान्य र जायज माग राखेका विद्यार्थीहरुलाई होस्टेलबाट लखेटेर चौरमा सर्प र लामुखट्टेसित रात बिताउन बाध्य पारेका थिए र प्रतिव्यक्ति पचासौं लाख तिरेका विद्यार्थीहरुसित अपराधीलाई जस्तो व्यवहार गरेर हप्तौं शारीरिक र मानसिक यातना दिएका थिए । उनीमाथि रहेको राजनैतिक आशीर्वादको प्रतापले विद्यार्थीलाई डिग्री दिने जिम्मा लिएको काठमाडौं विश्वविद्यालय तमाशे बनेर त्यो अत्याचार हेरेको थियो (हेर्नुहोस्ः रामकण्ठ मकाजुज्यू, यो के तमाशा हो?) विद्यार्थीमाथि ठाडै गुण्डागर्दी गरिरहेका शर्मा पछि त्यतिखेर हच्के जब डा केसीले त्यहाँको अवस्थाबारे कलेजको निन्दा गरेर विज्ञप्ति निकाल्ने तय भयो ।
त्यो व्यवहार र अवस्था आज पनि जारी छ ।
उनको मात्र हैन अधिकांश मेडिकल कलेजहरुमा विद्यार्थीहरुले अपेक्षा गरेजस्तो सहज वातावरणमा पढ्दैनन् बरु कलेजबाट पाइलापाइलामा ठगिएर पाउनु पर्ने सिकाइको वातावरण नपाइ र अनेक थरी नाजायज शुल्क तिरेर किन छिरिएछ भनेर पछुताउँदै जाँचमा फेल हुने वा गराइने त्रासमा छ वर्ष बिताउँछन् ।
केही दिन अघि अर्का कोइराला बन्धु (शेखर) संसदीय समितिमा गएर डा केसी विरुद्ध प्रवचन दिएका थिए र नेपालको मेडिकल शिक्षालाई सरकारले डा केसीको लहैलहैमा लागेर तहसनहस बनाएको आरोप लगाएका थिए ।
त्यो पटक्कै अनौठो हैन । काँग्रेसको खल्तीबाट बनेका त्रिवि उपकुलपति भएको मौकामा त्रिविको भन्सार मानिने (तर वरिष्ठताका आधारमा डिन हुन थालेपछि छवि बदल्न थालेको) आइओएममा खाँट्टी कार्यकर्ता ल्याउन भनेर काँग्रेस पार्टी लागेको कुरा अब कतै लुकेको छैन । वरिष्ठताका आधारमा नियुक्तिको माग राख्दै त्यसमा व्यवधान बनेका कारण शेखरजी डा केसीप्रति खनिएको बुझिन्छ ।
डा केसी अनशन बसेको आज दशौं दिन पुगीसक्दा पनि अन्य दलहरुजस्तै सत्तारुढ काँग्रेस पनि अन्योलग्रस्त देखिन्छः वास्तवमा पार्टीले जवाफदेही हुनुपर्ने कोप्रति हो? निहित स्वार्थ भएका सीमित व्यवसायीहरु कि गुणस्तरीय र सस्तो स्वास्थ्य सेवा खोज्ने आम नागरिक?
त्यो दुविधाको अझ प्रकट रुपः डा केसीका माग पूरा गरेर वरिष्ठताका आधारमा डिन बनाइदिऊँ, गुणस्तरमा कडिकडाउ हुने, नयाँ मेडिकल कलेज नखुल्ने र सुनिल शर्माजस्ता व्यवसायी मित्रहरुको स्वार्थमा आँच आउने । व्यवसायी मित्रहरुको स्वार्थ मात्र हेरौं भने यता डा केसीको ज्यानै जान सक्ने ।
अब के होला? भन्न गाह्रै छ तर काँग्रेस शीर्ष नेतृत्व अझै पनि आम नेपालीले लिनुपर्ने स्वास्थ्य सेवाको गुणस्तर र पहुँचका विषयमा पूर्ण सम्वेदनविहीन देखिन्छ । काँग्रेसका धेरै शीर्ष नेतालाई यसैले पनि डा केसीका मागभन्दा व्यवसायी साथीहरुका माग बढी जायज र कर्णप्रिय लाग्छन् । त्यसैले उनीहरुको हितमा आफ्नो अर्हनखटनमा चल्ने पदाधिकारीहरु नियुक्ति गर्न सिंगो पार्टी नेतृत्व लागीपरेको छ । यही वर्ष अर्को सहकर्मी दलका शिक्षा मन्त्रीका प्रतापले मेडिकल शिक्षामा कम्तीमा ४ अर्ब कालोबजारी भएको छ, विद्यार्थी र अभिभावकले अहिले तिरेको शुल्कले पछि सेवाग्राहीको ढाड सेकिने कुरा प्रस्टै छ । तैपनि पार्टी मौन छ।
त्यस्तो मौनताको एउटा कारण सम्भवतः यो होला कि अरबौं सम्पत्ति हुनेहरुलाई अहिले गुणस्तरीय स्वास्थ्य सेवाको चिन्तै लिनुपर्दैन, एअर एम्बुलेन्स मगाएर दिल्लीदेखि सिंगापुर र अमेरिकासम्म पुगे हुन्छ जहाँ अत्याधुनिक सुविधा छँदै छन् ।
हैन, आफूसित भएको अथाह सम्पत्ति आउँदो सातौं पुस्तासम्मलाई पुर्याउने हो भने एकाध करोड लिन राज्य कोषको डाडुपन्यु आफ्नै हातमा छ । त्यति भएपछि देशको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा भर्सेलामा परोस्, गुणस्तर नभएर वा पैसा तिर्न नसकेर मर्ने त आखिर सर्वसाधारण नै त हुन्, काँग्रेसलगायतका दलहरुले उनीहरुका लागि कहाँ राजनीति गर्दैछन् र?
No comments:
Post a Comment