अस्तिको हाइकिङबारे अर्को तहको विश्लेषण
(शुरुमा एउटा स्पष्टीकरणः मैले जति झुर लेखे पनि अहिलेसम्म तैंले वाहियात लेख्छस् भनेर साथीहरुले भनेका छैनन्, सम्पादकहरुले भन्नु अलग्गै कुरा हो । कति सम्म भने तैंले अनावष्यक लामो र पट्यारलाग्दो लेख्छस् भनेर भएकै कुरा पनि भनेका छैनन् साथीहरुले, यो उनीहरुको धैर्यता र महानताको कुरा हो । बाढी आउँदैछ भनेर हतार हतार खोलो तरेझैं हिजो दाइको जन्मदिनमा जाने हतारमा लेखेर पोस्ट गरिएको नगरकोट नियात्रामा केही कुरा छुटेकाले यो अर्को आलेख आएको हो । हिजोको आलेख द्रुत गतिमा पढिंदै गर्दा यात्रासित सम्बन्धित अरु केही रमाइला र केही गम्भीर पक्षहरु उजागर गर्नु यो आलेखको उद्देश्य हो । शब्दको झटारोले हिजै घाइते भएका साथीहरुले चाहिं यसलाई बेवास्ता गर्न सक्नुहुन्छ ।)
हिजोको लेखोटमा मैले हाइकिङका महिला साथीहरुको चर्चा नै नगर्नुको कारण छ । त्यो के भने पहिलो कुरा त उहाँहरुको संख्या सानो थियो । दोस्रो, व्यवस्थित पाराको वैवाहिक सम्बन्ध भएपछि विपरीत लिंगीहरुसितको सम्बन्ध वा अन्तक्रियालाई रोमान्टिसाइज गर्न अल्छी लाग्दै जाँदोरहेछ, विस्तारै र थाहै नपाइ (बिहेपूर्व त्यस्तो रोमान्टिसाइजेशनको कति महत्व हुन्छ भन्ने बाल विवाह नगरेका सबै महिला–पुरुषहरुलाई थाहा हुन्छ भन्ने मेरो मान्यता हो) । तेस्रो, पुरुष समाजमा महिलाहरुबारे हुने कुराहरुमा खासगरी पितृसत्ताको छापसँगै एक किसिमको पूर्वाग्रह र हैकमको भाव व्याप्त हुने गर्छ र महिला शरीरको कमोडिफिकेसनमार्फत् पुरुषहरुले आफ्नो स्वार्थ पूरा गर्न थालेको युग बितिसक्यो । एउटा उदात्त हाइकिङमा यिनै कारणले पुरुष र महिलाबारे बराबर कुरा गर्ने वा लेख्ने हो भने महिलाहरुलाई न्याय गर्न सकिंदैन ।
दोस्रो कुरा के भने, यात्रालगायतका मनोरञ्जनका माध्यमहरुमा बहिर्मुखी वा एक्स्ट्रोभर्ट साथीहरुको ठूलो भुमिका हुन्छ, त्यस्ता साथीहरुको बहुमत नै भयो भनेचाहिं फरक किसिमको बिजोग हुन सक्छ, त्यो अर्कै कुरा भयो । त्यो हिसाबले अस्तिको हाइकिङ अलि सन्तुलित नै देखियो । म अन्तमुर्खी त हैन, तर जब बोलौं बोलौं लाग्छ, म बोल्ने कर्म छाडेर यसलाई कसरी लेख्ने भनेर सोच्न थाल्छु र धेरैजसो मेरो बोली रोकिन्छ, खासगरी बहसको विषय गम्भीर र केही शब्दले न्याय गर्न नसकिने छ भने ।
यही प्रसंगमा मलाई उठाउन मन लागेको कुरा के भने, चिया पसलदेखि भट्टीसम्म र कार्यालयहरुदेखि हाइकिङ र ट्रेकिङ अनि विदेश भ्रमणसम्म, विभिन्न हिसाबले हामीहरुले आफू वरिपरिको वातावरणप्रति आफ्नो बेखुशी वा निराशा व्यक्त गरिरहेका हुन्छौं । देशलाई धिक्कार्ने र विदेश हानिने मौका कुरेर बस्ने युवाहरुको जमात त अझ बढ्ने क्रममा छँदैछ । त्यो हिसाबले यो देश र समाजमा सबैभन्दा रुष्ट र असन्तुष्ट मानिस मध्यम वर्गका शिक्षित मानिसहरु हुन् भन्यो भने धेरै अन्याय नहोला । त्यो किन पनि हो भने, हामलिाई हेर्न र बुझ्नलाई सारा संसार छ, लोभ गर्न संसार भरको समृद्धि र प्रगति छ तर हासिल गर्न र त्यसलाई अनुभव गर्न सत्ता र शक्ति हामीसँग छैन ।
यो हाइकिङमा पनि त्यो खालको निराशा र त्यसले जन्माउने सत्ता र सत्ताधारीहरुप्रतिको आक्रोश स्पष्ट देखिया, सबैले आ–आफ्नो गच्छेअनुसार नेताहरुलाई पुष्पवृष्टि गर्ने काम गरिरहे । देशमा, सत्तामा, शक्तिमा उल्लेख्य प्रभाव भएको कुनै पनि शक्तिप्रतिको पक्षधरता नहुनु त्यस किसिमको निराशाको एउटा कारक हो भन्ने मेरो धारणा हो । उदाहरण लिनुपर्दा, नेपालको शिक्षित मध्यमवर्ग पछिल्ला धेरै वर्षमा सबैभन्दा आक्रोशित, दिग्भ्रमित र क्षुब्ध भएको क्षण भनेको हालसालै लोमासिकालाई अख्तियारमा नियुक्त गर्दा हो । तर त्यही प्रकरणमा लोकमान विरोधी आन्दोलनलाई प्रचण्डविरोधी मास हिस्टेरिया भनेर उदारतापूर्वक शब्द खर्चिंदै युग पाठकले हजारौं पाठकहरुबीच आफ्नो छवि गिराउने र तिनलाई बिच्क्याउने काम गरे । सारमा तिनी लोकमान नियुक्ति भएको भन्दा उनको नाममा प्रचण्डको विरोध भएकोमा विचलित देखिन्थे ।
आलोचनाका लागि चिनिएका खगेन्द्र संग्रौला एकदिन हठात् नयाँ पत्रिकामा प्रकट भएर लोकमान काण्डको विवेचना गर्दा भए । पत्याउनै नसक्ने गरी, उनले त अप्रत्यक्ष रुपमा युग पाठककै जस्तो तर्क पो गरे । उनी भन्छन्ः जसरी राष्ट्रपतिले प्रचण्ड सरकारको मूल्यमा रुक्मांगद कटुवाललाई बचाएका थिए, उसरी नै लोमासिकालाई पनि अख्तियार प्रमुख बनाएका हुन् । दुई हरफमा लोकमानको आलोचना गरेपछि उनले अरु दर्जनौं हरफ त लोकमान विरोधीहरुको खेदो खन्न पो खर्च गर्छन् । भन्छन्ः यी दोजिब्रेहरुले पहिले प्रचण्डलाई गिराएर कटुवाललाई बचाउन राष्ट्रपतिलाई उचाले भने अहिले लोकमानलाई रोक्न, जबकि कटुवाल र कार्की एउटै विषवृक्षका फल हुन् ।
संग्रौलाको सोलोडोलो निष्कर्ष के थियो भने, यो बेला भनेको लोकमानको विरोध गर्ने वा तिनको नियुक्ति रोक्नेभन्दा पनि पहिले रुक्मांगदलाई बोक्ने मानिसहरुलाई खुच्चिङ गर्ने र तिनको समाप्तिको अनुमान लगाउने हो । पक्षधरताकै कारण संग्रौलाले केसम्म देखेनन् भने लोकमानको विरोध गर्नेमा ती मानिसहरु पनि थिए जसले कटवाल काण्डमा पनि राष्ट्रपतिको विरोध गरेका थिए । निस्पक्षता र लेखको वस्तुगत सन्तुलनलाई बिर्सने हो भने, देशमा एउटा अनिष्ट आइपर्दा त्यो त दुश्मनका लागि पनि हो भनेर खुशी हुने संग्रौलाको काइदाले पक्षधरताको एउटा खास मनोविज्ञानको प्रतिनिधित्व गर्छ ।
पाठक र संग्रौलाकै सापेक्षमा राखेर हेरें मैले ट्वीटरमा दिनरात र हाइकिङजस्ता अवसरमा पनि नेताहरुको खोइरो खन्ने हामीहरुको मानसिकतालाई ।
र जाँदाजाँदै भन्न मन लागेको एउटा कुरा जुन मैले हाइकिङको परिचयका बेला पनि पछि भनौंला भनेर इंगित गरेको थिएँ । नेपाली न्यू मिडियाको क्षेत्रमा खड्केको एउटा कुरा के छ भने, हामीले हाम्रा सिर्जनालाई स्तरीय बनाउन र ठूलो पाठकसंख्याबीच पुर्याउन सजिलै गर्न सकिने कैयौं कुराहरु गरेका छैनौं । क्रसपोस्टिङ र कन्टेन्ट डाइभर्सिफिकेसनका लागि नेपालभित्र गरेका केही थान प्रयासहरु असफल भए पनि मेरो त्यस्तो अभियानमा जेरेमी ह्यामोण्ड, रामजी बरोड र माउङ जार्नीजस्ता अन्तर्राष्ट्रिय हस्तीहरुले राम्रो योगदान गरेका छन् र मेरो ब्लगको गेस्ट कोलम खण्डमा उनीहरुका अमूल्य लेख रचनाहरु छन् । कतिसम्म भने गएको नेपाली नयाँ वर्षमा मेरो ब्लगको विशेषांक निस्कंदा नोम चोम्स्कीले समेत एउटा संक्षिप्त अन्तर्वाता दिएका थिए इमेलमार्फत् ।
आशा छ अबका दिनमा भने नेपालभित्रै न्यू मिडियाका साथीहरुबीच उपल्लो तहको अन्तक्रिया र अन्तर्संबन्ध रहनेछ । साथीहरुलाई मेरो ब्लगमा देखिन मन लाग्यो भने यो ब्लगको सब्मिसन खण्डमा गएर सजिलै लेख रचना पठाउने व्यवस्था त छ नै खासगरी नयाँ साथीहरुलाई मेरा लेखहरु छाप्ने मन भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
(निकट भविष्यमा एउटा विषेश संस्मरणात्मक लेख इरानी युवतीसँगको एउटा भेट आउँदैछ । उक्त लेखको एउटा अंश:
अचानक तिनले कुरा काटिन्ः तपाइँ इरानको शासनको बारेमा कुरा गर्न चाहनुहुन्छ? यो प्रश्नमा भय, आशंका, अविश्वास वा के थियो म भन्न सक्दिनँ तर अवस्था एकाएक अलि असहज र बोझिलो भयो र कतै तिनले मलाई इरानको शत्रुपक्षको जासुसको रुपमा त बुझिनन् भन्ने शंका लाग्यो । भुल सुधार्ने कोशिस गर्दै मैले भनेंः बिल्कुल हैन, म त खाली त्यहाँका आम मानिसको जनजीवन र कलाक्षेत्रको अवस्थाबारे मात्र कुरा गर्न चाहन्छु ।
कुरा बुझिसकेपछि तिनले कहाँ र कहिले बसेर कुरा गर्ने भनेर सोधिन् । मैले त्यतिखेरै दर्शक दीर्घामा बसेर कुरा गर्न सकिने भनेपछि तिनले त्यसदिन हतार भएकाले भोलिपल्ट बसेरै कुरा गर्ने प्रस्ताव राखिन् । कुरा मनासिब थियो तर म थप असहजतामा परें किनकि एक त भोलिपल्ट आफूलाई दिउँसो समय निकाल्नको मुस्किल, अर्कोतिर नचिनेका आयोजकलाई हामी बसेर कुरा गर्ने ठाउँ देउ भनेर कसरी भन्ने । यतै कतै बसे हुँदैन भन्ने मेरो प्रश्नको जवाफमा तिनले भनिन्ः नजिकैको कुनै कफी पसलमा कफी खाँदै कुरा गरे भइहाल्यो नि ।)
1 comment:
Your style is unique compared to other folks I've read stuff from. I appreciate you for posting when you've got the opportunity,
Guess I will just book mark this blog.
My blog: here
Post a Comment