सक्नुहुन्छ भने जिम्मेवारी निभाउनुस्, हैन भने अपमानपूर्वक पदमा रहनुभन्दा आउनोस्, सडकमा स्वाभिमानका लागि सँगै संघर्ष गरौं ।
श्री रामकण्ठ मकाजूज्यू, उपकुलपति, काठमाडौं विश्वविद्यालय
सर्वप्रथम त यहाँलाई निद्रा वा बेहोशीले छोपेको छैन भन्ने मानेर यो पत्र लेखिएको छ । सम्भव भए पढ्ने कृपा गर्नुहोला । साथै यहाँमा पदीय जिम्मेवारीको थोरै भए पनि हेक्का होला भन्ने विश्वास बाँकी रहेकाले पनि यो पत्र यस रुपमा लेखिएको हो ।
प्रथमतः यहाँ आफैं चिकित्सकीय पृष्ठभुमिबाट काठमाडौं विश्वविद्यालयजस्तो गरिमामय संस्थाको प्रशासनिक जिम्मेवारीमा पुग्नुभएकाले यो क्षेत्रका समस्या र तिनको सम्भावित समाधानबारे पनि यहाँलाई राम्रो ज्ञान हुनुपर्ने हो । यहाँ नियुक्त भएर आउनासाथ स्नतकोत्तर तहको शुल्कमा ल्याउनुभएको एकरुपताले त्यहाँ व्याप्त डरलाग्दो मनपरी रोकेर धेरै योग्य चिकित्सकहरुलाई पहिलेभन्दा निकै कम शुल्कमा विशेषज्ञता हासिल गर्न सम्भव बनाएको हो । यहाँको त्यो कदमपछि नै चिकित्सा क्षेत्र सुधारतर्फ उल्लेख्य काम होला भन्ने अपेक्षा गरिएको थियो र यहाँलाई आफ्नो क्षमता र भिजनलाई व्यवहारमा उतार्न काठमाडौं विश्वविद्यालयजस्तो उत्कृष्ट प्लेटफर्म उपलब्ध थियो ।
तर दुर्भाग्य, यहाँको नेतृत्व त्यो कठोर व्यवहारिक परीक्षामा खरो उत्रनु त कता कता, समयक्रममा झन् दलदलमा फस्दै गयो । खास गरी कावि कै सर्वोच्च निकायको पहिलेको निर्णय उल्टाउने गरी रातारात सिनेटमार्फत् विधान बदलेर तथा एउटा भ्रामक नियमावली सिर्जना गरेर यहाँहरुले चोर बाटोबाट दुई नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिनुभयो । राज्यले अहिले पनि कानुनी प्रक्रिया पुर्याएर तिनलाई खारेजीमा लैजाने भन्ने औपचारिक नीति लिएकाले ती दुवै मेडिकल कलेजका विद्यार्थीहरुको भविष्य अन्योलमा छ ।
त्यसबाहेक अब चोर बाटोको सम्बन्धनमा अरु कति निजी मेडिकल कलेज पाइपलाइनमा छन्, त्यो हामीलाई जानकारी छैन । तर के विश्वविद्यालयजस्तो निकायको जिम्मेवारी सम्बन्धन दिंदैमा सकिन्छ? यदि त्यसो हो भने वर्षेनी निरीक्षण र अनुगमनको नाटक किन गर्नुहुन्छ यहाँहरु? मेडिकल कलेजहरुको गुणस्तर मतलबै नगरी डिग्री बेच्ने हो भने किन गर्नुहुन्छ वार्षिक परीक्षा?
श्री मकाजुज्यू, जिम्मेवारी भनेको कार्यालयमा बसेर शब्दहरुसित खेलेर पूरा गरेको भ्रम छर्ने कुरा हैन । नेपालको राजनीतिक नेतृत्वले त्यही काम गरेकैले देश अहिले असफलताको ढिकमा पुगेको छ । तर यहाँजस्ता स्वास्थ्य क्षेत्रको जिम्मेवार पदमा रहनुहुने मानिसहरुको त्यस्तो असफलताले त लाखौं मानिसहरुलाई रोग र मृत्यूतिर धकेल्छ ।
यहाँलाई याद छ कि छैन, विराटनगर नामको पूर्वी तराइको जिल्लामा कावि ले कुनै बेला सम्बन्धन दिएको नोबेल मेडिकल कलेज नामको शिक्षण संस्था छ । त्यहाँ वर्षेनी डेढ सय विद्यार्थी त एमबीबीएस कोर्समा मात्र छन् र स्नातकोत्तर तह पनि सञ्चालनमा छ । त्यो कलेज अहिले बन्द छ । शैक्षिक कार्यक्रम मात्र हैनन्, अस्पतालको सेवासमेत ठप्प छ । वार्ड र आइसियुका बिरामीसमेत खेदेर अस्पताललाई सुनसान पारिएको छ ।
कसले? कलेज प्रशासनले ।
किन? एमबीबीएस अन्तिम परीक्षा पास भएर मेडिकल काउन्सिलको प्रोभजिनल रजिस्ट्रेसन लिइसकेका इन्टर्न चिकित्सकहरुले दुई छाक खान पुग्ने पारिश्रमिक मागे भनेर । अनि ती न्यायोचित मागलाई विद्यार्थी र फ्याकल्टीले समर्थन गरे वा सद्भाव देखाए भनेर ।
कुकुरले पुच्छर हल्लाउनको सट्टा पुच्छरले कुकुर हल्लाउन थाल्यो भने निको हुँदैन भनेर त्यसै भनिएको हैन । तर नेपालमा मेडिकल शिक्षाको नियमनको प्रसंगमा कुकुरले पुच्छर हल्लायो भने अचम्म मान्नुपर्ने स्थिति छ । वास्तवमा यहाँअन्तर्गतको कावि ले जिम्मेवार रुपमा प्रस्तुत भएर कडा निर्देशन दिने हो भने एकाध घण्टामा अस्पताल र कलेज दुवै खोलेर विवादको स्वीकार्य समाधान खोज्न बाध्य पार्न सक्छ ।
तर त्यसो गर्न किन सक्नुहुन्न? कहाँबाट आउँछ त्यो लाचारी र गैर–जिम्मेवारपन? शैक्षिक गतिविधिहरु सुचारु भएको सुनिश्चित गर्ने नसक्ने विश्वविद्यालयले सम्बन्धन किन दिनु?
त्यसबाहेक, मेडिकल कलेजको लगानीकर्तालाई अकूत नाफा गराइदिने कावि को एकसुत्रीय एजेण्डा हो भने यसलाई विश्वविद्यालयको अस्तित्व किन दिइरहने? असली विश्वविद्यालय हो भने विद्यार्थीप्रति त्यसको जिम्मेवारी हुन्छ कि हुँदैन? विद्यार्थी भनेका मानिस हुन् कि हैनन्? तिनको मानव अधिकार हुन्छ कि हुँदैन? हुन्छ भने तिनलाई होस्टेलबाट लखेटेर सर्प र लामखुट्टेको बीच चौरमा रात काट्न बाध्य पार्न मिल्छ कि मिल्दैन? अति सामान्य माग राखेकै कारण विद्यार्थीलाई पञ्चायतको झल्को आउने गरी लछारपछार गर्दै थुनामा लैजान मिल्छ? पदीय दायित्व त बिर्सनुभयो नै, अलिकति मानवोचित संवेदना पनि बाँकी छैन?
यता यहाँअन्तर्गतको संस्थाले विद्यार्थीहरुलाई भौतिक र मानसिक यातना दिइरहने तथा उनीहरुको भविष्यलाई चरम अन्योलतिर धकेल्ने यहाँ चाहिं चैनको निद्रा सुत्ने?
श्री मकाजुज्यू, अब यसरी धेरै दिन चल्दैन । भन्छन्, अति सहनु, अत्याचार नसहनु । अब एउटा मेडिकल कलेजबाट शुरु भएको यो विद्रोहको ज्वाला यसै साम्य हुने वाला छैन ।
किन? किनकि मेडिकल विद्यार्थी र चिकित्सकहरुको पछिल्लो पुस्ताले यति सहिसकेको छ कि अब सहनशीलताले सीमा नाघेको छ । विद्यार्थीहरुलाई आम्दानीको अमूक श्रोत मानेर उनीहरुको चासो र सरोकार बेवास्ता गरेर यहाँहरुले यस्तो स्थिति सिर्जना गर्नुभएको छ कि जुन धुलिखेलको कार्यालयको कुर्सीबाट देखिंदैन ।
केही नभए पनि विद्यार्थीहरु डाक्टर बन्न भनेर दशौं वर्षको समय र लाखौं वा बीसौं लाखको लगानी गरेर आएका हुन् । उनीहरु पनि भोलिका चिकित्सक हुन् र भविष्यमा तपाइँको जस्तो कुर्सीको जिम्मेवारी सम्हाल्ने पनि उनीहरु नै हुन् । र आधारभुत कुरा त के भने, उनीहरु पनि स्वाभिमान भएका नागरिकहरु हुन् ।
उनीहरुको मानव अधिकार हनन गर्ने र उनीहरुको भविष्यलाई अन्योलमा पार्ने अधिकार कुनै कलेजलाई छैन भने नियामक निकायको हैसियतले त्यसलाई टुलुटुलु हेरेर बस्ने अवसर पनि यहाँहरुलाई छैन ।
कावि जस्तो नियामक निकायको शीर्षस्थ पदाधिाकरी भएर एउटा मेडिकल कलेजको सञ्चालकसँग डराएर पुच्छर लुकाएर चुपचाप बस्नुपर्ने अपमानजनक स्थितिमा यदि यहाँ हुनुहुन्छ भने त्यो अपमानजनक स्थितिबाट मुक्ति पाउन आउनोस्, कुर्सी छाडेर, सँगै संघर्ष गरौंला, एउटा नेपाली नागरिक र चिकित्सा समुदायको मानिसका हिसाबले यहाँप्रति त्यति सहानुभुति हामीसँग पनि छ ।
हैन भने अब नेपालका युवा चिकित्सक र विद्यार्थीहरु अब यो वा त्यो कलेज सञ्चालकसँग लगफत्ती गरेर लामो समयसम्म बस्न सक्दैनन् ।
भविष्य अन्योलमै पारेर वार कि पारको लडाइँ लड्ने हो भने विश्वविद्यालयका रुपमा कावि र त्रिवि अनि नेपाल मेडिकल काउन्सिलमाथि धावा किन नबोल्ने?
- नेपालभित्र र बाहिर रहेका मेडिकल विद्यार्थी र चिकित्सकहरु
बोधार्थ,
सुशील कोइराला, प्रधानमन्त्री तथा कुलपति, काठमाडौं विश्वविद्यालय
चित्रलेखा यादव, शिक्षा मन्त्री तथा सहकुलपति, काठमाडौं विश्वविद्यालय
डा धर्मकान्त बास्कोटा, अध्यक्ष, नेपाल मेडिकल काउन्सिल
डा अञ्जनी कुमार झा, अध्यक्ष, नेपाल मेडिकल एसोशिएसन
डा सुप्रभात श्रेष्ठ, अध्यक्ष, नेपाल डेन्टल एसोशिएसन
No comments:
Post a Comment