गत शनिवार माइतीघरदेखि निकालिएको ‘डा केसीसँगै हिंडौं’ र्याली बानेश्वर पुगेपछि त्यहाँ गरिने छोटो सम्बोधनको कार्यक्रमको तयारी गर्दै थियौं । अचानक एक अपरिचित किशोरी आएर प्रश्न गरिन्ः सर, यहाँ म बोल्न मिल्छ कि मिल्दैन?
हामी शुरुमा अक्मकियौं तर उनको कुरा बुझेपछि हामीले उनलाई त्यहीं २ मिनट बोलेर सुनाउन लगायौं र त्यसबाट प्रभावित भएपछि उनलाई पछि मञ्चरुपी ट्रकमा उभिएर माइकबाट सभालाई सम्बोधन गर्न दियौं ।
ती किशोरी थिइन्, कक्षा ११ मा पढ्ने नवलपरासीकी सिर्जना विश्वकर्मा । तिनको चानचुन ३ मिनटको सम्बोधनमा धेरै कुरा अटाएका थिए र तिनले बोल्ने कला स्कुलदेखि वादविवाद वा वक्तृत्वकला आदि कार्यक्रमबाट निखारिएको हुनुपर्छ । तर मञ्चमा उनले बोलिरहँदा एउटा कुराले मलाई असाध्य प्रभावित गर्यो । उनले भनिन्ः अब विदेशमा ३ वर्ष काम गरेर १ महिना बिताउन नेपाल आउने हैन कि नेपालमा ३ वर्ष काम गरेर घुम्न १ महिना विदेश जाने वातावरण बनाउनुपर्छ ।
पछिल्लो समय सुशासनका लागि जुन अभियानमा हामी होमिएका छौं, त्यसलाई जोडेर धेरैले मलाई सोध्छन्ः के लोकमानलाई साँच्चै महाभियोग लाग्ला त? के यो अभियान सफल होला? लोकमान पदबाट नहटेको अवस्थामा के होला?
सिर्जना विश्वकर्माले मलाई ती मानिससँग सोध्नका लागि प्रतिप्रश्न दिएकी छन्ः नेपाललाई दोहन गर्ने हैन, समृद्ध पारेर नेपाली युवाका लागि यहीं रोजगारी सिर्जना गर्ने सपना नेपालका कुनै चल्तीको राजनीतिज्ञमा पाउनुभएको छ? के आम नेपालीमा आफ्नो राजनीतिक नेतृत्वले सुदुर भविष्यमा समेत त्यस खालको उदात्त काम गर्न सक्ला भन्ने विश्वास कतै भेट्न सकिन्छ? सपनाहरु नै मरेतुल्य भएको यो परिवेशमा के ज्युँदा सपना भेटिनु एउटा ठूलो उपलब्धि हैन र?
यी पंक्ति लेखिंदै गर्दा नेपालमा नयाँ सरकार बनिरहेको छ । तर त्यसको जग देश र समाजलाई कसरी अघि लैजाने भन्ने हैन कि गुटहरुको झुण्डमा परिणत भएका दर्जन बढी दलहरुका पदान्ध नेताहरुबीचको सन्तुलन कसरी मिलाउने भन्ने रहेको छ । गत ३ हप्तामा सञ्चार माध्यमले श्यामश्वेतमै नेपालमा भ्रष्टाचारको जरो भनेर पुष्टि र पुनर्पुष्टि गरिरहेका लोकमान सिंह कार्कीको सबैभन्दा देखिने गरी बचाउ गर्ने नेता प्रधानमन्त्री बनेर आउँदै छन् । विमानस्थलबाट खाडीमा महंगो रोजगारीका लागि बाहिरिने र वनवासाबाट काला पहाडतिर सस्तो रोजगारीका लागि बाहिरिनेहरुको चाप उस्तै छ ।
उताबाट बाकसमा बन्द भएर आउने वा एचआईभी/एड्स बोकेर आउनेहरुको अनुपात पनि उस्तै छ ।
यी सबैप्रति बन्न लागेको सरकार बेखबर प्रतीत हुन्छ र ती सबै जीवित र मृत नेपालीहरु आज देशमा आवाजविहीन छन् । हाम्रो राज्य र नागरिकहरुबीच जुन संवादविहीनताको खाडल छ, त्यो गहिरिंदो छ । राज्यले नागरिकहरुको भाषा बुझ्न छाडेको छ भने नागरिकहरु राज्यले कुनै रुपमा हेर्ला भन्ने आश मेटेर देशको सीमाना काटने होडमा भएजस्तो देखिन्छ।
यो परिवेशमा एक दलित किशोरीले बानेश्वरमा हजारौं मानिसका अगाडि भ्रष्टहरुलाई लल्कारेर सुन्दर भविष्यको सपना देख्नु के चानचुन कुरा हो?
भोलि लोकमानको पद रहोस् वा गुमोस्, मेरा लागि अहिलेको अभियानको ठूलो उपलब्धि त्यही हो ।
लेखनमा झैं चुपचाप सम्पादन वा पुनर्लेखनको सुविधा नहुने भएकाले सार्वजनिक कार्यक्रममा बोल्नु मलाई एकदम सकसपूर्ण लाग्छ । पछिल्ला तीन शनिवार लगातार बानेश्वरमा ठूलो संख्यामा नागरिकहरुलाई सम्बोधन गरेपछि चाहिं त्यस्तो सकस केही कम हुने मेरो अपेक्षा छ । तर यी जुन कार्यक्रम भए र ठूलो संख्यामा नागरिकहरु जसरी तिनमा सहभागी भए, तिनका खास उपलब्धि चाहिं के भए त? हाल चलिरहेको समग्र अभियानको तत्कालीन सफलता लोकमान सिंह कार्की पदमुक्त हुनु वा नहुनुमा पक्कै भर पर्नेछ तर के भोलि नेपालको संसदले लोकमानलाई पदमा रहिरहन योग्य ठानेर महाभियोगको प्रक्रिया अघि बढाएन भने हाम्रो मेहनत खेर जाने नै हो त?
यो प्रश्नको उत्तर दिनु अघि म फेरि अरु केही प्रश्न राख्न चाहन्छु । तपाइँलाई नेपालको इतिहासमा त्यस्तो कुनै समय याद छ जहाँ करीब १० हजार मानिस सडकमा उत्रेका थिए तर यातायात अवरुद्ध भएको थिएन? यति ठूलो कुनै जुलुस भएको थियो तर सडकका रेलिङ भाँचिएका थिएनन् र सडकमा दर्जनौं टायर बालिएका थिएनन्? युवा विद्यार्थीको यति ठूलो उपस्थिति थियो तर खुँडा हानाहान भएको थिएन र सरकारी गाडी उल्टो पारेर जलाइएको थिएन? राजनीतिक दलहरुको समेत सहभागिता थियो तर दिनको हजार रुपैयाँ दिएर र मासुभात ख्वाएर मानिस बटुलिएको थिएन? किशोरकिशोरीहरु उपस्थित थिए तर तिनको कक्षा ठप्प पारेर बसको छतमा ठसाठस कोचेर जबर्जस्ती ल्याइएको थिएन? जुलुसको अन्तमा सम्बोधन भएको थियो तर दलको शीर्ष नेताको घण्टौं चल्ने लम्बेतान भाषणको सट्टा एक्लै आएकी दलित किशोरीले ३ मिनेटको सारगर्वित भनाइ राखेकी थिइन्?
हो, यो अभियानको सबैभन्दा ठुलो र सुन्दर उपलब्धि यही हो: चार जना जम्मा हुनासाथ कानुन हातमा लिएर ट्याक्सी जलाइहाल्ने र आफ्नो अस्तित्व जनाउनकै लागि मात्र भए पनि नेपाल बन्दको घोषणा गर्ने जनद्वेषी जमातको सडकमा रहेको एकाधिकार यसले अन्त गरिदिएको छ । लोकतान्त्रिक अधिकारको उपयोग गर्दै शालीन तरिकाले र अरुको अधिकार कुण्ठित नगरी राज्यका अवाञ्छित तत्वहरुमाथि अंकुश लगाउन सडकको प्रयोग हुन सक्छ भन्ने यो अभियानको प्रस्ट सन्देश हो ।
माथिको आदेशपालन र सडकमा निस्केर ध्वंश गर्नबाहेक बाँकी रचनात्मक काममा पनि सक्रिय सहभागिता देखाउने अवसरबाट यसपल्ट परम्परागत दलहरुका भातृ संगठनहरु चुकेका छन् । मातृ दलहरुको आफ्नै किंकर्तव्यविमुढता र युवा राजनीतिज्ञहरुको यस्तो आलस्यका कारण समाजको गतिशील आयाममा जुन ‘भ्याकुम’ वा खाली ठाउँ सिर्जना हुन पुगेको थियो, सुशासनका लागि हाल चलिरहेको अभियानले त्यसलाई भर्ने काम गरेको छ ।
व्यक्तिदेखि सामाजिक संघसंस्था, सामाजिक सञ्जालमा सक्रिय समुहहरु र राजनीतिक दलहरुसमेत अटाएको ‘सोलिडारिटी फर डा केसी एलाएन्स’ नामक सञ्जालले अहिले सुशासनको गम्भीर अभियानको गृहकार्य गरिरहेको छ । सञ्जालको तर्फबाट स्वयंसेवकहरु विभिन्न कलेजहरुमा गएर अति महत्वपूर्ण र संवेदनशील तर अहिलेसम्म ओझेल परेका सुशासनसम्बन्धी विषयमा विद्यार्थीहरुलाई दीक्षित गरिरहेका छन् । समाजका लागि केही गरौं भनेर भुट्भुटिएका तर उचित माध्यम नपाएका धेरै प्रबुद्ध नागरिकहरु अहिले आआफ्नो ठाउँबाट सक्रिय छन् । सामाजिक सञ्जालमा सक्रिय रहनेहरुले त्यहींबाट मानिसहरुलाई सुसुचित र सुशिक्षित गर्ने मोर्चा सम्हालेका छन् भने सडकमा उत्रेर राज्यलाई सन्देश दिन चाहनेहरुले निर्धक्क त्यसो गरिरहेका छन् । नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभव दुवै यो अभियानमा आएर एक अर्काको पूरक बनेर काम गरिरहेका छन् ।
हिजोसम्म समाज र देशका लागि चाहेर पनि के पो गर्न सकिन्छ र भन्ने निराशाजनक भाव बोकेका युवा र किशोरकिशोरीहरु आज देशमा पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि आफूले खेल्न सक्ने ठोस भुमिका आविष्कार गरेर त्यसमा जुटिसकेका छन् । ती सबैको ऊर्जा एकाकार हुँदा नेपालको स्थापित राजनीतिक परिपाटीका खेलाडीहरुसमेत झस्केको अवस्था छ अहिले ।
बानेश्वरमा सिर्जनाको भाषण यही नवीन ऊर्जाको एउटा प्रतिविम्ब थियो ।
देशमा अहिले राष्ट्रपति, प्रधान न्यायधीश र सभामुख गरी तीनै जना महिला छन् । बानेश्वरमा सिर्जना विश्वकर्माको भाषण सुनिरहँदा मलाई याद आएकी महिलाचाहिं ती तीनै नभएर पूजा बोहरा नामक अर्की महिला थिइन् जसको न्यायको लडाइँ हाम्रो न्यायालयमा संस्थागत भइसकेको अन्यायको नमुना बनेर रहेको छ । उनको लगायत अरु अनेक मुद्दामा बदनामी कमाएका, दलीय चाकरीका लागि समाचारमा छाएका र तत्कालीन प्रन्याको आफन्त भएका कारण विधि मिचेर न्यायधीश बनाइएकाहरुलाई नयाँ संविधानपछि पुनर्जीवन दिन हाम्रो ‘सार्वभौम’ संसद लागीपरेको छ, भलै उसलाई यतिका प्रमाणका बाबजुद पनि लोकमान सिंह कार्कीमाथि महाभियोगको कुरा अघि बढाउन कष्ट भइरहेको छ ।
विख्यात कवि शेलीले एउटा कवितामा लेखेका छन्ः ओ वाइन्ड, इफ विन्टर कम्स, क्यान द स्प्रिङ बी फार बिहाइन्ड? अर्थात्, ए हावा, हिउँद आइ त हाल्यो भने, वसन्त कति पो टाढा होला र?
हो साँच्चि, हिउँद र अँध्यारोको विरुद्ध हामी यसरी निरन्तर लागिरहने हो भने, वसन्त र उज्यालो कति पो टाढा होला र? जब अँध्यारोको सहारामा सारा नागरिकलाई गुमराहमा पारेर आफ्ना अपराध छोप्न देशको भ्रष्टाचारविरोधी निकायकै तेजोबध हुने गरी नियुक्ति गर्ने राजनीतिज्ञहरु उज्यालोमा नांगिनेछन्, तब एउटा लोकमानको के कुरा, पूरा भ्रष्ट परिपाटी नै बढार्ने सम्भावना हाम्रा सामू कायम छ । बस्, हामी आफैंले आफूमाथिको विश्वास कायम राखौं र सक्ने भुमिका खेल्दै जाऔं, जित्नलाई संसार हाम्रै हो ।
जुन दिन सिर्जनाजस्ता किशोरीहरु पूजाजस्ता व्यवस्था–पीडितहरुको पक्षमा पीडकहरुविरुद्ध उत्रन सक्नेछन्, त्यही दिन हाम्रो अभियान उत्कर्षमा पुग्नेछ । जुन क्षणमा सिर्जनाजस्ता कतै पहुँच नभएका नागरिकहरुले विद्वान काँग्रेसी सांसद राधेश्याम अधिकारीलाई ‘किन पूजाका पीडकहरुलाई दण्डको सट्टा पुरस्कृत गर्ने गरी संविधान नै संशोधन गरेर न्यायलाई लत्याएको?’ भनेर हाकाहाकी सोध्न सक्नेछन्, त्यही दिन हाम्रो लोकतन्त्र असली लोकतन्त्र बन्नेछ । अनि जुन दिन भ्रष्टाचार र कुशासनबाट सिर्जित आम नागरिकको क्रोधको शिकार त्यसका वास्तविक स्रष्टा राजनीतिज्ञहरु बन्छन् र तिनको छलछामको राजनीति पराजित हुन्छ, त्यही दिन हाम्रा चुनावहरुले जनताका वास्तविक प्रतिनिधि छान्न शुरु गर्ने छन् ।
सोलिडारिटी फर डा केसी एलाएन्स ऊर्जाशील युवाहरु र बुझ्झकी प्रौढहरुलाई यो यथार्थ मनन गर्दै एक ठाउँ उभिएर साझा भविष्यको बाटो कोर्ने मौका दिने आधार तत्व हो । आउनोस्, हातेमालो गरौं ।
(सञ्जालको वेबसाइट अहिले बन्ने क्रममा छ । हाल हामीसँग जोडिन यो फेसबुक पेज लाइक गर्न सक्नुहुन्छः https://www.facebook.com/SolidarityForProfGovindaKc/
साथै सञ्जालका विभिन्न गतिविधिहरुमा सक्रिय भुमिकाको अपेक्षा गर्नुहुन्छ भने यो इमेल ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ: jiwan.kshetri@gmail.com)
No comments:
Post a Comment