Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Friday, January 30, 2015

हिमालपारि रहस्यबोध!


अधुरो अन्नपूर्ण पदयात्राले जीवनमा खुशी, शान्ति र सौन्दर्यबारे सिकाएको पाठ



मनाङ उपत्यकामा हामी त्यसदिन हिंडिरहँदा बाटोको कुनै बिन्दुबाट कतै फर्केर पनि एउटा फोटो खिच्यो भने त्यसको पोस्टकार्ड बनाएर भित्तामा सजाउन मिल्थ्यो । तर त्यही धरातलमा ओरालो झरिरहेका हामी दुई यात्रीको मन यति उदास थियो, त्यसको वर्णन गरेर साध्य छैन ।
..................
जीवनमा पनि सबै भौतिक वस्तुहरुको उपादेयता यस्तै होः कहिले ती जीवनदायी हुन्छन् भने कहिले खाली घाँडो । सधैं जीवनदायी रहलान् भनेर मानिसले भौतिक वस्तुहरु र धन जम्मा गर्नमा जीवन बिताइदिन्छ तर जब उसले तनावै तनावबीच उमेर गुजारेर अबचाहिं सुख भोग्छु र तनावरहित जीवन बिताउँछु भनेर योजना बनाउँछ, तब बुढेस, रोग र एक्लोपनले उसलाई एकसाथ छोप्छन् र खुशी हुने साइत पर्खंदा पर्खंदै र हर्षमय दिनहरुको योजना बनाउँदा बनाउँदै सले मृत्यूवरण गर्न पुग्छ । 




२०७१ साल जेठ २९ गते । लमजुङको बेंशीशहरबाट चामे, तिलिचो हुँदै थोराङ छिचोलेर मुक्तिनाथ निस्कने महत्वाकांक्षी योजना बोकेर ट्रेकिङमा निस्केका हामी एकाबिहानै उपल्लो मनाङको खाङसारबाट चामेको बाटो तताउँदै थियौं । अर्थात् हाम्रो योजनाअनुसार खाङसारबाट तिलिचोका लागि उकालो लाग्न छाडेर चामेका लागि ओरालो बाटो लाग्दै थियौं । मनमा यात्रामा हुनुपर्ने उल्लास र अनुहारमा रौनक थिएन । खुलेको आकाशसँगै बाटोको दुवैतर्फ स्निग्ध हिमालहरु देखिएका थिए र उदाउँदो घामले वातावरणलाई न्यानो पार्दै थियो तर हाम्रा मनहरु भने अँध्यारिंदै गएका थिए ।


तीन वर्षको जेल जस्तै कोर्स सकेर परीक्षा सिद्धयाएको एक साता पनि भएको थिएन । साथीले पनि शानका साथ अन्नपूर्ण सर्किट जाने भनेर महिनौं अघिदेखि बिदा लिएर हिंडेको थियो । थोराङ पास पार गरेर मनाङबाट मुस्ताङ पुग्ने अनि सर्किट छिचोलेर बेनी र बाग्लुङ हुँदै हामी जन्मेहुर्केको गाउँमा समेत पुगेर फर्कने योजना थियो । ज्यान र खर्चले साथ दिए मुस्ताङ पुगेपछि माथिल्लो मुस्ताङ पनि पुग्ने कि भन्ने महत्वाकांक्षी सपना पालेका थियौं हामीले ।

कहिल्यै हिमाली क्षेत्रमा नगएको हुनाले स्वास्थ्यले साथ नदिएमा यात्राको कुनै पनि बिन्दुबाट फर्कन हामी मानसिक रुपमा तयार भएर गएका थियौं । तर अघिल्लो साँझ एउटा अनपेक्षित कारणले हामी थप यात्रा रद्द गरेर बीचबाटै फर्कन बाध्य भएका थियौं । एक्युट प्यांक्रियाटाइटिस नामको गम्भीर प्रकृतिको समस्या अचानक देखा परेपछि आमा अस्पतालको आइसियुमा भर्ना हुनुभएको छ भन्ने समाचार उक्त साँझ प्राप्त भएको थियो । रोग सामान्य भएर आइसियुमा राख्न नपरेको भए यात्रा नरोकी अघि बढ्न बुवा र दाइले आफैं सुझाव दिनुहुनेमा दुइमत थिएन तर अचानक आइलागेको बिपत्तिले उहाँहरु यति आत्तिनुभएको थियो कि मैले फर्कने निर्णय लिइसक्नुअगावै दाइले भन्नुभएको थियोः त्यहींबाट फर्किहाल ।


स्थितिको गम्भीरता बुझिनसकेकाले फोनमा दाइलाई रातभरमा आमाको अवस्था सुधार हुने नहुने हेरेर यात्राबारे बिहान निर्णय गरौंला भनेर फोनमा बिदा भएँ । तर कोठामा पुग्नासाथ मुटुमा ढ्यांग्रो ठोक्न थाल्यो र किन तत्काल जुनसुकै हालतमा फर्कन्छु भनेर दाइलाई भनिनँ भनेर पश्चात्ताप लाग्न थाल्यो । माानिसको ज्यान रह्यो भने जाबो यात्रा गर्ने अवसर त कति आउँछन् कति, तर आमाको अवस्था गम्भीर भइदियो भने?

दशकौंको शहरी बँधुवा जीवनबाट उन्मुक्त भएर हिमालमा स्वतन्त्र क्षणहरु बिताइरहेको व्यक्तिबाट मैले अचानक आफूलाई विकट भुमिमा बन्दी बनाइएको कैदी महसुस गर्न थालें । त्यो किन भने हामी यातायातको पहुँच भएको चामेबाट दुई दिनको बाटो गइसकेका थियौं । हेलिकप्टर नै चार्टर नगरेसम्म तीन दिनभन्दा अघि चितवन पुग्ने कुनै सम्भावना थिएन बरु चार दिनचाहिं लाग्न सक्थ्यो । प्यांक्रियाटाइटिस भएपछि भाग्यमानीहरु बौरिएर फेरि स्वस्थ हुन्छन् तर त्यसको जटिलता र मृत्युदर अचाक्ली बढी छ खास गरी समयमा उपयुक्त उपचार नपाएको खण्डमा ।

यात्रामै पहिलोपल्ट फोहर बिछ्यौनामा त्यति तनावसहित सुत्नुपर्दा सजिलै निद्रा आउने त कुरै थिएन । जसोतसो रात कटाएर बिहानै व्यग्रताका साथ ओरालो लाग्यौं । त्यो दिनको अघोषित कार्यसुची थियो जाँदा दुई दिन लगाएको बाटो एकैदिनमा हिंडेर चामे पुग्ने । त्यसो भएमा र चामेबाट समयमा जीप पाइएमा भोलिपल्ट साँझसम्म चितवन पुग्न सकिने झिनो आशा देखा परेको थियो । बिहान फोन गर्दा आमाको स्वास्थ्य थप नबिग्रेको शुभ समाचार थियो, उल्लेख्य सुधार त त्यो रोगमा त्यति छिटो हुँदैन नै ।

हुन त यो कुनै दार्शनिकको उक्ति चोरी गरेजस्तो सुनिएला तर पछिल्ला केही वर्षको मेरो आफ्नै अनुभवले के भन्छ भने खुशी, सौन्दर्य र शान्ति प्राप्त गर्न मानिसले आफूवरिपरिको वातावरण, भुगोल र अन्तव्र्यक्ति सम्बन्धमा जुन बदलाव खोज्छ, त्यसले विश्वमा पर्यटन र सामाजिक सञ्जाल गरी दुई व्यवसायलाई अपूर्व मलजल गरेको छ तर अन्ततः मानिस न त खुशी र शान्त भएको छ, न त उसले सौन्दर्य नै फेला पारेको छ । जसले त्यस्ता प्रयासमा खुशी र सन्तुष्टि प्राप्त गरेका छन्, त्यो खुशी र सन्तुष्टिमा हावापानी परिवर्तनजस्ता बाह्य तत्वहरुको भुमिका कम र व्यक्तिका आफ्नै मानसिक प्रक्रिया र गतिविधिहरुको भुमिका बढी भएको मेरो निक्र्योल छ ।

मनाङ उपत्यकामा हामी त्यसदिन हिंडिरहँदा बाटोको कुनै बिन्दुबाट कतै फर्केर पनि एउटा फोटो खिच्यो भने त्यसको पोस्टकार्ड बनाएर भित्तामा सजाउन मिल्थ्यो । तर कमै बोलेर एकोहोरो ओरालो झरिरहेका हामी दुई यात्रीको मन यति उदास थियो, त्यसको वर्णन गरेर साध्य छैन । त्यस दिनको हाम्रो मनोदशालाई अघिल्लो दिन त्यही बाटो उकालो लाग्दाको मनोदशासित तुलना गरेर हेर्यो भने थाहा भइहाल्छ मानिसलाई केले खुशी बनाउँछ र केले दुखी भनेर ।

अर्को एउटा त्यस्तै अनुभव छ मेरो । छ वर्ष अघि दुई जनाको टोलीमा अठार दिने भारत भ्रमण जाँदा समग्र यात्रा एकदम रमाइलो र स्मरणीय भएको थियो । तर त्यो यात्राको सबैभन्दा उदास क्षण थियो, कलकत्ताको एउटा पार्कको घुमफिर । कारणः त्यहाँका सयौं मानिसहरुमध्ये हामीबाहेक केटा—केटा वा केटी—केटी कोही थिएनन्, ती सबै फरक फरक श्लीलताका प्रणय क्रियामा व्यस्त थिए । टेस्टोस्टेरोन नामक पुरुष हर्मोन उत्कर्षमा भएका बेला विपरीत लिंगीहरुसित सामीप्यताको सौभाग्य नपाउने हामीजस्ता अभागीहरुका लागि त्यो क्षण भोजमा गएर भोकै भएको महसुस गर्नुजस्तै थियो । त्यो कटु अनुभवपछि हामी पार्कको पूरा फन्कोसमेत नलगाई फर्केका थियौं ।

हुम्देमा थकित शरीर लिएर फापरको ढिंडो खान बसेका मात्र के थियौं, साथीले ढिंडोमा मुसाको लिंड आविस्कार गर्यो र त्यो खायो भने कसरी पेट ढाडिएर बिरामी परिन्छ भन्ने विषयमा ससानो लेक्चर दियो । बाध्य भएर दुईचार गाँस निलिसकेको मैले पनि बाँकी ढिंडो छोडेर साहुनीले नयाँ पिठो ल्याएर फेरि ढिंडो ओढालुञ्जेल पर्खनुपर्यो । ढिंडो पर्खंदै गर्दा फोनमा फेरि एकचोटि आमाको स्वास्थ्यको अपडेट लिएर त्यहाँबाट हिंडियो ।

दुई दिन अगाडि बास बसेको पिसाङ आउँदा शायद एक बजेको थियो । त्यो दिन चामे पुगिनेमा अब कुनै शंका रहेन । हिमालमै नहिंडे पनि पहाडी भुभागमा घण्टौं उकालो ओरालो गरेको स्टामिना त्यस दिन काम लाग्दै थियो । तर दिन घर्किंदै गएसँगै शरीरले हिंडाइको प्रतिरोध गर्न थाल्यो । एक्लिमेटाइजेशनका लागि भनेर जाँदा हामी दिनको अधिकतम आठ घण्टा हिंडेका थियौं र शरीर त्यत्तिकैमा बानी पर्दै थियो । तर बाटोमै रात पर्न नदिने हो भने त्यस दिनको हिंडाइ कम्तीमा बाह्र घण्टा लामो हुँदै थियो, त्यो पनि गाउँमा बाँदर लखेटेजस्तो । यात्राको अन्तिम चौथाइतिर आउँदा मेरा खुट्टाले धोका दिने लक्षण देखाए भने दिनभर मभन्दा पछिपछि हिंडेको साथी बिपिन अब मलाई उछिनेर अघिअघि हिंड्न थाल्यो । तिघ्रा, पिंडुला र पैताला तीनै ठाउँबाट ‘अब धेरै सहिन्न’ भन्ने संकेत मिलिरह्यो, खाली कुनचाहिं भागले पहिले धोका दिने भन्ने प्रश्न मात्र बाँकी रह्यो ।

अति भएपछि झोलाको तौल कम गर्ने नाममा भ्राताङनेर मस्र्यांदीको पुलको मुखमा बसेर एकदुई जोडा मोजा र केही प्याकेट चाउचाउ र बिस्कुट बाटोमै छाडेर हिंडियो । हुन पनि थोराङका लागि भनेर पचास रुपैयाँ तिरेर किनेका चाउचाउ र बिस्कुटका प्याकेट अब ओरालो लागेपछि बोझबाहेक केही बनेका थिएनन् । बरु एक झाङ थकाइलो फाँडेर खाएपछि त्यसले स्वाद र शीतलता दुवै दियो ।

लाग्यो, जीवनमा पनि सबै भौतिक वस्तुहरुको उपादेयता यस्तै होः कहिले ती जीवनदायी हुन्छन् भने कहिले खाली घाँडो । सधैं जीवनदायी रहलान् भनेर मानिसले भौतिक वस्तुहरु र धन जम्मा गर्नमा जीवन बिताइदिन्छ तर जब उसले तनावै तनावबीच उमेर गुजारेर अबचाहिं सुख भोग्छु र तनावरहित जीवन बिताउँछु भनेर योजना बनाउँछ, तब बुढेस, रोग र एक्लोपनले उसलाई एकसाथ छोप्छन् र खुशी हुने साइत पर्खंदा पर्खंदै र हर्षमय दिनहरुको योजना बनाउँदा बनाउँदै मानिसले मृत्यूवरण गर्न पुग्छ ।

बाध्य भएर मैले पनि अब लट्ठी टेक्न थालेको थिएँ । चामे पुग्नै लाग्दा थकान, उच्चाट, दिक्दारी र चिन्ताले खर्लप्पै निलिसकेको थियो मलाई ।

चामेबाट उकालो लाग्दैखेरि बिझाइराखेको एउटा कुरा अब फर्कंदा फेरि बल्झियोः हिमाली जनजीवनलाई सम्भव तुल्याउने प्राकृतिक सम्पदाको संरक्षणमा मनाङेहरुले देखाएको उदासीनता । सल्लोको जंगलमा कलिला रुखहरु ढलाएर चिरेर दाउराको चाङ बनाइएको हुन्थ्यो तर नजिकै कालगतिले वा हुरी÷हिउँले ढलेर सुकेका रुखहरुको कसैलाई मतलब थिएन । चामेभन्दा केही किलोमिटर माथि एउटा ठूलो सम्म चौरमा वन फँडानी गरेर बीचमा आलुलगायतका तरकारी अनि छेउछाउमा स्याउ लगाइएको रहेछ । करीब तीन फूटबल मैदान जत्रो त्यो बारीलाई वरिपरिबाट एक मानिस अग्लो ढुंगाको गारोले घेरिएको थियो भने त्यसभन्दा बाहिर डेढ दुई मिटरको फरकमा सल्लाका अग्ला खम्बाहरु गाडिएको थियो । ढुंगाको भित्तोभन्दा माथिपट्टि ती खम्बाबीच सल्लाकै फल्याकहरुले घर वा जनावरको खोरलाई झैं टम्म बारिएको थियो । वरिपरि लडाइएका कलिला सल्लाका रुख हेर्दा थाहा हुन्थ्यो, एउटा खम्बाकै लागि एउटा कलिलो सल्लाको रुख मासिन्थ्यो, फल्याकका लागि त अलग्गै रुखहरु लाग्ने भए । पहिले जग्गा खाली गर्न फँडानी गरिएका हजारौं सल्लाका रुखहरुबाहेक पनि बार्नकै लागि मात्र कम्तीमा पाँच हजार सल्लाका रुख खर्च भएको अनुमान लगाउँदै गर्दा त्यसले मेरो मनस्थितिलाई अझ चर्को निराशातिर धकेल्यो । हेर्दै जाँदा देखियो, काम गर्नेहरु मज्जाले पिठ्युँमा भाँडो बोकेर आलुमा विषादि छर्दै थिए । पक्कै पनि यो किसानी जमीन हडपेको र नेपालको कानुनभन्दा माथिको गिरोहको काम हुनुपर्छ भनेर कुरा गर्दै हामी अघि बढ्यौं ।


चामे पुगेर त्यस्तो विनाशकारी खेती कसले गरेको भनेर सोध्दा होटलवाला भाइले भन्योः त्यो त मनाङ मस्र्यांदी क्लबले लिजमा लिएर खेती गरेको हो । त्यो कुरा कति सत्य थियो र क्लबले खेती नै गरेको भए पनि हामीले देखेकै बारी हो कि हैन रुजु गर्ने कुनै उपाय थिएन ।

हिमालको विकट भुगोलमा समेत मानिसलाई जीवन दिने सल्लोजस्तो गुनिलो वनस्पतिलाई निमिट्यान्न पार्दै मानिसहरुले चर्को मरुभुमिकरण त निम्त्याइरहेका थिए नै समग्र हिमाली भेगमा मानिसको अस्तित्व र सभ्यतालाई यसले चुनौती दिइरहेको थियो । समग्र यात्रामा सडकमा मनपरी गर्ने यातायात व्यावसायीका कार्टेलपछि यो नै विषाक्तपूर्ण अनुभव थियो ।

त्यस दिनको अन्तिम दुई घण्टाको हिंडाइ मेरो शरीरका लागि अग्नि परीक्षा सावित भयो । तर जसरीतसरी घिसारिंदै हामी उज्यालोमै चामे पुग्यौं । शरीरको थकान र खुट्टाको पीडालाई अब भोलि साँझसम्म चितवन पुगेर आमासित भेट हुन सकिन्छ भन्ने कुराले बिर्साइदिन थाल्यो । हामीलाई अब यात्रा असफल हुनुको भन्दा सानो ठाउँ चामेमा हामीलाई देख्ने सबैले ‘यिनीहरु थोराङ कट्न सकेनन् र फर्के’ भन्ने सोचे भन्ने लज्जाबोधले बढी चिमोटिरहेको थियो ।

जिन्दगीमा मैले एकैचोटि त्यस्तो अनुभव गरें त्यस रातः साँझ म जुन हरमा जति डिग्रीले टाउको ढल्काएर सुतेको थिएँ, बिहान ठिक त्यही अवस्थामा निद्रा खुलेको थियो ।

दुर्भाग्यवश हाम्रा समस्याहरु अझ बल्झिने क्रममा थिए । बाटोको एउटा पुल मर्मत गर्ने भनेर चामे—बेंशीशहर सडकको एक खण्ड त्यसै दिनदेखि  बन्द गरिएको रहेछ । अघिल्लै दिन बिदा दिइसकेका खुट्टालाई फेरि घिसार्दै अरु अढाइ घण्टा हिंडेपछि बल्ल जीप लाग्ने ठाउँमा पुगियो । अर्को डेढ घण्टामा बल्ल जीप आयो र बल्ल मध्यान्ह हुने बेला मात्र जीप यात्रा शुरु भयो ।

समग्र यात्राको सबैभन्दा साहसिक हिस्सा भनेकै जीप यात्रा थियो । उमेर सोध्दा जीप चालकले भन्योः नागरिकतामा सत्र वर्ष, यथार्थमा चाहिं पन्ध्र वर्ष । हुन पनि त्यो रुटमा चल्ने दर्जनौं जीपमा बीस कटेका चालक भेट्न मुस्किलै थियो । खैनी र सुपारीका फ्वाँक, सूर्य चुरोटको सर्को, मुटु सिरिंग हुने मोडहरुमा शरीरले ह्वात्तै उत्पादन गर्ने एड्रिनालिन नामको हर्मोन अनि खलासी भएको बाल्यकालदेखि असमयमै उत्पादन हुन थालेको टेस्टोस्टेरोन हर्मोन र शायद कहिलेकाहीं हल्का रक्सी पनि—यति चीजविना हेर्दै डर लाग्दो पहराको डोरेटोमा बोलेरो जीपहरु तुफान गतिमा कुदाउन शायद असम्भव हुन्थ्यो । तर सबैभन्दा डरलाग्दो क्षण त तब आउँथ्यो जब चालकले एउटा हातले फनफनी स्टेरिङ घुमाउँदा अर्को हातले मोबाइल फोन समातेर कसैसित च्याँठिएर क्रुद्ध स्वरमा बोलिरहेको हुन्थ्यो । एउटाको फोन राख्न पाएको हुँदैन, अर्कोले फोन गरिहाल्थ्यो । आमालाई भेट्न छिटो पुग्न भनेर जीप चढेका हामी बरु बेंशीशहर पुग्दा रातै परेर अर्को दिन मात्र चितवन पुगियोस् तर यो चालकले जीप बिस्तारै चलाओस् भन्ने कामना गर्ने अवस्थामा थियौं ।

प्रतिकिलोमिटर झण्डै बीस रुपैयाँ भाडा तोकिएको बेंशीशहर—चामे सडकमा कार्टेलवालाहरुलाई के धनी बनाइदिनु भनेर हामी जाँदा झण्डै आधा बाटो पैदल गएर बीचबाट मालवाहक जीपमा चढेका थियौं । त्यो जीपको चालकले हाम्रो सातो नै खाइदिएको थियो—उसको चलाइ मात्र हेर्ने हो भने हामी हिमालको विकट भुगोलमा गुडिरहेका छौं कि तराइको सीधा बाटोमा भन्नै गाह्रो पथ्र्यो । तर भाग्यवश फर्कंदाको चालकले चाहिं यात्राको आधा जति समय फोनमा झुण्डिइरहे पनि चलाउन चाहिं बिस्तारै चलायो र साँझ पर्ने बेलामा हामी बेंशीशहर पुग्यौं । आमाको स्वास्थ्यमा बिस्तारै भए पनि सुधार आइरहेको सुखद समाचार फोनबाट सुनेर त्यस रात त्यहीं सुत्नुको विकल्प थिएन किन भने त्यसबेला त्यहाँबाट डुम्रेसम्म निस्कने गाडीहरु नपाइँदा रहेछन् ।

भोलिपल्ट  डुम्रे पुगेपछि धेरै दिन बिदा बाँकी भएको साथी छुट्टिएर बाग्लुङको गाडीमा घरको दिशातिर सोझियो भने म चितवनतिर । चितवन पुगेर अस्पतालको आइसियुमा हरियो गाउनमै भए पनि आमालाई होशमै र सुधार भैरहेको अवस्थामा भेट्दा जुन सन्तुष्टि र उपलब्धिको अनुभव भयो, त्यसको बयान गरेर साध्य छैन । आमाको स्याहार गर्न सके त्यस्ता हिमाल त के, भविष्यमा अन्य उपग्रह र ग्रहमै पो पुग्न सकिन्छ कि, भविष्य कसले देखेको छ र?

फर्केर हेर्दा लाग्छ, उक्त पदयात्रामा हामी प्रमुख गन्तव्य तिलिचो र थोराङ पुग्न त सकेनौं तर जीवनमा खुशी, शान्ति र सौन्दर्यको रहस्यबारे किताब पढेर पाउन नसक्ने ज्ञानचाहिं पायौं ।




  

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more