Wednesday, June 24, 2015

सम्झनामा गाउँको एसएलसी (पूर्ण पाठ)


सम्झनामा गाउँको एसएलसी

२०५७ साल असार । एसएलसीको रिजल्ट भएको तेस्रो वा चौथो दिनमा गाउँमा गोरखापत्र पुगेको थियो । रेडियोबाट यति र उति अंक लिएर विद्यार्थीहरु बोर्डमा परे वा टप गरे भन्ने सुन्दा सुन्दा मनमा हुटहुटी चलिरहेको थियो तर आफ्नो नतिजा थाहा पाउने उपाय थिएन ।

 गोरखापत्र आएसंगै घरबाट बुवाले बोलाउँदा म बारीमा थिएँ, घाँस काट्दै हो या मकैका पात लुछ्दै, अहिले याद छैन । दौडँदै आएर हेर्दा हजारौं सिम्बोल नम्बरले भरिएको गोरखापत्र पिंढीमा थियो । कथं कदाचित् आफ्नो सिम्बोल नं भएन भने? वा पहिलो डिभिजनमा भएन भने?

भाग्यवश पहिलो डिभिजनकै सुचीमा कक्षा प्रथम म र दोस्रो साथी इन्द्र ढुंगानाको सिम्बोल नंबर थियो । कक्षाका २६ मध्ये १३ वा १४ जना पास भएका थियौं । हामीले कथित फलामे ढोका पार गरेका थियौं । अब जित्नका लागि हाम्रा अगाडि सिंगो संसार थियोः शहर जाऊ, क्याम्पस पढ, जागिर खाऊ, पैसा कमाऊ, बाआमालाई सुख देऊ, हाम्रो असीमित कार्यसुचीका प्रारम्भिक चरण तिनै थिए ।

...........................

Rangkhani Ma. Vi. Rangkhani, from where I passed my SLC
टाकुरामा स्कुल, खोंचमा घर । खाना खाएपछि सवा घण्टा हस्याङफस्याङ गर्दै उकालो नचढे समयमा स्कुल नपुगिने ।

 स्कुल पुग्नासाथ फेरि कसैले खाना टक्र्याइदियो भने हामीले सजिलै अर्को एक भाग खान सक्थ्यौं तर दिनभरको पढाइपछि चार बजेसमेत नियमित खाजा खाने पैसा हुँदैनथ्यो । आँट भएका साथीहरुले वर्षौं बाँकी रहने गरी उधारोमा बिस्कुट, चिउरा र चाउचाउ खाइदिन्थे तर आफू त परियो पूरा मितव्ययिताको प्रतिमुर्ति । अरुले खाएको मंग बसाउने चनाको तरकारीको वास्ना सुँघेर घुटुक्क थुक त कति निलियो कति । साथीहरुले दिएका केही पापा बिस्कुट र एक फाँक चिउराले पेटलाई जिस्काइयो पनि कतिचोटि हो कतिचोटि ।

अनि त्यही भोको पेटमा जमेर भलिबल पनि कति खेलियो कति । फर्कंदा भोक र धपडीले खुट्टा लगलग काँप्थे तर खेल्न छोडिएन ।

Posing with 'Tikhe', our buffalo which fed us for 15 years
बिहान उठेर सिजनअनुसारको काम नगरी खाना खाने सोच्न पनि सकिंदैनथ्यो । वर्षायाममा भुईंघाँस काट्ने, बारी खन्ने वा कोदो रोप्ने, कार्तिकतिर धान र कोदो वा नल काट्ने, हिउँदका अरु महिना खन्ने, डल्ला फोर्ने, डाले घाँस काट्ने, यी थिए बिहान बेलुका हामीले गर्ने काम । त्यसबाहेक बर्खामा कोदो वा धान गोड्ने, सोत्तर काट्ने, अनि हिउँदमा स्याउला सोहोर्ने काम पनि हाम्रै थिए । असार र साउनको बिदाको बेला भने दिनभर लगाएर रोपाइँ गर्नुपथ्र्यो । आफ्नै घर धेरै दिन रोपाइँ चल्दैनथ्यो तर अर्मपर्म गरेर रोपाइँ गर्दा बोलाएका खेतालाको पर्म तिर्न जाँदा जाँदा महिना जान्थ्यो । मंसीरमा धान थन्काउँदा खेतबाट बिटा बोक्नुपथ्र्यो दिनभर अनि राती दश एघार बजेसम्म धान छाँट्दा ज्यान थकान र निद्राले काम नलाग्ने हुन्थ्यो । तर अलि पहिले थन्क्याइएका नयाँ जर्नेली चामलको घ्यूमा लतक्क भिजेको भात खाएपछि दिनको सारा दुख बिर्सिन्थ्यो ।

बिहान उठेर भकारा सोहोर्नु, गाइभैंसीलाई घाँस र कुँडो ख्वाउनु, साँझ–बिहान दुध दुहुनु अनि केही दिन बिराएर मोही पार्नु, यी काम त काममै गनिंदैनथे जसरी बिहानको नित्य कर्मलाई काम गनिंदैन । वास्तवमा ती सबै काम हाम्रा नित्यकर्म नै बनिसकेका थिए ।
The house where we were born and raised

गाउँको जीवन र गाउँको पढाइबारे धेरै जानकारी नराख्नेहरुका लागि यो पृष्ठभुमि दिनुपरेको हो एसएलसीको याद गर्दा ।

एसएलसीलाई फलामे गेट भनिए पनि हामीलाई त्यो सुनको गेटजस्तो थियोः दैनिक पन्ध्र घण्टा श्रम गर्नुपर्ने गाउँको जीवनबाट सदाका लागि बिदा दिने सुनको गेट । गेटको यतापट्टि विरक्त लाग्दो दुखी जिन्दगी थियो जहाँ कुर्कुच्चा पट्पटी फाटेका हुन्थे भने औंलाका काप हिलोले खाएर रक्ताम्य हुन्थे, उतापट्टि शहरको हेर्दै लोभ लाग्दो जिन्दगी हुन्थ्यो जसमा हिलो र झरीबाट टाढै रहन सकिन्थ्यो, तिघ्रा बाउँडिने गरी उकालोमा हिंड्नुको सट्टा बसमा सरर हावा खाँदै यात्रा गर्न सकिन्थ्यो । त्यसबाहेक कहिलेकाहीं घर टप्किने सुनको गेट कटेर गइसकेका दाइदिदीहरुको भावभंगिमा, लवाइखवाइ, बोलीको लवज र तिनले घरमा पाउने पाहुनाको मनितो देख्दा अनि तिनले हेरेका फिल्मको नाम सुन्दा त......... । इष्र्याले जलेर अधीरतापूर्वक सुनको गेट पार गर्ने मुहुर्त पर्खनुको कुनै विकल्प थिएन ।



दश कक्षा पढ्दाखेरिको एउटा दिन मलाई याद छ । असार महिनामा स्कुल छुट्टि थियो तर नौ र दश कक्षाको ट्युसन चलिरहेको थियो । नौमा पढ्ने भाइ, म र अरु केही साथीहरु बिहानको कामले थाकेर लस्त भइसकेपछि ट्युशनका लागि खाना खाएर उकालो चढ्दै थियौं । चर्को घाम र रातीको वर्षाले सिर्जना गरेको आद्र्रताले उकालो चढ्दा उकुसमुकुस भइरहेको थियो । एउटा सिंढी चढेपछि खुट्टा लत्रिएर फेरि तल्लै सिंढीमा झर्न खोज्थ्यो । त्यस दिन एउटा विरलै हुने कुरा भयोः अल्पभाषी भाइले अघिल्लो साँझ बुवाले भन्नुभएको एउटा कुराको कटू आलोचना गर्यो ।

The field where we toiled
बुवाले भन्नुभएको थियोः हामीले तिमीहरुलाई पढ्नका लागि आदर्श खालको वातावरण मिलाइदिएका छौं । समयमा खाना छ, नास्ता छ, कापीकिताब पुगेनन् भन्नुपरेको छैन, आदि आदि । संयोग कस्तो भने, बुवाले त्यसो भनिरहँदा साँझ नौ बजिसकेको थियो र बिहानको काम, दिउँसो स्कुल गएर फर्कंदाको धपडी र साँझको कामले लखतरान भएका हामीले फेरि सिमीको झालको अजंगको झ्यांग पिंढीमा राखेर सिमी टिप्दै थियौं । त्यति बेलासम्म गृहकार्य गर्न जाने समय मिलेको थिएन । खाना खाएपछि निद्रा रोक्न सकिंदैन भन्ने सबैले जानेकै कुरा थियो ।

त्यसमा बुवाआमाको दोष थियो भन्ने पटक्कै हैन, हामी बरु कमसेकम स्कुल भएको बेला कठोर श्रबाट बच्थ्यौं, उहाँहरु दिनभर त्यसैमा हुनुहुन्थ्यो । साथै गाउँमा त्यति श्रम गर्ने केटाकेटी हामी मात्र थिएनौं । खाली अरु दिन गृहकार्य गर्ने बेलामा समेत त्यसदिन हामी सिमी टिप्दै थियौं र बुवाले सधैं जसो साँझपख दिने ज्ञानगुन लेक्चरको नियमित हिस्साले त्यो दिन यथार्थलाई व्यंग्य गरेजस्तो पर्न गएको थियो ।

हो, त्यस दिन उकालो चढ्दै गर्दा दिक्दारी पोख्दै भाइले बुवाले भनेका वाक्यहरु दोहोर्याइरह्योः हामीले तिमीहरुलाई पढ्ने आदर्श वातावरण................... । अरु के गर्नु थियो, हामीले उसलाई हाँसेर उडायौं । ऊ झन् उक्सियो र बुवाको नक्कल गर्दै दोहोर्याउन थाल्योः हामीले................ । हामी झन् हाँस्यौं, बाटो कटेको पत्तै भएन ।

......................
This is 'work', not 'child labor' in villages

फर्केर हेर्दा गाउँको बाल्यकालले नोस्टाल्जिक बनाउँछ तर उतिखेर  ती दिन र क्षणहरु त्यति प्रीतिकर थिएनन् । उसो त यो कुरा बाल्यकालका लागि मात्र लागू हुने हैनः अहिले अरुचिकर लागेका कति कुराहरु पनि भविष्यमा फर्केर हेर्दा प्रियकर लाग्नेछन् ।

शहर मात्र नभएर अहिलेका गाउँकै स्कुले विद्यार्थीहरुलाई हेर्दा पनि उतिखेर हामीले त्यति अभाव झेलेर र त्यति श्रम गर्दै स्कुल पढेका थियौं भनेर पत्याउन मुस्किल पर्छ । खास गरी गाउँको अर्थतन्त्रलाई खाडी र मलेसियाको रेमिट्यान्सले धान्दै जान थालेपछि अहिले सबै उमेरका मानिसहरुले गाउँमा गर्ने शारीरिक श्रम कम भएको छ ।

 जुन जमिनमा हामी आफैंले पसिना बगायौं, त्यसको ठूलो हिस्सा अब बाँझिइसकेको छ र त्यहाँ बस्ने बालबालिकाहरु अहिले पुस्तक पढ्नभन्दा टीभीमा झुमेर सिरियलका पात्रहरुका उट्पट्यांग वाक्य कण्ठ पार्नमा पोख्त छन् भन्ने सुनिन्छ । कोदो र मकै उब्जाएर हैन जीपहरुले घरघर पुर्याउने चामल र मैदा खान थालेका छन् मानिसहरु ।

 ऊबेला एसएलसी पास गरेर क्याम्पस पढ्न थालेपछि घर पुगेर फर्कंदा हिंड्ने बेला बुवाको अनिवार्य प्रेम र चिन्तामिश्रित उर्दी हुन्थ्योः पुग्दाबित्तिकै चिठी लेख्नु । अहिले स्मार्टफोनमा गीत सुन्दै स्कुल जाने र कक्षा छोडेर भिडियो हेरिबस्ने केटाकेटीहरुको बिगबिगी छ भन्छन् ।

The tap where we quenched our thirst
 यो न मेरो गाउँको मात्र कथा हो, न मेरो देशको मात्र । पुँजीवाद र विश्वव्यापीकरणसँगै बाँकी विश्वसित असमान किसिमको सम्बन्ध हुने सबैजसो अविकसित देशहरुमा अवस्था यस्तै छः भौतिक सुखसुविधाको उपभोग बढ्दै जाने तर त्यसअनुसारको आर्थिक तरक्की र आत्मनिर्भरता नहुने । अर्थात् खर्च र खपत बढ्ने तर उत्पादन र उत्पादकत्व नबढ्ने ।

 त्यो समस्याका लागि हामी फेरि हाम्रो नोस्टाल्जिक बाल्यकालमा झैं दिनभर भोक सहेर स्कुल पढ्ने युगमा फर्कनुपर्छ भनेको हैन । तर आम्दानी र खर्च, उत्पादकत्व र उपभोगको तालमेल नमिलाए सम्म हामीले दीर्घकालमा प्रगति गर्न सक्ने छैनौं ।

 .......................

 गाउँको स्कुले शिक्षाका सम्झन योग्य कुराहरु धेरै छन् ।  बितिसकेको त्यो समयका पीडाहरु त माथि नै बताइयो तर त्यसका सबल पक्षहरु पनि धेरै थिए ।

त्यो पढाइ निशुल्क थियो । नौ र दश कक्षामा बर्खे ट्युशनलाई बाहेक पढाइका लागि खर्च लाग्दैनथ्यो । घरको काम र कक्षाको पढाइ दुवैले हामीलाई श्रमको महत्व बुझाएका थिए र हामीले श्रमको सम्मान गथ्र्यौं । दिन भरको भौतिक श्रमबाट बच्ने हो भने पढाइमा राम्रो गर्नुको विकल्प छैन भन्ने हामीले सानैदेखि बुझेका थियौं ।

 अहिले दुध चाहियो भने पसलमा गएर पोका किन्नुपर्छ भन्ने केटाकेटीहरुको बुझाइ छ भने हामीले दुधका लागि भैंसी पाल्न कति कठिन छ भन्ने आफैं काम गरेर बुझेका थियौं । त्यस्तै भातका लागि पसल गएर बोरा किन्नु सबै थोक हैन भन्ने हामीलाई थाहा थियो ।

चार कक्षाबाट विधिवत् अंग्रेजी विषय पढ्न थालेका हामीले एसएलसीसम्म आउँदा कम्तीमा लेखाइको अंग्रेजी राम्रै बनाइसकेका थियौं । पाठ्यपुस्तकमा भएका अभ्यासले नपुगेर एसएलसीमा गणितमा न्हँछ बहादुर खाताखो र अंग्रजीमा सागर मान तुलाधरका प्राक्टिस बुकबाट अभ्यास गरेको मलाई अझै पनि याद छ तर अहिले एसएलसी र प्लस टू हुँदै एमबीबीएससम्म आउँदा समेत विद्यार्थीहरु पाठ्यपुस्तक समेत नपढेर गेस पेपर र गाइडमा झुम्मिएको देख्दा हाम्रो पढाइको संस्कृति नै स्खलित हुँदै गएको त हैन भन्ने लाग्छ ।

हाम्रा लागि एसएलसी पढाइको एउटा सामान्य खुड्किलो मात्र नभएर हिलोमा टेक्न नपर्ने, घाँस काट्न नपर्ने र बस चढ्न पाइने फरक संसारमा पुगेर आफ्नो भाग्य अजमाउने अवसर थियो । स्कुल सकेपछि भोग्नुपरेका कष्टकर र चुनौतीपूर्ण क्षणहरु आउन बाँकी नै थियो र भविष्यका सम्भावित अप्ठेराहरुबारे अनुमान लगाउने हाम्रो क्षमता पनि त्यतिबेला थिएन । तर मेहनत गरेपछि सबै कुरा हुन्छ भन्ने दृढ विश्वासले नै हाम्रो पुस्ताका साथीहरुलाई अहिले हामीहरु जहाँ छौं त्यहाँ पुर्याएको हो ।

 एसएलसीको गेटलाई भत्काएर अर्को सालदेखि सबै छिर्न मिल्ने बरण्डा बनाउने भन्ने सुनिंदैछ । गेटबाट अन्तिमपटक छिर्ने र यस पालि पर्खेर अब एकैचोटि बरण्डामै यात्रा गर्ने सबै भाइबहिनीहरुले क्षणिक सफलता वा असफलताका बीच पनि श्रमको मूल्य जान्न र त्यसलाई सम्मान गर्न सिकुन्, समाज र राष्ट्रका रुपमा हाम्रा लागि त्यो ठूलो कुरा हुनेछ ।


No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more