प्रकाशित भएको दुइ वर्ष पछि बुद्धिसागरको कर्नाली ब्लुज पढ्ने मौका मिल्यो । मागेर पढ्ने विकल्प हुँदाहुँदै पनि लेखकमाथि अन्याय होला कि भनेर किनेरै पढें । बेलाबेलामा पत्रिकामा सरल भाषामा गहन कुरा लेख्दै आएका लेखकले पुस्तकमा चाहिं त्यस शैलीलाई न्याय गरेका छन् कि छैनन् भन्ने जिज्ञासा थियो ।
पढेपछि लाग्योः यो उपन्यासलाई खालेद होसेनीको काइटरनरबाट चोरेको भन्नेहरुले एउटा सानो गल्ती गरेका हुन् । शैली दुवै किताबको मिल्दोजुल्दो छ र कर्नाली ब्लुज पनि काइटरनरजत्तिकै दमदार भएजस्तो मलाई लाग्यो । एउटा किताब अर्को जत्तिकै घत लाग्दो भयो भन्दैमा पछिल्लोले पहिलोको चोरेको भन्नेचाहिं हुँदैन । बरु आफ्नो अर्को किताब अ थाउजन्ड स्प्लेन्डिड सन्समा होसेनीले काइटरनरको उचाइलाई न्याय गर्न सकेका छैनन् । बुद्धिसागरको अबको पुस्तक कस्तो हुने हो त्यो हेर्न चाहिं बाँकी नै छ ।
कर्नाली ब्लुज बुद्धिसागरको मात्र कथा हैन र कर्नालीको मात्र कथा पनि हैन । त्यो त संघर्ष गरेर माथि जान खोज्ने तर आशातीत रुपमा सफल नहुने समग्र नेपाली युवाहरुको आलो कथा हो । कथा वस्तुलाई आकर्षक बनाउन अप्राकृतिक रुपमा प्रैमका हाँसो उठ्दा प्रसंग जोड्ने लेठो नगरेर पनि लेखकले यो उपन्यासलाई अरु थुप्रै उपन्यासभन्दा फरक बनाउन सफल भएका छन् । नारायण वाग्लेको पल्पसा क्याफेलाई अर्का लेखक आहुतिले संयोगै संयोगको जंगल भएको भनेका थिए र त्यसो थियो पनि । कर्नाली ब्लुजभरि एकचोटि पनि अप्राकृतिक संयोगको कष्ट झेल्नु पर्दैन ।
उर्गेनको घोडामार्फत् युग पाठकले सौस्कृतिक विम्व र मिथकलाई पछ्याएर पनि सार्थक लेखन गर्न सकिन्छ भनेर नेपाली उपन्ँयासलेखनमा एउटा ढोका उघारेका थिए । बुद्धिसागरले यथार्थवादमा आधारित गहन उपन्यास लेखेर यो क्षेत्रमा अर्को क्षितिजतिरको मार्ग पनि खुल्ला गरिदिएका छन् ।
यथार्थ त्यही हो जसबाट भाग्दाभाग्दै हामी एकदिन बुढो हुन्छौं र मर्छौं । त्यही यथार्थ हो जसलाई सराप्दा सराप्दै हामी पर पुग्छौं अनि फकेंर टोलाउँछौंः हिजोको दिन कति सुकुमार र जीवनदायी थियो, बाल्यकाल कति सरस र सरल थियो । अनि यथार्थ त्यही हो जुन अरुले भोग्दा हामी सम्झन्छौंः अहो सब कुरा कति स्वभाविक छ, मानिस मरेर जाने नै हो एकदिन अनि यथार्थ त्यही हो, आफुलाई पर्दा मनलाई सम्झाउन कति गाह्रो हुन्छ ।
त्यही यथार्थ हाम्रोबीचबाट सुलसुल बगेर जाँदैछ र त्यसको सुन्दरतालाई हामीले आत्मसात गर्न सकेका छैनौं । यस्तोमा यथार्थलाई टपक्क टिपेर फुल गाँसेर माला बनाएझैं बुद्धिसागरले हाम्रअगाडि राखिदिएका छन्, सरस उपन्यासको रुपमा । एउटा उदाहरणः उपन्यासको कथावाचक पात्रलाई एसएलसी पछि घर छाड्दा उसका बा आमाले जे भन्छन्, मेरा बाआमाले पनि सारमा त्यही भन्नुभएको थियो । बाका आफ्नै ट्रेडमार्क वाक्यहरु थिएः धेरै फुर्मास नगर्नु तर भोकै नबस्नु, खुब पढ्नु, अनि मन भड्क्यो भने याद गर्नु, म किन बजार आएको हुँ र मेरा बा आमाले कति कष्ट गरेर मलाई पढाउँदैछन् । म पनि साउनको एक बिहान कुसाइत छल्न अघिल्लो दिनै बाहिर निस्केकाले पिंढीमा बसेर एक थाल गहुँको ढिंडो खाएर दोमन हुँदै निस्केको थिएँ शहर पुगिसकेका दाइकहाँ पुगेर उँच्चशिक्षा थाल्न । छुट्टिने बेला आमाको अनुहारको भाव पढ्न गाह्रो थियो तर पछि भन्नुभएको थियोः म हिंडिसकेपछि पाखामा गएर मन खोलेर रुनुभएको थियो रे ।
उपन्यासका सबै पात्र भन्दा बढी मलाई छोयो मन्दिरलेः जो एक्ली आमालाई सुखी बनाउने सपना देख्दै दुनियाँको हेलाहोचो सहेर पनि पढ्छ र एसएलसीमा फस्ट डिभिजन ल्याउँछ, चोरेर, तर मार्कसिट आउँदा त फेल पो भएको हुन्छ र अपमान सहन नसकेर माओवादी हुन जान्छ ।
नारायण ढकालका दुर्लभ तर समाजको ऐना बनेर आउने उपन्यासहरुसंगै अब युग पाठक र बुद्धिसागरजस्ता युवाहरुका कृतिको नेपाली साहित्यमा प्रवेश हुनुले अब थोरै समयको अन्तरालमा धेरै गहन कृतिहरु पढ्न पाउने अपेक्षा गर्न सकिन्छ भन्ने मलाई लागेको छ, जुन एउटा पाठकका लागि ज्यादै नै खुशीको कुरा हो ।
More on critique section:
लूः सानो गाउँको ठूलो कथा
बाँकी पृष्ठः मानवीय संवेदनाको उत्कृष्ट चित्रण
No comments:
Post a Comment