हाम्रा लागि SLC फलामको हैन सुनको गेट थियो।
टाकुरामा स्कुल, खोंचमा घर । खाना खाएपछि सवा घण्टा हस्याङफस्याङ गर्दै नहिंडे समयमा स्कुल नपुगिने ।
स्कुल पुग्नासाथ फेरि कसैले खाना टक्र्याइदियो भने हामीले सजिलै अर्को एक भाग खान सक्थ्यौं तर दिनभरको पढाइपछि चार बजेसमेत नियमित खाजा खाने पैसा हुँदैनथ्यो । आँट भएका साथीहरुले वर्षौं बाँकी रहने गरी उधारोमा बिस्कुट, चिउरा र चाउचाउ खाइदिन्थे तर आफू त परियो पूरा मितव्ययिताको प्रतिमुर्ति । अरुले खाएको मंग बसाउने चनाको तरकारीको वास्ना सुँघेर घुटुक्क थुक त कति निलियो कति । साथीहरुले दिएका केही पापा बिस्कुट र एक फाँक चिउराले पेटलाई जिस्काइयो पनि कतिचोटि हो कतिचोटि ।
Photo Credit: Vuban Acharya |
अनि त्यही भोको पेटमा जमेर भलिबल पनि कति खेलियो कति । फर्कंदा भोक र धपडीले खुट्टा लगलग काँप्थे तर खेल्न छोडिएन ।
बिहान उठेर सिजनअनुसारको काम नगरी खाना खाने सोच्न पनि सकिंदैनथ्यो । वर्षायाममा भुईंघाँस काट्ने, बारी खन्ने वा कोदो रोप्ने, कार्तिकतिर धान र कोदो वा नल काट्ने, हिउँदका अरु महिना खन्ने, डल्ला फोर्ने, डाले घाँस काट्ने, यी थिए बिहान बेलुका हामीले गर्ने काम । त्यसबाहेक बर्खामा कोदो वा धान गोड्ने, सोत्तर काट्ने, अनि हिउँदमा स्याउला सोहोर्ने काम पनि हाम्रै थिए । असार र साउनको बिदाको बेला भने दिनभर लगाएर रोपाइँ गर्नुपथ्र्यो । आफ्नै घर धेरै दिन रोपाइँ चल्दैनथ्यो तर अर्मपर्म गरेर रोपाइँ गर्दा बोलाएका खेतालाको पर्म तिर्न जाँदा जाँदा महिना जान्थ्यो । मंसीरमा धान थन्काउँदा खेतबाट बिटा बोक्नुपथ्र्यो दिनभर अनि राती दश एघार बजेसम्म धान छाँट्दा ज्यान थकान र निद्राले काम नलाग्ने हुन्थ्यो । तर अलि पहिले थन्क्याइएका नयाँ जर्नेली चामलको घ्यूमा लतक्क भिजेको भात खाएपछि दिनको सारा दुख बिर्सिन्थ्यो ।
बिहान उठेर भकारा सोहोर्नु, गाइभैंसीलाई घाँस र कुँडो ख्वाउनु, साँझ–बिहान दुध दुहुनु अनि केही दिन बिराएर मोही पार्नु, यी काम त काममै गनिंदैनथे जसरी बिहानको नित्य कर्मलाई काम गनिंदैन । वास्तवमा ती सबै काम हाम्रा नित्यकर्म नै बनिसकेका थिए ।
गाउँको जीवन र गाउँको पढाइबारे धेरै जानकारी नराख्नेहरुका लागि यो पृष्ठभुमि दिनुपरेको हो एसएलसीको याद गर्दा ।
एसएलसीलाई फलामे गेट भनिए पनि हामीलाई त्यो सुनको गेटजस्तो थियोः दैनिक पन्ध्र घण्टा श्रम गर्नुपर्ने गाउँको जीवनबाट सदाका लागि बिदा दिने सुनको गेट । गेटको यतापट्टि विरक्त लाग्दो दुखी जिन्दगी थियो जहाँ कुर्कुच्चा पट्पटी फाटेका हुन्थे भने औंलाका काप हिलोले खाएर रक्ताम्य हुन्थे, उतापट्टि शहरको हेर्दै लोभ लाग्दो जिन्दगी हुन्थ्यो जसमा हिलो र झरीबाट टाढै रहन सकिन्थ्यो, तिघ्रा बाउँडिने गरी उकालोमा हिंड्नुको सट्टा बसमा सरर हावा खाँदै यात्रा गर्न सकिन्थ्यो । त्यसबाहेक कहिलेकाहीं घर टप्किने सुनको गेट कटेर गइसकेका दाइदिदीहरुको भागभंगिमा, लवाइखवाइ, बोलीको लवज र तिनले घरमा पाउने पाहुनाको मनितो देख्दा अनि तिनले हेरेका फिल्मको नाम सुन्दा त......... । इष्र्याले जलेर अधीरतापूर्वक सुनको गेट पार गर्ने मुहुर्त पर्खनुको कुनै विकल्प थिएन ।
दश कक्षा पढ्दाखेरिको एउटा दिन मलाई याद छ । असार महिनामा स्कुल छुट्टि थियो तर नौ र दश कक्षाको ट्युसन चलिरहेको थियो । नौमा पढ्ने भाइ, म र अरु केही साथीहरु बिहानको कामले थाकेर लस्त भइसकेपछि खाना खाएर उकालो चढ्दै थियौं । चर्को घाम र रातीको वर्षाले सिर्जना गरेको आद्र्रताले उकालो चढ्दा उकुसमुकुस भइरहेको थियो । एउटा सिंढी चढेपछि खुट्टा लत्रिएर फेरि तल्लै सिंढीमा झर्न खोज्थ्यो । त्यस दिन एउटा विरलै हुने कुरा भयोः अल्पभाषी भाइले अघिल्लो साँझ बुवाले भन्नुभएको एउटा कुराको कटू आलोचना गर्यो ।
बुवाले भन्नुभएको थियोः हामीले तिमीहरुलाई पढ्नका लागि आदर्श खालको वातावरण मिलाइदिएका छौं । समयमा खाना छ, नास्ता छ, कापीकिताब पुगेनन् भन्नुपरेको छैन, आदि आदि । संयोग कस्तो भने, बुवाले त्यसो भनिरहँदा साँझ नौ बजिसकेको थियो र बिहानको काम, दिउँसो स्कुल गएर फर्कंदाको धपडी र साँझको कामले लखतरान भएका हामीले फेरि सिमीको झालको अजंगको झ्यांग पिंढीमा राखेर सिमी टिप्दै थियौं । त्यति बेलासम्म गृहकार्य गर्न जाने समय मिलेको थिएन । खाना खाएपछि निद्रा रोक्न सकिंदैन भन्ने सबैले जानेकै कुरा थियो ।
त्यसमा बुवाआमाको दोष थियो भन्ने पटक्कै हैन, हामी बरु कमसेकम स्कुल भएको बेला कठोर श्रमबाट बच्थ्यौं, उहाँहरु दिनभर त्यसैमा हुनुहुन्थ्यो । साथै गाउँमा त्यति श्रम गर्ने केटाकेटी हामी मात्र थिएनौं । खाली अरु दिन गृहकार्य गर्ने बेलामा समेत त्यसदिन हामी सिमी टिप्दै थियौं र बुवाले सधैं जसो साँझपख दिने ज्ञानगुन लेक्चरको नियमित हिस्साले त्यो दिन यथार्थलाई व्यंग्य गरेजस्तो पर्न गएको थियो ।
हो, त्यस दिन उकालो चढ्दै गर्दा दिक्दारी पोख्दै भाइले बुवाले भनेका वाक्यहरु दोहोर्याइरह्योः हामीले तिमीहरुलाई पढ्ने आदर्श वातावरण................... । अरु के गर्नु थियो, हामीले उसलाई हाँसेर उडायौं । ऊ झन् उक्सियो र बुवाको नक्कल गर्दै दोहोर्याउन थाल्योः हामीले................ । हामी झन् हाँस्यौं, बाटो कटेको पत्तै भएन ।
(क्रमशः)
No comments:
Post a Comment