पटक पटकको अनशन र त्यसपछाडिको पृष्ठभुमिबारे सञ्चार माध्यममा भइरहेको गहिरो कभरेजले डा गोविन्द के सी बिस्तारै एउटा व्यक्तिबाट त्याग र निस्वार्थ संघर्षको प्रतिकमा परिणत भइरहेको अवस्था छ । अचम्मको कुरा के छ भने यही माहोलमा अर्का एक व्यक्ति फरक खालको प्रतिकमा रुपान्तरित भइरहेका छन् ती हुन्ः डा शशि शर्मा ।
डा गोविन्द के सीको अनशन अघिल्लो अनशनको कुल अवधि समेत नाघेर आज सातौं दिनमा प्रवेश गर्दा पनि निकास ननिस्केपछि डा के सीको स्वास्थ्य बिल्कुल नयाँ र गम्भीर चरणमा प्रवेश गरेको छ ।
यसैबीच हिजोका घटनाक्रमले डा के सीका सबै दाबीहरुलाई साँचो प्रमाणित गरेका मात्र छैनन्, डिन डा शशि शर्माका अन्तहीन दाबीहरुको बचेखुचेको विश्वसनीयतालाई पनि शुन्य पारिदिएका छन् । खास गरी निवर्तमान डिन डा प्रकाश सायमीले विशुद्ध स्वास्थ्यका कारण राजीनामा दिएको भन्ने प्रचारलाई खण्डन गर्दै हिजो आएको उहाँको विज्ञप्तिमा नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिन धेरै दबाब आएर शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परेकाले राजीनामा दिएको उल्लेख छ ।
यसैबीच हिजो भएको प्राध्यापकहरु र मन्त्रीमण्डलबीचको बैठकमा थप कुरा के खुलेको छ भने कार्यकालको अन्ततिर रहेको अहिलेको सरकारले त्रि विका पदाधिकारीहरुलाई तत्काल डा सायमीको राजीनामा स्वीकृत गरिएको अवस्थामा आउने अहिलेको जस्तो परिस्थतिलाई ध्यानमा राखेर तत्काल त्यस्तो निर्णय नलिन पटकपटक अनुरोध गरेको थियो । अर्कोतिर डा प्रकाश सायमीले राजीनामा अघिको कुनै विन्दुमा आएर खाली सम्बन्धनको दबाब मात्र नदिने हो भने त्रि वि पदाधिकारीहरुसितको असमझदारीकै बीच पनि डिनको कार्यभार सम्हालिराख्ने जानकारी दिएको कुरा पनि खुलेको छ ।
त्यो अवस्थामा त्रि विका पदाधिकारीहरुले अहिलेको अवस्था आउने जान्दाजान्दै डा प्रकाश सायमीको राजीनामा स्वीकृत गरेर बाँकी सबै प्राध्यापकहरुलाई छाडेर शशि शर्मालाई नै हतारमा नियुक्त गर्नुपछाडिको रहस्य अब औपचारिक रुपमा नै खुल्न पुगेको छ ।
त्यसो त हालसम्म पनि सम्बन्धन पाउन प्रयासरत मेडिकल कलेजहरुले त्रि वि पदाधिकारी र राजनीतिज्ञहरुलाई करोडौंमा घुस दिइएको भन्ने दाबी अहिले पनि दाबीमै सीमित छ, जसरी देशका ९५ प्रतिशत भ्रष्टहरु प्रमाणको अभावमा अहिले पनि निर्धक्क राज गरिरहेका छन् । तर अंग्रेजीमा सर्कम्स्ट्यान्सियल इभिडेन्स भनिने अप्रत्यक्ष प्रमाणहरुलाई मान्ने हो भने त्रि वि पदाधिकारीले नयाँ मेडिकल कलेजहरुलाई तत्काल यही शैक्षिक सत्रमा विद्यार्थी लिने गरी सम्बन्धन दिने शर्तमा काउन्सिलमा छँदाको भ्रष्टाचारका लागि अख्तियारमा छानविन अघि बढेर बैंक खाता र लकर समेत रोक्का भइसकेका शशि शर्मालाई नियुक्त गरेको छ । त्यसरी नै निजी मेडिकल कलेजहरुको पैसामा बेचिइ नै सकेको आरोप लाग्ने गरेको नेपाल मेडिकल काउन्सिलले त्रि वि अन्तर्गतका आइओएमलगायतका मेडिकल कलेजहरुलाई विद्यार्थी भर्ना गर्ने दिन आइपुग्न लाग्दा समेत भर्ना हुन सक्ने विद्यार्थीको अन्तिम संख्या दिन आलटाल गरेर खुल्ने भनेका नयाँ मेडिकल कलेजहरुका लागि पर्खेको भन्ने जानकारहरु भन्छन् ।
यसरी हेर्दा त्यति दुस्साहस गरेर सारा नियम कानुन नै उल्ट्याउने जिम्मा लिने र व्यावसायिक निष्ठालाई तिलाञ्जली दिने शर्माबाहेक अर्को मानिस नभएको कारण नै उनलाई नियुक्त गरेको कुरामा चाहिं अब दुविधा रहेन ।
यस्तो परिस्थितिमा मन्त्री परिषद्को हिजोको निर्णयले डा के सीका मागमध्ये नयाँ सम्बन्धन रोक्ने र आइओएम लाई स्वायत्त विश्वविद्यालय बनाउनका लागि कार्यदल गठन गर्ने सकारात्मक निर्णयहरु गरेको छ । फेरि पनि तीनै ठूला दलहरुको प्रत्यक्ष स्वार्थमा उनीहरुको टीका लगाएर आएका डिन डा शशि शर्मा पदमा रहेसम्म समस्या ज्यूँका त्यूँ रहने ठहरका साथ डा के सीले तत्काल अनशन रोक्न अस्वीकार गरेको अवस्थामा अरु सबैले पनि उहाँलाई साथ दिएको अवस्था छ अहिले ।
घटनाक्रमले अन्योलको यो अवधि लम्बिंदै गर्दा राजनीतिज्ञ, त्रि वि पदाधिकारी र डा शशि शर्माका करतुतहरु एकपछि अर्को खुल्दै गर्ने र उनीहरु नांगिने प्रक्रियाको कुनै अन्त नभएको संकेत गर्छन् । तर त्यो प्रक्रिया कहाँ पुगेपछि र डा के सीको स्वास्थ्य कति बिग्रेपछि त्रि वि पदाधिकारीले समेत हटाउन नसक्ने व्यवस्था गरेर आएका शशि शर्मा पछि हट्ने हुन्, त्यो अझै स्पष्ट हुन सकेको छैन । तर आर्थिक अनियमितता, व्यवसायिक अनैतिकता, दुस्साहस र निजी स्वार्थका लागि जुन हदसम्म पनि गिर्न सक्ने प्रवृत्तिका प्रतिक बनिसकेका डा शशि शर्मा आफैंचाहिं तिनलाई टीका लगाएर पठाउने दलका नेताहरुले अब भयो छाड नभनेसम्म नछाड्ने मनस्थितिमा रहेको हुन सक्ने सम्भावना प्रवल छ । त्यस्तै व्यक्ति र प्रवृत्तिहरुले सारा देश नै धराशायी पारिरहेको अवस्थामा शशि शर्मा र तिनका राजनीतिक मालिकहरुलाई घुँडा टेकाउनु भनेको हालका लागि डा गोविन्द के सीको आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि हुने देखिन्छ । त्यसो हुनुअघि डा के सीको स्वास्थ्यमा स्थायी प्रकृतिको असर पर्न गयो भने त्यो नेपालकै लागि ठूलो दुर्भाग्य हुनेछ ।
No comments:
Post a Comment